हवल्दार मेजरले तीनचोटि सिठी फुक्यो। त्यो सिठीको तेज हराइनसक्दै जवानहरू मैदानमा लस्कर लागे। हवल्दार मेजरले हरेक दिन नाभीबाट सास तान्दै यसैगरी सिठी फुक्थ्यो। र, जवानहरू कैंडा लागेको ज्यान टक्टकाउँदै मैदान छिर्थे।
आज पनि बिहानैदेखि परेड ग्राउन्ड भरिभराउ थियो। जुनियरहरू समूह बनाएर कुदिरहेका देखिन्थे। दौडिने जति ठेउ टोली थिए। त्योभन्दा अल्लि पुराना टोलीहरू हाकिम देखे दौडिने, नत्र हिँडेर परेड ग्राउन्ड आइपुग्थे। हवल्दार मेजरभन्दा सिनियरहरू बिस्तारै पुग्थे।
यहाँ जुनियर र सिनियरको पहिचानमा धेरै बेर नअल्मल्लिऊँ होला। सजिलोका लागि यसरी चिन्नुस्- जो पंक्तिको सबैभन्दा दाहिना छ, त्यो सबैभन्दा सिनियर हो। अधिकृत साहेबहरूमा पनि ठेउ अधिकृतहरू कुदेरै हो परेड ग्राउन्ड आइपुग्ने।
कर्साब सधैंजस्तो बिहान एक जना बडीगार्ड पछाडि लगाएर टुप्लुक्क देखिए। मोबाइल र रेडियो सेट सधैंझैं उसैलाई बोकाएका थिए। कर्साब चर्को स्वरमा रेडियोको ‘कायाकैरन’ सुन्दै परेड ग्राउन्डतिर लम्किए।
ग्राउन्ड पुग्नुअघि कर्साब क्वार्टरगार्ड नजिकै गए र चर्को सलामी खाएर दौडिँदै आए र जोडले रोकिए।
कर्साब रोकिनु र कार्याधिकृत मेजर साबले निश्चित दूरीमा गोडा थामेर रोकिनु रोमाञ्चक लाग्थ्यो। जस्तो भारत र पाकिस्तानको बगाह बोर्डरमा जोसिलो ड्रिल हुन्छ।
सधैं कर्साबले हाजिर लिएर परेड सञ्चालन गर्न मेजर साबलाई नै आदेश दिन्थे। र, मेजर साबले आफ्नो पोजिसनबाट माछाजस्तो पिलित्त फर्किएर परेड तितरबितरको आदेश दिन्थे। तर, खै किन हो— आज कर्साबले यस्तो आदेश दिएनन्। एकचोटि मात्रै मुन्टो हल्लाएर उभिइरहे। कर्साबले आदेश नदिएपछि मेजर साब चुस्त कवाज प्रदर्शन गरेर गए र आफ्नो तोकिएको स्थानमा टक्क अडिए। कर्साबले कवाजलाई चर्को स्वरले भने, ‘जय शिव!’
सबैले एकैसाथ ‘जय शिव’ फर्काए। वरपरका सिसौका पात सरर खसे। ब्युँझिन बाँकी चराहरू डरले एकैचोटि उडे। खोरमा बाँधेर राखेको बँदेल घुक–घुक गरेको सुनियो। निमेषभरमा यति धेरै चिज हल्लिए कि कर्साबलाई लाग्यो— यो बहुत ठूलो ताकत हो। कर्साबले फेरि सर्सर्ती तीन पंक्तिमा उभिएको जोसिलो टोलीलाई हेरे।
अनि चर्को स्वरमा भने, ‘हल्दार मेजर! अबदेखि यो खसीलाई पनि गणको हाजिरमा देखा।’
‘हस् सर’ भनेर हवल्दार मेजर करायो। सबैजना वाल्ल परे। सुबेदार मेजरले पनि हात मोल्दै भन्न थाले, ‘हो हजुर! अब त यसलाई पनि हाजिरमा गिन्ती गर्नैपर्ने भयो।’
कर्साब हाँसो नदेखियोस् झैं गरेर थोरै मात्रै हाँसे। हाँसो प्रसारण हुँदै गयो र पूरै परेड हाँसोले गुञ्जायमान बन्यो।
हो, त्यही दिनदेखि खसी हाजिरमै गनिन थाल्यो। शिव खसी। हाजिर संख्या— १।
० ० ०
कुरो त्यही असोज अन्तिमतिरको हुनुपर्छ। साँझको बेला सबैजना पल्टनमा व्यस्त थिए। असोज लागे पनि त्यो वर्ष भदौ महिनाभर झरी परेकाले पल्टनमा आज काटेको घाँस भोलि फेरि उत्रै हुन्थ्यो।
