आजभोलि दिन बेग्लै भएका छन्। रात अनौठा भएका छन्। आकाशको दुनियाँमा रमाइरहेको चरो एक्कासि भक्कानिन्छ। रूखको टुप्पोमा आउँछ अनि खुब रुन्छ।
सायद चरो कसैको प्रतीक्षामा तड्पिरहेको होला। कुकुर कराइरहन्छ। बेलाबेला नराम्ररी रुन्छ अनि झोक्राएर बस्छ। सायद उसले पनि आफ्नो जोडी गुमाउनुपरेको होला। गुमाउनुको पीडा गुमाउनेले मात्र जान्दछन्। अरुलाई त्यसको के फिक्री!
म उहीँ चरोझैं आशाको टुप्पोमा बसेर आफ्नो जोडी कुरिरहेको छु। उहीँ कुकुर झैं झोक्राइरहन्छु। यादले पिरोलेर भुतुक्कै पार्छ अनि खुब चिच्याइदिन्छु र मन शान्त पार्छु।
प्रिय शान्वी!
रुनलाई मलाई केही चिन्तै छैन। आँसु थुप्रै जम्मा भएका होलान्। मजाले झारिदिउँला। चिच्याउन मलाई केही गाह्रै छैन, स्वर ठूलै छ। टोल थर्कने गरी चिच्याइदिउँला। तड्पन मेरो कुनै परीश्रम नै छैन जुन तड्पन तिमीले दिएरै गयौ।
शान्वी! मलाई चिन्ता छ त मात्र तिम्रो यादले जुन याद मेट्न न रातले सक्यो न दिनले नै, न गितारले सक्यो न मूर्छित् संगीतले नै!
यादले त पिरल्दो रहेछ। खै के उदाहरण दिउँ र? शब्द निस्कनै सक्दैनन्। छाती फुलेर आउँछ, मुटु चिरेर आउँछ, आँखा भिजेर आउँछ अनि यो मन तनझैं पछारिन बाध्य हुन्छ।
तब निशब्द हुन्छु!
यी आँखाले ती आँखालाई देखेका त कक्षा पाँचतिरै हो। तर यी आँखा र ती आँखा जुधेका भने कक्षा दशमा। थाहा थिएन ऊभित्र मेरा लागि प्रेम थियो वा थाहा थिएन। थाहा थिएन उनीभित्र म थिए वा थिइनँ। तर खै! कता-कता उनी मेरो मनभित्र प्रवेश गरिसकेकी थिइन्। कक्षा ५ देखि कक्षा १० सम्मको यात्रामा उनी कक्षा १० मा मभित्र पसिन् र ननिस्कने गरी बसिरहिन्।
माया त माया नै हुँदोरहेछ। केही दिनको सांकेतिक शैलीले नै म ढुक्कसाथ भन्न सक्थेँ। ऊभित्र म बसिसकेँ। यात्राको अन्त्य मभित्र उनी, उनीभित्र म बस्नु मात्र थिएन। बसिसकेपछिको प्रेमानुभूति गर्दै प्रेमालापको आनन्द स्वीकार्नु पनि थियो।
हरेक दिन बिहान ६:१५ मा कक्षाको कुर्सीमा झोला हुर्याउँदै उसको आगमनको प्रतीक्षामा तड्पिरहन्थेँ म। ऊ गजबले आउँथी र फिल्मी तरिकाले मलाई हेर्थी। उहीँ बेला उसकै लागि एक मुस्कान समर्पित गरिदिन्थेँ म। मेरो मुस्कानको के महत्त्व जब उसकै मुस्कान मेरा लागि समर्पण गर्न आतुर हुँदा।
उसका ती मुस्कानले जीउ सिरिंग हुन्थ्यो। रौं जुरुक्क उठ्थे। कान टिन्न बज्थे। आँखा तिरिमिरी हुन्थे। अनि म प्रस्थान गर्थेँ रोमाञ्चित जगतको एक आधुनिक परिवेशमा।
प्रिय शान्वी! आज म ती दिनहरू, यी शुद्धविशुद्ध जगतका माझ बिनासंकोच ढुक्कका साथ वर्णन गरिरहेको छु। डर, पीर, संकोच सबै तिम्रा अस्वीकार्यपन झैं अस्वीकार्य भइ गए। विगतमा सञ्चित गरेर राखेको प्रेमको मुटु चर्किँदै सूक्ष्म ढंगले फुटेको ती तीता पलहरू म आज संसारिक चित्तहरूमाझ निर्धक्क सुनाइरहेको छु।
माध्यमिक तहको परीक्षाको बिन्दुमा पुग्नै खोजेका थियौं हामी। एकदिन एक कुनामा मलाई तीन साथीहरूले ताने र एक प्रश्न गरे, 'मायामा पर्या हो मनिष?'
