सागरजय बमका १७ भाइ छोरा थिए। १७ भाइमध्ये १६ छोरा देशका कुनाकप्चामा छरिएर बसेका थिए। कोही व्यापारी थिए, कोही कर्मचारी, कोही तस्कर त कोही ठेकेदार। जे होस् सबै पैसावाला थिए। शक्तिको नजिक थिए।
सागरजय बमको जेठो छोरो राजबहादुर बम भने बैतडी अवस्थित ग्वाललेक पुर्खौली थलोमा पुर्खाको बिँडो थाम्न बसेको थिए। उनी गाउँकै सबैभन्दा शक्तिशाली, धनी कम्युनिस्ट नेता पनि थिए।
उनलाई सबैले राजा साहेब भन्ने गर्थें। उनलाई आफ्ना धेरै भाइ भएकोमा गर्व थियो, घमण्ड थियो। बेलाबेलामा उनी भन्ने गर्थें- मेरो सत्र भाइ यहाँ भएको भए हाम्रो राज हुन्थ्यो। सधैं जित हुन्थ्यो।
राजबहादुरका भाइहरू बाहिर भए पनि बम खलक यसै पनि ठूलो थियो। राजबहादुर एक्लैका आठ सन्तान थिए। सात भाइ छोरा र एकमात्र छोरी थिइन्, सुकुन बम। नाम थर ठ्याक्कै उनलाई सुहाउँदो थियो। रुप हेर्दा सुकुन, आनीबानी भने ठ्याक्कै बम जस्तो, छिट्टै विस्फोट हुने। रिस त उनको नाकको टुप्पोमा बसेको छ भन्थे सबैले। कसैले केही भन्नै नहुने पड्की हाल्ने।
सुकुन देहरादुनमा पढ्थिन्। बिदामा बेलाबेलामा घर आउँथिन्। यसपटक धेरैपछि बैतडी आएकी थिइन्। कसैले सोधे भने बुबा राजबहादुरलाई चुनावमा सघाउन आएको भन्थिन्। उनी निकै चनचले स्वभाविक थिइन्। चकचके पनि त्यत्तिकै।
गाउँलेका आँगनका फूल देख्ने नहुने। गएर चुँडिहाल्थिन्, बासना सुग्थिन् अनि हातमा बोकेर घुम्थिन्। गाउँले केही भन्दैन थिए, मैयाँ बसिसियो, कहिले आइस्या भनेर सोध्थे। उनी हाँस्दै हिजो आएँ, उमेरअनुसार बुबा, दाइ भन्थिन्।
यसपटक राजबहादुरकी एकमात्र प्यारी छोरी सुकुन एक्लै गाउँ घुमेकी थिइन्। बेलाबेलामा गाउँलेलाई बुबालाई जिताउनु है भन्थिन्। हस् मैयाँ भन्थे गाउँले। त्यसताका उनको मुहारमा खुसी सँगसँगै पीडा झल्किएको थियो। खुसी यस माने थिइन् उनको बुबा चुनावी मैदानमा थिए। पीडा यस माने थिइन् उनले बुबाको माया र साथ यसपटक गुमाएकी थिइन्।
चुनावी माहोलले सुकुनलाई राजबहादुरले समय दिन सकेका थिएनन्। सुकुनकी आमाको मृत्युपश्चात् अक्सर प्रत्येक बिदामा बाबुछोरी पाटन घुम्ने जान्थे। सँगै एकै थालमा गाँस बाडेर खान्थे। सुनबुकी फूलसँग रमाउँथे, पाटनका ससाना खोल्समा धित मरुन्जेल पानी पिउँथे। यसपटक चुनावले सबै घुमघाम बिथोलेको थियो।
सुकुनको घरमा हिजोआज मान्छेको आउँजाउँ धेरै थियो। छेउको खेतमा आगो बलेको हुन्थ्यो। चार जना भान्से बिहानैदेखि खटिएका हुन्थे। मान्छेहरू आउँदै, खाँदै, नमस्कार गर्दै जान्थे । चुनावले राजबहादुर निकै व्यस्त थिए। जतिखेरा पनि नमस्कार गर्थें।
गाउँलेहरू चुनाव अघिदेखि नै राजबहादुरलाई मेयरसाब भन्न सुरु गरिसकेका थिए। सबैले उनको जयजयकार गर्थें। 'जित्ने तपाईं हो। अरु उठ्छन्, बस्छन्, सुत्छन्, लड्छन्' भनी मजाक गर्थ्यो कृष्ण थापा। त्यो सुनेपछि सबै गललल हाँस्थे। राजबहादुर मख्ख पर्थें।
राजबहादुरको घरमा बैठक चल्दै थियो। हस्याङफस्याङ गर्दै राजबहादुरको कान्छो भाइ निर्मल आयो। 'दाजु.. दाजु, मेयर पदमा अर्को पनि उठेछ त!,' भन्यो।
'के भन्छ यो!,' राजबहादुरले भने।
'हो दाजु, तल्लो गाउँमा अघि एकजना भर्खरको युवा घरदैलो गर्दै थियो। मेरै आँखाले देखेका हुँ,' उसले भन्यो।
'ए कृष्ण हो?'