दसैं नजिकै आइसकेको थियो। सबैलाई उत्तिकै कामको चटारो थियो। दसैंमा घर जाने र नजानेको टुंगो अघिल्लो महिनाको अन्तिम शुक्रबारै लागिसकेको थियो। कर्साबलाई ‘गण नछोड्नू’ भन्ने आदेश आएपछि उनी परिवारै ब्यारेकमा सारेका थिए।
कर्साब भनेपछि निकै निर्मम, निरस र गम्भीर मात्रै देखेका धेरैजसो सिपाहीले यसपालि उनकी पाँच वर्षे छोरा, त्योभन्दा दुई वर्ष जेठी छोरी र श्रीमतीसँग ब्यारेकमा रमाएको देखे। सदाझैं अफिसको कामले फुर्सद नपाउने कर्साब आज खै कसरी हो— परिवारसँग ब्यारेकमा टहल्न निस्केका थिए। उनले सिपाहीका आँखामा भन्दा धेरै भाकामा ध्यान दिइरहेका थिए।
बेलुकाको रिट्रिट बिगुलको वार्निङ आवाज सुनियो। यो सुनेर कतिपय सिपाही काम गर्दागर्दै लम्किँदै घरको छतमुनि त कतिपय लुसुक्क आफ्नो कोठामा लागे।
कर्साबलाई थाहा थियो— अब बिगुल बज्दै छ, सतर्क हुनैपर्ने बेला आयो। उनी पनि हतार–हतार लम्केर सतर्क हुनबाट जोगिन चाहन्थे। तर, आफ्नै परिवारको अगाडि, त्यसमाथि पनि सम्पूर्ण सिपाहीको अगाडि उनी किमार्थ आफ्नो लिडरसिप ओझेल पार्न चाहँदैनथे। उनी कतै गएनन्। उनी ठिंग उभिएको देखेपछि ग्राउन्डमा घाँस काट्दै गरेका सिपाही पनि रोकिए।
बिगुल बज्यो— टुँ ~~ टुँ ~~ टुँ ~~~
यो झन्डा झार्ने बिगुलको लेग्रो पोलको झन्डा झरुन्जेल बज्ने हो कि बिगुल बजुन्जेल पोलको झन्डा झारेर राखिसक्नुपर्ने हो? यो कसैले नबुझेको कुरा थियो। कर्साबले पनि बुझेका थिएनन्। कर्साब हुनलाई त्यो बुझ्न जरूरी पनि थिएन। कर्साब हुनलाई बुझेका कुराले नै आफू कर्साब हुन पाएकोमा उनी गर्वले उभिए। बिगुल बजिरह्यो। सिपाहीहरू त सास पनि फेरेको थाहा नहुने गरेर उभिएका थिए। सबैजना मूर्ति बनेर उभिए। ब्यारेक सुनसान भयो। भान्सामा खड्कुलो माझ्ने बकासीले समेत कर्साबलाई देखेपछि साबुनपानीबाट हात ननिकालेर फ्रिज भएर उभियो। त्यहाँ अब मूर्ति बन्न कोही बाँकी थिएन।
कर्साबकी छोरीलाई सबैजना एकाएक मूर्ति बनेको केही अनौठो लागेन। तर, सँगै खैरो खसी पनि बकैनाको बोटछेउ मुखमा आधा घाँस च्यापेर सिपाहीजस्तै फ्रिज भएको देखेपछि भने घोर आश्चर्यमा परिन्। कर्साबकी छोरी अगाडि बढिन् र खसीछेउ गइन्। खसी तबमात्रै चल्मलायो, जब बिगुलको आवाज सकियो। क्वार्टरगार्डबाट ड्युटी कमान्डरले लामो ‘शास्त्रार्थ’को कासन सुनाए। कर्साबलाई सबैले ‘जय शिव’ भनेर कामना गरे। कर्साबले सबैलाई उसैगरी कामना फर्काए।
‘यो पल्टनको रीत हो। यसरी बिगुल बज्दा सतर्क हुनुपर्छ र सकिएपछि नजिकको सिनियरलाई दर्जाअनुसारको सलाम गरिन्छ,’ कर्साब छोरालाई सिकाउँदै अघि बढ्दै थिए। छोरी हुत्तिँदै आइन् र भन्न थालिन्, ‘ड्याडी ! ड्याडी ! हजुरले देखिस्यो ?’
कर्साबले केही छेकोछन्दो पाएनन्, ‘के ?’
