दसैं नजिकिँदै थियो। रेडियो र टिभीमा गुन्जिएको मालश्रीको धुनले मेरो बाल्यकाललाई स्मरण गराएको थियो। खेतमा पाकेका धानका बालाबाट मगमग बासना आउन थालेको थियो। खेतको डिलमा बसेर सिरु घाँस काट्दै गीत गुनगुनाउँदै थिएँ।
माथिबाट डाँको आउन थाल्यो- 'को हो त्यो अर्काको खेतमा नसोधी घाँस काट्ने? लाज छैन? डिंगा, बाख्रा हाम्रा पनि छन्। चाडपर्वका दिन टाढा घाँस काट्न जान नभ्याइएला घरमा पाहुना पाछा आउँछन्, कामको चटारो छ। त्यही दिनको सोझ गरेर घाँस पालेको। खुब रजाइँ गरेका छौ चोरका सरदारहरू! त्यो घाँस त्यहीँ छोडेर जान्छौ कि मै आउँ!'
म काटेको घाँस त्यहीँ छोडेर लुसुक्क खेतबाट निस्केँ। जन्मघरमा नअटाएपछि काकीको घरमा आएर बस्न थालेको धेरै भएको थिएन। आमाले संसार छोडेपछि बाले अर्की आमा ल्याउनै पर्यो। बिहान साँझको कचकच अनि मेरै कारणले हुने झगडा मैले दिनहुँ सुन्न सकिनँ। रातभरि निद्रा लागेन। अलिकति भएका लत्ता कपडा जेब्रा झोलामा प्याक गरेँ।
आमाले मेरो जन्मदिनमा दिएको पुतली जामालाई छातीमा टाँसेर भक्कानिएँ। त्यो जामाको मलाई निकै माया लाग्थ्यो। किन किन त्यो जामा लगाएर हिँड्दा आमाले मलाई डोर्याएर हिँडेजस्तो लाग्थ्यो। आफैंभित्र आत्मविश्वास बढेर आउँथ्यो।
सबेरै उठेर जेब्रा झोला लिएर धनसारबाट निस्किएँ। बाले मलिनो अनुहार लगाएर एकोहोरो हेरिरहेका थिए। सानिमा भकारो सोहोर्दै थिइन्। म बाको नजिकै गएँ। बोल्नुभन्दा अघि आँखाबाट आँसु खस्न थाले। बा एकातिर फर्केर भन्न थाले, 'कहाँ जान लागिस्?'
'म काकीको घर जान्छु बा। सानिमालाई माया गर्नु। बेलाबेलामा आउँछु, चिन्ता नलिनु...।'
'भो भो पर्दैन, उतै बसे हुन्छ,' सानिमाको रुखो वचनले मेरो मनमा चसक्क बिझ्यो।
म झोला बोकेर तगारोबाट बाहिर निस्किएँ। मैले सानैदेखि पालेको कुकुर पछि लाग्दै आएको थियो। बल्लतल्ल घर पठाएँ। फर्कन मानेकै थिएन। अचम्म लाग्छ मान्छेको मन र प्रेमभन्दा फरक खालको पशुको निर्दोष र निःस्वार्थ प्रेम देखेर।
म काकीको घरमा बस्न थालेको धेरै भएको थिएन। काकाको बानी अलि बढी रक्सी खाने थियो। काकी निकै व्यावहारिक थिइन्। आफू माइतमा टुहुरी छोरी भएर होला मेरो कथा र व्यथालाई राम्रोसँग बुझ्थिन् उनले। काकीकी छोरी रमिला र म एउटै स्कुलमा पढ्थ्यौं। उसको पढाइ निकै राम्रो थियो।
बिदाको दिन मेरो दिनचर्या मेलापातमै बित्थ्यो। मेलापातमा हिँड्न मलाई कत्ति पनि दुःख लाग्दैनथ्यो। मन धन्य हुन्थ्यो। धन्न यत्तिको बास र गाँस पाएकी छु। यदि काकी नहुँदी हुन् त म कहाँ गएर ओत लाउँथे होला!