'मेयर साब हो। मैले हिजो नै थाहा पाएको थियो। हजुरलाई यस्ता झिनामसिना खबर के सुनाउने भनेर भनिनँ।'
राजबहादुर छक्क परे एकछिन। 'त्यो को हो मेरो विरुद्धमा उठ्ने?' कृष्ण थापालाई सोधे।
'त्यो तल्लो गाउँको तल्लो जातको आवाज नेपाली हो। दुई/चार अक्षर पढेको छ। अलि मै हुँ भन्छ। त्यसले केही उखाड्दैन मेयर साब। जित तपाईंको सुनिश्चित छ,' कृष्णले भन्यो।
राजबहादुर बमका विरुद्ध आवाज नेपाली मेयरमा स्वतन्त्र उम्मेदवारी दिएको हल्लाले गाउँमा ठूलो समाचार बनायो। कोहीँ कोहीँ प्रगतिशील भर्खरको २७ वर्षीय युवाको आँटलाई मान्नुपर्छ। यी बुडाखाडालाई भन्दा नवयुवकलाई भोट दिनुपर्छ। कमसेकम नयाँपन, युवा जोश जाँगरले काम गर्छ कि भन्थे।
गाउँका धेरैलाई भने राजबहादुरले जित्छ भन्ने विश्वास थियो। अर्कोतिर चुनावमा चाहिने धन, शक्ति र भक्ति सबै उसैसँग थियो। आवाजसँग मन र आँटमात्र थियो। त्यहीँ पनि ऊ जित्छु भनेर लागिपरेको थियो।
आवाजको आत्मविश्वास पनि कमको थिएन। पहिल्यैदेखि विद्रोही स्वभावको थियो। परिवर्तन गर्नुपर्छ, हुनुपर्छ भन्थ्यो। यसपटक परिवर्तनको लागि उसले उम्मेदवारी दिएको थियो। उसको चुनावी घोषणापत्र पनि गजबको थियो। रोजगारी, सुरक्षा, समता, सुशासन र विकासका आयामको राम्रो चर्चा गरिएको थियो।
घरघरमा गएर सबैलाई सुनाउँदै हिँड्थ्यो। म एक्लै भए पनि जित मेरो सुनिश्चित छ भन्थ्यो। मलाई भोट माग्थ्यो। उसको आत्मविश्वास देख्दा केही छक्क पर्थे पनि। पूरै निडरका साथ एक्लै प्रत्येकको घरघरमा पुगेर आफ्नो चुनावी अभियान, योजनाको जानकारी गराएको थियो।
एकदिन तल्लो गाउँ दकासपुरमा राजबहादुर चुनावी सभालाई सम्बोधन गर्दै थिए। छेउमा छोरी सुकुन बसेकी थिइन्। पछाडि कुनामा आवाज नेपाली, राजबहादुरका कुरा सुन्दै भिडिओ खिचिरहेका थिए।
भाषणमा राजबहादुरले भने, 'हामी सब बराबर। जातसात छैन, यो त जमानामा नै मरिसक्यो। काटे रगत सबैको रातो। अझ म कम्युनिस्ट, तपाईंलाई थाहै छ, हामी जातसात केही मान्दैनौं।'
छोरी सुकुनले जोडले ताली बजाइन्। भिडले उनलाई पछ्यायो। भाषण सकिए लगत्तै कृष्ण थापाले 'मेयर साब जिन्दावाद!' को नारा लगायो। भिडले जिन्दावाद जिन्दावाद दोहोर्यायो।
जानेबेला कृष्णले राजबहादुरलाई आवाजसँग परिचय गराए, 'मेयर साब, उहाँ हजुरको प्रतिद्वन्द्वी आवाज नेपाली।'
राजबहादुरले हात अघि सारे। आवाजले पनि हात अगाडि बढाए। दुवैले सँगै हात मिलाए। 'जितको अग्रिम शुभकामना,' राजबहादुरले भने। आवाजले पनि 'तपाईंलाई पनि हार्दिक शुभकामना' भने।
सुकुनले पनि आवाजलाई नमस्कार गरिन्। 'विश यु अल दि बेस्ट फर इलेक्सन' पनि भनिन्। आवाज एकछिन अकमक्कियो, नमस्कार फर्कायो।
सुकुनले आवाजका आँखातिर हेरी। कस्तो राम्रो आँखा तपाईंको भनी। नेचुरल हो कि लेन्स हो पनि सोधिन्। आवाज छक्क पर्यो। मेरा यस्तै हुन्, हेजल कलरका, जवाफ दियो।
त्यसलगत्तै आफ्नो बुबाको पछि लागिन्। खै के भयो उनलाई, बाटोमा रोकिँदै आवाजलाई तीन/चार पटक फर्कीफर्की हेरिन्। आवाज रनभुल्लमा पर्यो।
छेउको उसको साथी रमणले भन्यो, 'दाजु, बमकी छोरीले त फर्कीफर्की हेरी त!'