मैले उत्तर दिनै सकिनँ। न परेको नै थियो, न नपरेको जस्तो नै थियो। कृतिकाले मलाई कोट्याउँदै भनिन्, 'नपरेको भए भनिहाल है!'
म खिस्स हाँसेँ र फुत्त भागेँ।
दिनहरू बित्दै गए। पढाइको चाप दिनानुदिन बढ्दै गयो। मेरा आँखा उसका ती आँखामा अडिएर बस्न मन त गरिरहन्थे। अपसोच! चेतनाले झक्झकाइरहन्थ्यो। परीक्षा नजिकिँदै थियो। डर जाग्दै थियो। शान्वी मसँग नजिकिन मन त गरिरहन्थी। तर म टाढा-टाढा हुन बाध्य हुन्थेँ।
कक्षा ९ बाट १० मा उक्लिँदा मेरो पाइला पहिलो थियो। मतलब म प्रथम भएर उत्तीर्ण गरेको थिएँ। एसइईको परीक्षा गजब गर्नुपर्ने थियो मैले। तब न प्रेममा डुब्न सकेँ न पढाइमा।
परीक्षाको अघिल्लो साँझ परीक्षा स्थगित भयो। अर्को तनावले मस्तिष्कमा बास गर्यो। कोरोना नाम गरेको अर्को तनाव थपिएको थियो। सहर बजार सब बन्द भए। सबै घरघरमा थन्किए। तब सुरू भयो मेरो प्रिय शान्वीसँग दुःखदेखि सुखका गफगाफ। पिरोदेखि तीतासम्म कुरा। मिठादेखि अमिलासम्मका कुरा। गुड मर्निङदेखि गुडनाइटसम्मका सम्पूर्ण कुराहरू हामी एकआपसमा साटासाट गर्थ्यौं। लाग्थ्यो हामी मायाको संसारमा रमाइरहेका छौं।
मात्र बाँकी थियो त दुवैले माया स्वीकार गर्न। तर मलाई विश्वास थियो कि स्वीकार नगरे तैपनि हामी प्रेममा छौं। लाग्थ्यो हामी भिन्न स्वरुपका प्रेमी हौं।
प्रिय शान्वी! याद छ तिमीलाई हामी खान, पिउन, निदाउन छोडी छोडी गफमा डुब्थ्यौं। मामुले खाना खान बोलाउँदा म मामुलाई एक मुस्कान दिन्थेँ। मामु मेरो मनको कुरा सुनेर हाँस्नु हुन्थ्यो अनि भन्नुहुन्थ्यो, 'आइजो है! नत्र बाबालाई भन्दिन्छु।'
तब मलाई बाबाको डरले समात्थ्यो। तब तिमीलाई 'बाई शान्वी' एक सिंगो मुटुसहित पठाइदिन्थेँ। तिमी पनि आफ्नो मुटु सर्लक्क झिकेर मलाई नै पठाइदिन्थ्यौ। त्यो देखेर मेरो मुख खुब मस्किन्थ्यो। मसक्क मस्केको छोराको रूप देखेर मामु झन् हाँस्नुहुन्थ्यो अनि भन्नुहुन्थ्यो, 'धेरै नमस्की, बिग्रेलास्!'
