हिजोआज मेरो जीवन एकनासको हिउँदे नदीजस्तै बगेको छ। न त वर्षातको जस्तो वेग छ, न त छाल छ, न त किनारालाई नाघेर हिँड्न सक्ने आँट छ। बस एकोहोरो एउटै गतिमा एक्लै एक्लै अनवरत एउटै लयमा हिँडेको छ यो जीवन।
एक्लै यसरी हिँडिरहँदा न त आफैसँग कुनै दुखेसो छ, न त कसैप्रति गुनासो छ। जे छन् सम्झनाहरू छन्, जुन अति मिठास छन्। बाँकी जीवन काट्नका लागि प्रयाप्त छन्, विगतका स्वर्णिम समय।
मेरो सधैँजसो उही जीवन देखेर नजिकका साथीहरू मप्रति गुनासो भने प्रायःजसो गर्छन्- 'होइन सागर! कति काम मात्र गरिराख्छौ? दशदेखि चार त स्कुलकै काममा बिजी हुन्छौ। कोठामा पनि धुमधुम्ती एक्लै नचाहिँदा कामहरू गरी बस्छौ। जुन आवश्यक नै थिएन। बिदाको समय पारेर यसो घर गए पनि त अलि फ्रेस हुन्थ्यौ। आमाबुबाको मुहारमा पनि त घाम लाग्थ्यो तर माने पो हाम्रो कुरा।'
यस्तै चिन्ता अझ बाबुआमा गर्नुहुन्छ मेरो लागि। घरको कान्छो छोरा भएर पनि होला उहाँहरूको लागि म चिन्ताकै पात्र बनेको। सबै दाजुहरू र दिदीहरूको समयमै व्यवहार छिनेर ढुक्कले बस्नु भएको उहाँहरूलाई मेरो चिन्ता लाग्नु पनि स्वाभाविक हो। सकेसम्म उहाँहरूलाई खुसी दिनका लागि आफूले मास्टरी जागिरे गरेर काठमाडौँमा खाई बसी गरेर बचेको तलब थोरै भए पनि पठाएकै हुन्छु। तर उहाँहरू यसलाई झन् समस्याको रूपमा पो हेर्नुहुन्छ।
सायद बिहे गरेर घरव्यवहार सम्हाल्नको लागि उल्टै उहाँहरूसँग, 'लौन बुबा के गरेर गर्जो टार्ने होला' भनेको भए खुसी हुनुहुन्थ्यो होला। बाबुआमा त आखिर आफ्ना सन्तानलाई सानै देख्छन्। आफ्ना हात खुट्टा चलुन्जेल सन्तानका लागि केही गरूँ भन्ने भावना, इच्छा त सबै अभिभावकमा हुन्छ। यहाँ अभिभावकको मर्म नबुझ्ने त सन्तान नै हुन्छन्। म मेरा आमाबुबालगायत परिवारका लागि चिन्ताको विषय बन्नुको कारण चाहिँ बिहे गरेर परिवार बढाउने समय पुग्दा पनि अहिलेसम्म अविवाहित रहनु हो।
एक किसिमले म सकेसम्म आफूलाई जतिसक्दो व्यस्त राख्ने कामकै लागि कामको खोजी गर्न थालेको पनि निकै वर्ष भयो। दिनभरि स्कुलका काममा समय बिते पनि बिहान र बेलुकाको समय बिताउनलाई म आफ्नो क्षमताले गर्न सक्ने कामको खोजीमा भौतारिरहन्छु। हातमा आफूले गर्न सक्ने काम आए जति अरूको भागमा पर्न नै दिन्नँ। मलाई जसरी पनि समयको सुइँसँगै घुमिरहनु छ, एकनासले विश्राम नै नगरी। कामकै नाममा आफूबाट आफै बेखबर हुनु छ।
आज पनि चिनजानका माध्यमबाट एउटा स्मारिका सम्पादनको कामको जिम्मा लिएर आएको छु। बाहिरको चिसो मौसममा हिउँजस्तै मन पनि जमेकै छ सदाझैँ। जाडो महिनाको बिदा दिएको छ स्कुलले। घर जान पनि सक्थेँ तर सधैँ परिवारको एउटै कुरा अनि मबाट उही वर्षौदेखि भनिँदै आएका जवाफ।
उफ! कति दिक्क लाग्दो। कति पट्यार लाग्दो, खेलौना मेसिनबाट निस्किएका एकैनासका आवाज जस्ता। त्यसैले पनि बहाना गतिलो पाएको छु। उहाँहरूलाई अनि आफैलाई छल्न यो पटकको हिउँदे बिदाको लागि।
प्रायः होटलमै खाने बानीले शरीरमा प्रतिकूल असर गरे पनि आज नि होटलमै खाना खाएर बसेँ आफ्नो काममा, उहीँ स्मारिकाका पानाहरू पल्टाउन। कसकसका लेखहरू रहेछन् त भनेर जान्ने इच्छा यति तीव्र रूपमा दौडिएको थियो कि खाना पनि खानकै लागि, बाध्यताका लागि खाएर आएको जस्तै भएको छ।