'खै भाइ, किन हेरिन्! उसको नाम के हो थाहा छ तिमीलाई?'
रमणले जवाफ दियो, 'सुकुन हो। राजबहादुरको एकमात्र छोरी। साह्रै कडा छे। उस्तैलाई मान्छे गन्दैगन्दिन।'
'के हो दाइ मस्कीमस्की सोध्नुभयो त! लभ पर्ला है विचार गर्नु,' समरले भन्यो।
'त्यस्तो होइन यार, हामी कहाँ ऊ कहाँ तर मान्छे निकै राम्री लाग्यो।'
'किन नलाग्नु दाइ, सुकुन छिन् नै त्यस्तै,' रमणले थप्यो।
'भयो यार, नजाने गाउँको बाटो नसोध्नु। बरु जाउँ अब यसो गाउँगाउँमा प्रचारप्रसार गरौँ,' आवाजले भन्यो।
भोलिपल्ट एकाबिहानै आवाज राजबहादुरको घर गए। सुकुन आँगनमा थिइन्। हाँस्दै सोधिन्, 'के कति कामले आउनुभयो? कि मलाई हेर्न आउनुभयो?'
आवाज एकछिन आवाजहीन भयो। 'होइन! तपाईंको बुबालाई भेट्न आएको हो, बोलाइदिनु न,' भन्यो।
लजाउँदै 'एकछिन है बुबा पूजामा होइसिन्छ' भनिन्।
आँट गर्दै आवाजले सोधे, 'के गर्नुहुन्छ नि? कतिसम्म यता बस्नुहुन्छ?'
सुकुनले हाँस्दै जवाफ दिइन्, 'खाने, बस्ने काम गर्छु। बुबा मेयर भएपछि फर्किन्छु।'
झ्यालबाट 'मैयाँ कोसँग बोलेको?' राजबहादुरले सोधे।
'बुबा हजुरलाई भेट्न एकजना आउनु भएको छ। छिटो आइस्यो' भनिन्।
राजबहादुर आँगनमा आए। आवाज नेपाली देख्नेबित्तिकै अकमक्किएर सोधे, 'के कति कामले एकाबिहानै आउनुभयो नि?'