छोरीले भनिन्, ‘अनि हजुरले यो गोट अघि म्युजिक बज्दा स्टेडी भा’को नदेख्सिया ?’
कर्साबले भने, ‘अहँ। मैले केयर गरिनँ।’
छोरीले थपिन्, ‘हजुरलाई था’ छ ? यो गोटमा डिभाइन पावर छ। द्याट्स ह्वाई, यो स्टेडी भा’को, मान्छेजस्तै।’
‘आर यु स्योर ?’ कर्साबले इग्नोर गरेझैं भने।
छोरीले उत्साहित हुँदै भनिन्, ‘एस ड्याडी ! ह्वाई यो हजुरसँगै स्टेडी भा’को त ?’
छोरीको बालशुलभ प्रश्नमा कर्साबले नाइनास्ती गर्न सकेनन् र समर्थनमा मुन्टो हल्लाए।
छोरीले लगातार खसीमा ‘डिभाइन पावर’ भएको प्रमाणित गर्न लागिपरिन्।
उनले भाइलाई समेत भनिन्, तर उसले खासै वास्ता गरेन।
कर्साबको बडीगार्डलाई सोधिन्, उसले ‘हो’मा ‘हो’ मिलायो।
कर्साबले बालसुलभ हठको विकल्पमा कुनै तर्क प्रस्तुत गरेर समय खेर फाल्नुभन्दा सिधै रेडियो सेटमा खबर गरिदिए, ‘चार्ली अस्कर फर सेरा माइक ?’
(चार्ली भन्नाले कमान्डर र अस्कर भन्नाले अफिसर, यानेकी कमान्डिङ अफिसर।)
सुबेदार मेजर, ‘सेरा माइक सेन्ड सर।’
(सेरा भन्नाले सुबेदार र माइक भन्नाले मेजर, यानेकी सुबेदार मेजर)
कर्साबले भने, ‘यो अस्ति डोरबहादुर लप्सापले ल्याएको खसी अब कसैले काटेर खाँदैन।’
सुबेदार मेजर तनक्क तन्कियो, ‘रोजर सर !’
दसैं सकियो। सबैले कर्साबको हातबाट टीका लगाए। घर जानेहरू दसैंको दिन पनि गइरहेका देखिन्थे। दसैंको दिन ब्यारेक वरपर आफन्त हुनेहरू भकाभक गेटपास बनाउँदै टीका लगाएर फर्किएका देखिन्थे।
दसैंको बडाभोज त महाअष्टमीमै सकिएको थियो तर कर्साबले दसैंको साँझ पनि सबै अफिसर र जेसीओलाई मेसमा डिनरको निम्तो दिए।
घर जान नपाएका अफिसर र पदिकहरू केही रमाइलो गरून् भनेर कर्साबले आफ्नो बंगला परिसरमा निम्तो दिए।
परिकारको मेन्यु लिएर सुबेदार मेजर बुटवल हुइँकिए।
कर्साबलाई ज्याक ड्यानियल र अरूलाई सिग्नेचरसँगै ब्लु रिबाइन्डको निर्धारित मदिरा तोकियो।
सुबेदार मेजरले कर्साबका छोराछोरी र कर्नेल्नी साबका लागि क्र्यानबेरी र ग्वाभा जुस लिएर आए। मासु दसैंको बाँकी नै थ्यो। छोइला बनाउन काली भाउजूले हाँसको जोहो गरिन्। दुई–तीनवटा ज्युँदै ब्रोइलर ल्याएर ब्यारेकमै रोस्ट तयार गरियो। काजु भुट्ने र बदाम साँध्ने काम भयो। डिनरमा तोकिएका सबै अफिसर, पदिक समयअगावै बंगला अगाडिको हरियो दुबे चौरमा लामबद्ध भए। कर्साबले मेजर साबबाट विशेष हाजिर लिए। बेराहरू सेतो सर्ट र कालो पाइन्टमा सर्भ गर्न तम्तयार थिए।
खानपिन सुरू भयो। मासुको तारिफ भयो। कर्साबले ज्याक ड्यानियल किन कोकसँग खाइन्छ भन्ने बेलीविस्तार लगाए।
पहिलो चरणको रोस्ट सकिएपछि बेराले खसीको मासु सर्भ गर्दै थिए, कर्साबकी छोरीले सोधिहालिन्, ‘यो कुन खसीको मासु हो?’
कर्साबले भने, ‘ठूलो खसीको नानु।’
सबै गलल्ल हाँसे।
छोरीले फेरि सोधिन्, ‘भनिस्यो न! यो स्टेडी भा’को दिउँसोको खसी त हैन नि?’
