हामी उपमाको जन्मदिन मनाउन उसको घर गएका थियौं। त्यतिबेला हामीले जे कल्पना गरेका थियौं, ठिक विपरीत थियो त्यहाँको माहोल।
आफ्नो मिल्ने साथीको जन्मदिन, जानेबित्तिकै घर भित्रको सन्नाटा र उपमालाई नदेखेर हामी बेचैन भयौं। कोठाभित्र उपमाको मामु, बहिनी, भाइ र अंकललाई मात्र देखेर मेरा आँखाले उपमालाई नै खोजिरहेका थिए।
म, निश्चला र सम्पदा पुग्नासाथ उपमाको मामुले 'बस्दै गर' भन्ने इसारा गर्नुभयो। सायद उहाँलाई त्यहाँको वस्तुस्थिति हामीलाई थाहा नहोस् भन्ने लागेको थियो होला। तर हाम्रो मन कहाँ मान्नेवाला थियो र! हामी सरासर बैठक कोठाबाट भित्री कोठामा (जहाँ उपमा र उसका भाइबहिनी मात्र सुत्ने, बस्ने गर्थे) गयौं।
त्यसबेला उपमा सुँक्क सुँक्क गर्दै आँसु पुछिरहेकी रहिछ। हामी प्रवेश गरेभन्दा ठिक उल्टोपट्टि भित्तातिर फर्केर रोएकी थिई। सायद आफ्नो पीडा हामीसँग लुकाउँदै थिई। मैले उसको लागि भनेर लगिदिएको गिफ्ट पनि उसलाई दिन सकिनँ र नजिकैको टेबलमाथि राखेर हामी सबै उपमाको जन्मदिनको केक काट्न बाहिर आयौं।
मलाई त्यहाँ कत्ति पनि रमाइलो लागेन बरु असाध्यै नरमाइलो लागिरह्यो। त्यस्तो लाग्नुका पछाडि कारण जो थियो। कारण करिब २ वर्ष अगाडिको घटना थियो।
माघ महिनाको ठन्डी अनि काठमाडौंको वातावरण। कक्षाकोठा चिसो भएकाले र शिक्षक/शिक्षिका अनुपस्थित हुनुभएकाले हामी ६ जना बाहिर घाम ताप्दै पढ्ने सल्लाह गरेर स्कुलको प्राङ्गणमा निस्कियौं। हामी पढ्ने भनेर हात हातमा किताब बोकेर बाहिर निस्केका भए पनि बाहिर आएपछि माहोल परिवर्तन भयो।
उपमा अचानक रुन थाली। उसलाई पीडा बिसाउने चौतारी भएछ साथीहरूको साथ। त्यसपछि हामी सबैको ध्यान उसैतिर केन्द्रित हुन पुग्यो।
उसको मामु र बाबाको डिभोर्स केही वर्षपहिले भइसकेको र उनीहरूले अंकल भन्ने गरेको व्यक्ति मामुसँगै बस्न थालेका रहेछन्।
उपमाले रुँदै भन्न थाली, 'अंकलले मलाई र बहिनीलाई कुनै न कुनै निहुँ झिकेर गाली गरिरहनु हुन्छ। कहिले पढाइको त कहिले घरको काम नगरेको वा उहाँले भनेजसरी नगरेको वा अन्य कुनै न कुनै बहानामा हामीलाई गाली गर्ने, झम्टिने गर्नुहुन्छ। कहिले हामी पढिरहेको बेलामा आएर चुरोट पिउनुहुन्छ त कहिले रक्सी खाएर आएर घरमा हंगामा मचाउनुहुन्छ। मामुबाहेक हामी कसैलाई अंकल मनपर्दैन। तर के गर्नु, मामु आफ्नो हुनाले हाम्रो जाने ठाउँ कहीं पनि छैन।
मामु र अंकलको झगडा परेको दिन पनि मलाई नराम्रो लाग्दैन किनकी झगडा परेको २/४ दिन त अंकल घरमै आउनुहुन्न। अंकलले हामीलाई धेरै टर्चर दिनुहुन्छ। मामुको अगाडि माया गरेजस्तो गर्नुहुन्छ तर अनुपस्थितिमा फेरि उस्तै। उहाँको ठाउँमा हाम्रो आफ्नो बाबा हुनुभएको भए...' यति भनेपछि उसका गला अवरुद्ध भए, बोल्न सकिन, रोइरही। ऊसँगै हामी पनि रोयौं, धेरै बेरसम्म रोइरह्यौं।
त्यस दिन मलाई मन भारी भइरह्यो। भारी मन लिएर फर्केपछि सबै कुरा मैले आफ्नो बाबा मामुलाई सुनाएँ। साथीको पीडामा मल्हम लगाउन सकिन्छ कि भन्ने अभिप्रायले।
उपमाले अंकलको टर्चर सहन नसकेर आफ्नो हातको नाडी काटेको हामीले हेर्न सक्दैन थियौँ। कहिले कुन कहिले कुन बहानामा उसको आँखा कहिले ओभानो देख्न पाइएन। मैले भन्थेँ, 'अंकल आफ्नो नभए पनि मामु त आफ्नै हो नि। आफू भित्रको सम्पूर्ण समस्या र उल्झनलाई मामुसँग शेयर गर् न, उहाँले पक्कै बुझ्नुहुन्छ होला।'
भोलिपल्ट स्कुलमा भेट हुँदा मैले उसलाई प्रश्न गर्थें, 'मामुलाई भनिस् त?'
