म लजको माथिल्लो तलाबाट पर सेताम्मै भएर निस्किएका बादलहरू हेरिरहेको छु। उनीहरूको उडानले मलाई लोभ्याउँदैछ। चाहेर पनि म किन उड्न सक्दिनँ? सपनामै सही म उड्न चाहन्छु। मलाई उड्नेहरू देखेर सधै लोभ लाग्छ।
किन बारम्बार आफैंलाई भनिरहेछु-आज तेरो जन्मदिन हो केटी तँ खुसी हुनुपर्छ। तर किन किन जन्मदिनमा पनि म दुःखी छु।
यो दुःखी हुनुपर्ने दिन होइन। हुन त जन्मिनुमा मेरो कुनै योगदान छैन। जन्मेको मै खुसी हुनुपर्ने कुनै कारण पनि छैन। तर म आफूलै आफैंलाई आजबाट चौंतिसको मान्न तयार छैन। मलाई हरेक जन्मदिन पश्चात आफ्नो उमेरमा थप्नुपर्ने अर्को थप अंकले सधै पिरोल्छ। हिजोसम्म तेत्तिसको म आज एकाएक कसरी चौत्तिसको हुनसक्छु। मलाई अंकहरूको यो खेल देखेर रिस उठ्छ।
लजको दिदी खाना खान बोलाउनुहुन्छ। म तल झर्छु। थालको एक छेउमा राखिएको रायोको सागले मन खुसी हुन्छ। दिदीलाई थाहा छ मलाई रायोको साग मनपर्छ। आज जन्मदिन भएको कारण भन्दा पनि रायोको साग खान पाएकोमा म खुसी छु। दिदी भन्नुहुन्छ, ‘यो बर्खामासमा किन आयौ? मलाई लागेको थियो तिमी दसैं पछि आउँछ्यौ।’
‘त्यसै दिदी’ मैले भनेँ।
म भन्न सक्दिनँ थिएँ- जन्मदिन भएर, बिरक्तिएर वा आफैंसँग भाग्न।
हुन त म दसैंपछि आएको भए पनि हुन्थ्यो। तर दसैंपछि आमालाई लाग्छ, छोरी केही दिन भए पनि आफैँसँग बसोस्। आमा हुनुको खुसी र पीडा अर्कै छ। म लहडीझैं घुमेकोमा आमा सधै पिरलो गर्नुहुन्छ। उहाँलाई लाग्छ-छोरी भनेको अडिग हुनुपर्छ लहडी होइन। आमाको अगाडि म आफ्नो अहडीपन लुकाउँन पनि त सक्दिनँ।
लजको झ्यालबाट पर हेर्दै एक तमासले आफैँमा हराइरहेछु। बेलुकाको नौ बजेको छ। एक्कासी आमाको फोन आउँछ। आमा सोध्नुहुन्छ, ‘खाना खाइस्?’ संसारमा कसैले खाएको र नखाएकोमा चिन्ता गर्छ भने त्यो आमाले मात्र गर्छ।
‘के गर्दैछस्र?’