एक त आफू साहित्यको विद्यार्थी, त्यसमाथि विद्यालयमा पनि नेपाली विषय नै पढाउँछु। अनि अर्को कारण म आफैँ कुनै समयमा साहित्य सिर्जना पनि गर्थेँ भने अहिले आएर म आफूलाई राम्रो पाठक हुँ भन्न रुचाउँछु। सबै समयको खेल त रहेछ नि। समयको त हामी गोटी मात्र। समयको नचाइअनुसार हामी आफूलाई प्रस्तुत गरिरहेका हुन्छौँ अनेक रूपमा। बडो विचित्रको छ समय, समयसँग मेतेरी गाँस्न नसकेकाहरूले जीवनबाटै हात धोएका पनि छन्। तर यस्तो समय कोही कसैको लागि नआओस्।
स्मारिकाको पाना पल्टाएपिच्छे लेखकका नाम अनि चिनिएको नाम आइपुग्दा उसको परिचय दिमागमा ठोकिँदै छन्। यसै क्रममा इश्वरा केसीको नाममा यी आँखा पर्छन्। इश्वरा नाम जो सास बनेको छ मेरो लागि। यो नाममा आँखा परेसँगै मनभरि खुसीका छालहरू उर्लिन्छन्। मुटु जोडले धड्किन थाल्छ। मनका साथै तनमा अनौठो रक्तसञ्चारण हुन थाल्छ।
इश्वरा मेरो प्रिय शब्द अर्थात् तिमीसँगको साथमा हुँदाभन्दा अलग फोटो भएकोले सायद यो तिम्रो पछिल्लो पटकको फोटो हुनसक्छ। कति प्रिय, कति मिठो सौगात बनेको छ अहिले यो। तिमीलाई हेर्नु, सुन्नु मेरो नियमित कार्य त तिमीले वर्षौ पहिले छुटाएकी थियौ। तर आज तिमी स्वयम् मेरो अगाडि आएर साथ मागिरहेको आभास भइरहेको छ।
सागरलाई भेट्न नदी आएजस्तै, सागरमा नदी मिसिएर एकै रूप भएजस्तै, तिम्रो आत्मपरक लेख र फोटो मभित्र समाहित भएका छन् यतिबेला। तिम्रो अझ यो लेख आत्मपरक भएकोले यतिका वर्षसम्म अज्ञात रहेको म, धेरथोर तिम्रा बारेमा जान्ने मौका जुरेको छ। एकै श्वासले पढेँ, तिम्रा भावना, विचार, जीवन चिन्तन, मबाट अलग्गिएपछिको तिम्रो जीवनगाथा बुझ्न।
दोहोराएर पढेँ, फेरि दोहोराएँ। फेरि दोहोराएँ, हरेक शब्दको मर्म बुझ्न। तिमीलाई पाएको आभास भएको छ। मेरो लागि कल्पनाभन्दा बाहिरको भएर होला, अलौकिक लागेको छ यो समय अहिले।
***
तिम्रो कविता पहिलो पटक मैले राष्ट्रिय पत्रिकामा पढेकी थिएँ। कवित्व शक्ति यति थियो कि यो मनलाई बाध्य बनाएको थियो, पटक पटक पढ्न। कवितामा प्रेम अनि जीवन चिन्तनको ओजिलो, गहन प्रस्तुति थियो। सायद मेरो उमेर त्यस्तै भएर होला, प्रेम विषयले नै कताकता काउकुती लगाउँथ्यो यो मनलाई। तर यहाँ उमेरको मात्र दोष पनि थिएन, तिम्रो रचना नै अद्भूत थियो।
यही कविता त्यही दिन फेसबुकमा मेरो साथीले सेयर गरेको रहेछ। कवितामा धेरै कमेन्ट र लाइक देखेपछि आँखा तानिए। पढेपछि थाहा भयो, बिहान धीत पुग्ने गरी पढाएको, मनलाई एक किसिमको आनन्दानुभूति गराएको कविता पो रहेछ। त्यसपछि पो बल्ल तिम्रो नाम र को रहिछौ भन्ने खाजी भयो। अनि डुल्न थालेँ इश्वरा केसीको सुन्दर प्रोफाइलको संसारमा।
बिहान कविताका शब्द ख्याल गरेको म हुस्सुले नाम त त्यति याद नै गरेको रहेनछु। कविताजस्तै अति मिठो नाम इश्वरा केसी। नामजस्तै प्रोफाइल फोटो त्यत्तिकै सुन्दर। फोटो अपलोड त गरेकी रहिनछ्यौ। कार्यक्रममा सहभागी भएका केही फोटा मात्र फेला पारेँ, त्यो पनि ट्याग भएका। त्यसपछि तिम्रा कविता, लेख, रचनातिर मनलाई दौडाउन थालेँ, द्रुत गतिमा।