आवाजले भूमिका नबाँधी भन्यो, 'राजबहादुरजी, मलाई चुनावमा जिताउन सहयोग गर्नुपर्यो। यसपटक मलाई छोड्नुस्। तपाईं संघीय चुनावमा उठ्नु। हजुरको व्यक्तित्व र अनुभव संसद भवनलाई सुहाउँछ। त्यसबेला मरेर सहयोग गर्छु। अहिले यो ठाउँलाई युवाको खाँचो छ।'
'हाहाहा… अब त्यहीँ काम बाँकी छ। जानुस् सर, मजाक नगर्नु, बरु चिया पिउनु हुन्छ कि?,' राजबहादुरले सोधे।
माथि झ्यालबाट सुकुन हेर्दै थिइन्। आवाजले पनि माथि झ्यालतिर सुकुनलाई हेर्दै एकछिन राजबहादुरका आँखा छलेर आँखा जुधायो।
त्यस रात ढिलासम्म आवाज सुत्न सकेन। उसको मन मस्तिष्क र आँखामा केही दिनयता सुकुन आएर बसेकी थिइन्। आज बिहानको लजालु हेराइ, पहिलो भेटको हाँसो, आँखाको तारिफ र अघि लजाउँदै झ्यालबाट सुकुनले हेरेको। आवाज झलझली त्यहीँ सम्झिँदै बसेको थियो।
सायद सुकुनको तस्बिर मोबाइलमा भएको भए आवाज हेरिरहन्थ्यो होला। छातीमा उसको तस्बिर राख्थ्यो होला। विडम्बना! ऊसँग सुकुनको तस्बिर आँखामा मात्र थियो। जसलाई कसैले पनि छेक्न देख्न सक्दैन थियो।
हुनु त एउटा युवालाई मन बहकाउन त्यति भए पुग्छ। अझ सुकुनको हेराइ र रुपले केटामा अंकुश अवश्य लगाउँथ्यो। दिउँसै सपना देख्ने बाध्य बनाउँथ्यो। सुकुनदेखि पछि आवाजलाई पनि त्यस्तैलाई भएको थियो।
यता सुकुन पनि आवाजको खोजी गर्दै थिइन्। उनी पनि पहिलो भेटमा देखिएका ती नयन, बुलन्द आवज, आँट सम्झिँदै बसेकी थिइन्। आँगनबाट आवाजको हेराइ सम्झिँदै घरीघरी आँगनमा जान्थिन्। उसका पाइला खोज्थिन्। पुन: झ्यालमा अघि दिउँसोको उभिएको ठाउँमा बस्थिन्।
त्यसताका सुकुन चुनावी प्रचारप्रसारमा कम जान्थिन्। आँगनका ती पाइला हेर्दै, आवाज आफ्नै अगाडि भएको आभास गर्नलाई घरमै बस्ने मन गर्थिन्। बरु आवाजको गाउँ दकासपुर कता पर्छ भनेर गाउँलेलाई सोध्ने गर्थिन्। बुबाका डरले भने गएकी थिइन।
हुन त माया बस्नलाई धेरै संगत नचाहिने रहेछ। कहिलेकाहीँ पहिलो भेट, हेराइ काफी हुने रहेछ। सुकुन र आवाजको हकमा पनि यहीँ लागु भयो। माया बस्न उहीँ देखादेख, हाँसो र पहिलो वाक्य काफी भयो।
मतदानको अघिल्लो दिन सुकुन बजार चोकमा आएकी थिइन्। आवाज पनि साथीसँग चिया पाउँदै चुनावी गफ गर्दै थिए। सुकुनले आवाजलाई देखिन्, इसारा गर्दै बोलाइन्। बिना कुनै संकुच फोन नम्बर मागिन् र ठाउँको ठाउँ म तपाईंलाई माया गर्छु भनिन्।
सुनेर आवाज मख्ख पर्यो। समाजको डरले केही नबोले पनि उसको मनले पनि त्यहीँ भनेको थियो। 'अहिले घर जानुस्, चोकमा सबैले देख्छन्। बेलुकी कुरा गरौँला है,' भन्यो।
सुकुनले हुन्छ भनिन्। होटलमा आवाजलाई केटाहरूले सोधे, 'के भयो? मख्ख छस् त!'
