छोराको तन
रमाउँदै छ-
आयो हजुर आयो, दसैं आयो सुनेर
आमाको मन
प्रतिवाद गर्दै सम्झाउन खोज्दै छ-
दसैं होइन बाबु, दशा आयो भनेर।
आमाको छटपटाइरहेको मन भन्न खोज्दै छ-
हुने खानेको गृहमा हो दसैं तिहारले प्रवेश पाउने
गरिबलाई त हो दशाले साथी बनाउने
छोराको रमाइरहेको तन भन्न खोज्दै छ-
आहा! आयो मासु भात खाने दिन आयो
उमालेको पानी पिएर सुत्नु पर्ने दिन गयो।
कस्तो पर्व हो यो?
आमाको मन र छोराको तनबीच नै युद्ध गराइदिने
अनि अन्त्यमा
जसले युद्ध जिते पनि दु:खको प्रतिशत नै बढाइदिने
भकभकी उम्लिएको ऋणमा डुबाएर पिल्साइदिने
अनि अन्त्यमा-
बाबुलाई हरियो पासपोर्ट बोकाएर डाँडा कटाइदिने।
आफ्नै जन्मलाई धिकार्दै आमा बरबराउँछिन्
कहिलेकाहीँ त-
यस्ता पर्वले
हाम्रो घरमा खुसियाली उपहार ल्याइदिए पनि हुन्थ्यो
नत्र भने
सधैँ पीडाको खाल्डोमा पुरिदिन कहिल्यै नआए पनि हुन्थ्यो।
हो
आमाको मनमा वेदना छर्दिएर
छोराको तनमा देखावटी हर्ष छर्न
यस्ता पर्व कहिल्यै नआए पनि हुन्थ्यो।