लगभग तिम्रो फेसबुक संसारसँग परिचित भएँ। अनि त्यत्तिकै हतार पनि गरेँ रिक्वेस्ट पठाउन। तिम्रो उमेर समूहकाले प्रायः फोटो अपलोड गरिरहेको भेटेको मैले तिमीले चाहिँ नराख्दा अझ विशेष चासो बढ्न थाल्यो। आफ्नै केटी साथीहरूलाई सम्झेँ, जो म नै उनीहरूको रोजाइँको क्यामेरा म्यान बन्थेँ। उनीहरूको मन जित्न सफल भएको फोटो अपलोड गर्थे र भन्थे पनि- फोटो क्रेडिट सागर।
रिक्वेस्ट पठाएपछि प्रतीक्षा रह्यो तिम्रो एसेप्टको। कसैले यति धेरै मन तानेर, भर्चुअल संसारमा साथी बनाउन मन डोरिएको यो पहिलो पटक थियो। फेसबुक खोलेका सुरुआती दिनमा कौतूहलता, जिज्ञासा, रमाइलोको लागि जानेर या नजानेर रिक्वेस्ट सेन्ड गर्नु, एसेप्ट गर्नु, मन नपरे अनफ्रेन्ड गर्नु, त्यस्तै परे ब्लक गर्नु र अरूबाट भइनु त धेरै नै हुन्थ्यो।
तर पछिल्लो समय धेरै सचेत भएसकेको म, व्यक्ति हेरेर मात्र रिक्वेस्ट पठाउने र एसेप्ट गर्ने गर्थें। अझ रिक्वेस्ट अति कमै पठाउँथेँ। प्रतीक्षा रहने थिएन कसैको एसेप्टको। तर तिम्रो प्रतीक्षा विशेष रह्यो, अनलाइन भएपिच्छे आँखाले खोजिरह्यो एसेप्टेड शब्द।
जति समय ढल्दै जान्थ्यो, उति मन व्यग्र हुन्थ्यो। यहाँनेर अझ पुरुष अहमले भूमिका खेल्थ्यो। फेसबुक नचलाएको पनि हुन सक्छ नि भनेर चित्त बुझाउँथेँ। प्रोफाइल चेक गर्थेँ। पछिल्लो समय अपडेट भएको पाइनँ। तिमीले मेरो अनुरोध स्विकार्नु पर्छ भन्ने पनि थिएन। तर समयसँगै झिनो आशा भने रहिरह्यो। कलिलो घामले धर्तीमा उज्यालोको लाली पोतेजस्तै मेरो फेसबुकको नोटिफिकेसनमा करिब दुई हप्तापछि तिम्रो आगमनले उज्यालो छाएको थियो। एसेप्टेड नोटिफिकेसनसँगै कति पनि अबेर नगरी, 'हाई! गुड मर्निङ!' भनिहालेँ।
उताबाट केही उत्तर आएन। मन हतार भयो, झन् च्याट गर्न। हरियो बत्ती अनलाइनको सूचक त देखापरेकै थियो तर मेसेज हेरिएको थिएन। अनि लागेँ फेरि प्रोफाइलसँग साक्षात्कार हुन। पहिले सायद हामी साथी नभएर होला तिम्रो वालमा भएका सामग्री सबै देखाएको रहेनछ। त्यसैले तिम्रो बारेमा राम्रोसँग जानकारी पाएको रहेनछु। एउटा पोस्टबाट तिमीले छोरीलाई बर्थ डे विस गरेका केही तस्बिरहरू देखेँ। मन अलि खल्लो भयो। यसमा खल्लो मान्नु पर्ने त केही थिएन। तर मन छिनमै के भयो, पत्तै पाइनँ।
'नमस्कार सर!'
उताबाट निकै बेरपछि जवाफ आयो। मन भारी भए पनि कुरा गर्न चाहिँ हतारिए औँला, किबोर्ड चलाउन।
सम्बोधन के गरूँ भनेर अलमलिएँ एकछिन्। लिन त नाम नै मन थियो, आफूलाई इश्वरा शब्द अति प्रिय, अति पवित्र लागेको जो थियो। सम्बोधन बेगर नै बातचितको कार्य जारी राखेँ।
'आराम हनुहुन्छ नि?'
'आराम छु सर!'
तिम्रो जवाफमा सुरुदेखि नै सर शब्दको सम्बोधन आएपछि म्याम भन्न कर लाग्यो। मैले किन अनकनाइरहेछु म्याम भन्न, अचम्म लाग्दै थियो आफैदेखि नै। परिचयात्मक कुराकानीमा भन्नु पर्ने त म्याम नै थियो या त इश्वराजी भन्न पनि त सकिन्थ्यो। यसो गर्न मनले दिएन। तर भन्नै पर्ने भयो कुरा अगाडि बढाउन।
'म्याम कता बस्नुहुन्छ?'
