मैले आँक्नै सकिनँ
मैले बनाएको हलो जुवा
कति कमजोर
त्यही एक हल गोरु
मैले नार्नै सकिनँ
खै किन मलाई त
टेर्दै टेर्दैन नार्न खोज्यो
मैलाई हुत्याउँछ
कि मैले तपाईंले जस्तो
फकाउनै जानिनँ
बा ती सब खेत
बाँझै भयो उब्जाउनै सकिनँ
मेरो मन पनि त्यही
बाँझो खेत जस्तो
कक्रक्क परेको छ
हरिया लहलह हुने मनमा
वनमाराले झाडी भरेको छ
हिजो एउटा जुवा भाच्यो
तिनकोश परसम्म भाग्यो
अस्ति हलो
कि कमजोर काठ परेछ
मेरो मनजस्तै
सजिलै भाँचिने
बा मैले यी एक हल
गोरुलाई कसरी फकाउँ
यी सबै खेत जोतेँ भने त
मेरो मनमा हरियै लहलाउँथ्यो कि
कक्रिएको मन बहलाउँथ्यो कि
संगी साथीले त
विदेशी धान ल्याएछन्
एक पटक लगायो
दस वर्षलाई हुन्छ रे
उनीहरूले त खेतै बेचेछन्
तपाईं हुँदा मुरी धान
बोकेको मैलै देखेको
म वनमाराको झाडी हेर्दैछु
बा मलाई त यी नै वनमाराले
गिज्याउँछन्
मेरो परिश्रम पुगेन
कि शैली पुगेन
बा मैले के गरम्
यी तलका सबै खेत
जोत्न मन छ
फाटेको मनको
गारो पोत्न मन छ
बा मैले आँक्नै सकिनँ
नार्नै सकिनँ।