गाउँका एकहुल मानिसहरू बजारतिर लागे। पर डाँडाको पारोबाट ओझेल परेपछि पिढीँमा बस्नेहरूले भने, 'आज सबैजना दसैं लिन गए।'
मलाई यति कुरा याद छ, मैले जीवनमा पहिलो चोटि दसैं भन्ने कुरा सुनेको त्यतिखेरै हो। त्यतिखेर मेरो हृदयमा ठूलो कौतूहलता मच्चिएको थियो, यो दसैं भनेको के हो? कहाँबाट आउने रहेछ दसैं?
दसैं लिन हिँडेका मानिसहरूले लगाएका लुगा एक चिम्टी राम्रा थिएनन्। हुन त ती लुगाहरू यस्तै बजार जान भनी खरानी-पानीमा पकाएर ढुङ्गामाथि पछारेर एक धार्नीको मुङ्ग्राले ठटाएर, सफा चट पारेका लुगा हुन् र पनि ती लुगाहरूमा सुन्दरताको गति पटक्कै सप्रेको थिएन। फुस्रा, चाउरी परेका ल्याफर्याक्क थिए।
तर तिनै लुगा विशेष लुगा हुन् जुन लुगा बजारतिर जानुपर्दा मात्र लगाइन्छ किनकी त्यस्ता लुगा अघिपछि लगाएको म देख्दैन थिएँ। तैपनि उनीहरू आफ्नो कपडामा केही नयाँ, ताजापन भए जसरी ज्यानमा छरिछाँट मिलाउँथे। घाम झुल्किनी दिशातिर हेर्दै पातमा बेरेको एक लुइँठो सुर्तिलाई घाँटीका नसा फुलाउँदै धुवाँ तानेर फुराउँदै, 'लौ न है, ढिला नगरौँ भरे फर्किनलाई अबेला हुन्छ' भन्थे। किन ढिलो हुने रहेछ भन्ने लाग्या थियो मलाई, दसैं ल्याउन पो रहेछ।
कोहीले हातमा झोला बोकेको थिए। कोहीले धोक्रो। कोहीले डोको। कोहीले त केही कुराको भारी पनि बोकेका थिए। भारी बोक्नेको सम्झनामा मलाई यस्तो लाग्थ्यो, 'यिनीहरू चाहिँ दसैं लिन हिँडेका हुन् कि पुर्याउन हिँड्या हुन्?
माझघरको खलबल सकिएपछि घर आएर मैले आमालाई सोध्थेँ, 'आमा, दसैं भनेको के हो?'
हाम्रो घरमा दसैं आउन बाँकी नै भएर होला आमालाई दसैं भनेको यही हो भन्न अप्ठ्यारो परिरहेको थियो। दुई/तीन चोटि ढिपी गरेपछि बुबाले भन्नुभयो, 'पर्सी ठूलाघरतिर दसैं आउँछ अनि त्यही गएर हेर्नू।'
बुबाको कुरा सुनेपछि आमा झर्कनु भयो, 'के भन्छन् यी बुढा? हाम्रो घरमा पनि दसैं आइहाल्छ नि। केटकेटीलाई त्यसो भन्नुहुन्छ?'
आमाको कुरा सुनेपछि फेरि बुबाले भन्नुभयो, 'आउँछ, तेरा घराँ दसैं आउँछ र तँ खाँलिस्।'
आमा बुवाका कुरा सुनेपछि हाम्रो घरमा दसैं आउँछ जस्तो मलाई लागेन। त्यहाँमाथि लिन त कोही गएको छैन हाम्रो घरबाट, लिनै नगई उसै के दसैं आउँथ्यो! त्यतिखेर नै हाम्रो घरमा बाटा माथिका जेठाउ आए। बस्नको लागि आमाले चकटी दिनुभयो। आँगनको गारोमाथि बसेर अरु त के-के गफ गर्नु भयो मैले याद गरिनँ, एउटै कुरो याद आउँछ। गफको सिलसिलामा उनले भनेका थिए, 'के गर्नु बाहुनी नानी, दसैंले हाब्रो बाइहाल्यो...।'
हाब्रो बाउँछ रे दसैंले! हैन के भन्या हुन्? हाब्रो बाउने चिज हो दसैं! चर्को स्वरले रुनु, कुराउन जोडसँगले चिच्याउनु, जति सक्दो मुखलाई ठूलो बनाउने कार्यलाई मेरै गाउँघरमा हाब्रो बाउनु भन्थे। जेठाउले त फेरि दसैंले पो हाब्रो बाइहाल्यो भने। मेरो बाल मस्तिष्कको भित्तामा बढो गज्जबको कुरा टाँसियो। त्यत्रा मान्छे दसैं लिनलाई बजार तिर गएका थिए, हाब्रो बाउने दसैं पो ल्याउने भए त गाँठे।
मैले दिदीलाई सोधेको थिएँ, 'हाब्रो बाउँछ रे हो दिदी दसैंले?'
