कविताः
पहिले,
बिहानीको घमाइलो घामसँगै दसैं आउँथ्यो।
खेतमा पहेँलै झुलेका धानका बालासँगै दसैं आउँथ्यो।
लाहुरबाट आउने लाहुरेसँगै दसैं आउँथ्यो
टोल टोलमा बनाइने लट्ठे पिङसँगै दसैं आउँथ्यो
मामा घर जाने, प्रियजन र आफन्त भेट्ने रहरसँगै दसैं आउँथ्यो
रातो टीका र पहेँला जमरासँगै दसैं आउथ्थो
अग्रज कहाँ गई आशीर्वाद थाप्दा दसैं आउँथ्यो
दुर्गा देवीको स्तुति मालश्री गाउँदा दसैं आउँथ्यो
भाइ भाइबीचको बन्धुत्व र एकताले विजयको राग बढ्दा दसैं आउँथ्यो
बाबाले किनिदिने नयाँ स्कुल ड्रेससँगै दसैं आउँथ्यो
पैसा नभए पनि मनमा कान्ति छाउँथ्यो र पो दसैं आउँथ्यो।
आजकल,
लाहुरबाट लाहुरे आउनु पर्दैन,
पैसा आए दसैं आउँछ
अग्रजको आशीर्वाद चाहिँदैन
ठूलो दक्षिणा भए दसैं आउँछ
हुनेहरूको घरमा गाडी घोडासँगै दसैं आउँछ
गरिबका लागि दशा बनेर दसैं आउँछ
ऋणको ठूलो भारी बोकेर दसैं आउँछ
को भन्दा को कम भन्ने विचार र भावना बोकेर दसैं आउँछ
धन, दौलत र सम्पन्नता सँगै दसैं आउँछ।
प्रकृति पनि थकित भएछ सायद
घमाइलो घामको सट्टा कालो बादल मडारिएर आउँछ
आकाशको गर्जन र मुसलधारे पानी सँगै दसैं आउँछ
बाढी, पहिरो र विपत्ति सँगै दसैं आउँछ
अब
समाजमा एकता र बन्धुत्वको भावना बोकेर दसैं आओस्
विजयको उल्लास र अभिलाषा लिएर दसैं आओस्
मनमा हर्ष, उमंग र स्थिरता सँगै दसैं आओस्
हुँदा खाने र हुने खाने सबैका लागि दसैं आओस्
बडा दसैंको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना।