कथित आफूभन्दा तल्लो जातकी केटी विवाह गरेको भन्दै एक वर्ष पनि नपुगी रामबहादुरका परिवारले उसलाई र मनमायालाई अलग गरिदिए।
मनमाया गाउँमा गाइगुईं हल्ला सुन्थिन्, उनका श्रीमान् त आफ्नै जातकी अर्की केटीसँग बिहे गरी सहरमा डेरा गरेर पो बसेका छन् अरे।
मायाको जात के? सम्बन्ध कुन थरको हुन्छ? नाताको गोत्र के हो? यो त एउटा महसुस मात्रै हो। यसको नि कुनै जात हुन्छ र? यदि हुँदैन भने त्यसैको तगारो किन लाग्छ हरेक सम्बन्धका अघिल्तिर?
बिछोड त गराए आफन्तले तर मनमायाको गर्भमा हुर्किंदै गरेको रामबहादुरको पिपिरोले आफ्नो नतिजा दिएरै छोड्यो। भर्खर जन्मिएको सानो छोरो लिएर उनी माइतीकै आडमा सानो झुप्रो बनाएर बसेकी थिइन्।
आफैले रोजेको अर्कै जातको केटासँग भागेर बिहे गरेकी भन्दै माइती र आफन्तले पनि खासै वास्ता गर्दैन थिए उनलाई।
अर्काको बनिबुतो गरेर जसोतसो हातमुख जोड्दै आएकी मनमायासँग छोराको न्वारन गर्ने खर्च समेत थिएन। अरु कसैलाई नडाकी उनी आफैले छोराको न्वारन गरिदिइन्। आफ्नो नामको 'म' निकालेर छोराको नाममा टाँस्दै पुकारिन्- मानबहादुर।
अरुको मेलापात गरेरै छोरा हुर्काउँदै लगिन्। बाल्यकालमा छोराले गर्ने हरेक काम उनलाई अहिलेसम्म अरु कसैले नगरेको नौला र अनौठा लाग्थे। बेलुका छोरा काखमा खेलेको देख्दा उनी दिनभरीको दु:ख र थकान सबै एकैचोटी बिर्सिन्थिन्।
बाँसको टाटीमा माटोको लिउन लगाएर खरको छानो हालेको सानो झुप्रो भित्रको एउटा कुनामा अँगेनो र अर्को कुनामा बाँसका भाटा जोडेर बनाइएको एउटा सानो खाट थियो। जसमा आमा छोरा सुत्ने गर्थे।
छोरोले जानी-नजानी बोल्दा कहिलेकाहीँ मम्मा-बाबा भन्ने शब्द निस्किन्थ्यो। त्यतिबेला मनमाया रामबहादुरलाई खुब सम्झिन्थिन्। तर न त उनको सम्झनाले रामबहादुरको मन फर्कियो न छोराको मायाले नै छोयो।
मानबहादुरले बाबाको न्यानो मायाको आभाष कहिलै गर्न पाएन। न त पाए ती सुकोमल हातहरूले बाबाको स्पर्श नै। आमाको लागि संसार छोरा अनि छोराको लागि आमा बाहेक अरु कोही थिएनन्।
अक्सर आफ्नैबाट चोट पाएपछि नै हो मान्छेको मनभित्र हिम्मतको बोट उम्रिने। लढेपछि नै हो उठ्न सिक्ने, खसेपछि नै हो फेरि उक्लिन सिक्ने। ढलेपछि नै हो उभिन सिक्ने, डुबेपछि नै हो उत्रिन सिक्ने। हारेपछि नै हो मान्छेले जितको महत्व बुझ्ने। मनमायाले यो कुरा मस्तिष्कको स्तरमा हैन अनुभूतिको स्तरमा पुगेर बुझेकी थिइन्।