सुबेदार मेजरले भने, ‘हैन नानु, त्यो हैन। त्यो त अब नकाट्ने हाम्ले।’
छोरीका आँखा खुसीले तेजिला भए। तै पनि उनलाई आज पस्किएको मासुमा रूचि लागेन र खाइनन्।
पार्टी सकियो। अन्तिममा सबैले खाए/नखाएको यकिन गरेर सुबेदार मेजर बिदाइ हुन खोज्दै थिए, कर्साबले बोलाए र सबैका सामुन्ने भने, ‘छोरीले त्यो खसीमा दैवी शक्ति छ भनेर जिद्दी गरेकी छे, त्यसलाई भोलि बजारबाट घण्टी ल्याएर बाँधिदिनुस्। यसको नाम आजदेखि शिव खसी हो।’
भोलिपल्ट कर्साबको परिवार काठमाडौं फर्कियो। छोरीले खसीलाई गुडबाई भन्न बिर्सिइन्। तर, खसीले ठिंग उभिएर उनीहरू गएको हेरिरह्यो।
शिव खसी घण्टी हलाउँदै ब्यारेक चहार्न थाल्यो। सिपाही जताजता, खसी उताउता। बिहानको परेडमा कसैले नबोलाए पनि उभिन थाल्यो। सिपाही मेन रोडमा दौडिन जाँदा ऊ ब्यारेकभित्रै कुरिबस्थ्यो।
दसैंपछि तिहार आयो। तिहारमा भने कर्साबले एक हप्ताको छुट्टी मिलाए। माथिको निर्देशनबमोजिम ब्यारेकको कमान्ड सिनियर मेजर साबलाई दिएर आफू काठमाडौं गए।
शिव खसी दिनभरि सिपाहीसँग हिँड्थ्यो। उनीहरूकै खाटमा बस्थ्यो। तर, कसैले उसलाई लात हानेर लखेट्ने आँट गरेन।
मेजर साबको परेड बिछट्टको हुन्थ्यो। दौडिराखेका बेला कदाचित आहालमा पाहा कराएको सुने भने सबै सिपाहीलाई डुबाएर ती भ्यागुता निकाल्न लगाउँथे। मेजर साबले ती पाहा भ्यागुतालाई ‘आहा’ भन्थे। भ्यागुताको धार्नी पुग्दैन भन्ने उखानलाई उनले किलो पुर्याएर देखाइदिन्थे। भलिबल खेल्नमा उनी आफूलाई सर्वोत्कृष्ट ठान्थे।
उनले भन्थे, ‘अहिले पनि दार्जिलिङको कोर्टमा खनेर हेर्यौ भने मैले सट हान्दा गाडिएका बल भेटिन्छन्।’
केटाहरू वाल्ल परेको देखेपछि अझै जोस्सिएर भन्थे, ‘म जवान हुँदा अन्तर्राष्ट्रिय क्लबले १० हजार डलरमा किन्यो र दार्जिलिङमा खेल्न गएँ। त्यहाँ मेरा फ्यान केटीहरूले हावामा उडाएको दौपट्टा अझै हावामै उडेका भेटिन्छन्।’
लप्टन र जमदारहरूले सोध्थे, ‘हजुरले यत्तिको उफ्रेर हान्नुमा त्यो आहा भ्यागुताको कमाल हो हजुर!’
पल्टनमा सर्पको बिगबिगी हटाउन राजहंश पालिएको थियो। एक जोडीबाट सुरू भएका हाँसका जोडी सात जोडी भइसकेका थिए।
राजहंशले सर्प खान्छ भनेर मात्रै होइन, ती हाँस खानु हुँदैन भन्ने मान्यताको बर्खिलाफ मेजर साबले आफू कमान्डर हुँदा हाँसको बथानलाई साढे ६ जोडीमा सीमित गरिदिए।
राजहंश र पाहा खाएर पल्टनमा आफ्नो कीर्ति सुमार गरेका मेजर साबले किन हो कुन्नि त्यो शिव खसीलाई छाम्थे, मुसार्थे र रसिलो मुख बनाउँथे। उनले खसी खाने आँट भने कहिल्यै गरेनन्। उनलाई सबै सिपाहीले ‘आहा मेजर्साब’ भनेर खासखुस गर्थे।
खसी हुर्किंदै गयो। पल्टनको हरियो घाँस खान्थ्यो। सिपाहीसँग मजाले घुम्थ्यो। घाँटीमा दाम्लोको बदला घण्टी लगाइदिएपछि ऊ बोल्न नसके पनि मान्छेझैं भइसकेको थियो।
अचानक पल्टन धनगढी सरूवा हुने सन्देश आयो। सरूवाको तयारी गर्न जम्मा १ महिनाको समय थियो। रेकी गर्न जानेहरू गए। बन्दोबस्ती योजना गर्नेहरू उत्तिकै व्यस्त देखिए। पुसका दिन फासफुस जान बेरै लाग्दैनथ्यो।
एकदिन बेलुकी अधिकृत मेसमा हाजिर दिने बेला क्वार्टरमास्टर अधिकृतले ‘आहा’ मेजर साबलाई समस्या दर्साए, ‘सर ! अरू त लगभग तयारी सकियो मुभको, अब यो शिव खसी पो कसरी लाने हो ?’