‘पढ्दैछु’, मैले भने।
आज पनि आमा सबैभन्दा खुसी मैले पढ्दैछु भन्दा हुनुहुन्छ। उहाँले आज मेरो जन्मदिन हो भन्ने भुल्नुभयो। मलाई सम्झाउँन लाज लाग्यो। ... यतिकैमा हाम्रो फोन संवाद टुङ्गियो।
थाहा छैन यो चौँतिसौ जन्मदिन मनाउँने ठिक तरिका हो वा होइन। लहडिएर एक्लै यात्रामा निस्किएको छु। बाटामा रूख, बादल र नदीहरूले साथ दिएका छन्। उनीहरूसँगको संवाद मलाई सधै प्रिय लाग्छ। हुन त मैले एक अन्जान फोटोग्राफरलाई पनि भेटेँ। तर ऊ मलाई रूखो लाग्यो। चाहेको भए ऊ मसँग केही बेर बोल्न सक्थ्यो। तर ठिकै छ बाटामा भेटिनेसँग यो भन्दा बढी आशा राख्नु सायद ठिक होइन।
यो मेरो सिमपानीको पहिलो बसाई होइन। यो लजमा मेरो पहिलो रात पनि होइन। एक खाले अपनत्वको कारण म बिना संकोच बहकिन सक्छु यो ठाउँमा। बिहानै दुध चियाको चुस्कि लगाउँछु। भ्यू टावरसम्म एकछिन हिडौं कि भन्ने लाग्छ।
‘दिदी माथिसम्म पुगेर आउँछु लन्चलाई केही ढिला होला,’ मैले अनुमति मागेँ।
बिस्तारै उकालो लाग्छु। गाउँलेहरू आफ्नै सुरमा बिहानी धन्दामा मस्त छन्। बर्खामासमा गाउँमा फूर्सदिलाहरू भेट्न मुश्किल छ। बाटो चिप्लो छ। बाटाबाटामा बर्खे मुलहरू पलाएका छन्। जता हेर्यो त्यतै खोलानालाहरू गर्जिएका छन्।
बाटाभरी खोलानालाको आवाज मात्र गुन्जिन्छ। करिब एक घण्टाको हिँडाइपछि भ्यूटावर पुग्छु। दसैंताका आएको भए भ्यूटावर वरपर मान्छेहरुको भिड हुने थियो। तर आज सुनसान छ। बिस्तारै माथि उक्लिन्छु। पर कोही भएजस्तो लाग्छ। एक्कासी उही फोटोग्राफर देख्छु जोसँग हिजो म छुट्टिएको थिएँ। हुन त उसले बिहानको सूर्योदय कभर गर्छु भनेको पनि त थियो। तर ऊ त्यहाँ हुनेछ भनेर मैले सोचेको थिइनँ।
‘अहो हाम्रो भेट फेरि भयो है,’ मलाई देख्नेबित्तिकै उसले भन्यो।
‘सायद फेरि भेट हुन लेखेको रै’छ। तर हिजो तपाईँ अर्कै बाटो लागेपछि मलाई लागेको थियो हाम्रो भेट यतिनै रहेछ।’
उसले हाँस्दै भन्यो- हो है।
त्यसपछि आफ्नै लेन्सहरूमा मस्त हुन थाल्छ।
‘यहाँ तपाईँको पहिलो पटक हो?,’ मलाई फेरि उसँग बोल्न मन लाग्छ।
‘होइन नि, तपाईको?’
‘मेरो पनि होइन,’ मैले जवाफ दिए। यो बर्खामासमा सूर्योदय कभर गर्न आउनु मलाई अचम्मको काम लाग्छ। कताकता लाग्छ सायद ऊ पनि म जस्तै बादलप्रेमी हो। त्यतिबेला ऊ बादलकै फोटो खिच्दै रहेछ।
ऊ आफ्नै लेन्सहरूमा मस्त छ। म आफ्नै अनुभूती सँग। ऊ सँग संवादको लागि क्यामरा छ। मसँग आफ्नै अनुभूतिहरू मात्र छन्। यो भ्यूटावरमा मेरो पाँचौ पटक हो। तर हरेक पटक जब म यहाँ उक्लिन्छु मैले आफूलाई आफैं त्यहीँ पाउँदिनँ। देख्नेहरूको लागि म उही हुँ। उही जागिर, डेबिड र क्रेडिटको अत्यासलाग्दो दैनिकी। उहीँ रंग, उहीँ क्यानभास र उही कुचिहरू। तर अब मैले कोर्नुपर्ने जीवनको चित्र उहीँ हुनेछैन। अब मैले आफ्नै चित्र कोरेँ भने पनि मैले कोर्ने आकारहरु केही स्पष्ट हुनेछन्। सायद मैले आफैंलाई ब्याख्या गर्ने गरेको रातो रंग केही कम हुनेछ। यो अनौठो अनुभूती हो।
ऊ आफ्नो ध्यान क्यामराबाट हटाउँदै भन्छ, ‘एउटा प्रश्न सोधौ है!’
