'आच्छु! कस्तो चिसो भयो। चिया पाक्यो?,' थर्थर काँपेको स्वरमा कोही बौल्दै थिए।
उनले एकछिन उत्तरको प्रतीक्षा गरे। उत्तर आएन। फेरि अलि चर्को स्वरले चिच्याए, 'रबि ज्यू, खै कता हराएको? बोलाएको पनि सुन्नुभएन त? यसरी बेमतलबी त हुन भएन नि!'
'चिया तयार छ सर। अब ल्याइहालेँ,' भित्रबाट टाठो आवाजका कोही बोल्यो।
'आज बैठक थियो। छिटो जानुपर्ने। छिटो जानु छ भनेर हिजो नै सम्झाएको तपाईंलाई। खै वास्ता नै...,' उनको बोली नसकिँदै एउटा अधबैँसेले सुन्दर कपमा चिया ल्याए। टलक्क टल्केको टेवलमा राखे। त्यसपछि उनी बाहिर जान खोजे।
एक चुस्की चियासँगै ती सरले भने, 'ल ल धन्यवाद रबि ज्यू। मिठो चिया बनाउनुभएछ तर अलिक ढिलो भयो। समयको ख्याल राख्नुपर्छ है। आखिर तपाईं र म उस्तै न हौँ। दुवै जागिरे। काम नगरी पारिश्रमिक आउँदैन। गर्जो टार्न सकिँदैन। फरक कामको प्रकृति न हो। हामी दुवैजना घरभन्दा बाहिर आई बसेको छौँ। परिवारका सदस्यहरू छैनन्। त्यसकारण तपाईं त मेरो सहारा हो। दुःखसुखको साथी हो। तपाईंका मर्का मैले बुझ्नुपर्छ। मेरो तपाईंले। तपाईंले पकाएको खानाले मेरो जीवन धानिएको छ। त्यसैले तपाईंको सेवाप्रति म अत्यन्त आभारी छु।'
एकातिर ढिला भइरहेको छ, अर्कातिर प्रत्येक चियाका चुस्कीसँगै उनलाई परिवारको याद आइरहेको छ।
तयारी चिया त आउँछ तर त्यसमा माया आउँदैन। चिनी, दूध, चियापत्तिको मिश्रण राम्रो हुन्छ। चिया मिठो हुन्छ तर मिठास आउँदैन। चियाले जिब्रो छुन्छ तर मन छुँदैन। चियाले आँखालाई स्वाद दिन्छ तर आत्मालाई दिन सक्दैन। दिमागलाई खुसी बनाउँछ तर मुटुलाई सक्दैन। उनी मनमनै भुतभुताउँछन्।
'के भयो सर? मबाट केही भुल भयो कि? हजुर त कता कता बरालिए झैँ लाग्यो।'
'हैन हैन। कार्यालयको केही काम सोच्दै थिएँ। किन यही उभिइरहेको? तपाईं अब जान सक्नुहुन्छ।'
'हजुरले लगाउने कपडा तयार गरिदिएको छु। कुन चाहिँ लगाउन मन छ? कपडा ल्याएर मात्र जाउँ कि भनेर नि। म ल्याइदिउँ सर?'
'म आफै ल्याउथेँ नि। ल्याइदिने भए ठिकै छ। कालो रङको पाइन्ट भएको कपडा सेट वासिङ मेशिनमा हाल्दिन भनेको थिएँ। बैठकमा मैले प्रायः त्यही लगाउँछु। त्यही ल्याइदिनु न त। उनले अह्राए।
'ओहो! हजुरले भनेको त मैल भुसुक्कै भुलेछु। कपडा पनि मेशिनभरि हुने थिएन हिजो। आज केही कपडा थपिएका छन्। पुग्छ होला। आज चाहिँ नबिर्सी मेशिनमा हाल्छु। हिजो फेरि अरु कामहरू धेरै थिए। कपडा तिर ध्यान नै गएन। माफ पाउँ हजुर।'
उनको मन खिन्न भयो। रिस पनि उठ्यो। रिस पोखेर पनि समाधान त निस्कँदैन। जेसुकै भए पनि त्यो कुरालाई सामान्य रुपमा लिँदै उनले भने, 'ल ल ठिकै छ, हामी मान्छे हौ। बिर्सन सकिन्छ। सकेसम्म नबिर्सने भन्ने शब्द सम्झिरहनु पर्छ। जुनसुकै कामको पनि प्राथमिकता निर्धारण गर्नुपर्छ। अनि तालिका बनाएर सम्पन्न गर्नुपर्छ। आजलाई हामी जति गल्फती गरे पनि समस्या समाधान हुँदैन। अबबाट अलिक ख्याल गर्नू।'
'हस। आज उप्रान्त म ख्याल राख्नेछु। आजको लागि निलो कपडाको सेट तयार छ। अघिल्लो महिना नै धोएर राखेको। त्यही ल्याउँदा हुँदैन सर?'
