सहर झरेको कयौं वर्षपछि म एक छोरीलाई
तल्लाघरे कान्छी बहिनीको मोबाइलबाट घण्टी बज्छ
म सुन्छु अनि झसङ्ग हुन्छु, ए फेरि पनि घरमा पैसा पठाउनु पर्ने रे!
होइन होइन, शरद ऋतु आयो भन्दै फोन काट्छे।
हत्तेरी! कस्तो जिम्मेवारी आफ्नो खुसी नै
बिर्सिने गरी टाउकोमा थुप्रिए छ नि
बालापनमा चङ्गा उदाउँदै तल्लो र माथिल्लो घर गर्दै
सेलरोटी टोकेको याद दिलाउँछे
म भन्नेबित्तिकै मेरो मन झसङ्ग हुने गरी मेरा ती दिन सम्झाउँछे।
मनभरि चिन्तैचिन्ता, पीरसँगै आमाको गुन्यू र
बाको शिरको टोपी फेर्नुछ नि भन्दै फोन काट्छे
मन समाल्दै करुणाका भाव जगाउँदै यो पराई सहरमा
आफ्नो मन दह्रो बनाउँछु भनी सोच्दा सोच्दै बाको फोन आयो।
बाको पहिलो शब्द नै, छोरी दसैं आयो नि!
मैले त्यो दिन सम्झिएँ
बा दसैं आयो नि भनेको दिन
मलाई याद छ बा नयाँ लुगा, मिठो खाने कुरा खाउँ
र चङ्गा किन्दिनु भनेको दिन
बा स्तब्ध हुनुभएको त्यो दिन
आज म स्तब्ध भएको दिन।
त्यतिकैमा बाले फेरि प्रश्न गरिहाल्नु भयो
ठिक छेस् नि नानी?
भक्कानिएको मन, टिलपिल टिलपिल आँसु थामेर
बालाई भनेँ- ठिक छु बा
बा भक्कानिनु भएछ, फेरि भन्नुभयो
घरकी लक्ष्मी, घरकी शोभा, रंगीचंगी फूल पुलाउने एक तिमी सृष्टि थियौ
तर आज मेरो हातले तिम्रो निधारमा अक्षता नथापेको
र मेरो शिरले तिम्रो हात नछोएको पनि कयौं वर्ष भएछ है!
त्यतिकैमा फोने काट्नु भयो।
टाढा सहर, काँधमा जिम्मेवारी, न दसैं न तिहार
तिम्रो मायाको स्पर्शले गर्दा मान्नेछैन बा कहिले हार
मान्नेछैन कहिले बा हार।