कलेजको पहिलो दिन यी आँखा तिमीसँग जुध्न पुगेका थिए। कसरी रोकेँ मैले मेरा नयनहरूलाई मलाई नै थाहा छैन।
तिमी म कलेज आउनुको कारण कहिले भयौ मैले थाहा पाउन सकिनँ तर त्यो आभास अति नै लोभ लाग्दा थिए। साथीहरूसँग बस्दा होस् या आफैमा रमाउँदा, लुकीलुकी तिमीलाई हेरेर मुस्कुराउनुको मजा छुट्टै थियो।
तिम्रो त्यो जन्मदिन कसरी बिर्सिन सक्छु र? त्यही दिन हो मैले तिमीलाई पछ्याएको, त्यही दिन हो दिदीलाई स्क्रीनशट गरेर तिम्रो फोटो पठाएको। त्यही दिन हो हल्का लजाउँदै मामुलाई मलाई यो मान्छे अति मनपर्छ भनेको। त्यही दिन हो तिमीलाई नजिकबाट हेरेर मुस्कुराउँदै रमाएको।
कसरी बिर्सिन दिन्थ्यौ र तिमीले तिम्रा सम्झनाहरूलाई। त्यो दिन तिम्रो चमक नै छुट्टै थियो।
त्यो दिनबाट मेरा यी नयनहरूले तिमीलाई नै खोज्छ। मेरा यी हातले तिम्रो स्पर्श गर्न चाहन्छ। मेरा यी अंगालोले तिमीलाई अंगाल्न चाहन्छ। मेरा यी ओठले तिमीलाई चुम्न चाहन्छ। मेरा यी भावनालाई तिम्रो सामीप्यमा खोल्न चाहन्छु। मेरो यो एकतर्फी मायालाई भोग्न चाहन्छु।
तर तिमी भने मलाई आफ्ना गुनासोहरूको भोगी ठान्छौ। एक न एक दिन तिमी मसँग रिसाउन छोड्ने छौ र मलाई देख्नासाथ मुस्कुराउन थाल्ने छौ अनि विस्तारै मलाई साथ दिनेछौ, माया गर्नेछौ भन्ने भरोसामा बसेको छु म।
प्राप्तिको आश मात्र होइन, गुनासोको साथ हुनेछौ तिमी। म तिम्रो मुहारमा प्रेमको मुस्कान हेर्न चाहन्छु।
के त्यो सम्भव छैन र?
धेरै सोचेर कदम चाल्नु थियो। मलाई म के चाहन्छु त्यो महत्वपूर्ण थिएन। मेरा लागि त तिमी के चाहन्छौ भन्ने कुराले अति धेरै महत्व राख्छ।
म कदापी तिम्रो मन दुखाउन चाहन्न थिएँ। आजभोलि त तिमी मेरा प्रश्नले डराउन थालेका छौ। मेरो मुस्कान तिम्रो दुखाइको मलम थिएन तर किन हो किन मेरो यो मनले मान्दै मान्दैन।
तिम्रो खुसी त म तिमीसँग नबोल्दा प्रस्ट तिम्रो मुहारमा देखिन्थ्यो। मैले तिम्रो खुसी खलबलाउन कहिले नि चाहिनँ माया।
म त मनमनै रमाउन थालेको थिएँ। अब प्रतीक्षा गर्छु त केवल तिम्रो एक शब्दको। कसरी सुरुआत गर्नु म, म सक्थेँ त केवल तिम्रो मुहारको संकटका बादलहरू हटाउन।
बादलहरू हटाउने क्रममा म नै तिम्रो जीवनबाट हराउन थालिसकेको थिएँ। मेरा लागि त तिमी कालो रात पछिको सुनौलो बिहानी थियौ। तर तिम्रो लागि म केवल ओइलिएका फूल सरि थिएँ, न त कसैलाई चडाउन मिल्ने न त उपहार स्वरूप कसैलाई दिन नै मिल्ने।
सबैसँग तितो बोल्ने म तिमीसँग मिठो बोल्न थालेकी छु। तिम्रा हजारौँ गल्ती माफ गर्न थालेकी छु, तिमीलाई नै माया गर्न थालेकी छु।
साथीहरूले पनि तिम्रो नामसँग मेरो नाम जोड्ने गर्छन्। मलाई तिम्रै नामले जिस्काउने गर्छन्। बाहिर रिसाएजस्तो गरे नि मनमनै मुस्कुराउने गर्छु।
मेरा यी आँखामा तिमीले तिमी प्रतिको निश्चल माया त देखेनौ तर आज तिम्रो आँखामा अरु नै कसैको लागि प्रेम देख्ने गरेकी छु। मलाई भन्न त डराउछौ तिमी तर तिम्रो मौनतालाई बुझ्ने गर्छु म।
तिमीलाई हजारौं लाखौं तारामा गन्दिनँ। तिमी त त्यो चन्द्रमा हौ जो ताराहरूभन्दा अति नै फरक र सुन्दर देखिन्छ। भन्छन् माया त्याग हो। हो, मैले आज तिमीलाई अरु नै कसैको लागि त्यागेको छु।
एकतर्फी मायाले आज यो बाटो रोजेको छ, के तिमी मलाई साथ दिन तयार छौ?