उसको जवाफ सधैँ एउटै आउँथ्यो- 'अहँ, म भन्नै सक्दिनँ।'
आज जन्मदिनमा उपमा रोएकी देख्नेबित्तिकै मेरो मन मस्तिष्कमा त्यही दुई वर्षअघि ऊ स्कुलको प्राङ्गणमा रोएको घटना ताजा भएको थियो।
घरकी जेठी छोरी, आफूभन्दा साना भाइबहिनी, मामु कामले सधैँ घरबाहिर हुने हुनाले घरको सम्पूर्ण कामहरू उपमाले नै गर्नुपर्छ। घरको सबै काम गरेर पढ्न त ठिकै छ। त्यसमाथि अंकलको मानसिक यातना, उफ्! मलाई सम्झँदा पनि मनै सिरिङ्ग हुन्छ तर के गर्नु? विचराले सबै भोग्नुपरेको छ र कहिलेसम्म भोग्नुपर्ने हो कुनै समयसीमा नै छैन।
कहिलेकाहीँ आफ्नो र उसको जीवन तुलना गर्न पुग्छु र आफूलाई धेरै भाग्यमानी भएको महसुस गर्छु। अभिभावक जोसुकै हुन सक्नुहुन्छ। बाबा-मामु, अंकल-आन्टी, मामा-माइजू, हजुरबुवा-हजुरआमा जोसुकै। तर बच्चाले आफ्ना अभिभावकसँग रहँदा यत्ति महसुस गरोस् कि उहाँसँग म सुरक्षित छु।
उसको जन्मदिनमा शुभकामना दिन अनि खुसीहरू साट्न हामी जम्मा भएको भए तापनि उसको त्यो अवस्थाले हामी सबैका आँखा रसाए। अनायासै मेरो नजर त्यही अंकलमाथि पर्न गयो। उहाँले पनि मलाई नै हेर्नुभएको रहेछ। मैले अलि अप्ठ्यारो महसुस गरें। डर पनि लाग्यो। मनमा विभिन्न कुराहरू खेल्न लागे। मैले आफूलाई नै असुरक्षित महसुस गर्न थालें। साथीको जन्मदिन, त्यसै फर्किहाल्न पनि त भएन।
वातावरणले सोचाइमा पनि परिवर्तन गरिदिने रहेछ। मैले नकारात्मक कुराहरू सोच्न थालेँ। मेरो खानामा कसैले केही मिसाइदिएको पो छ कि वा अरु केही...।
त्यस अंकलले मलाई नचिन्नुहोस् भनेर त्यहाँ बसुन्जेल मास्क पनि खोलिनँ। कत्तिखेर त्यहाँबाट उम्कौंजस्तो भएको थियो। किनकी उपमाको अंकल एक खराब आचरण भएको व्यक्ति हो भन्ने कुरा मलाई पहिले नै थाहा भइसकेको थियो।
उसको भाइ उत्सव अजल्टिएर मेरो खुट्टामा ठोक्किएको के थियो अंकल यत्ति आक्रामक हुनुभयो कि भाइलाई त्यहीनेर कुटौंला झैं गर्नुभयो। सायद हामी नभएको भए अंकलले उसलाई पिट्नुहुन्थ्यो होला। यस्तैमा उहाँले आफ्नो मोबाइलबाट हाम्रो फोटो र भिडिओ खिच्न थाल्नुभयो। मैले आफूलाई अझै असुरक्षित महसुस गर्न थालें।
उहाँले मलाई 'तिमी मलाई चिन्छौ?' भनेर सोध्नुभयो।
मैले मनमनै भनेँ, 'किन नचिन्नु! दुई वर्ष अघिदेखि तपाईंले मेरो साथी र उसको भाइबहिनीलाई गरेको व्यवहारसँग राम्ररी परिचित छु म। उपमाको किताब च्यातिदिएर कक्षामा मेरो किताबले काम चलाउनुपर्ने अवस्था आएको, मानसिक यातना सहन नसकेर उसले आफ्नै हात काटेको, सबै त ताजै छ अंकल।' तर मैले उहाँकै अघिल्तिर यो सब भन्ने आँट गर्न सकिनँ। भन्नलाई भनें- 'तपाईं उसको अंकल।'
