पश्चिम नेपालको चिसापानी गाउँमा रामप्रसाद नाम गरेको ब्राह्मण बस्दथे। उमेर ढल्किँदै थियो जुन उनका केश र चाउरिएका गालाले प्रस्ट पारिरहेको थियो। सन्तानको नाममा दुई छोरा थिए।
श्रीमतीको मृत्यु भइसकेका कारण घरव्यवहार र बाहिरी व्यवहार उनले आफै सम्हाल्नु पर्थ्यो। यसकारण उनलाई कत्ति पनि फुर्सद थिएन। सन्तान विस्तारै ठुला हुँदै थिए। उनीहरूको पढाइ, लवाइ, कहीँवाइ सबै ठिकै चलिरहेको थियो।
एक दिन जेठो छोरा गणेश बा छेवै आएर भन्यो, 'बा! मलाई गोडा-चार सय जति पैसा दिनुस् न।'
रामप्रसाद झस्किए। गणेशले आजसम्म यसरी कहिल्यै पैसा मागेको थिएन।
'किन नि?,' आश्चर्यजनक भावमा प्रश्न गरे।
'कलेजमा...' गणेश बोल्दा बोल्दै अड्कियो।
'कलेजमा के नि?' रामप्रसादले पुन: प्रश्न गरे।
'बा, कलेजमा सबैले आफ्नो जन्मदिन भव्य रुपमा मनाउँछन्। मैले आजसम्म राम्रोसँग मनाएको छैन। साथीहरू मलाई होच्याउँछन्। उनीहरूको जन्मदिनको पार्टीमा जान पनि लाज लाग्छ। आज मेरो जन्मदिन हो। उनीहरूलाई पनि सानो पार्टी दिनुछ।'
रामप्रसाद हेरेको हेर्यै भए। उनलाई त आजसम्म छोराहरूको जन्मदिन याद गर्ने, शुभकामना दिने फुर्सद नै भएन। अलिकति लज्जित महसुस गरे। तर अप्ठ्यारो यहाँ थिएन, अप्ठ्यारो त्यो चार सयमा थियो। कहाँबाट ल्याउनु?
प्रेमिल भावमा छोरालाई सम्झाउने प्रयास गरे। उसले मानेन। हकार्न खोजे तर पनि मानेन। पैसा नदिए कलेज नै नजाने भनेर बस्यो।
रामप्रसाद तल्लाघरे साहुकोमा गए। बेलिविस्तार लगाए। पैसा पाएनन्। ओल्लो, पल्लो, उपल्लो, भाइ, बुहारी, सबैको घर गए। कतै पैसा पाएनन्। उदास अनुहार लिएर घर फर्किए।
टाउको समातेर आँगनमा बसिरहेका थिए। जुरुक्क उठेर आँटीमा गए। अप्ठ्यारो परेको समयमा काम लाग्छ भनेर अलिकति पैसा मदुसमा कागजमा पोको पारेर राखेका थिए, निकाले।
पुराना, धैसिएका नोट कागजबाट फ्यात्त भुइँमा कहीँसे। उनले उठाउन नपाउँदै गणेशले च्याप्प समात्यो र तल ओर्लियो। रामप्रसाद आँगनमा आए। गणेश त्यहाँ थिएन।
दिन यत्तिकै बित्यो। साझँ पर्यो। विस्तारै वातावरण अँधेरिँदै गयो। गणेश घर आएन। उनी आत्तिँदै उसलाई खोज्न थाले। कलेज, साथीभाइको घर, नदी किनार, पाटीपौवा सबैतिर खोजे। कहि भेटिएन।
निराश हुँदै घर फर्किए। घरमा खाना पाकेको थिएन। उनी र कान्छो छोरा आदर्श भोकै सुते। आदर्श त एकैछिनमा निदायो तर उनी रातभर निदाउन सकेनन्।
बिहान उठेर भर्खर दैलो पोत्दै थिए, पल्लाघरे साइलीको छोरो दौडिँदै रामप्रसादको अगाडि आयो र टक्क अडियो।
'काका! काका!'
'हँ! भन् केटा, के कति कामले आइस्?'
'काका! गणेश दाइ त मुग्लान पस्नुभयो रे!'
यति भनेर ऊ हुत्तिँदै गयो। पछि थाहा भयो, ऊ अघिल्लो रात नै माझघरे लाउरे माइलोसँग मुग्लानको लागि निस्किएको रहेछ।
बुबाले लामो श्वास तानेर रोकिनुभयो।
'अनि के भयो नि बुबा?' आधा निद्रामै थिएँ, बुबालाई प्रश्न गरेँ।
बुबाले फेरि लामो श्वास तानेर भन्न थाल्नुभयो-
'दुई वर्षपछि गणेश घर फर्कियो। उसलाई देखेर रामप्रसाद धेरै खुसी भए। आउँदा-आउँदै बाको खुट्टा ढोगेर उसले माफी माग्यो र भन्यो- बा, अब म कहिल्यै जन्मदिन मनाउदिनँ!'
बुबा फेरि रोकिनु भयो।
'अनि के भयो नि?' उत्सुक हुँदै सोधेँ।
'सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला यो कथा बैकुण्ठमा जाला।'
कस्तो अधुरो कथा!
'आखिर किन उसले जन्मदिन मनाउदिनँ भन्यो नि बुबा?'
बुबा त निदाइसक्नु भएछ। खुलदुलीसँगै म पनि निदाएछु। एकैपटक बिहान निद्रा खुल्यो।
बल्ल याद आयो, आज त मेरो जन्मदिन रहेछ। कहिल्यै विशेष रुपमा नमनाउने भएकाले होला मलाई आफ्नो जन्मदिन याद थिएन। तर स्कुलमा त कुरा अर्कै थियो। रमेश, हरि, श्याम, सीता सबैको जन्मदिनको पार्टीमा गएको थिएँ। आफ्नो जन्मदिनमा पनि यस्तै पार्टी दिन्छु भनेको थिएँ। पैसा माग्न बुबाको अगाडि गएँ।
बुबा आँगनमा नाम्लोको पातो बुन्दै हुनुहुन्थ्यो।
हिजोको कथा सम्झिएँ। पसलेको कचकच सम्झिएँ। आफूलाई नियालेँ। बाको फाटेको स्टकोट नियालेँ। हाम्रो घरमा त मदुससम्म थिएन!
मलिन अनुहार लिएर म चुपचाप स्कुलतिर लागेँ।
त्यसपछि कहिल्यै अरुको जन्मदिनको पार्टीमा गइनँ र मेरो जन्मदिन पनि कहिल्यै आएन!