दिदीले पनि जस्ताको त्यस्तै मैले पत्याउने गरी भन्नुभयो, 'हो त नि, दसैंले कत्रो हाब्रो बाउँछ।'
मेरो बाल मस्तिष्कमा बढो चमत्कारिक चिज पर्यो। त्यो साल मैले दसैं हेर्नलाई ठूलो कौतूहलता बोकेँ।
हाम्रो घरभन्दा अगाडि खेतका गरामा लहलह धानका बाला झुलेका थिए। ठूलो बतास चल्दा ती बालाहरू यतै लडौँला उतै लडौँला जसरी हल्लिन्थे। यस्तो हुँदा मलाई हेरिरहुँ जस्तो लाग्थ्यो। मनभित्र साह्रै आनन्दको जम्मा हुन्थ्यो। बारीमा हेर्दा पुक्क-पुक्क कोदाका बाला उभिएका देखिन्थे। त्यही कोदोको बीच बीचमा सयपत्रि फूलका बोटहरू कम्ता राम्रा थिएनन्!
आकाशबाट बादलको वर्षा हुन छाडेपछि दिनहरू कति सुकिला देखिन्थे। गाउँघरको बाटो सुख्खा, राम्रो ओभानो देख्दा दिनभरि त्यसै खेलिरहनु जस्तो लाग्थ्यो। बतासले सुसाएको बाँसघारी र फक्रिएका लालुपातेका थुङ्गाहरू हल्लिएको देख्दा म निकै लामो युगसम्म बाँच्नलाई जन्मिएको मान्छे हौँ, यो खुसीले मलाई युग-युगसम्म बचाउँछ जस्तो लाग्थ्यो।
यस्तो सुन्दर समयमा हाब्रो बाउँदै दसैं आउँछ भन्दा मलाई कस्तो डर लाग्न थालेको थियो। हाब्रो बाएर कतै यो ज्यानलाई करप्प पार्ने त हैन? साँझ-साझँ पर्न लागेपछि दसैंको कुरा चाहिँ कसैले पनि ननिकाली दिए हुन्थ्यो जस्तो लाग्थ्यो। तर एक साँझ बुबाले भन्नु भयो, 'आज भित्ताघरेले पनि दसैं लिएर आए क्यार।'
बुबाको कुरा सुन्दा म अचम्मित हुन्थेँ। भित्ताघरे काका त अस्ति दसैं लिन भनेर बजार तिर पनि गएका थिए। आज फेरि कता गएछन् दसैं लिन? हैन यो दसैं भन्ने कुरा पनि एकैठाउँ नभएर धेरै ठाँउ छ कि क्या हो? सबै ठाउँबाट बटुलेर पो दसैं हुने रहेछ कि? मैले सोचेथेँ। पक्कै दसैं भन्ने कुरा एक थोक मात्र हैन, धेरै थोक हो।।
भोलिपल्ट दिउँसो मेरो मनले यसो भन्यो, 'जा माख्ला टोल तिर।' त्यहाँ पुग्दा मेरो उमेरका दौँतरीहरू माझघरको बार्दलीमा होहल्ला गर्दै रहेछन्। त्यस मध्येका दाजु मान्छेले मुखलाई रसिलो बनाउँदै मिठ्याएर भने 'अब दसैं आउन पाँच दिन बाँकी, आजको पाँच दिनमा त भुटेको मासु पनि त्यही मुखमा, भुटेको रक्ति यही मुखमा, कलेजो, फोक्सो यही मुखमा। यो पनि यही मुखमा, उ पनि यही मुखमा....।'
भन्दाभन्दै उनले त पाँच थोपा र्याल खसाली नै सके। भनेपछि हाब्रो बाउने दसैं नभएर स्वाद पाइने पो दसैँ रहेछ कि क्या हो! उनको कुरा सुन्दा यस्तो दसैं त मेरो मुखमा पनि आइदिए हुन्थ्यो जस्तो लाग्यो। मेरो मुखमा दसैं आउँछ भनेर त अलिकति पनि पत्याउँदैन थिएँ किनकी हाम्रो घरबाट दसैं लिन कोही गएको छैन। कल्पना यस्तो पनि गर्थेँ, लिनै नगए पनि कतैबाट फुत्तै आइदिए भैहाल्यो नि। त्यसरी आइदिए त! ओहो! मैले पनि र्याल चुहाएँ।