श्रीमान् र आफन्तले दिएको चोटको बदलामा ऊभित्र हिम्मतको बोट झागिँदै गएको थियो। त्यो बोट यसरी झागिँएको थियो कि अप्ठ्याराका जस्तोसुकै हावाहुरी आए पनि ढल्नेवाला थिएन। दु:खका जतिसुकै ठूला भेलबाढी आए पनि बगाउन सक्ने थिएन।
अरुले जोतेर सक्ने एक मेलो उनी खनेर सक्थिन्। अरुले भनेर मात्रै सक्ने साहसका शब्दहरू उनी बनेर सक्थिन्। किताबका अक्षरसँग उनको साक्षात्कार कहिलै नभए पनि जीवनका भोगाइहरूबाट मनमायाले विद्यावारिधि नै गरेकी थिइन्।
कहिले खाटका खुट्टामा छोरालाई बाँधेर मनमाया पानीपँधेरी गर्थिन् त कहिले घाँसका भारीमा बोकेर हिँड्थिन्। कहिले मन रुझाएर हिँडथिन् त कहिले चित्त बुझाएर हिँडथिन्। गाउँबेसी मेलापात गर्दा उनको जवानीमा आँखा लागाउने धेरै थिए तर उनको अवस्थामा चासो देखाउने कोही थिएनन्।
मानबहादुर स्कुल जान थालिसकेको थियो। गाउँकै मुखियाको गाईभैँसीलाई स्याउला-घाँस काटिदिएर उनी छोराको कापी कलमको लागि खर्चको जोहो गर्थिन्।
मानबहादुर हुर्किंदै थियो। स्कुल छुट्टीको बेला प्रत्येक बर्खामा बैंस उर्लिएर तन्नेरी हुने सिस्ने खोला छेउछाउ उनी छोरालाई लिएर बाख्रा चराउन जान्थिन्। ऐंसेलु, काफल टिपेर छोराको हातमा थमाउँदै बाख्रालाई अरुको अन्नबाली खान जान नदिनू भनेर उनी घाँस, दाउरा, स्याउला जम्मा गर्न थाल्थिन्।
मानबहादुर कक्षा दशमा पढ्ने भयो। छोराले आमाको दु:ख र दैनिकी दुवै बुझ्न सक्ने भैसकेको थियो। उसको बुबा र आफन्तले दिएको दु:ख सबै मनमायाले छोरालाई सुनाएकी थिइन्। मनमायाले आफूभित्र भएको हिम्मतको पिपिरोलाई छोराको मनभित्र पनि सारी सकेकी थिइन्।
मुखियाको एकहल गोरु र हलोजुवा लिएर ऊ एक्लै बेसिखेत जोतेर आउन सक्ने भैसकेको थियो। छोराले दश कक्षा पास गरिसकेपछी गाउँकै एक होटल साहुकोमा भाँडा माझेर तिर्ने वाचा गरेर मनमायाले पन्ध्र सय रुपैँया ऋण लिएर छोरालाई सहर पढ्न पठाइन्।
मानबहादुर सहरमा होस्टलमा बसेर क्याम्पस पढ्दै थियो। मनमाया छोरालाई जस्तै माया गरेर पालेको खसी बेचेर सहरमा छोरालाई खर्च पठाइदिन्थिन्। मानबहादुरको साथीको बुबा घर बनाउने ठेकेदार थिए। क्याम्पसमा पढाइको चाप कम भएको बेला ऊ पनि साथीको बुबासँगै काम गर्न जान्थ्यो र आफ्नो पकेट खर्चको जोहो गर्थ्यो। कहिलेकाहीँ ऊ ट्युसन पढाएर पनि आफ्नो खर्च जुटाउँथ्यो।
पढाइको स्तर बढ्दै गएसँगै साथीभाइको संख्या पनि बढ्दै गयो। लेबरको काम छोडेर रामबहादुर पूरै ट्युसनमै व्यस्त हुन थाल्यो। बिहानको क्याम्पस भ्याएर ऊ साँझ अबेरसम्म ट्युसनमै व्यस्त हुन्थ्यो।
