'म आज फेरि निकै बिमारी परेँ...'
...
प्रिय मित्र,
स्तब्ध छु
तपाईंका उपर्युक्त वाक्यांशद्वारा
शुभप्रभातका नवीन कोशेली बोकेर
सेलफोनको क्यानभासमा
रोज उदाउने
तपाईंका पोट्रेट र पडकास्टका
सुमधुर आवाजले
बिउँझिन बानी परेको म
आज
अनायास
बिउँझिन बिर्सिएर बिस्तरामै अवरुद्ध छु।
हो मित्र,
तपाईंका विदारक शब्दहरूले म सर्वाङ्ग अवरुद्ध छु
किनभने
तपाईंको शरीर अस्पतालको शय्यामा अवरुद्ध छ
पोट्रेट र पडकास्टहरू क्यानभासमै अवरुद्ध छन्
सेलफोनको नोटिफिकेसन
सेलफोनभित्रै अवरुद्ध छ
किनभने
सिर्जना गर्ने
तपाईंका सिर्जनशील औंलाहरू
अस्पतालको शय्यामा अवरुद्ध छन।
प्रिय मित्र,
मलाई थाहा छ
प्रियजनहरूको प्रगति र उन्नतिमा खुसियाली कसरी साटिन्छ
शुभेच्छुकहरूको जन्मदिनमा शुभकामना सन्देश कसरी बाँडिन्छ
मलाई थाहा छ
शुभचिन्तकहरूको असफलतामा सफलताको प्रेरणा कसरी भरिन्छ
तर मित्र
मलाई पटक्कै थाहा छैन
मृत्युको पन्जामा रोज तड्पी-तड्पी मरिरहेकी
प्रिय मित्रको सान्त्वना सन्देश कसरी लेखिन्छ!
त्यसैले त
म बिस्तरामै अवरुद्ध छु
गला अवरुद्ध छ, बोल्न सक्दिनँ
गोडा अवरुद्ध छन्, अस्पतालसम्म धाउन सक्दिनँ
दुःखमा सुखमा सधैँ हाँसिरहने, नाचिरहने
मेरी प्यारी मित्रको निश्चल शरीर कसरी हेरौं
त्यसैले आँखा अवरुद्ध छन्, हेर्न सक्दिनँ
औँलाहरू अवरुद्ध छन्, लेख्न सक्दिनँ
दिमाग अवरुद्ध छ, म सोच्न सक्दिनँ।
मित्र!
तपाईं ठूलो संग्राममा हुनुहुन्छ
हिम्मत नहार्नुस्
'वान-मेन-आर्मी' भएर
तपाईं एक्लैले यो युद्ध जित्नु छ
हो मित्र
तपाईं एक्लैले यो युद्ध जित्नु छ
'छोराछोरीको बिहेदान गरेँ/गोडा टेकाएँ/बाटो देखाएँ...'
भनेर
कहाँ धर पाउनु हुन्छ र?
तपाईंको छातीमा नातिनातिनाले परेड खेल्नु पर्दैन?
गोदमा सुतेर लोरी सुन्नु पर्दैन?
मधुमालती, सुनकेसरी मैयाँ, चोर र स्यालको कथा
कसले सुनाउँछ उनीहरूलाई?
औँलो समाएर स्कुल कसले पुर्यायउँछ?
तपाईं
उनीहरूको नैसर्गिक अधिकार कसरी खोस्न सक्नुहुन्छ?
तपाईं हाम्रोमात्रै प्रेरणा बनेर कहाँ धर पाउनु हुन्छ?
उनीहरूको पनि प्रेरणा बन्नुपर्छ
त्यसैले, तपाईं अब धेरै बाँच्नु पर्छ
हो मित्र,
निराशा र हतोत्साह तपाईंका लागि बनेकै होइनन्
फेरि दोहोर्याहउँछु
'वान-मेन-आर्मी' भएर
तपाईंले यो युद्ध जित्नु छ
आकाशको तारा बन्ने हतार नगर्नुस् मित्र
तपाईंले
धरतीकै तारा भएर अझ धेरै बाँच्नु छ
हाम्रो पुस्तामा मात्रै चम्केर कहाँ हुन्छ?
नातीनातीनाको पुस्तामा पनि चम्किनु छ
गन्तव्य अझ धेरै टाढा छ मित्र
त्यसैले तपाईंले अझ धेरे लम्किनु छ।