दसैंमा मिठो खाने, राम्रो लगाउने, हाँस्ने रमाउने यति मात्रै हैन, गाउँघर तिरका मान्छेको कुरा सुन्दा त सबैभन्दा गज्जबको कुरा त त्यही दसैं नै हो रहेछ जस्तो लाग्यो। हाम्रो घरमा त त्यस्तो मिठो कुरा त कहीँ कतै पनि देख्दैन थिएँ। एउटा बलोमा अलिकति मकैका झुत्ता थिए। अध्याँरो कुनाको भित्ताबाट सामल तुमल निकालेर आमा चुलामा केही पकाउनु हुन्थ्यो।
सानो घरको आँगन पिँडीमा त्यस्तो नौलो कुरा त कहीँ केही थिएन। भएको कुरा सबै पहिले जस्तै थियो। तैपनि कता-कता आशा लाग्थ्यो, न त्यो मिठो कुरा आमा बुबाले कतै लुकाएर राखेका छन् कि! दसैंकै दिन खुसी पार्नलाई फुत्त बाहिर निकाल्ने पो हुन् कि। कल्पनामै मन खुसीले उम्लन्थ्यो।
हाम्रै घरको बाटो गरेर माथिल्लो घरमा बा-आमाले पनि भेडो लिएर आए। भेडो हेर्दा कस्तो नराम्रो थियो छि! मलाई त कस्तो घिन लाग्यो। त्यसले छेरेको छेर लागेर पछाडि पुच्छर मुनिका लामा रौँहरू कस्ता बिरुप थिए। घाँटीमा कालो भएको। ज्यानमा अलिकति सेतो भएको भेडो। पछि थाहा भयो त्यसको नाम कागे भेडो अरे। टाउको सानु थियो। त्यसका आँखामा कचेरा लागेका थिए। छिनछिनमै त्यो भ्या....भ्या गरेर कराइरहन्थ्यो। कस्तो दिक्क लाग्दो। माइला बा पछि-पछि थिए। माइली आमै अघिअघि।
'किन ल्याएको ए आमोइ यस्तो भेडो?,' मेरो आमाले सोध्नु भयो।
आमोइले भन्नुभयो, 'दसैं, दसैं, दसैं ल्याएको।'
आँगनको डिलमा टुक्रुक्क बसेँ। अचम्मित भएँ म, दसैंको निम्ति के-के ल्याउँछन् मान्छेहरू? हाम्रै घरमा चाहिँ केही ल्याउने सुसार नै देखिनँ। यस्तो पाराले हाम्रो घरमा दसैं आउला जस्तो लागेन।
भोलिपल्ट बुबाले अति गह्रुंगो गरी थुन्सेलाई पिँढीको डिलमा बिसाउनु भयो। आँगनको कुनामा छेस्काको गोठ बनाउँदा बनाउँदै काम छाडेर हेर्न आएँ। मेरो उत्सुक नजरलाई हेर्दै बुबाले हाँस्दै भन्नुभयो, 'दसैं ल्याएको, दसैं।'
बुबाले ल्याएको त्यो के हो, त्यसलाई हेर्दै नहेरिकन म खुसी भएर खुसीको खबर सुनाउन माथिल्लो घरको मेरो प्रिय बालसखा साथी रामशरणलाई सुनाउन पुगेँ। 'हाम्रो घरमा दसैं ल्याएको छ' भनेर।
हाम्रो घरको दसैं हेर्नलाई ऊ पनि दौडेर आयो। बुबाले ल्याएको दसैं हेरेर उसले त लिब्रिक्क ओठ खसाल्दै भन्यो, 'यस्तो दसैं त हाम्रो घरमा अस्तिनै ल्याको छ।'
बल्ल पो थाहा भयो, बुबाले ल्याएको दसैं त रातो माटो पो रहेछ।
दसैं आयो।
दसैं आउँदै छ।
दसैं नजिकै आइसक्यो।
दसैंको बारेमा मानिसहरूले भनेका अनेक कुराहरूलाई सुनेर मेरो मन एउटा निस्कर्षमा पुगिसकेको थियो। त्यो दसैं भनेको मस्त सँगले मासु र भात खाने दिन हो। त्यस्तो दिन हाम्रो घरमा पनि आउँला त? आउँछ साँच्चीकै आउँछ भनेर विश्वस्त पारून भन्ने ठूलो आशा गरेर मैले सुटुक्क दिदीको कानमा सोधेको थिएँ, 'दिदी, हाम्रो घरमा पनि दसैं आउँछ?'
जीवनमा कुनै रहरलाई पूरा नगरी आफ्नो बैँसालु उमेर पाखा लगाउँदै आएकी मेरी दिदीले मलाई भनिन्, 'धत् लाटा, कसले भनेको दसैं आउँछ भनेर? दसैं त आउँदै आउँदैन, मान्छेका कुरा मात्र हुन्।'
मलाई अलिकति पनि विश्वास लागेन।
'माझघर पनि आउँदैन?'