मायाको नशाले हुनसक्छ, मेरो मन आजभोलि अलि भिन्न किसिमको हुँदै गएको थियो। मायामा लठ्ठिने केटो हुँदै गएको थियो। मुस्कुराइरहने युवक हुँदै गएको थियो।
बिहानदेखि रातको अन्त्यसम्म म च्याटमा व्यस्त हुन्थेँ, कि उसैसँग कि निश्चलसँग। निश्चल मेरो बाल्यकालदेखिको साथी थियो। हामी कक्षा ५ सम्म सँगै पढ्यौं, सँगै रमायौं, सँगै हुर्कियौं, सँगै फुर्कियौं र ५ मा हामी छुट्टियौं। उसले कुन्नि कता गएर संस्कृत भाषा पढ्ने निधो गरेछ।
जेठसम्म कक्षा ५ मा सँगै पढ्दै गरेको साथी हामी सबैलाई छोडेर टाढा गयो। त्यसको ३-४ वर्ष त उसले हामी सबैलाई बिर्सेको नाटक गरिरह्यो। पछि सम्झनाले निचोरेपछि हामीलाई भेट्न आइरह्यो। बेलाबखतमा मलाई फेसबुकमा मेसेज गरिरहन्थ्यो र भनिरहन्थ्यो, 'तेरो भाग्य म हेरिदिउँला, पीर नगरेस्!'
भाग्य हेर्दिने बेलै नभई ऊ मेरो जीवनमा फेरि हामफाल्यो। मेरो जीवनको हरेक गतिविधि उसलाई म निसंकोच सुनाउथेँ र ढुक्कसाथ भन्थे, 'तँ नै छस् मेरो साथी, मलाई सम्झाइरहेस्।'
उसले मेरो भाग्य नै नदेखे पनि मेरो भाग्यका रेखा कोर्ने गरी मार्गनिर्देश गरिरहन्थ्यो।
रातको लगभग दुई बज्न खोजेको रहेछ। मेरो मोबाइलमा घण्टी बज्यो। निद्रा खुल्यो। मोबाइल समाएँ र उठाएँ।
'ह्याप्पी बर्थडे मनिष!'
'अरे! धन्यवाद शान्वी।'
'१२ बजे नै गरेको थिएँ, थाहा नै पाएनौ जस्तो छ फोन आएको।'
'ए हो र? म त मस्तै थिएँ निद्रामा।'
'नो वरिज् मनिष, फेरि पनि ह्याप्पी बर्थडे है त!'
'धेरै धेरै धन्यवाद शान्वी।'
रातको अँध्यारोमा मेरो मुखमा पूर्णिमाको जूनझैं तेज थपिएको थियो। निद्रामा विलीन एक केटो आनन्दको आभास गर्न बिउँझेको थियो। जन्मदिन त रातदेखि नै पो सुरू भयो त। यसरी रात नै बिथोलिने गरी कसैले जन्मदिनको शुभकामना दिएको पहिलो पटक हो मेरो र कोहीसँग यसरी गाढा मायामा परेको पनि पहिलै पटक।
भोलिपल्ट ६-७ बजे उठेर मन्दिर तिर दगुर्छु। जन्मदिनको दिन मन्दिर गएर भगवान नपुकारे जन्मदिनको के मतलब! भगवानका अगाडि शान्वी र मलाई एक बनाइदेऊ भनेर आशीर्वाद नमागे मन्दिर पसेको के मतलब! मन्दिर पुगेर फर्किएपछि मामु र बाबाको पाउलाई ढोग्छु र मनमनै माग्छु उहीँ आशीर्वाद जुन मन्दिरमा भगवानलाई मागेको थिएँ।
मोबाइलमा थुप्रै मेसेज आइसकेका थिए। शान्वीले त १२ बजे नै फेसबुकमा पोस्ट गरिसकेकी रहिछ। फेसबुक त मेरो मुहारैमुहारले भरिएछ, मेसेन्जर मेसेज नै मेसेजले। जन्मदिनमा त चिनेका भन्दा नचिनेका मान्छेहरूको शुभकामनाले भरिन्छ प्रोफाइल पनि। अचम्म!
निश्चलको आँखा साहित्यतिर गाढिँदै गएको थियो। कहिलेकाहीँ मेसेजमै भनिरहन्थ्यो- 'अब म उपन्यास लेख्दिन्छु।'
आमा खुवाउने औंसीको दिन खै कुन्नि कुन रेडियोलाई कथा पठाएको रे। त्यो दिनदेखि उसका खुट्टाले भुइँमा टेक्दैनथे, आकाशमा टेक्थे। उसले लगत्तै उपन्यास लेख्न सुरू गरिसकेको थियो। न साहित्यको थोपो ज्ञान थियो न कुनै उपन्यास पढेको नै थियो। त्यही पनि उसमा जोश थियो। म उपन्यासकार बनेर देखाउँछु भन्ने साहस थियो। जुन साहसले मलाई समेत प्रेरित गरिरहन्थ्यो।
बादल मडारिरहेको थियो। पानी झर्न आँट गरेझैं जस्ता देखिन्थे। वायु आफ्नै गतिले चलिरहेको थियो। म बाल्कोनीमा बसेर शान्वीको मुहार कल्पिरहेको थिएँ। सोचिरहेको थिएँ कसरी भनौं यी मनका भावलाई उसका सामु? कसरी व्यक्त गरौं मेरा यी प्रेम? मझैं ऊ पनि आउँदी हो बाल्कोनीमा, कल्पना गर्दी होला मेरो मुहार र सोच्दी होली- कसरी व्यक्त गरौं म उसलाई आफ्नो प्रेम?