सुबेदार मेजरले पनि ‘हो’मा ‘हो’ मिलाए।
‘आहा’ मेजर साबले सन्किएर भने, ‘सुब्मेजसाप भोलि काट्दिनुस् त्यो खसी !’
सुबेदार मेजरले अन्कनाउँदै भने, ‘त्यो त मिल्दैन कि हजुर। यो त कर्साबको ठाडो आदेशमा पालेको हो।’
फेरि मेजर साबले भने, ‘उसो भए कर्साबलाई फोन गरेर सोध्नुस्। जे मर्जी हुन्छ, त्यै गर्ने।’
दिनहुँजसो पल्टनमा सबैजना मुभ हुने तयारीमा व्यस्त हुन लागे। कसैले बजारमा कोठा लिएर राखेका श्रीमतीलाई घरमा छाड्न जाने बिदा मागे। कसैले मुभमा बोकेर लैजान नसकिने सामान साथीहरूसँग घर पठाइदिन थाले। बदली गर्न आउने पल्टनका मान्छे पनि रेकी गर्न आए। सरूवा भएर धनगढी जान पाउँदा आधा पल्टन खुसी, आधा पल्टन दुःखी देखिन्थ्यो।
अर्कै पल्टनबाट आएका सिपाहीले खसीको ढाड थिच्ने र जुरूक्क बोकेर अनुमानित तौल निकाल्थे, मुख रसिलो बनाउँथे।
सोमबारको बिहान साढे ८ बजेतिर अचानक डोरबहादुर लप्सापलाई घरबाट बुवाको फोन आयो ‘माइक्रोमा खसी आउँदै छ, त्याँ ब्यारेकमा झार्नू, सबै मिलेर खानू।’
लप्सापले ‘किन खसी पठाएको ?’ भनेर सोधे।
उनका बुवाको जवाफ आयो, ‘तैंले गर्दा दलबहादुरको नाम सिपाहीमा निस्क्यो। त्यसको बाउले तिमीहरूलाई भनेर खुसीयालीमा घरकै खसी पठाएको हो।’
पठाइसकेको खसीलाई नपठाउनुस् भन्न नमिल्ने देखिसकेपछि लप्सापले बुवालाई भने, ‘ठिकै छ। अब त्यसले मेहनत गर्यो, पास भयो। तर, खसी नै नपठाएको भए हुने!’
शिवभक्त पल्टनमा सोमबार काटमार नचल्ने भएका कारण त्यस दिन खसीले जीवन पायो। त्यही रात अतिजरूरी सन्देश आयो।
‘दुई दिनभित्र युवक अधिकृतलाई तालिम गर्न नगरकोट पठाउनू’ भनेर राजेश र डाँगी लप्सापलाई बोलावट आयो।
दुई दिनमा नगरकोट पुगिसक्ने चटारो आइपर्यो। सबै बन्दोबस्त मिलाएर करिब ६ महिनाको कोर्समा उनीहरू नगरकोट गए। आफूले खान नपाए पनि डोरबहादुर लप्सापले उपहार खसी त्यहीँ छाडेर गए। पल्टनमा त्यो रात भोज चल्यो। अलि पर बसेर शिव खसीले हेरिरह्यो।
ऊ पल्टन आएदेखि कयौं खसी उसकै अगाडि काटिए, जोखिए। सयौं कुखुरा बलि चढे। शिव खसीले टुलुटुलु हेर्यो मात्रै।
तिहार बिदामा काठमाडौं बिदामै रहेका बेला कर्साबको सैनिक मुख्यालय भद्रकालीमा पोस्टिङ निस्कियो। पल्टनलाई सकुशल धनगढी पुर्याउन र पुर्याइसकेपछि सोही पल्टनको कमान्ड सम्हाल्ने गरी अर्का मेजर साबको पोस्टिङ भयो।
नयाँ आएका मेजर साब पाहा र राजहंश खाने खालका त थिएनन् तर माडुवा सुर्ती खुब खान्थे। उनको नाम सबैले ‘माडुवा मेजर साब’ राखिदिए।
अब पल्टनलाई सकुशल धनगढी पुर्याउने जिम्मा माडुवा साबकै काँधमा आइलाग्यो।
पुसको अन्तिम हप्ता थियो। धनगढीमा ड्युटी लिन पुग्ने गरी हिँडेको टोली ‘आहा’ मेजर साबको कमान्डमा बस चढ्यो। दुई दिनमा धनगढी पुग्यो।
