असोजको महिना। साँझपख जहाजको झ्यालबाट देखिने काठमाडौंको दृश्यले मन हर्षित बनायो, लाग्यो स्वर्ग यही हो। चाहेको कुरा पाउनु नै स्वर्ग हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुँदा मन ढुक्क भएको थियो।
प्रकृतिभन्दा प्रविधिसँग रम्न थालेको मान्छे अझै भनौं प्रविधिसँग हार्दै गरेको मान्छे कसरी ग्याजेटबिना रहन सक्थ्यो र! हेडफोनमा गायक रामकृष्ण ढकालले गाएको गीत- यात्रा रहेछ जिन्दगी ।। म एक्लै हिँडिदिन्छु।’
घन्किरहेको थियो। हुन पनि केही न केही प्राप्तिका लागि गरिने संघर्षको निरन्तरता न हो जिन्दगी!
यात्रामा कति मानिस भेटिन्छन्, कति जोडिन्छन्, कति छुटिन्छन्। गीतमा भनेझैं अन्तमा एक्लै सिर्फ एक्लै।
विमानस्थलमा यात्रुहरूको भीडभाड थियो। अक्सर स्वदेश फर्किनेहरूको अनुहारमा प्रसन्नता झल्किन्थ्यो भने बाध्यताले देश छाड्नेहरूको अनुहारमा बाहिर जान पाउँदाको खुसी र घर-परिवार छोड्दाको पीडा बराबरा देखिन्थ्यो।
एयरपोर्टमा ट्याक्सी गुरूजीको तँछाडमछाडको पनि कुनै वास्ता नगरी म एउटा ट्याक्सीमा गएर बसेँ।
‘चरी।।ररी ।।ररी।।रै ।।चरी।।ररी ।।ररी।।रै ।। वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो, नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो’ नेपाली कथानक चलचित्र मुग्लानको कालजयी गीत चर्काउँदै ट्याक्सी गुड्न थाल्यो।
विभिन्न किसिमका हर्नले मेरा कानलाई रोजे। धुलाका बादलहरूले आँखालाई। खाल्डाखुल्डीले गाडी घोडाको सम्झना गरायो भने अस्तव्यस्त सहरको कोलाहलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा देश विकासको गति।
ट्याक्सीमा पशुपतिनजिक पुग्नै लाग्दा बागमती नदीको दुर्गन्धले झल्याँस्स सम्झायो, मानव सभ्यताको विकाससँग सबभन्दा गहिरो सम्बन्ध ठूला ठूला नदीहरूकै छ।
संसारका हरेक ठूला सहर नदीका किनारमा छन्।
अफ्रिका, युरोप, अमेरिका वा एसियाका ठूला सहरहरू पानीमा पौडिरहेका पाउँछौं। जस्तो कि, अफ्रिकाको नाइल नदी, अमेरिकाको मिसिसिपी नदी, दक्षिण कोरियाको राजधानी सोलको बीचमा रहेको हानखान नदी, बर्लिनको बीचमा रहेको रिभर स्प्रे, लन्डनको थेम्स र चीनको पहेँलो नदी।
यी नदीले सहरको परिचय दिइरहेका हुन्छन्। बिडम्वना हामीले चाहिँ बागमतीलाई सरसफाइ समेत गर्न सकेका छैनौं।
करिब पाँच वर्षको अन्तरालपछि बाआमा, आफन्त, नातागोतालाई भेट्दा मन एकाएक आकाशमा उडिरहेको चङ्गाजस्तो भयो।
आमाले मलाई गर्लम्म अंगाल्दै भक्कानिनु भो।
‘छोरो घर आउँदा पनि किन रून्छे यो?’ बुवाले आयातित ढाका टोपी शिरमा मिलाउँदै भन्नुभो।
‘यी हर्षका आँसु हुन्।’ तत्कालै आमा हाँस्नु भो।
आमा हाँस्दा मलाई संसार हाँसेजस्तो लाग्यो।
उसो त कसलाई पो आमा हाँसेको मन पर्दैन र! आमाका आँखामा अघि बग्ने आँसु पनि अचम्मका कहिले पीडामा बगिदिन्छन् त कहिले खुसीमा।
सबै उमेर अनुसार नै बदलिएछन्। तर, ढल्किँदो उमेरका बा-आमा चिन्ताले उमेरभन्दा बुढो हुनुभएछ।
लामो समयपछि दसैंमा स-परिवार जम्मा हुँदा माहोल रमाइलो थियो।
घरको एक कुनामा अँध्यारो पारेर राखिएका ती उम्रँदै गरेका जमरा हेरेँ।