दुवै बाल्कोनीमा पसेर एकअर्काको मुहार कल्पिरहेर व्यक्त नहुँदो हो प्रेम। दुवै शान्त बसेर नहुँदो हो प्रेमको क्रान्ति, प्रेमको विद्रोह। बेलाबेला लाग्थ्यो म व्यक्त गर्छु मेरो भावना, मेरो प्रेम। तर खै किन हो मलाई त्यो आँटले साथ नै दिँदैनथ्यो। हामीबीच व्यक्त गर्न बाँकी सिर्फ यही प्रेम थियो। प्रेम बाहेक हरेक कुरा हामीले भनिसकेका थियौं।
साँझको ५ बज्यो। घाम लुक्न खोज्दै थियो अनि जून चम्किन। म गठ्ठाघरतिर निश्चल र उसका दुई घनिष्ठ मित्रलाई भेट्न लम्किरहेको थिएँ। उनीहरू सानोठिमीको खेतको डिललाई अड्डा भन्थे।
उही दिन मैले निश्चलका घनिष्ठ मित्रहरूलाई सुनाएको थिएँ मेरो सफल हुन बाँकी रहेको प्रेम कहानी। तब हरेक भेटमा उनीहरू सोधिरहन्थे मेरो प्रेमकहानी। आज पनि सोधे र भनिदिएँ, 'मैले प्रस्ताव राखेको छैन र उसले स्वीकारेकी पनि छैन... हाहाहा।'
केटाहरू न कुरालाई लम्बाउँथे न छोट्टाउँथे, ल ल भन्थे अनि अर्को कुरा थाल्थे।
११ कक्षा सहजै सकियो। १२ कक्षा सकिन मात्र एक महिना बाँकी थियो। स्कुल पढ्दाका साथीहरू कृति, अनुषा, सुमिताले मलाई भेट्न चाहेको जिकिर गरे। हामी भेट्यौं कौशलटारको बर्गर हबमा। कृतिले मलाई निसंकोच सोधी, 'मनिष! शान्वीलाई प्रस्ताव राख्यौ?'
मेरो मुखले छैनको संकेत गर्यो। अनुषाको मुख चल्बलायो, 'ह्या मनिष अब त प्रस्ताव राख्ने बेला भयो के।'
मेरो मुखले अँ को संकेत गर्यो। सुमिता केही बोलिन। मलाई हेरी र मुसुक्क मुस्कुराई। तब लाग्यो उनीहरूलाई मलाई मात्र भेट्न मन थिएन। मसँगै शान्वीलाई पनि भेट्न मन थियो र भन्न मन थियो- ओहो! कस्तो सुहाएको, कस्तो राम्रो देखिएको!
त्यो रात आँखामा निद्रा परेनन्। मात्र आइरहे कृतिका ती शब्द, अनुषाको त्यो जिकिर, सुमिताको त्यो मुस्कान। मध्यरातमा निधो गरेँ भोलि बिहानै प्रस्ताव राख्छु।
भोलिपल्ट एकाबिहानै मोबाइलमा औंला गाडेँ र लेखेँ शान्वीलाई एक मेसेज।
'शान्वी! तिमीलाई एउटा कुरा भन्नु छ।'
एकाबिहानै मेरो त्यस्तो मेसेजले शान्वीको मनमा कताकता लाग्यो होला, प्रेम प्रस्ताव पो राख्न लाग्यो कि! लाग्यो होला केही पो भयो कि! शान्वीले लेखी, 'अँ भन न!'