जवाफ आएन। कति हतार गरेँ, यो प्रश्न सोध्न लाग्यो। कहाँ बस्नुहुन्छ भन्ने कुरा त प्रोफाइलबाट थाहा पाइसकेको हुँ नि- फ्रम काठमाडौँ। काठमाडौँको पनि कहाँ अब भन्ने कुरा हो। यो जान्नु आवश्यक पनि थिएन तर सोधिहालेँ। जवाफ नआएपछि बित्थामा सोधेँ लाग्यो। आराम छु सर भनेपछि तपाईंलाई नि भन्ने प्रश्न सोध्न सकिन्थ्यो नि। त्यो पनि सोधिएन। मन कटक्क भयो। अब त बोल्ती नै बन्द भयो। त्यही पनि आशा जागिरह्यो, कतै रिप्लाई आइहाल्छ कि भन्ने।
दुई हप्ता बित्यो। कस्तो भाउ खाने पो रहिछ लाग्यो। राम्रो लेखक भएकै कारणले हुनसक्छ तर संवाद हुने छाटकाँट नदेखेपछि तिम्रा प्रकाशित कृतिका बारेमा खोजी गर्न थालेँ। प्रोफाइलबाट तिम्रो कथासङ्ग्रह र कवितासङ्ग्रह प्रकाशित भएको जानकारी पाएँ। किनेर ल्याएपछि आफ्नो कामले फुर्सद पाउने बित्तिकै तीन/चार बसाइँको पढाइमा नै पढी सिध्याएँ। कृति पढेपछि झन् बोल्ने उत्कट इच्छा पलायो। कविता, कथाकै बारेमा सोध्न मन लाग्यो। कथाका पात्रका बारेमा चित्त नबुझेको कुरा सोध्न मन लाग्यो। मनलाई रोक्न सकिनँ र सोधेँ।
'म्याम नमस्कार!'
तिमीबाट पनि तत्काल रिप्लाई आयो, 'नमस्कार सर!'
त्यसपछि मेरो संवादले प्रवेश पाएको थियो, तिम्रो मेसेन्जरको मार्गमा। सुरुआती दिनहरूमा औपचारिकताले सजिएको हाम्रो संवादको यात्राले पछि अनौपचारिकताको बलियो पक्की मार्ग बनाउन सफल भएको थियो। यसै क्रममा थाहा भएको थियो कि तिम्री सात वर्षकी छोरी रहेको, श्रीमानसँग चार वर्षअगाडि सम्बन्ध विच्छेद भएको। कारण कहिल्यै पनि सोधिनँ। तिमीले भनिनौ पनि।
तिमीलाई जति बुझ्दै गएँ, उति नै मनमा तिमी जस्तो पवित्र आत्मालाई छोडेर जान सक्ने कस्तो मूर्ख मानिस रहेछ भन्ने कुराले यो मनलाई घेर्न थाल्यो। तिमी प्रेमकी प्रतिमूर्ति थियौ। हामीबीच प्रेमका कुरा खासै नभए पनि तिमीले समस्त जीवन जगतप्रति देखाउने दया, माया, करुणाको सागरमा म पौडिरहेको थिएँ। सायद यहीँ कारणले तिमी अरूभन्दा बिल्कुल अलग लाग्यो।
यहीँ अन्यभन्दा अलगपनले मेरो मनलाई हिउँदको घामले मान्छेलाई डोराएजस्तै मलाई तिमीसँग बोल्ने माध्यम च्याटले डोराइरहेको थियो, तिमीसँग पुग्न। हुन त म तिमीसँग आफूलाई फुर्सद हुने बित्तिकै कुरा गर्न खोज्थेँ। तर तिम्रो आफ्नै नियम थिए च्याट गर्नमा पनि। तिमी अफिसबाट आएपछि बेलुकाको खाना बनाउनुअघि एकछिन बोल्थ्यौ।
हाम्रो च्याटका विषयमा विशेषतः साहित्य, दर्शन, समाज र समासामयिक घटनाले स्थान पाउँथे। म कहिलेकाहीँ प्रेमका प्रसङ्गलाई जोड्थेँ। तिमी खुलेर प्रेमलाई ईश्वरीय सत्तासँग जोड्थ्यौ। तिम्रो यो भनाइ म तिम्रो जीवनसँग तुलना गर्थेँ। हाँसो पनि लाग्थ्यो। जसको जीवनलाई श्रीमानको मायाले सिँङ्गार्न सकेको छैन, उहीबाट यस्तो कुरा! कति विरोधाभास जीवन बाँचिरही छ्यौ तिमी लाग्थ्यो।
हुन त श्रीमानको माया पाउनु मात्र पनि त प्रेमको परिभाषा होइन। कता कता टिठ लाग्न थाल्यो तिमीलाई देखेर। अर्को मनले टिठ होइन तिमीप्रतिको मेरो माया हो भन्थ्यो। टिठ लाग्नु त दया गर्नु हो, म दया होइन माया गर्दै गइरहेको थिएँ। तिमीबाट पनि त्यस्तै प्रतिफलको अपेक्षा गर्न थालेँ। सायद गर्न नहुने थियो मैले। तर मन त आखिर मन रहेछ। प्रेम त प्रेम रहेछ। प्रेम गर्छु भनेर गरिने होइन रहेछ। यो त आफै हुने रहेछ।
राम्रो कवि भएकै कारणले तिमीसँग जोडिन खोज्नु मेरो सुरुआती कदम अवश्य थियो। तिम्रो वास्तविक जीवन थाहै नपाई राम्री लानु, मान्नु आकर्षण थियो। तर तिमीसँग नै प्रेम गर्न खोज्नु पक्कै सामान्य कुरा थिएन। मेरो मनलाई कुनै तत्वले अह्राइरहेको थियो कि 'तँ इश्वरालाई माया गर्!'
