कविता
उही बस्ती
उही तिम्रो याद
सजिव तस्बिर उही
म र तिमी
अंगालोमा
आज पनि
मन तिम्रै साथ
खोजि रहेछ
तर, तिमी सँगै छैनौ।
अझै डायल गर
मेरो नम्बर त्यही छ
कोठा पनि त्यही हो
जहाँ तिम्ले र मैले
स्वर्णिम पल
बिताएका थियौं।
तिम्रा तिनै यादहरूले
आज पनि रेटिरहन्छन्
वारपार कलेजीमा
कावा खाइरहन्छन्
त्यसैले म
कतै जान सकिनँ
र अझै पुगि रहन्छु
त्यही हामीले भेट्ने
त्यो पिपलको रूखमा
जल चढाउन।
थाहा छ
एक पल
तिम्रै यादले लखेट्दा
आँसु पुछ्दै थिएँ
मोबाइल कौसीबाट खस्यो
फुटेर दुई टुक्रा भयो
र पनि मैले
त्यो फाल्न सकिनँ
बरू टेपले बेरेर
चलाइ रहेकी छु
किनकि त्यो
तिम्ले किन्देका थियौ।
यो तन मन
केबल, तिम्रै हो
मेरो नि:स्वार्थ मायामा
तिमी बहार ल्याउँथ्यौ
निकै सपना देखाउँथ्यौ
तर, एकाएक किन
तिमी गायब बन्यौ ?
के गर्छौ प्रिय
मेरो तिम्रो जस्तो
ढुंगाको मुटु छैन
स्वार्थी माया हैन
र त म वर्षौंदेखि
तिम्रो प्रतीक्षामा
बसेकी छु।
विश्वास छ
एक दिन
अवश्य तिमी
फर्केर आउने छौ
यदि,
आएनौ भने पनि
केही छैन
यो शरीर
सदाको लागि
तिम्रै नाममा
सर्मिपित गरिदिने छु।