बाँकी टोली कर्णाली चिसापानीसम्म बस अनि एक हप्ता हिँडेर जाने योजनाअनुसार माडुवा साबको कमान्डमा जान तयार भयो। कर्णालीको चिसापानी ब्यारेकमा भकाभक फौज ओर्लियो। फौजसँगै एउटा खसी पनि ओर्लियो। खानु, पिउनु र रात गुजार्नु खसीको चिन्ताको विषय थिएन। शिव खसी फौजको बीचमा लागेर हिँड्न तयार भयो, एक हप्ताको पैदल यात्रामा।
कर्णाली पुल कट्नेबित्तिकै माओवादी लडाकुहरूको ब्यारेक आउँथ्यो।
सरकार र लडाकुबीचको सम्झौताअनुसार पल्टनलाई बाटैबाटो हिँड्न वैधानिक अड्चन थियो। हातहतियारले सुसज्जित पल्टन पाँच किलोमिटर आमनेसामने पर्ने गरी माओवादी लडाकुको नजिकबाट हिँड्न मिल्दैनथ्यो। त्यसैले बाइपास गर्ने योजना बन्यो। कर्णालीको पुल काटेपछि बजारलाई पूरै बायाँ पार्दै फौज डाँडामा उक्लिने र बेलुकी झिसमिसेमा मात्रै लम्की बजारभन्दा उत्तरतर्फको मगर बस्तीमा बास बस्ने योजना बन्यो।
फौजसँगै शिव खसी दिनरात केही नभनी हिँड्यो। कहिलेकाहीँ ब्रेक बसेको मौकामा सिपाहीले बाँडेको एक–एक चोइला हाई इनर्जी बिस्कुटको स्वादले ऊ पछि लागिरह्यो। सिपाही र खसी दुवैले आत्मीयता साटिरहे।
हिँडेको चौथो दिनमा सुखड बजारदेखि करिब ७ किलोमिटर दक्षिण पुगेर एउटा प्राथमिक स्कुलमा रात काट्ने विचार गरेर हिँडेको टोली निकै थाक्यो। माडुवा साबले भने, ‘यो खसी पनि २७–२८ किलोको छ, काट्नु पर्छ होला।’
त्यत्तिकैमा कर्साबको बन्दोबस्ती हेर्ने गोले नामको सिपाहीले भन्यो, ‘हजुर भोलि यै गणको कर्साब बन्ने गरी आइसेको मान्छे। आज एकछिनको भोकमा पल्टनले घण्टी बाँधेको खसी काटेर खान मिल्ला र हजुर ?’
गोलेको कुराले मेजर साब तर्सिए। उनले गोलेलाई नै भने, ‘उसो भे एक बोत्तल खुकुरी रम र एक किलो बोइलर व्यवस्था गर।’
‘हस् हजुर’ भनेर गोले निस्क्यिो।
आफू काटिने/नकाटिने योजनाको अत्तोपत्तो नपाएको शिव खसीले १५–१६ दिनमा निकै कुरा थाहा पायो।
मासुको स्केल खाने दिनमा ठेकेदारले बिहानै खसी लिएर आउँथ्यो। खसी जोख्न र मासु काट्न ब्यारेक हाताभरि रेडियोमा सर्कुलर हुन्थ्यो। क्वार्टरमास्टर विभागका हवल्दार, जमदार र ड्युटीमा हुने अफिसरदेखि एनसियो— सबै जम्मा हुन्थे। खसी छामछुम गर्थे, खुट्टा हेर्थे, मुख हेर्थे, रासन स्टोरमा रहेको ठेक्कापट्टा निर्देशिकाका दफादफा पल्टाउँथे र मार हान्न पानी उमाल्ने आदेश दिन्थे।
खसी काट्ने दिन कुखुरा काटिने दिनभन्दा बेग्लै रौनक हुन्थ्यो। कलेजो खान पाइनेदेखि, आन्द्राभुँडी धुँदा ठेकेदारले बस्किस दिने मोटे आन्द्राको लोभमा खसी काट्ने क्षेत्र वरपर चहलपहल बढ्थ्यो।
पानी उमाल्ने र मार हान्ने टोलीले टाउको र रगत खान पाउने चलन स्थापित भइसकेको थियो।
पल्टनमा दौडिन माहिर टोलीहरू सधैंजसो नली खुट्टाको रस खान पाउने कुरामा ढुक्क हुन्थे।
माथिको आदेशअनुसार उनीहरूलाई बिहानै चना, अण्डा र खसीको स्केल भएको दिन नली खुट्टाको सुप खान दिने निर्देशन थियो।
जति खसी भित्रिन्थे— सबैको मापन शिव खसीको ढाड छामेर मापदण्ड तय गरिन्थ्यो।
ठेकेदारले भन्थ्यो, ‘कहाँ यो दरबन्दीको खसी, कहाँ यो नश्लबन्दीको खसी हजुर !’