हो, यही मनको आवाजले भनेपछि तिमीलाई बेप्रवाह प्रेम गर्न थालेँ। तिमीलाई प्रेम गर्न थालेपछि आफ्ना बाबुआमा परिवारलाई नसम्झेको होइन मैले। सन्तानप्रति बाबुआमाको इच्छा, चाहाना, जिम्मेवारी नबुझेको पनि होइन र मैले मेरो कर्तव्य भुलेको पनि होइन। तर मनलाई जसरी बुझाउँदा पनि बुझाउन नसकेपछि प्रेमको बिउ तिम्रो मनमा उमार्न खोजेँ र भन्न चाहेँ।
डर धेरै थियो। कतै तिमीले अस्वीकार गर्यौ भने, कतै मसँग बोल्न छोड्यौ भने। हुन त हाम्रो भेट भएकै थिएन, भौतिक रूपमा। न त फोनमा कुरा नै भएको थियो। नदेखिकन, आवाज नसुनिकन प्रेम गर्न पुग्नु, कस्तो खालको प्रेम हो, जुन म तिमीलाई र तिम्रा सिर्जनालाई गर्दै थिएँ। मेरो तिमीप्रतिको लगावजस्तै तिमीबाट पनि मप्रति उस्तै लगाव होस् भन्ने चाहान्थेँ। माया दुवैतर्फबाट होस् भन्ने मेरो स्वार्थी मन त्यतिबेला छताछुल्ल भएर तिमीसामु पोखिन चाहान्थ्यो। तर आँट गर्न नै सकेन चिनजान भएको र प्रेमको मुना पलाएको निकै समयसम्म पनि।
तिम्रो कुरा गर्ने शैली, ममाथि देखाएको आत्मीयपन, मेरो परिवारप्रति देखाएको चासो, मेरो व्यक्तिगत र दैनिकी जीवनका बारेमा राखेको सोधखोजका कारण, दुई/तीन दिन च्याट नहुँदा मसँग कुरा गर्नको लागि देखाएको व्यग्रताका आधारमा तिम्रो मनमा पनि मप्रति माया छ भन्ने विश्वास पलाउँदै थियो। हुन त मबाट पनि यी सबै व्यवहार तिम्रा लागि हुन्थे। हामीले शब्दमा एकअर्कालाई प्रेम गर्छौँ नभने पनि महसुस भने मैले जस्तै पक्कै तिमीले गरेकी थियौ भन्ने कुरामा म पूर्णतः विश्वस्त थिएँ।
यसै क्रममा हामीले मोबाइल नम्बर पनि साट्यौँ। अब हाम्रो कुराले आवाजको रूप लिन थालेको थियो। तिम्रो आवाज कविता वाचनका भिडिओमा सुनेको त थिएँ। जति वाचनमा तिम्रो आवाज श्रतिमधुर लागेको थियो, उति मिठासपन फोनमा कुरा हुँदा लाग्यो। हाम्रो कुरा अब दुवैको अनुकूल समय पारेर हुन थालेको थियो। हामी दुवैले एकअर्काका मन बिसाउने भावनाको चौतारी पाएका थियौँ। त्यसैले एक दिन तिमीलाई निकै ठूलो साहस निकालेर लामो मेसेज गरेर प्रेम प्रस्ताव राखेँ, लाज, डर, सङ्कोच, उत्सुकतासहित।
तिमीले भोलिपल्ट बिहान मेसेज हेरेको प्रमाण सीन भनेर मेसेन्जरमा देखा पर्यो तर तिम्रो कुनै जवाफ आएन। लाग्यो बिजी छ्यौ। समय लाग्ला जवाफ दिन। तिम्रो मेसेज त्यो दिनभरि त के भोलिपल्ट पनि आएन। मन वेचैन भयो। मैले निरन्तर तिमीलाई केही त बोल भनेँ। तर तिमीले मेसेज नै हेरिनौ। फोन गरेँ, त्यो पनि उठाइनौ। म एकै चोटि शिखरबाट खोँचमा पुगेको अनुभव गर्न थालेँ।
