आत्तिएर छटपटाएका गाउँहरूमा
शून्यताले प्रधानता पाएका गाउँहरूमा
एकैछिन भए पनि आफ्नो बनेर
सधैँलाई नभए नि दिन गनेर
क्षणिक भए नि साथ दिन
हातमा हात दिन
सयौँदेखि हजारसम्म
सहरदेखि बजारसम्म
वर्षमा एकपटक भए नि दसैं आउँछ।
वृद्धावस्थाले थलिएका गाउँहरूमा
सहारा खोजिरहेका ठाउँहरूमा
एकैछिन भए पनि ढाडस बनेर
झिनो भए पनि आश बनेर
क्षणिक भए नि साथ दिन
हातमा हात दिन
तालदेखि सुरसम्म
दूरदेखि दूरसम्म
वर्षमा एकपटक भए नि दसैं आउँछ।
ग्रिष्मले धोएका गाउँहरूमा
रङ्ग उडेका खल्ला ठाउँहरूमा
एकैछिन भए पनि रङ्गिन गराएर
सत्य जिताई असत्यलाई हराएर
क्षणिक भए नि साथ दिन
हातमा हात दिन
पिङको सुसेलीमा
मिठो कोसेलीमा
नौडाँडा पारिदेखि
युरोपदेखि खाडीसम्म
वर्षमा एकपटक भए नि दसैं आउँछ।
निधारको जमरा र टीका बनेर
कसैको ठिक्क त कसैको फिका बनेर
वर्षमा एकपटक भए नि दसैं आउँछ।