'के मख्ख हुनु यार? आफ्नो बुबालाई मत दिनु भन्न आएकी रहिछ। क्या यार पूरै मुड खराब भयो,' भन्यो।
'खै हाँसीहाँसी फर्किस्, के मुड खराब हो यस्तो?,' रमणले भन्यो।
'साथी हो म घर जान्छु। मेरो काम छ, चुनावको तयारी गर्नुछ। तिमीहरू बस्दै गर्नु,' आवाजले भन्यो।
'ल जा न त त्यस्तै महत्त्वपूर्ण काम हो भने,' रमणले भन्यो।
सरासर ऊ घर गयो। सुकुनको नम्बर सेभ गर्यो। माया भनेर नाम दियो। सुकुनले पनि आवाजको नम्बरलाई मन भनेर नाम सेभ गरिन्।
घर पुग्नेबित्तिकै आवाजले सकुनलाई फोन गर्यो। नम्बर व्यस्त भएको सन्देश आयो। फेरि कल गर्यो, त्यस्तै आवाज आयो। झनक्क रिसायो, कत्रो धोका, चुनावी षड्यन्त्र गरेकी रहिछ भन्यो। मै बेकुफ त्यसै मन दिएँ। धिक्कार छ मलाई। मान्छे चिन्न समय चाहिने रहेछ मनमनै भन्यो।
एकछिन पछि फोन आयो। आवाजले उठायो। हेलो नभन्दै उताबाट, 'राजा, किन व्यस्त? फोन लाग्दैन त। कि जिन्दगीमा अरु कोही छ, भए भन है म साइड लाग्छु। धोका दियौ भने म त्यतिकै छोड्नेवाला केटी होइन पनि।'
यताबाट उसले 'छन् नि मेरो जिन्दगीमा हराभरा बनाउने। एउटी छे, नाकको टुप्पोमा रिस भएकी। मलाई साह्रै माया गर्छे। घर गएको बेला लुकीलुकी हेर्छे। पहिलो भेटमै आँखाको तारिफ गर्छे' भन्यो।
हाँस्दै 'हो र? नाम के हो त्यो राजकुमारीको?' सुकुनले सोधिन्।
त्यसरात दुवै सुतेनन्। धेरै कुरा गरे। हाँसे, लजाए, सपना देखे। दुवैले सुरुमै मोबाइलको ब्याट्री नसकुन्जे कुरा गर्ने भनेका थिए। ब्याट्री तीन बजे सकियो। त्यसपछि मात्र सुकुन, आवाज र मोबाइल सुते।
चुनावको दिन सुकुन आफ्नो बुबासँगै मतदान केन्द्रमा पुगेकी थिइन्। आवाज पनि आफ्ना साथीसँग थियो। राजबहादुरहरू वारि बसेका थिए। सबैलाई नमस्कार नमस्कार भन्दै थिए।
कृष्ण थापा परिणाम अगावै 'यो जित कसको? मेयर साबको' नारा लगाउँदै थियो। पारि आवाज पनि ठाउँठाउँमा मान्छेसँग भलाकुसारी गर्दै थिए। सबैलाई नमस्कार नमस्कार गरिरहेको थियो। सुकुन भने मौन थिइन्। तर नजर र मन भने आवजतिर थियो।
बेलुकीपख कृष्ण थापा आवाज भएको ठाउँमा आयो- 'ल बधाई छ हुन नसकेको मेयर साहेब, हार निश्चित छ। ढुक्क हुनु जम्मा ५५ मत आउने हो। अरु सब लस्करै हाम्रो मेयरमा हो।'
'हस् हजुर हुन्छ। जानकारीको लागि धन्यवाद,' आवाजले भन्यो।
चुनावी मैदानमा भए पनि आवाजको मन तन सुकुनतिर थियो। ऊ पनि घरीघरी वारि सुकुनतिर हेर्थ्यो। भित्तामा टाँसिएका आवाज नेपाली नामका पोस्टर हेर्थ्यो। राजबहादुर बम हेर्थ्यो। मनमनै म जित्छु पनि भन्थ्यो।
आवाजको सुकुन प्रतिको हेराइले उसलाई अब चुनावभन्दा सुकुन जित्नु थियो। चुनावी मतभन्दा सुकुनको मनको मत पाउनु थियो। सुकुन बुबातिर हेरेझैं गर्थी। विस्तारै आँखा पारि आवाज भएको ठाउँमा पुर्याउँथी, दुवै दायाँबायाँ हेरेर नजर जुधाउँथे, हाँस्थे।
राति फेरि आवाज र सुकुन फोनमा गफिए। मिठामिठा कल्पना कुरामा रमाए। कुराकै क्रममा आवाजले भन्यो, 'सुकुन, तिम्रो बुबाले आवाज नेपालीलाई स्विकार्नु होला त?'
'कस्तो कुरा गरेको? बुबा कम्युनिस्ट हो। अस्ति भाषण सुनेनौ? हामी सब बराबर भन्नुभएको,' भनिन्।
'सुने, धेरै सुनेको छु। धेरै घटना देखेको छु, बुझेको छु। भाषण र वास्तविकता धेरै फरक हुन्छन्। बेलाबेलामा मलाई जातले धरातल देखाउँछु। भेरी सम्झाउँछ। फेरि तिम्रो अनुहार देख्छु। अलि आँट आउँछ। लड्ने हिम्मत आउँछ,' आवाजले भन्यो।
'छ्या कस्तो कुरा गरेको! बुबाले मानिसिन्छ।'
'हेर्दै जाउँ तिम्रो बुबाले के-के गरिसिन्छ,' लामो सास लिँदै आवाजले भन्यो।
मत गणना हुँदै थियो। सुकुन र आवाजको भेट, कुराकानी पनि बाक्लिएको थियो। दिनप्रतिदिन उनीहरू एकअर्काप्रति लिप्त भएका थिए। घरीघरी आवाज जिस्किएर सुकुनलाई सोध्थ्यो, 'तिमी बुबाले जितोस् कि मैले जितोस् भन्ने चाहान्छौ?'