मैले भने अनुकूल हुनुपर्छ भन्ने पुरुष अहमले होइन। तिम्रो मन दुखाएँ, तिम्रो जिन्दगीभर छोरीको लागि एक्लै बस्ने र पुरुषप्रेमको सहारामा जीवन नबिताउने सङ्कल्प थाहा पाउँदापाउँदै पनि किन प्रेम प्रस्ताव राखेँ? यहीँ कुराले म टुटिरहेको थिएँ।
त्यो समय मलाई झन् तिम्रो माया लाग्यो। मनले भन्थ्यो, तिमीलाई जसरी पनि अहिले भेटुँ र आफ्नो मनको कुरा राखुँ, सकेसम्म तिमीलाई मेरो प्रेमको उज्यालो तिम्रो र छोरीको जीवनमा छर्ने कुरा बुझाउन सकुँ लाग्यो। नसके पनि तिमी मलाई प्रेमको नजरले नहेर तर मलाई प्रेम गर्ने हक नखोस भन्न मन लागेको थियो। तर मेरा प्रयासहरू निरर्थक बन्दै थिएँ। मेसेन्जरमा, मोबाइलमा मेरा क्षमा याचनाका अनुनयहरू भरिँदै गएका थिएँ।
तिम्रो मन यति कठोर पनि छ भन्ने कुरा मैले त्यतिबेला मात्र बुझ्न सकेँ। मैले प्रेम गरेको थिएँ, जुन तिमीले नै ईश्वरको रूप मानेकी थियौ। फेरि यो ममाथि कस्तो व्यवहार गर्दै थियौ तिमी? जुन व्यवहारले म, म नै नरहेको आभास हुँदै थियो। तिमीले सिधैं यस्ता कुरा नगर्नुस् भनेको भए म सम्हालिनँ सक्थेँ। मभित्र रहेको आन्तरिक द्वन्द्व मेटाउनको लागि मैले जसरी पनि तिमीसँग बोल्नै पर्थ्यो। त्यसैले अन्तिम पटकको लागि भनेर मेसेज गरेपछि फोन गरेँ। मैले अन्तिम पटक भनेपछि सायद दया लागेर होला तिमीले फोन उठायौ।
फोनमा सन्चो बिसन्चोको कुरा भएपछि तिमीले नै मेरो आवाजको हेक्का गरिछ्यौ। हत्त न पत्त आत्तिएको स्वरमा 'सन्चो छैन हो तपाईंलाई?' तिमीले बोल्न छोडेपछि सन्चो त म कुनै पनि पल थिइनँ। 'ठिक छु।' सकेसम्म आफू सहज भएर कुरा गरेँ। कुन्नि के मन लागेर हो, तिमीले भोलि अफिस छुटेपछि भेट्ने कुरा गर्यौ र फोन राख्यौ।
जीवनमा बाह्र वटै सूर्य एकैपटक उदाए जस्तै भयो, भेट्छु भन्ने शब्दले। कति फरक पर्दो रहेछ माया गरेको व्यक्तिले भेट्छु भन्दा। मेरो खुसीको कुनै सीमा नै थिएन। मेरो तिमीसँगको पहिलो भेट! यो कुराले नै मनलाई काउकुती लगाएको थियो। जति रोमाञ्चित थिएँ, उत्तिकै मात्रामा डर पनि थियो। कारण तिमीले हिजोआज मप्रति देखाएको अपत्यारिलो व्यवहार।
चिनजान भएको तीन वर्षपछि हामी बानेश्वरको क्याफेमा भेटियौँ। हामी दुवैको मनमा मेरै कुराले चिमोटिरहेको थियो एकअर्कालाई। आँखामा एकअर्काप्रति कौतूहलता थियो। तर त्यो कौतूहलताले शब्दलाई अपनाउन सकेन। दुवै अलमल्ल परेका थियौँ।
पर्पल कलरको साडीमा सजिएकी, बाटुलो अनुहारमा दुई ठूला आँखा, कापेको अधर, इन्द्रधनुष दुई आँखीभौँका बीचमा रात्रीकालमा टल्किने ताराजस्तै टीकाले तिम्रो मुहारलाई दिव्य बनाएको थियो। छोडेको लामो कपालले तिम्रो रूपलाई अद्वितीय बनाइदिएको थियो। मन चाहान्थ्यो बस तिमीलाई एकनासले हेरिरहुँ। तिमीलाई हेरेर नै बाँकी जीवन काट्न पाएँ, म जतिको भाग्यमानी को हुन सक्थ्यो होला र!