हरेक दिन बिहान क्याम्पसको एक/दुई वटा कक्षा छुटेका हुन्थे उसका। प्रत्येक शनिबार अरु साथीहरू कहिले सिनेमा हेर्न जाने त कहिले घुम्न जाने योजना बनाउँथे तर ऊ साथीको नोट ल्याएर एक हप्ताभरि छुटेका विषयहरूको तयारी गर्थ्यो। यसैगरी उसले मास्टर डिग्री सम्मको पढाइ सकायो र गाउँ फर्कियो।
अहिले मानबहादुर गाउँकै एउटा सरकारी स्कुलमा अंग्रेजी विषयको मास्टर भएको छ। गाउँमा कहिलेकाहीँ विदेशी घुम्न आएका बेला ऊ विदेशी पाहुनासँग मज्जाले अंग्रेजीमा गफ गर्छ। यो देखेर मनमाया कुरा नबुझे पनि खुसीले गद्गद् हुन्छिन्। सारीको सब्कोले आफ्नो शिर ढाक्दै विदेशीको अघिल्तिर छोराको छेउमा गएर उभिन्छिन्।
होम ट्युसन् पढाउन जाँदा आफूले मन पराएको केटीसँग मानबहादुरले परिवारको सहमतिमै विवाह गरेको छ। बुहारी पेशाले स्वास्थ्यकर्मी हुन्। उनी पनि गाउँकै एक अस्पतालमा काम गर्छिन्। मनमाया बिहान बेलुका आफ्नो नातिसँग मज्जाले भुलिन्छिन्।
उनले बेलामा पढ्न पाइनन् तर उनको त्यो रहर अझै मेटिएको छैन। अहिले रहर र मौका दुवैको भेट भएको छ। दिउँसो नाति स्कुल जान्छ, मनमाया पनि आजकाल प्रौढ शिक्षामा गएर पढ्न थालेकी छिन्।
कक्षाको पहिलो दिन प्रौढ शिक्षा पढाउने मेडमले आमा सबै भन्दा पहिला कस-कसको नाम लेख्न सिक्नु हुन्छ भनेर सोध्दा उनी केही नसोची ढुक्कले भन्छिन्, 'नातिको।'
'अनि त्यसपछि?,' मेडम फेरि प्रश्न गर्छिन्।
हातका औँला देखाउँदै उनी क्रमशः भन्छिन्, 'पहिले नातिको, त्यसपछि छोराको, बुहारीको, त्यसपछि तपाईंको अनि मेरो।'
हातका पाँच वटा औँला गनिसक्दा अन्तिमको औँलामा मात्रै उनी आफूलाई समेट्छिन्।
उता अर्की आमा पट्टिबाट पनि एउटी छोरी जन्मिएकी छ भन्ने खबर उनीहरूले सुनेका छन्। मानबहादुरलाई अहिले नै गएर बहिनिलाई ल्याएर आफूसँगै राखौँ जस्तो नलागेको त कँहा हो र? तर क्याम्पस पढ्दा एकपटक पैसाको साह्रै अप्ठ्यारो परेपछि मानबहादुर बुबाको साहारा खोज्दै उनीहरू बसेको ठाउँसम्म नपुगेको पनि होइन।
उनीहरू एउटा कुखुरा फारम चलाएर बसेका थिए। थोरै आश गरेर उसले बुबासँग पैसाको कुरा गर्नासाथ सौतेनी आमाले देखाएको त्यो क्रुरतापूर्ण व्यवहारलाई उसले अझै बिर्सन सकेको थिएन। उसले त्यही दिनदेखि बुझेको थियो जिन्दगीमा अरुको आशले आफ्नै मनको दास बनाउँछ भनेर।
बहिनीको माया मन भित्रैदेखि उर्लिएर आए पनि मस्तिष्कमा भएको सौतेनी आमाको त्यो क्रुर अनुहारले उसको बाटो छेक्यो। छोरो त्यत्तिको हुनुमा बुबाको योगदान उसको नागरिकतामा बुबाको नाम थर भन्ने ठाउँमा लेखिएको 'रामबहादुर' भन्ने नाम मात्रै थियो।