अनि घर अगाडिको आँगनमा फुल्न तयार भएका सयपत्री र सुपारी फूललाई पनि नजिकै गएर हातले स्पर्श गरेँ।
मन त्यसै–त्यसै पुलकित भयो। मादक शरद ऋतु ६ ऋतुमध्ये सर्वश्रेष्ठ ऋतु हो। न गर्मी, न जाडो मौसमका हिसाबले पनि यो ऋतु अरूभन्दा उत्तम हुन्छ।
मंसिर, पुसमा धानकाटेर निरस देखिने खेतका गह्राहरू यसैबेला धानका बाला झुलेर सरस भएका हुन्छन्। अन्नको भण्डार हुन्छ, घरहरू मर्मत, लिपपोत भएका हुन्छन्। चमेली, गुनकेशरी, सयपत्री र सुपारी फूलले बारीका कान्ला ढाकेका हुन्छन्।
यसै ऋतुमा पर्ने महान चाड वडादसैं र भाइटीकाको सामाजिक र सांस्कृतिक महत्त्व छ।
नेपालको अर्थतन्त्र परदेशले धानेले छ। पहिले नेपाली लाहोरदेखि आसामसम्म मुग्लानिन्थे, अहिले युरोप, अमेरिका, मध्यपूर्व, पूर्व एसिया, अष्ट्रेलियासम्म मुग्लानिन्छौं।
यसै अवसर पारेर खाडीबाट बाबाआमालाई चिल्ला गाडीमा चढाउने सपना।
बिछोडको छट्पटीलाई मिलन र मखमलको साडीको सपना र छोराछारीलाई नाना-चाचाको सपना बोकेर आउँछन्। इष्टमित्रसँग भेटघाट हुन्छ।
साँझपख स-परिवार भेला भएको बेला आमाले फेरि मौका छोप्नु भयो- यसपटक त बिहे गर्नुपर्छ बाबु।
म सुनिबस्छु।
‘उमेर अनुसार जिन्दगी बाँच्नु पर्छ नत्र पछि पछुताउनु पर्ला बाबै!’ आमाको स्वर बढ्छ।
‘जति बेला पनि खाली कति बिहे बिहे भन्दी रैच’, बा बोल्नु हुन्छ, ‘पढे लेखेको छ, देशविदेश देखेको छ। आजकालको मान्छे यसले पनि त केही सोचेको होला।’
‘यसले त सोचेको सोच्यै हो। यही सँगका साथीहरूले घरजम गरिसके। याँ मान्छेहरूले किन फलानाले बिहे नगरेको भनी कुरा काट्न थालेछन्,’आमा गुनासो पोख्नुहुन्छ।
‘हुन्दे, कुरा काट्नेको काम कुरा काटिरहने हो। आज बिहे नहुँदा काट्छन् भोलि बिहे भएसी काट्छन्’ बा मेरो समर्थनमा उत्रिनुभयो।
बाआमाको संवाद सुनेर म जोडजोडले हाँस्दै थिएँ।
‘के भयो भाइ?’
म झसंग भएँ।
एकछिन त के भनौं के भनौं भयो। म त सपनामा पो जोड-जोडले हाँसिरहेको रहेछ। नजिकै रहेको मोबाइल खोलेँ- बिहानको ७:०० बजेछ।
बाहिर सूर्यका किरणहरूले दिनको संकेत दिँदै थिए।
स्वदेशको मीठो सपनाबाट एकाएक परदेशको तीतो विपनामा ब्युँझदा मन कागतीको जुस पिएजस्तै अमिलो भयो।
सपना पनि त अवचेतन मनको प्रस्फुटन न हो।
नजिकै रहेको बोतलको पानी घटघट पिएँ।
मनमनै प्रश्न गरेँ, मजस्तै सपनामा घरदेशको कल्पना गरेर रमाउने परदेशी कति होलान्!
परदेशको जीवन विचित्रको हुन्छ।
अर्लामको आवाजसँगै बिहान उठ्, अनुहार पनि राम्रोसँग धुन नपाई हतार-हतार केही खाऊँ र कम्पनी जाऊँ।
दिनभर गधाजस्तै जोतिएर काम गर अनि मध्यरातमा झ्यालखाना जस्तो डेरा। मेसिनजस्तो जिन्दगी। कसैलाई कसैको मतलब छैन। मात्र काम काम अनि काम। फुर्सदले बसेर खानसम्म पाउने हैन। रातदिन कामले गर्दा धेरै रात राम्रोसँग सुत्न नपाएका रातको हिसाब कसले दिने?
कसैको वास्ता नगरी हतार-हतार खाना खाएर काममा जोतिनुपर्दा सधैं मनमा एउटै प्रश्न उब्जिन्छ- केका लागि यत्रो धपेडी?
फेरि खानु र काम गर्नुबाहेक जीवनमा अरू कुनै कुरा नै छैन?