वातावरणलाई सहज बनाउन मैले हिजो कलमा भएको संवाद नै दोहोराएँ। आँखा सजल बनाउँदै सन्चो रहेको कुरा गर्यौं। बल्ल शान्तिको सास फेरेँ। केही त बोल्यौ तर आँसु भरिएका आँखा जुन मलाई मान्य थिएन। पहिलो भेटमा मुस्कानको दीप प्रज्वलित हुनुपर्ने थियो। हुन त भेट जुनसुकैको होस्, मेरो कारणले तिम्रो आँखामा आँसुको पोखरी बनाउन त म चाहदिनँ थिएँ।
मन कटक्क भयो, सम्हालिन सकिनँ। कसो कसो तिम्रो हात समाउँदै बोल्न खोजेको थिएँ कि 'मलाई माफ गर!' तिमीले असहज मान्दै हत्त न पत्त हात छुटायौ र आँखा क्याफेको चारैतिर डुलाउन थाल्यौ। म झन नासमझ भएँ। मात्र मैले फेरि तिम्रो मन दुखाउन पुगे लाग्यो। त्यसपछि तिमी भर्खर बोली फुटेको बालकले बोले जसरी पुटुपुटु बोल्न थाल्यौ।
'यो कस्तो प्रेम हो? जो तपाईं मलाई गर्छु भन्नुहुन्छ?'
'किन र? मैले गर्न नहुने प्रेम गरेँ र!'
'मलाई राम्रोसँग चिन्नु भएको रहेनछ। चिन्नुभएको भए यो प्रेमको कुरा नै उठ्दैन थियो।'
'राम्ररी चिनेर बुझेर नै प्रेम गरेको हुँ र प्रस्ताव राखेको हुँ।'
'के तपाईंले आफूलाई बुझ्नुभएको छ?'
'मैले आफूलाई नबुझ्ने कुरा हुन्छ र!'
'बुझ्नुभएको भए, एउटा अविवाहित पुरुषले आफूभन्दा उमेरले पाकी, डिभोर्सी र साथमा सात वर्षकी छोरी भएकी नारीलाई प्रेम गर्ने आँट नै गर्दैनथ्यो।'
'के मेरो प्रेमलाई यी सब कुराले सीमा कोरिदिन्छ। कोसँग गर्न हुन्छ, कोसँग गर्न हुँदैन भनेर।'
'भावनामा नकोरिएला तर व्यवहारमा कोरिइन्छ। अनि तपाईंको परिवार, जो तपाईंलाई लिएर कति धेरै सपना बुनिरहेको छ। सुनौलो भविष्य देखिरहेको छ। आमाबाबाका आँखामा सुन्दर कल्पनाको संसार नाचिरहेको छ। के तपाईंको जिम्मेवारी र कर्तव्य होइन। जुन छोरा भएर पूरा गर्नुपर्ने।'
'तपाईं हुनुहुन्छ त। हामी सबैको सपना पूरा गर्ने।'
'तपाईं भावनामा बहकिनु भएको छ अहिले। जब जीवनको वास्तविक धरातलमा टेक्नु हुन्छ नि त्यति बेला मप्रतिको प्रेम सबै उत्रिन्छ।'
'यतिका समयसँग बोलेर पनि मेरो प्रेममा विश्वास रहेनछ तपाईंलाई। यो मेरो लागि अपसोसको कुरा हो। मैले मेरो प्रेमलाई बुझाउन नसक्नु मेरो कमजोरी होला। तर मेरो आत्माले स्वीकारेको प्रेम हो। बिन्ती छ, प्रेम होइन नभन्नुहोला। यो पहिलो भेट अनि मैले मेरो जीवन बुझेपछि गरेको प्रेमलाई बुझिदिनुहोस्। छोरी तपाईंकी मात्र होइन, उनी मेरी पनि हुन्। हाम्री छोरी भएर रहनेछिन्।'
'मैले तपाईंलाई प्रेम गर्छु भनेकी छु र! तपाईं म र मेरी छोरीप्रति प्रेम देखाउनुहुन्छ? कृपया अबदेखि प्रेमको कुरा नगर्नुहोस्। यस्तो प्रेमको ढोका मैले आजभन्दा सात वर्ष अगाडि नै बन्द गरिसकेकी छु। जुन कहिल्यै खुल्दैन अब।'
त्यो दिन मेरो प्रेमको अनुनय विनयले तिम्रो मन अलिकति पनि रसाउन सकेन। आँखामा मेरो लागि प्रेमको भाव पढेको हुँ। त्यो भ्रम थिएन। यही कुरा बुझाउन खोजेँ तर असफल भएँ। तिम्रो मनमा पुरुष व्यवहारले यति साह्रो नराम्ररी घात गरेको कुरा म अनुमान मात्र लगाउन सक्थेँ। त्यही अर्को नाम गरेको पुरुषको मायालाई पनि तिमीले विश्वास गर्न सकिनौ, स्वीकार्न सकिनौ।