कुखुराहरू त बेहिसाब मर्थे। ठेकेदारले एक हात लामो बाँसको लौरीले कुखुराका ढाडमा मर्ने गरी बजार्दै चौरमा पछार्थ्यो। प्राण नजाँदै तातो पानीमा चोबिइसक्थे। खसीको भन्दा कुखुराको प्राण महत्वहीन लाग्थ्यो। यी सबैको मृत्यु हेर्दाहेर्दा वाक्क परेको शिव खसी कुनै साधुजस्तो देखिन्थ्यो। ऊ अक्सर भर्याङ मुन्तिर र घरको छतमा घाम तापेर उग्राउँथ्यो।
देशका विभिन्न स्थानमा स्वाइन फ्लु र बर्ड फ्लु देखिनासाथ स्वास्थ्य मन्त्रालयको सूचनामा आधारित रहेर सेनाको हेडक्वार्टरबाट ‘कुनै पनि दोपाया र चौपाया ब्यारेकमा नपाल्नू’ भन्ने उर्दी जारी हुन्थ्यो। तर, पनि शिव खसीलाई हटाउने (काट्ने) वा बेच्ने बारेमा कसैले सोच्नै सक्दैनथे। निरीक्षणका दौरान यो खसी आफैं घरको छत अथवा भर्याङमुनि मज्जाले ओत लागेर बस्थ्यो।
दिन, महिना हुँदै वर्ष बिते। पाँचौं वर्ष हुँदा पल्टन सरूवा निस्किने गाइँगुइँ चल्यो। हरेक दसैंमा कर्नेल कमान्डेन्टलाई भेट्न जाने सुबेदार मेजरहरूले पल्टन सरूवा हुने लिस्टमा भएको हल्ला लिएर आउँथे। निरीक्षण गर्न आएका जर्साबहरू पनि उसिनेको बँदेल लुछ्दै, पल्टन सरूवाको सिफारिस गर्दिने धागो बुन्थे। सबै खुसी हुन्थे।
एकदिन ‘सिपाही’ पत्रिकामा डोरबहादुर लप्टनको गजल छापियो—
अब त पल्टन सर्छ रे, हल्ला यस्तै छ
सबेरै आँगनमा घाम झर्छ रे, हल्ला यस्तै छ।
यो गजल छापिएपछि त हल्लाको आयातन झनै चर्कियो। तर, डोरबहादुरले हार मानेर यो गजल सेनाको पाक्षिक ‘सिपाही’मा छपाएका थिए। किनकि हाकिमहरू सधैं ‘को बन्छ करोडपति’मा जस्तै विभिन्न वैकल्पिक उत्तर दिएर जान्थे।
शिव खसी पल्टनमा आएदेखि अहिलेसम्म तीन जना कर्साबहरू बदली भइसकेका थिए। कैयन अफिसरहरू पुनः पोस्टिङ हुँदै आउँदै जान्थे। चार–चार वर्षे कार्यकाल सकाएर दुई जना सुबेदार मेजर पनि बदलिइसकेका थिए। शिव खसी नचिन्ने कोही थिएन। सयौं खसी काटिएर पनि नअघाउने पल्टनले शिव खसीमा कहिल्यै र्याल चुहाएन।
पल्टन बर्दिया सरूवा हुने सन्देश आयो। निकुञ्ज सुरक्षाको काम गर्ने गरी खटिनुपर्ने भएकाले ज्युँदै खसी लिएर जाने कुरामा पुनः दुविधा देखिन थाल्यो।
अन्तिममा सुबेदार मेजरले भने, ‘ल, यसको घाँटीको घण्टी फुकाएर लैजाने। यहाँ कसैलाई जिम्मा लगाउन सकिँदैन। यो हाम्रो सम्पत्ति भइसक्यो। यो पल्टनको लक्षिण हो। यो शिव खसी हो।’
सबै मञ्जुर भए।
पहिलेजस्तै पल्टन मुभ भयो। सात दिन हिँड्नुपर्ने नियम सबैले पालना गरे। तर, यसपालि भने शिव खसीलाई हिँड्नु परेन। बर्दियाको जंगलमा चारखुट्टे जनावरको कुनै कमी थिएन तर यो शिव खसी पहिलो जनावर बन्यो, जो ब्यारेकमा सिपाहीकै हैसियतमा बस्न थाल्यो। उसले आफूलाई जीवनदान दिने कर्साबकी छोरीलाई पनि भुलिसकेको थियो शायद।