‘सोध्नुस् न,’ म हाँस्दै भन्छु।
एउटा एकाउन्टेन्ट कसरी घुम्ने लतमा फस्यो, म अन्योलमा छु।
‘अन्योलमा हुनु ठिकै हो तर सबै एकाउन्टेन्ट नम्बरको खेलमा मात्र रमाउँछन् भन्ने कुरा आजबाट तपाईँले बिर्सनुपर्छ। म अंकहरूको खेलमा रमाउन नसकेको एकाउन्टेन्ट हुँ। खासमा म आफूलाई चित्रकारको रूपमा बढी पाउँछु तर बिडम्बना सुरूमै चित्रकार हुँ भनेर भन्न धकाउँछु,’ मैले जवाफ दिएँ।
उसले हाँस्दै भन्यो ,‘आजबाट त्यो धक हटाउनुपर्यो।’
‘सेम इज अ ब्याड थिङ, यू नो,’ मैले उसको कुरामा सहमति जनाएँ।
उसले अगाडि भन्यो, ‘हिजो नै तपाईँले आफूलाई चित्रकार भनेको भए, थाहा छ, म तपाईसँग केही समय थप बिताउँने थिएँ।
मलाई लाग्यो म नम्वरमा कमजोर छु हाम्रा संवादका विषयहरू मिल्दैनन्।’
म भने, ‘चित्रकार र एकाउन्टेन्ट हुनु भनेको एक अनौठो बिरोधाभाष हो। त्यसले अरूलाई बुझ्न सजिलो हुन्छ कि भनेर म उकाउन्टेन्ट मात्र भनिदिन्छु।’
उसले मैले भनेका कुरामा सहमति जनायो र आफ्नै धुनमा मस्त हुन थाल्यो।
मलाई लाग्छ केही सोधौं उसलाई। तर फेरि लाग्छ आऽऽ होस्। पर आकाशमा एक बादलको मुस्लो घुमिरहेछ। टावरबाट तल देखिने बजार छेकिएको छ। नजिकैका फाँटहरुमा धान हरियो भइसकेको छ। जताततै हरियाली छ। यो दृष्य मेरो लागि नौलो होइन। म यस्तै गाँउघरमा हुर्केकी हुँ। तर पनि आज मन बहकाउँन आफ्नो झै लाग्ने परको गाउँ आइपुगेकी छु।
कहिलेकाही परिचितहरुको भिडले म निसासिन्छु। लाग्छ कसैले नचिन्ने बनिदिउँ। त्यहीँ खोजीमा म यहाँ आइपुगेकी छु। तीस बसन्तले मलाई आफैंलाई बुझ्ने कुनै अर्को आयाम दिन सकेनन्। आज म त्यसैको खोजीमा छु।
फोटोग्रफर आफ्नै क्यामरामा मस्त छ। अब म उसँग थप संवादको आवश्यकता देख्दिनँ। मलाई संवादका लागि मात्र गरिने संवादहरूले त्यति लोभ्याउँदैनन्। मानिससँग संवादमा रहनु एक सुन्दर भ्रम मात्र हो।
म उसलाई वाई भन्न सक्थेँ। तर भनिराख्न जरूरी ठानिनँ। सायद... अब जरूरीकै लागि गर्नैपर्ने केही छैन जीवनमा। म जीवनको एक मध्य बिन्दुमा छु। पार गरेको आधा यात्राबारे म गुनासो गर्न सक्दिनँ ...
पहिलो भाग हेर्नुहोस्
तपाईं नि मजस्तै सोलो ट्राभलर!