'हुन्छ। एक सेट लुगा त लगाएर जानै पर्यो,' उनले नमिठो मान्दै स्वीकारे।
हिँड्ने बेलामा कपडाको कारण उनी उदास भए। न्यास्रो लाग्यो। मानसिक तनाव बढ्यो। अरुलाई आदेश दिएपछि यस्तै अपूरो हुन्छ। अहिले रबिलाई दोष लगाएर के गर्ने? बरु आफै मेशिनमा लुगा राखेको भए समस्या समाधान हुने रहेछ भन्ने लाग्यो।
उनी गम्भिर बने। पुनः एक्लै बडबडाउन थाले। कपडा धुने मेशिन थियो। कपडा राम्रोसँग धुन्थ्यो। तर त्यहाँ एउटा कुरा अभाव थियो। मेशिन आफै चल्न सम्भव थिएन। मेशिनको आत्मा थिएन। भोलि मलाई कुन कपडा लगाउनुपर्छ भनेर बुझ्ने कुरै भएन। कपडा धुने व्यवस्था मिलाउने त व्यक्ति थिए। जसमा सोच्ने क्षमता रहन्छ। जोभित्र मन हुन्छ उसले आफ्नो कर्तब्य पालना गरेनन्। आफ्नो पन भएको भए त एक सेट कपडा हातले पनि त धुन सकिन्थ्यो। तर जाँगर चलेन। आफ्नोपन भएका व्यक्तिहरू त्यहाँ थिएनन्।
उनी दोधार भए। रबिले दिएको कपडा लगाउन मनै परेन। तथापि तत्काल अरु विल्पक थिएन। खयर, उनले निलो कपडा लगाए। वास्तवमा त्यो कपडा लगाउँदा उनलाई सन्तुष्टि मिलेन। मन अस्थिर भयो।
पुनः एक्लै फतफताउन थाले। कपडा नयाँ थियो। सुन्दर थियो। महंगो थियो। राम्रोसँग आइरन लगाइएको थियो, मिठो बास्ना आएको थियो। केही कमी थिएन। त्यसमा सन्देह रहेन। तथापि कपडा कस्तो भयो भनेर सोध्ने कोही थिएन। फगत ऐना थियो। एउटा निर्जीव वस्तुसँग वार्ता गर्नुको विकल्प थिएन। ऐनालाई कपडा सुहायो कि सुहाएन भनेर प्रश्न गर्नु परेको थियो। न ऐना बोल्थ्यो न कुनै हाउभाउ नै। आफैले ऐनाको पनि प्रतिउत्तर दिनुपर्थ्यो। ल ठिकै रहेछ भनेर कुलेलाम ठोक्नु पर्थ्यो।
उनलाई बैठकको पुनः स्मरण आयो। ढिला भैसकेको रहेछ। हतार हतार निस्के। बैठकमा हाजिर भए। बिहानैबाट मनस्थिति बिग्रेकाले राम्रोसँग प्रस्तुत हुन सकेनन्। अलिक बिसन्चो भए झैँ लाग्यो। छिटो गरी बस्ने ठाउँमा फर्किए। पानी पिउन मन लाग्यो। अनि रबिलाई बोलाए।
'रबि ज्यू, मलाई अलिक सन्चो भएन। टाउको दुख्यो। पानी ल्याइदिनुस्। पिएर एकैछिन आराम गर्छु।'
'पानीसँगै औषधि पनि ल्याउँ सर,' एकैपटक काम सक्ने मनसायले रबिले प्रश्न गरे।
जब औषधिको कुरा आयो तब उनलाई नरमाइलो लाग्यो। साह्रै बिरामी त भएको हैन। औषधि खाइहाल्नु पर्ने जस्तो पनि छैन।
त्यतिकैमा पानी र टाउको दुखेको कम गर्ने औषधि लिएर रबि हाजिर भए। सरले पानीसँगै एक ट्याबलेट सिटामोल घुटुक्क निले। अनि बिस्तारामा पल्टिए। मन स्थीर हुन सकेन।