सुकुन बुबाले भन्थिन्, 'तिमीले जिन्दगीको अजम्बरी चुनाव जितिसक्यौ नि। पाँच वर्षभन्दा जुनी जुनी कटाउने निर्वाचनमा मेरो मत पाएका छौ। योभन्दा के चाहियो?'
एक्कासी आवाजले सुकुनलाई च्याप्प अंगालो हाल्यो। 'कमस सुकुन, म निकै भाग्यमानी रहेछु। तिमीलाई पाएँ। मैले जितेँ समाजलाई। बस् तिम्रो साथ चाहिन्छ। मलाई बीचमा नछाड्नु है,' भन्यो।
उसले पनि आवाजको गालामा चुम्बन गर्दै 'बरु म मर्छु तिम्रो साथ छाड्ने छैन' भनिन्।
गाउँको गाइगुइँले मत राजबहादुरले नै पाएको पुष्टि हुँदै थियो। निर्वाचन मत गणना अपडेटले थप स्पष्ट पारेको थियो। लगभग राजबहादुरको जित सुनिश्चित जस्तो देखियो।
आवाजलाई थाहा थियो चुनाव हार्नेमा। यो पापी समाजले स्विकार्दैन भन्ने पनि थाहा थियो। तर झिनो आशामा, दबिनुभन्दा देखिनु जाति, बस्नुभन्दा लड्नु बेस हुन्छ भन्ने विचारले ऊ चुनावमा उठेको थियो। अन्ततः राजबहादुरले चुनाव जिते। आवाजले हारे। रेडियोले हप्ताको दिनको मतगणना बतायो।
चुनावमा हारेर पनि आवाज निराश थिएन। बधाई दिन ऊ राजबहादुरको घर गयो। मान्छे आँगनभरि थिए। एकआपसमा अबिर लगाउँदै थिए। आवाजले राजबहादुरलाई माला लगाइदियो, बधाई छ बुबा भन्यो। राजबहादुर छक्क परे, केही बोलेनन्।
सुकुन पनि सँगै आइन् र भनिन्, 'बुबा, म आवाजलाई प्रेम गर्छु। म आवाजसँग विवाह गर्न चाहान्छु।'
चुनावी उत्सव मौन भयो। कोही केही बोलेनन्। 'मैयाँ, के भनेको तिमीले? तिमीलाई थाहा छ नि यसको मतलब?,' राजबहादुरले सोधे।
'हजुर बुबा, मलाई थाहा छ,' सुकुनले भनी।
'नानी यो के गरेकी! तैंले त बर्बाद गरिस्!,' छेउमा उभिएको निर्मलले भन्यो।
'काका हजुर, मलाई आशीर्वाद दिनुस्। मेरो इच्छाको सम्मान गर्नुस्। बस् मैले चाहेको यत्ति हो। मलाई मारे मार्नुस्, काटे काट्नुस्,' सुकुनले भनी।
राजबहादुर केही बोलेनन्। कृष्ण थापाले भन्यो, 'मेयर साहेब यसलाई सिध्याउँ।'
राजबहादुरले केही भनेनन्।
दुवै निहुँरिएर बुबा भने। राजबहादुरले सुकुनको कपालमा हात राख्दै भने, 'जाऊ मैयाँ!'
राजबहादुरको उत्सव स्थगित भयो। सुकुनले आवाजको हात समातेर घरबाट बाहिरी। रमणले ताली बजायो। भिडले रमणलाई वास्ता गरेन। राजबहादुर भने टोलाए एकछिन।
निर्मल निराश देखिन्थ्यो। कुम तन्काउँदे राजबहादुरले कृष्णलाई इसारा गरे। चुपचाप बस्न भने। विस्तारै स्पिकरतिर गए, देउडा गीत बजाए। आँगन पुनः रङ्गियो! राइझुमा बेस्सरी घन्कियो।