आफ्नो जीवनलाई प्रेमको बारीमा फुलाउन नै चाहिनौ। छोरीलाई बुबा चाहिने कुरा गर्दा, तिमी झन् सिंहिनी भएर गर्जेकी थियौ। अन्त्यमा तिमीले अब कहिल्यै कुनै पनि माध्यमबाट बोल्ने छैनौँ भन्यौ। मलाई धेरै कुराले सम्झायौ। हाम्रो अहिलेसम्मको सम्बन्धलाई जोगाउनकै लागि पनि हामी अब बोल्दैनौ भनेर सहमती हुन लगायौ। सम्बन्ध तीतो नबनाऔँ भन्यौ।
'मानिसको जीवन हो। कुन बेला के हुन्छ, केही थाहा हुँदैन। बिन्ती छ साथीकै रूपमा सही, हामी बोल्न सक्छौँ नि' भन्दा पनि तिमीले मानिनौ। अन्ततः तिम्रै कुरामा सहमती जनाउँदै हस्, हुन्छ भन्न म बाध्य भएको थिएँ।
मेरो प्रेम दोहारो यात्रा सुरु गर्न नपाई अन्त्य भएको थियो। तिमीप्रतिको अलौकिक एकोहारो मायामा डुबिरहेको म त्यहाँबाट तैरिन नै मन लागेन। हाम्रो भेटपछि तिमीले मलाई मोबाइल, फेसबुक, भाइबर सबैतिरबाट ब्लक गरेकी थियौ। मेरो मुटु एकैचोटि फुटेको काँचजस्तै हजार टुक्रा भएको थियो। मुटुमा गहिरो चोट परे पनि तिमीलाई आफ्नो सामुन्ने देख्न पाएकोमा बढ्ता खुसी भएँ, ती आँखामा कही न कही मप्रति प्रेम छ भन्ने कुरा पढ्न पाएर खुसी भएँ।
भावनामा बहकिएर तिम्रो हातमा अन्जानमै स्पर्श गर्न पुग्दा, तिमीले सङ्कोच माने पनि पछि त्यो पल मलाई प्रिय लाग्यो। तिमीसँग तीन वर्षसम्म बोलेका समय प्रिय लागे। तिमीसँग जोडिएका हरेक कुरा प्रिय लागे। तर यो मनले पनि त्यो दिनदेखि तिमीलाई भौतिक रूपमा कही कतै नखोज्ने सङ्कल्प गर्यो।
त्यसै दिनदेखि मैले लेख्न पनि बन्द गरेँ। यो निर्णय मैले लिन हुने थियो या थिएन, यसको जिम्मा समयलाई नै दिएँ। सिर्जनाबाट जोडिएका हामी, अन्ततः मैले सिर्जना नै गर्न नसक्ने व्यक्तिमा उभ्याएँ आफूलाई। तिमीबाट छुटेपछि आफैसँग भाग्न खोजेँ पनि तिमीप्रतिको मेरो प्रेमले सधैँ मलाई पछ्याइरह्यो।
***
आज निकै समयपछि तिम्रो लेखमार्फत् तिमीलाई पढ्न पाउँदा मनले नयाँ ऊर्जा पाएको छ। नयाँ बाटो पाएको छ। तिमी आफ्नो विचारमा अडिग रहेको कुरा पढ्न पाउँदा, यो मन तिमीप्रति गर्वान्वित भएको छ। म आफ्नो जीवन, बाबाआमा, घर परिवार, कर्तव्य र जिम्मेवारी सम्झिन पुग्छु।
आजका दिनसम्म कतै तिमी 'सागर म तपाईंभित्र मिसिन चाहान्छु' भन्दै आउँछौ कि भन्ने झिनो आशामा वर्तमान बिताइरहेको थिएँ। यदि आइनौ भने पनि तिमीजस्तै एक्लै जीवन रहेसम्म भविष्य गुजार्नेछु भन्ने अठौटमा थिएँ। आज तिम्रो लेखले मलाई साँचो प्रेम र जीवन बोध गराएको छ। तिम्रो प्रेम नपाएर निस्सासिएको लागेको थियो। तर तिमीले भनेजस्तै प्रेम त मेरो आत्मामा ईश्वरीय रूप लिएर बसेको रहेछ। प्रेमलाई आफैभित्र बन्धक बनाएर निस्सासिएको रहेछु।
आमालाई फोन गरेर म भन्न थाल्छु, 'आमा! म भोलि नै घर आउँदै छु।'