सहजै भनिदिएँ, 'आई गेस, म तिमीलाई प्रेम गर्छु शान्वी।'
मेसेज गयो, उसले हेरी तर रिप्लाई गरिन। लगभग १० मिनेटपछि रिप्लाई आयो, 'यो विषयमा साँझ कुरा गरौं ल मनिष!'
म ङिच्च परेँ र स्वीकार पठाएँ।
बिहानी उदाउँदै गरेको घामदेखि घृणा बढ्दै गएको थियो मेरो। म साँझ कुरिरहेको थिएँ। अस्ताउँदो घामको माया लाग्नु अलि भिन्न प्रकृतिको प्रेम हुन सक्छ। तर पनि तत्कालका लागि मलाई साँझ चाहिएको थियो। मलाई साँझ प्यारो थियो, मेरी शान्वीझैं। मलाई अस्ताउँदो घाम चाहिएको थियो तर उसको उत्तर उदाउँदो।
चाहिएको थियो प्रेमले भरिएको उत्तर, मिठासले पुरिएको उत्तर। साँझ पर्न विश्वका कयौं घडीहरूले फेल खाए मेरा लागि। घण्टाघरले समय रोकेझैं लाग्यो। सूर्य एकै ठाँउमा अड्किरहेझैं लाग्यो। खैर! साँझ परिहाल्यो।
शान्वीको प्रतीक्षामा लम्पसार छ मुटु। थाहा छैन शान्वीले कति बेला गर्छे मेसेज र भन्छे, 'मनिष! आइ लभ यु।'
थाहा छैन जवाफ आउँछ कि आउँदैन। आए पनि कुन प्रकारको उत्तर आउँछ। म वाल्ल परेको छु र उभिएको छु उही आशा बोक्दै।
९ बजाउनै खोजेको थियो घडीले। शान्वीले मेसेज गरी, 'मनिष! म अरू कोहीसँग मायामा छु।'
मस्तिष्कमा पूर्णविराम। मुटुमा पूर्णविराम। सास अड्केको नाटक गर्छ। मुटु नधड्केको। पूर्णविराम लागेको केही मिनेटपछि मुख सुक्छ, टाउको दुख्छ, आँसु झर्छ र मुटु पोल्छ।
शान्वीको त्यो मेसेजपछि मेसेज गर्न मेरो जोश हरायो। चित्तले दुखेझैं गर्यो। मेरो प्रेम उसलाई नपचेझैं लाग्यो। मुटु चिरा चिरा भएझैं भयो।
तब दिनहरू बित्न कठिन हुन लागे। रात सकाउन गाह्रो पर्न थाले। प्रेममय वार्तामा २४ सै घण्टा मसँग लठ्ठिने केटी कसरी अरूसँग प्रेममा हुन सक्छे? कसरी अरूको बन्न सक्छे? यी प्रश्नहरूले जरा गाडेका थिए मेरा मस्तिष्कमा, पीर पारेका थिए मुटुमा।
१२ को परीक्षा आउन मात्र महिना दिन बाँकी छ। मेरो आँखामा किताबका पानाहरू त तेर्सिएका छन् तर मनमा भने मेसेन्जरका ती डरलाग्दा शब्द। अँध्यारोले अड्डा जमाइसकेको थियो मनमा। शान्वीको मेसेज आउँछ, 'आई एम सरी मनिष! किन यति ढिला भनेको?'
उसको त्यो प्रश्नले मेरो मस्तिष्कमा सधैंको लागि पूर्णविराम लगाइदियो।
केही दिनपश्चात् यी सारा कुरा कृतिका कानमा पुगे। तब एक कान, दुई कान मैदान!
फगत तनाव, बेकारी पढाइको कष्ट, भावनाको मृत्यु। आजसम्म उही पूर्णविरामले विरक्त छ मेरो मस्तिष्क, स्तब्ध छन् मेरा भावना र अटल छ मेरा चेतना।
शान्वीका दयालु शब्दहरूले जोडिँदैनन् टुटेको मुटु। ती पलहरू सम्झँदा लाग्छ समयले मलाई धोका दियो अनि मेरो मुटुले मलाई कष्ट।
लेख्दा लेख्दै ती शब्दहरूले मलाई निचोरिरहेका छन् र बल्झाइरहेका छन् घाउ। पीडाले कोरिएको फगत दैनिकी तपाईंहरूमा समर्पित!