मनमा कुरा खेल्न थाले। बिरामी हुँदा औषधि तम्तयार छ। आफूले नसके पनि ल्याइदिन्छन्। औषधिले दुखाइ कम हुन्छ। तथापि मन झन् पोल्छ। बिरामी हुँदा औषधि मात्र सहारा लिनुपर्ने बाध्यता छ। सन्चो, बिसन्चो बारे भावना साट्ने आत्मीय व्यक्तिहरू कोही छैनन्। न दुख्यो भन्न पाइने। न सन्चो भयो भन्न नै। दुखे पनि सन्चो भए पनि एक्लै। उफ्! यो सुविधा सम्पन्न ठाउँको बेचैन जिन्दगी।
उनको मन स्थीर हुन सकेन। विचारमा डुब्न थाले। उनको मन बिछयौना तिर गयो। लाग्यो कि आरामदायी बिछयौना थियो तथापि मिठो निद्रा थिएन। बाक्लो सिरक थियो तर न्यानोपन थिएन। एसीले कोठामा सही तापक्रम कायम गरेको थियो तर मन पोलेको थियो। अनि समय गुजार्ने कसरी? एउटा डिजिटल डिभाइस हातमा। फेसबुक, टिकटक, ट्विटर, ह्वाट्सएप, टिकटकसँग वार्ता कति गर्नु। नभए मौन व्रत।
आफ्नाहरूसँग रहन नपाएका कारण उनी बेचैन थिए। त्यसकारण उनललाई केही कुरामा पनि औधी खुसी लाग्ने थिएन। विभिन्न पार्टी भोज हुन्थे। भोक हुने थिएन। मनोरन्जन हुन्थ्यो। विभिन्न स्थानका भ्रमण हुन्थे। ठाउँहरू सुन्दर हुन्थे। तथापि सबै फिका लाग्थ्यो।
उनको कानमा बाराम्बार गुन्जिइरहने एउटै आवाज थियो- 'बाबा कहिले आउने? मलाई के ल्याइदिने?'
सबैका आफ्ना आफ्ना आवश्यकता हुन्छन्। ती आवाजहरूलाई सारा सम्पत्तिभन्दा बाबा(ममी) नै प्यारो छ। बाबा(ममी)को माया नै प्यारो छ। आफूलाई पनि ती निकट मनहरूसँग सधै सँगै रहन मन छ। सँगै हाँस्न, खेल्न रहर छ। दुःखसुख साट्ने चाहना छ। सँगै हातेमालो गर्ने इच्छा छ।
तर विवश छन् आम नेपालीहरू। स्वदेशमा रोजगार छैन। स्वदेशमा रोजगारी पाएका सबैलाई घरपायक जागिर छैन। यावत कारणले धेरैजना घरपरिवारसँग टाढिनु परेको छ। आमाबा, श्रीमान, श्रीमती, छोराछोरी, दाजुभाइ, दिदी बहिनी, इष्टमित्र, र आम आफन्तजनसँग टाढा हुनुपरेको छ।
उनले लामो सुस्केरा हाले। औडाहा भयो। यस्तै खिन्नता धेरै नेपालीहरूलाई भएको छ भन्ने अनुभूत भयो।
यहाँ लाखौको खुसी गुमेको छ। केवल सुखको खोजिमा। गुमेको खुसी न पुनः प्राप्त गर्न सम्भव छ। न व्यतीत भएको उमेर नै फर्काउन सकिन्छ। कसैको आर्जनले गुमेको खुसी, उमेर, जवानी, वात्सल्यता, मातृत्व, अभिभावकत्व, भाइचाराको क्षतिपुर्ती दिन सक्दैन। धेरै परिवारमा रोजगारीका कारण भएको विछोडले मानसिक तनाव सिर्जना भएको छ।
त्यसमा पनि चाडबाडको आगमनसँगै एकाकार हुन नसकेका परिवारको मनमा झन् पीडामाथि पीडा थपिएको छ। यस प्रकारको जलन कम गर्न नेपालमा रोजगारीका प्रयाप्त अवसर सिर्जना हुनु जरुरी छ। स्वरोगजारको वातवरण सिर्जना गर्न सरकारहरू जिम्मेवार बन्नु आवश्यक छ। अन्यथा भाग्यलाई धिक्कार्दै विछोडको जीवन बिताउन लाखौ बाध्य भइरहने छन्। उनले छटपटी व्यक्त गरे।
रबिले खाना तयार भयो भन्दै उनलाई उठाउन खोजे। भोक छैन भन्दै उनी बिछयौनामा पल्टिरहे।