नियमले निकुञ्जको बसाइ दुई वर्ष मात्रै भए पनि करिब–करिब तीन वर्ष बसेर पल्टन फेरि धादिङ आइपुग्यो। पल्टनसँगै शिव खसी पनि आइपुग्यो।
१६ वर्षमा कानुनतः घर जान पाउने नियम भएदेखि उसले धेरै नै आत्मीय हातहरूबाट खान पाउने चारो पाएको छैन। ऊ आएकै साल क्याप्टेनमा पदोन्नति भएर बसेका अफिसर नै अहिले गणपति कर्साब भएर आएका छन्। शिव खसी दुब्लाउँदै गएको छ। पहिलेजस्तो केही खान सक्दैन। उसका आधा दाँत छैनन्। झरिसकेका छन्। लामा–लामा कानका बिटहरू फुटेका छन्। पेट हप्याक्क परेको छ। पुच्छरतिरको रौं जगल्टा परिसकेको छ।
हाँसहरूको संख्या विभिन्न कारणले घटबढ भए पनि नयाँ–नयाँ पन्छी थपिएका छन्। एउटा अस्ट्रिच र टर्की चरा पालिएका छन्। सबैको माया अब उसलाई क्याजुअल माया लाग्न थालेको छ। आजकाल त उसका कान मुसार्दिने, डडेल्नो थिचेर तौल अन्दाज गर्दिने, अण्डाशय समात्दिने सिपाही छैनन्। सबैजना करिअर, सुविधा, आलोचनामै व्यस्त छन्। पहिले–पहिले बेलुकी ६ बजेपछि टेलिभिजनमा रेस्लिङ हेर्न सिपाहीको भीड हुन्थ्यो। आजकाल सबै मोबाइलमा घोप्टिन्छन्। पल्टनको बाबुराम टिकटकमा सेलिब्रिटी भइसकेको छ। आजकाल उसलाई उसकै पल्टनका अफिसरहरू फलो गर्छन्। उसले शिव खसीलाई मकै उसिनेर खुवाइरहेको भिडिओले मिलियन भ्युज कमायो।
शिव खसीलाई बन्दुक पड्काएको मन पर्दैन। हरेक दसैं र वार्षिकोत्सवमा क्वार्टर गार्डले बुलेट झिकेका खोका पड्काउँदा ऊ झसंग हुन्छ। सैनिक पण्डितहरूले बोका बलि चढाउँदा वाचन गर्ने मन्त्र ‘छागबली धिक धिक...’ सुन्दा ऊ कहालिन्छ। डरले कक्रक्क पर्छ।
फेरि पल्टन सर्ने गाइँगुइँ चलेको छ। जता पुगे पनि सबैलाई अन्तिममा शिव खसी कसरी लैजाने भन्ने चिन्ताले सताउँछ।
सरूवाकै हल्लाबीच गणेश हवल्दारले काँधमा जमदारको फुली लगाए। उनले क्वार्टर गार्डमा सलामी खाइसकेपछि एउटा सेल्फी खिचे र फेसबुकमा पोस्ट गरे। डोरबहादुरले पनि त्यो तस्बिर हेरे र बधाई दिए। तस्बिरमा शिव खसी झोक्राएर उभिएको देखे। तुरून्तै गणेशलाई फोन गरे। शिव खसीको बारेमा सोधे। पल्टन सर्ने हल्लाबारे हल्का कुराकानी भयो।
गणेशसँग फोन काटिएपछि डोरबहादुरले सुबेदार मेजरलाई कल गरेर अनुरोध बिसाए, ‘सुब्मेज्साप! सकेसम्म पल्टन चितवन लैजाने कोसिस् गर्नुस् है ?’
सुबेदार मेजरले अल्मलिएर सोधे, ‘किन र हजुर ?’
डोरबहादुरले लामो सास तानेर भने, ‘चितवनमा देवघाट छ नि !’
Twitter: @yedevda