आमाले जन्माइन्, आमा एक्लैले हुर्काइन्, उसलाई शिरमा राखेर मनमाया सधैँ दु:खको समुन्द्रमा डुबुल्की मारिरहिन्। छोरालाई संस्कार उनैले दिइन्। सास उनैले भरिदिइन्, साहस् उनैले भरिदिइन् तर छोराको नागरिकतामा बुबाको मात्रै नाम लेखियो, आमाको नाम थर भन्ने ठाउँमा मनमायाको नाम अटाएन। उनको परिचय अटाएन, उनको नामले स्थान पाएन।
आजकाल मनमायाले गाउँमा पहिले कहिलै नपाएको सम्मान पाउन थालेकी छिन्। इज्जतको महसुस गर्न थालेकी छिन्। आफ्ना गुमेका सबै कुराहरू फिर्ता पाएको जस्तो महसुस् गर्छिन् उनी। हराएका धेरै कुराहरू पुन: भेटिएको जस्तो लाग्छ उनलाई।
पहिले उनलाई चिन्ने सबैले 'मने' भनेर बोलाउने गर्थे। अहिले नागरिकतामा भएको उनको वास्तविक नाम 'मनमाया'ले गाउँलेको ओठमा स्थान पाएकोछ। नाम मात्रै होइन, नामसँगै व्यक्ति अनुसार उनको नातासम्बन्ध पनि फर्किएको छ।
आजकाल गाउँलेहरू भन्ने गर्छन्- मनमाया हजुरआमा, मनमाया आमा, मनमाया काकी, मनमाया माइजू, मनमाया दिदी यस्तै यस्तै।
पहिले सधैँ तल हुने मनमायाका हातहरू आजकाल माथि हुन थालेका छन्। पहिले सधैँ मागी हिँड्ने उनी अचेल दिन थालेकी छिन्। माग्दै आउने भिक्षु, भिखारी वा अरु मगन्ते जो हुन् उनी दानदक्षिणा मात्रै दिन्नन्। उनीहरू इक्षुक भए त्यसमा थोरै माया, ममता, स्नेह, सम्मान पस्किएर खाना-नास्ता पनि खुवाएर पठाउँछिन्।
कोही गाउँले उनीसँग पैसा माग्न आउँदा पहिले उनी उनलाई अरुले फर्काएको रुखो वचन र रित्तो हात सम्झिन्छिन्। त्योभन्दा धेरै त्यतिबेला आफू कुन अवस्थामा माग्न गएको थिएँ भनेर आफ्नो त्यो अवस्थालाई सम्झिन्छिन् र सरासर पहेँलो पटुकीमा सिउरेर राखेको सुर्के थैली खोलेर पैसा उसको हातमा थमाउँदै भन्छिन्, 'लाउ यो राख, सक्दा तिर्नू। मलाई नै फिर्ता गर्नका लागि भनेर आफ्नो गाँस काट्नु पर्दैन।'
मनमायाले नेपाली पढ्न, लेख्न प्रौढ शिक्षामा सिकिन्। आजकाल नातिले उनलाई अंग्रेजीको वान, टू पनि सिकाएको छ। पहिले नोटको बीचमा भएको चौंरी, जरायो, गाई, गैंडा, भेडा, बाघ, हात्तीको तस्वीर हेरेर पैसाको मान-मूल्य थाहा पाउने उनका आँखा आजकाल सोझै नोटको छेउमा अंकित अंकमा जान थालेका छन्। उनी त्यही हेरेर पैसाको मूल्य थाहा पाउन सक्ने भएकी छिन्।
हजुरआमाको नागरिकतामा जन्ममिति देखेर गएको असारमा उनको जन्मदिनको बेला नातिले असाध्यै रहर गरेर एउटा केक ल्याएको थियो। उनले योभन्दा अगाडि केक देखेकी त के सुनेकी पनि थिइनन्। केकको अगाडि अंग्रेजीका दुई वटा अंकसँगै जोडिएर ठडिएका थिए। उनले मनमनै त्यो अंकलाई उचारण गर्दै भनिन्, 'पाँच र छ छपन्न!'