'आउँदैन, केको आउँथ्यो!'
'अनि ठूला घर?'
'ठूला घर पनि आउँदैन।'
कसको कुरो पत्याउनु, कसको कुरा नपत्याउनु? मेरो मनमा त झन् साह्रो अशान्ति उत्पन्न भयो। दसैं आयो, अब त मासु खान पाइन्छ भनेर मेरा दौँतरीहरू मुखमा हत्केलो छिराएर मर्न आँटिसके, दिदी त दसैं नै आउँदैन भन्छिन्। मेरो मनमा पनि हो, साँच्चै दसैं आउँदैन भन्ने कुरा पक्का भैदिए पनि त हुन्थ्यो नि।
आफूलाई चाहिँ फेरि बिहान भएपछि दसैं आउँछ जस्तो लाग्थ्यो। बेलुका भएपछि दसैं आउँदैन जस्तो लाग्थ्यो। न आउने हो न नआउने हो!
त्यो दिन अष्टमीको दिन रहेछ। हाम्रो घरमा सदाको भन्दा अलि फरक चहलपहल थियो। बुबाले दिदीलाई कोदाला, कोदाली, खुकुरी, बन्चरा, हँसिया, खुर्पा सबै कुरालाई धारामा लगेर पखाल्न लगाउनु भयो। केही कुरा बुबाले आमालाई अह्राइरहनु भएको थियो। केही कुरा आमाले बुबालाई अह्राउँदै हुनुहुन्थ्यो।
आमाले बुबाको हातमा एउटा ठूलो थैलो थमाउँदै भन्नु भएको थियो, 'दिएछन् भने दुई धार्नी नै ल्याउनू, ढिलो चाँडो जसरी पनि तिरौँला। त्यति दिएनन् भने, दुई बिसौली चाहिँ जसरी पनि ल्याउनू। तिहारपछि तिरौँला।'
आमाले यति भनेपछि मैले कुरो बुझेँ, आँगनमै खसी नकाटे पनि हाम्रो घरमा मासु आउँदै छ। मासु आएपछि त दसैं भैहाल्यो। यति कुरो थाहा पाएपछि म घुटु-घुटु मासुको स्वाद निल्न लागेँ। बुबाले ल्याइहाल्छन्, आमाले पकाइहाल्छिन्, म खाइहाल्छु भनेर बुबा आउने बाटो हेर्दाहेर्दा बल्ल बुबा आए। आउन त आए, त्यो दिन बुबाले यस्तो अनुहार लिएर आए, बुबाको सिङ्गो जीवन नै युद्ध हारेर फर्कदा पराजयको झन्डा जस्तो ल्याफर्याक्क ल्याफर्याक्क बुबा लत्रिँदै आए।
पैसा तिर्ने औकात छैन भनेर मेरा बुबालाई गाउँका मान्छेले मासु दिएनछन्। त्यसपछि हाम्रो परिवारका सबैजनालाई भेला पारेर आमाले भन्नुभयो, 'हेर छोराछोरी हो, यो दसैं भन्ने कुरा जम्मा तीन दिन हो। यो तीन दिन तिमीहरू कसैको घरमा पनि नजाऊ है, कसैका दैलामा तिमीहरूले अनुहार नदेखाऊ है!'
गरिबीको पाठशालामा आमाले दिएको शिक्षा कति ठूलो रहेछ! र पनि त्यो बेला यो सब कुरा बुझ्न सकेको थिइनँ। मलाई त जसरी भए पनि दसैँ चाहिएको थियो। बाहिर केही बोल्न नसके पनि, मनभित्र साह्रै नमिठो गरी दसैंले खनिरहेको थियो। हाम्रो घरमा दसैं नआएको कुरा पटक्कै मन परेको थिएन। अनि मैले दिदीको कानमा सुटुक्क सोधेको थिएँ, 'दिदी, हाम्रो घरमा किन दसैं नआएको?'
दिदीले भन्नुभयो, 'हाम्रोमा मात्रै हो त, कसैकोमा पनि दसैं आएको छैन।'
के यो कुरा साँचो हो त? दिदीको यो कुरा कत्तिको साँचो हो भनेर बेलुकीपख घाम अस्ताउँदै गरेको समयमा म माझघर तिर लागेँ। वरिपरि सबको घरआँगनमा खसी काटेको रगत पोखिएको त छँदै थियो, घरघरका दैलाबाट आएको मासु र मसलाको बास्नाले मेरो पेटभित्र औडाहा जगाइदियो। अनि म दौडिदैँ आएर दिदीलाई भनेको थिएँ, 'दिदी, हो भन्या दसैं त आएको रहेछ त!'