एकदिन म गुन्द्री बुन्दै थिएँ। रमिला चिच्याउँदै आई। उसको भुइँमा खुट्टो थिएन। एसइईको रिजल्ट आएको रहेछ। उसको र मेरो दुवै जनाको बी-प्लस आएछ। म बुन्दै गरेको गुन्द्री छोडेर छेउ पट्टिको बारीको टुँडोमा बसेर भक्कानिएँ। आकाशतिर पिलपिल गर्दै चम्किरहेका तारा हेर्दै आमालाई सम्झिएँ। अनि आँखा चिम्म गरेर उनको मुस्काएको अनुहारलाई आफ्नो परेलामुनि कैद गरेँ।
मलाई त्यही दिनदेखि आफूमा धेरै विश्वास बढ्दै गएको थियो। म केही गर्न जन्मिएको हुँ जस्तो लाग्थ्यो। हाम्रो रिजल्ट आएपछि घरमा छुट्टै उज्यालो छाएको थियो। काकाकाकी बीचको सम्बन्ध पनि मिठो बनिरहेको थियो।
हामी गाउँमै प्लस-टु पढ्ने निधो गर्यौं। प्लस-टु सकिएपछि म सिएमए पढ्न थालेँ। रमिलाले स्टाफ नर्स पढ्ने इच्छा गरेकीले ऊ काठमाडौं गई। मलाई पढ्नका लागि छात्रवृत्ति मिलेको थियो। तर बिहान बेलुकाको छाक टार्न निकै समस्या परेको थियो।
कामको खोजीमा थिएँ। एउटा स्टेसनरीमा गएँ। अन्तर्वार्तापछि मलाई काममा बोलाइयो। तलब बिहान बेलुकाको गर्जो टार्न पुग्ने थियो। मलाई संसार जिते जस्तै भयो। परिस्थिति जस्तोसुकै भए पनि किनकिन आफूलाई आफैंसँग निकै विश्वास लाग्थ्यो। केही गर्ने केही बन्ने दिन छिट्टै आउँदैछन् जस्तो लाग्थ्यो। जीवन सोचेजस्तै बन्दै थियो।
सिएमए सकेपछि आयोगको फर्म भरेँ। स्टेसनरीमा काम गर्नु मेरा लागि अवसर बनेको रहेछ। मैले पुस्तक बेच्दा विभिन्न क्षमता भएका परीक्षार्थीहरूसँग भेट्ने मौका पाएँ। धेरै जना पसल अगाडिको बेन्चमा बसेर घण्टौंसम्म कुरा गरिरहन्थे। लाग्थ्यो जीवन हेर्दा सजिलो देखिन्छ तर त्यही सजिलोभित्र असजिला घटनाहरू सबैको जीवनमा हुँदोरहेछ।
जीवनमा हिम्मत र हरेस कहिल्यै खान हुँदो रहेनछ। आफूलाई सधैं उर्जाशील बनाउनुपर्ने रहेछ। तब मात्र जीवनका लक्ष्यहरू पूरा हुँदा रहेछन्।
फर्म भरेपछि परीक्षा त दिनै पर्यो। तर नाम पहिलो पटकमा निस्केन। दोस्रो पटकको नतिजामा मेरो नाम सिफारिस भएछ। त्यो दिन पनि आमालाई सम्झेर रातभर रोएँ। मेरी आमा अहिले भएकी भए कति खुसी हुँदी हुन्।
अब त म मजबुत बन्दै थिएँ। सहरबाट पाँच किलोमिटर दूरीको स्थानमा मैले काम गर्ने स्वास्थ्यचौकी थियो। दिनहुँ बिरामीको सेवामा आफूलाई समर्पित गर्न पाउँदा निकै सन्तुष्टिको आभाष मिलेको थियो। कहिले आफ्नै आमाका अनुहार देख्थेँ। कहिले आमाको वियोगमा बिरही बनेका छोरीहरूलाई देख्थेँ र पनि मेरो आत्मबल कहिल्यै कमजोर भएन।
हिजो बिहान-साँझ हातमुख जोर्नकै लागि कसको मेलामा जाने, कसको गाईवस्तुका लागि घाँस काट्ने होला भन्ने चिन्तामा बितेको जीवन आज सबैको जीवन बचाउने सत्कर्ममा यी हातहरू अघि सरेका थिए। यस्तो सत्कर्ममा आफूलाई लगाउन सके आफैंसँग खुसी मिल्ने रहेछ। आफूलाई खुसी कसले देला भनेर भौंतारिने होइन, खुसी अरूलाई बनाएर पनि त खुसी मिल्दोरहेछ।
एक दिन अस्पतालको इमरजेन्सी बेडमा मेरा आँखा अडिए। एउटी मुखमा मास्क लगाएकी बिरामी आमा बेडमा पल्टिराखेकी थिइन्। म बिरामीको प्रेसर हेर्दै थिएँ।
ती आमाले मेरो हात समाउँदै भनिन्, 'नानी, आज दसैंको दिन निधार खाली हुने भयो। बुढालाई भर्ना गरेर राखेको पनि एक हप्ता भइसक्यो। बीसको उन्नाइस भएको छैन। के गर्ने होला?'