केक काटेर खाएपछि उनलाई पहिले सानोमा आमाले बनाएर खुवाएको कुरौनीको याद आयो।
दिउँसो छोरा-बुहारी जागिरमा जान्छन् र नाति स्कुल। मनमायाले आफूलाई अलमल्याउन घरमा बाख्रा पालेकी छिन्। वर्षमा दुई पटकसम्म गर्भवती हुने बाख्री आमाको भूमिकामा छे। छोराछोरीको भूमिकामा दुई ठूला र दुई साना पाठाहरू छन्। उनी त्यो बाख्रीलाई आफू सम्झिन्छिन्। ठूला पाठालाई छोरा बुहारी सम्झिन्छिन् अनि सानो पाठोमा नातिलाई भेट्छिन्।
उनलाई ठूलाको भन्दा ती साना पाठाको ज्यादै माया लागेर आउँछ। दिउँसो कतै चराउन लगिन् भने ती पाठाहरू पनि पर गएर चर्नभन्दा धेरै मनामायाकै काख वरपर लुटुपुटु हुन रुचाउँछन्। उनको नाम राख्नेले सोचेरै राखेका रहेछन् क्यारे, ठ्याक्कै मान्छे जस्तै नाम अनि नाम जस्तै मान्छे पनि। साँच्चै माया नै माया ले भरिएको मन 'मनमाया'।
छोराको नाम पनि मनमायाले आफ्नो र पति रामबहादुरको नामसँग मिल्ने गरी सोचेरै राखेकी थिइन् 'मानबहादुर'। साँच्चै आज छोराले सबैको मान पनि बढाएको छ अनि बहादुरीता पनि देखाएको छ। मनमाया प्रत्येक दसैँमा नातिलाई टीका लगाइदिँदा उसको शिरमा हात राख्दै 'ठूलो मान्छे हैन बाबु, असल मान्छे बन्नू तिमी' भनेर आशीर्वाद दिन्छिन्। नाति पनि कुरा बुझे झैं गरेर हजुरआमाको मुखतिर हेरेर टाउको हल्लाउँदै मुसुक्क हाँस्छ।
आमाले बनाएको बाँसको झुप्रो अगाडि मानबहादुरले अर्को दुई तले पक्की घर बनाएको छ। त्यो ठूलो घर बनाउँदा सानो झुप्रो भत्काउने बारे निकै ठूलो बहस चलेको थियो परिवारमा। छोराबुहारी 'त्यो अब किन चाहियो, भत्काउनु पर्छ' भन्ने पक्षमा थिए भने मनमायाले 'मैले दु:ख गरेर बनाकी हुँ। तँलाई त्यही घरमा जन्माएँ, त्यही घरमा हुर्काएँ। तेरो जति माया लाग्छ त्यो घरको मलाई त्यत्तिनै माया लाग्छ। त्यसैले त्यो भत्काउनु हुन्न' भन्ने पक्षमा आफ्नो अडान छाडिनन्।
छोरा बुहारीले जिद्दी गरेपछि बरू उनीहरूसँग केही समय नबोली बसिन् तर त्यो घर भत्काउने विषयमा सहमति दिइनन्। पछि मानबहादुरले पनि आमाकै कुरा मान्यो र घर भत्काउनुको सट्टा त्यसलाई रातो टिनको टोपी लगाइदिएर चिटिक्क पारिदियो।
आजकाल सिस्ने खोलापारि गाउँ गएको बेला आफ्ना साथीहरूलाई ऊ परैबाट आफ्नो घरतिर देखाउँदै भन्छ, 'ऊ त्यो रातो टिनको छानो भएको घर हाम्रो हो। त्यो सानो घर मेरी आमा हुन् अनि छेउमै उभिएको ठूलो घर चाहिँ म हुँ। त्यो सानो घरले ठूलो घरलाई जान्माएको।'
पहिले बचत गर्ने पैसा नभएर बचत समूहबाट बाहिरिएकी मनमाया अचेल फेरि जोडिएकी छिन्। त्यहाँ सबैभन्दा धेरै पैसा बचत गर्ने सदस्य अहिले उनी नै भएकी छिन्। पहेँलो पटुकीभित्र सिउरेको सुर्के थैलीबाट पैसा निकाल्दै उनी भन्छिन्, 'लाऊ नानि, यति मेरो नाममा राखिदेऊ। यो छोरोले अस्ति सहर जाने बेला दिएको। यो बुहारीले अस्ति माइत जाने बेला दिएकी।'
कहिलेकाहीँ समूहमै आआफ्ना सन्तान छोराछोरीको बारेमा कुरा निस्किन्छ। त्यतिबेला मनमाया गर्वले छाती खोलेरै भन्छिन्, 'सन्तान नै सम्पत्ति।'