खै हाम्रो समाज कतातिर जाँदैछ। मान्छेले अरुभन्दा आफूलाई अगाडि लैजाने र घरपरिवारभन्दा पनि पैसाको पछि लाग्ने प्रवृत्तिले आफ्ना सन्तानलाई कस्तो अभिभावकत्व प्रदान गरिरहेको छ? कस्तो संस्कार र शिक्षा दिइरहेको छ? (जसले भविष्यका कर्णधारहरू कुन मोडमा कता गइरहेका छन् सोच्नैसम्म पनि फुर्सद छैन उहाँहरूलाई।)
पछिल्ला दिनहरूमा कहिले वैदेशिक रोजगारीका कारण त कहिले विभिन्न खालका प्रविधिको गलत प्रयोग तथा दुरुपयोगका कारण कत्ति परिवार तितरवितर भएका छन्, कसैका बाबामामु सँगै बस्दैनन्। बच्चालाई आफ्नो बाबा र मामु दुवैको साथ उत्तिकै जरुरी हुन्छ तर उनीहरू दुर्भाग्यवश बाबामामुसँग बस्न पाउँदैनन्। कोही मामुसँग मात्र हुन्छन् कोही बाबासँग मात्र।
उनीहरूले बाल्यकालमा पाउनुपर्ने वात्सल्य, मातृत्व तथा उचित स्याहारसुसारको लागि सबै परिवार मिलिजुली सँगै बसेजस्तो कहिल्यै पनि हुनै सक्दैन। पारिवारिक विघटनले कति महिला तथा बालबालिका आत्महत्यासम्म पुग्ने गरेको हामी दिनैपिच्छे सुन्छौं भने कति बेचबिखनमा परेर सात समुद्रपार अनकन्टार भासिएका छन्। कति उतै हराए (बिलाएर बेपत्ता भएका छन्), कति हाम्रो जानकारीमा आउँछन्, कैँयन् त अलप हुन्छन्।
दिनदिनै सुन्न पर्छ यस्ता खाले घटनाहरू जसले मेरो मथिंगलमा सधैँ एउटै मात्र प्रश्न उब्जाउँछ- के सबै बालबालिकाहरूले पाउनुपर्ने असल तथा सही अभिभावकत्व पाइरहेका छन् त?
बच्चा जन्माउँदैमा अभिभावक हुँ भन्नु कानुनी आधार मात्र हो। अनि आफूभन्दा ठूलाबाट बच्चाहरू सुरक्षित हुनुपर्ने, अझ भनौं बच्चहरूको सुरक्षाको जिम्मा ठूलाहरूको गर्नुपर्नेमा, आजकाल तिनैबाट असुरक्षित हुनुपर्ने अवस्था रहनु, अहिलेको हाम्रो आधुनिक समाज र हाम्रो शिक्षा प्रणाली माथिकै ठूलो प्रश्न र व्यंग्य हो।
त्यसैले बच्चा जन्माउनुभन्दा अघि आफू एक असल व्यक्ति बन्नुस्, असल घर बनाउनुस्, असल समाज बनाउनुस्, असल शिक्षा प्रणाली बनाउनुस्। नत्र यस्तो अराजक, असुरक्षित समाजमा हामीलाई नजन्माउनुस्। आफ्नो खुसी र खेलौनाको रुपमा हामीलाई नजन्माउनुस्। आफ्नो बच्चालाई समय, असल अभिभावकत्व, सही शिक्षा, सुरक्षित घर, सुरक्षित परिवार, समाज पनि दिन नसक्ने समाजले अब बच्चा जन्माउन बन्द गर्नुस्।