उनी निकै बेर रोइन्। दसैंमा मेरो निधारमा टीका नपरेको पनि धेरै वर्ष भइसकेको थियो। योभन्दा पहिलेका धेरै दसैंहरू निधार रित्तो भएर बिते। मलाई यो दसैं त्यही आमासँग अस्पतालमै मनाउन मन लाग्यो। बाको रगतको रिपोर्ट आएपछि ती आमाले मलाई देखाइन्। मैले रिपोर्टमा नाम हेरेँ अनि घोप्टो परेर अर्धचेतमा रहेका बाको अनुहार हेरेँ।
उनी अरू कोही थिएनन्। थिए मेरो जन्मदिने बाउ। बाले कान कम सुन्नु हुँदोरहेछ। नजर पनि धमिलो भइसकेको रहेछ। म बाको नजिकै गएर बसेँ।
अनि उहाँको कान नजिकै गएर भनेँ, 'बा, मलाई चिन्नुभयो? म तपाईंकी पारिजात। पहिले मलाई आफ्नै अस्तित्व बचाउन कति मुस्किल पर्यो। तर अहिले आफूमात्रै बाँचेकी छैन, धेरैलाई सुगन्ध दिएर बचाउन सकेकी छु।'
पहिले मैले भेटेको ती बिरामी आमा पनि त्यहीँ उभिएकी थिइन्।
उनीतिर संकेत गर्दै बाले भन्नुभयो, 'तेरी नयाँ आमालाई चिनिस् त?'
म बाको कुराले अक्क न बक्क भएँ।
बा अगाडि भन्दै हुनुन्थ्यो, 'म बिरामी भएपछि तेरी सानिमा अर्कैसँग गई। बिरामी शरीर स्याहार गर्ने कोही त चाहियो भनेर फेरि अर्की सानिमा भित्र्याएँ। यी यही हो तेरी नयाँ सानिमा।'
बाले सानिमासँग मेरो परिचय गराउनुभयो।
आज नसोचेको भयो। वर्षौंदेखि छुटेको परिवारसँग आज मेरो अकस्मात भेट भयो। मेरो खुसीको सीमा रहेन।
अनि मैले उहाँहरूलाई भनेँ, 'चिन्ता नलिनुस्, दसैं यही मनाए पनि हुन्छ।'
आमा बिते पछिको सबै दसैंमा मेरो निधार खाली खाली रह्यो। आज खाली भएको यो निधारले पनि दही अक्षताको दर्शन पाउने भयो। म खुसी हुँदै क्यान्टिनकी काकीसँग अक्षता र जमरा मागेर इमरजेन्सी वार्डमा आउँदै थिएँ। केही मिनेट ढिला भएछ।
बाले संसार छाड्नुभएछ।
यो दसैं पनि निधार खाली बनाएर गयो। निधार भरिन त भाग्यमा लेखिनुपर्ने रहेछ। बासँगै मेरो जिन्दगीका सबै दसैंले बिदा लिए। त्यस दिनपछि दसैंको उति बढी चाख लाग्दैन। अस्पतालमा आफूजस्तै खाली निधारहरूलाई देख्दा चित्त बुझ्छ।