'दिनेशऽऽ'
कसैले बोलायो झैँ लाग्यो। यताउता हेरेँ। वातावरण पूरै सुनसान थियो। बाहिर रोडमा गाडी आफ्नो गन्तव्यतिर गुडिरहेका थिए।
भित्तामा झुन्डिएको घडी टिनटिन बजिरहेको थियो। टेबलमा राखिएको दिलमायाको तस्वीरले मलाई चियाइरहेको थियो। सबै कुरा बिर्सेर म आफ्नो काममा लिप्त थिएँ।
'दिनेशss' लामो लयमा कसैले मलाई बोलाउँदै ढोका ढकढकायो।
म झस्किएँ। घडी हेरे ९:२० भएको रहेछ। जुरुक्क उठेर ढोका खोलेँ। हतास अनुहारमा नितालाई मेरो अगाडि देखेपछि मलाई अचम्म लाग्यो।
'दिनेश, दिदीलाई...' आत्तिँदै भनिन्।
उनी निकै डराएकी थिइन्। चिटचिट पसिना आइरहेको थियो। दिलमायाको नाम सुन्नासाथ मेरो मन चिसो भयो। अनुहारको रङ्ग उठ्यो। म दौडँदै उनको कोठामा पुगेँ।
उनी ओछ्यानमा छटपटी रहेकी थिइन्। उनको हालत देखेपछि मेरो तालु सुक्यो। पसिना खलखली बग्न थाले। के गरुँ, कसो गरुँ हुन थाल्यो। उनलाई काखमा राखेँ, उनी चिच्याउन थालिन्, 'ऐया! मलाई बचाउनु... म मरे..ऐया।'
झटपट मोबाइल निकालेर एम्बुलेन्स बोलाएँ। उनको पेट बढेको थियो। यो अवस्थासँग म नितान्त नौलो थिएँ। सायद म मात्र होइन, सारा पुरुष जाति नै नौलो थियो। किनकी यो अवस्था कोही पुरुष भोग्न सक्दैनन्।
विद्यालयमा पढ्दा बखत गुरुमाले प्रजननसम्बन्धी पाठ पढाउँदा टाउको लुकाउन ठिक हुन्थ्यो। हुन त गुरुमा आफैले पढाउन लाज मान्नुहुन्थ्यो। आज गौतम बुद्धको त्यो भनाइको खुब याद आयो र मार्मिक पनि लाग्यो-
'भोलि तिमी त्यही चिज गुमाउने छौ जुन चिज सिक्नबाट आज तिमी टाढिन्छौ।'
कास मैले हिजो त्यो पाठबाट टाढा नभागेको भए आज श्रीमती मरेतुल्य हुँदा पनि टुलुटुलु हेर्नुपर्ने स्थिति हुने थिएन होला। उनी मेरो हात जोरले समातेर चिच्याउँदै थिइन्। म आँखामा आँसु लिएर केवल उनको सिरानी भएर बसेको थिएँ।
बाहिर एम्बुलेन्सको आवाज सुनियो। मैले उनलाई उठाएर एम्बुलेन्समा राखेँ। एम्बुलेन्स साइरन बजाउँदै अस्पतालतिर लाग्यो। उनी झन् छटपटाउन थालिन्। सायद व्यथाले च्यापिसकेको थियो।
मेरो पीर बढ्दै गएको थियो।के होला? कसो होला? जिन्दगीमा कहिले रुन दिने छैन। हरेक दुःखसुख साट्ने छु भनी अग्नि साक्षी राखेर विवाह मण्डपमा सात फेरो लिएर कसम खाएको थिएँ। तर आज उनले आँसुधारा बगाउँदै रुँदा पनि आँसु पुछिदिन समेत सकिरहेको थिइनँ।
जीवन मृत्युसँग लडिरहेकी थिइन् उनी तर म केवल मूकदर्शक भएर उनीलाई हेर्नु सिवाय केही गर्न सकिरहेको थिइनँ। गर्न पनि के नै सक्थेँ र? यो दुःख त प्रकृतिले नै सिर्जना गरेको हो। यसमा मेरो के दोष? अलि क्रान्तिकारी विचारले जन्म लियो।
हुन त यो सौभाग्य पनि हो। आमा बन्न पाउनु सानो कुरा भने फिटिक्कै होइन। आमा भनेको सिर्जना हो। यही सिर्जना गर्ने शक्तिको कारणले होला आमालाई जीवित भगवान मानिन्छ। यही दुःखले यो सृष्टि चलाएको थियो। यो दुःख नारीले नझेलेको भए सायद यो सृष्टि उहिले नै बन्द भइसक्थ्यो।
जे भए पनि नारी शक्ति हुन्। यो उदाहरण बेडमा पल्टिरहेकी मेरी श्रीमतीले आँखै अगाडि प्रस्तुत गरिरहेकी थिइन्। करिब आधा घडीको गुडाइपछि अस्पताल पुगियो। एम्बुलेन्सबाट उनीलाई उतारेर रनिङ बेडमा राखियो। पीडाले उनी मुर्छित भएकी थिइन्। खुट्टा तन्काउने खुम्चाउने गर्दै वेदना भुलाउन खोजिरहेकी थिइन्।
गाला रातापिरा भएका थिए। गुलाफी ओठ सुकेर बन्जर भएका थिए। लामो कालो केस लत्रिरहेको थियो। उनीले मेरो हात कसेर समातिरहेकी थिइन्। मैले आफ्नो हात उनको हातबाट छुटाएँ। उनीलाई कोठाभित्र लगियो। उनको अवस्था देखेर अत्तिएका आँखै अगाडि ढोका बन्द भयो।
म अब मान्छेबाट मूर्ति भइसको थिएँ। न त मसँग चाल थियो न बोल्नलाई आवाज नै। थियो त केवल उनको नाममा चलिरहेको मुटु। यो मुटु यसरी धड्किरहेको थियो कि मानौँ छातीभित्र लुकेर रहेको ज्वालामुखी छाती फाडि बिस्फोट भएर बाहिर निस्कन खोजिरहेको छ। आँखा भ्रमित भएका थिए। हातखुट्टा काम्न थालेका थिए। ओठमुख सुकेर सास नै फेर्न गाह्रो भएको थियो।
एक घन्टा भसकेको थियो। न त कोही भित्रबाट बाहिर आएको थियो न कोही भित्र गएकै थिए। बल्लतल्ल डाक्टर बाहिर आउनु भयो। म जुरुक्क उठेँ। मैले बोल्नु अगाडि नै 'डेलिभरी भएको छैन, बच्चा र आमा दुवै नर्मल छन्' भनेर डाक्टर बाटो लाग्नु भयो।
ज्यान सास भरियो। लामो सास फेरेँ। मुटुको गति घट्यो। दुवै हातेले अनुहार छोपेँ। पसिनाले लतपतिएको अनुहार पुछेँ। थचक्क बेन्चमा बसेँ। अब भने मनमा केही आशा पलायो। लामो सास लिएर आँखालाई ओभाउन दिएँ।
मनमा अनेक कौतूहलता बढ्न थाल्यो। छोरा होला कि छोरी? साँच्ची नाम के राख्ने होला? कस्तो होला मजस्तो? होइन पक्कै दिलमाया जस्तो हुनुपर्छ। किनकी उनको कोखबाट जन्मँदै छ नि त।
यसरी आफ्नो उत्सुकतासँग दोहोरी खेल्न थालेँ। यस बारेमा घरमा हाम्रो पहिले नि कुरा हुन्थ्यो। दिलमाया छोरा छ भन्थिन्, मैले छोरी। हुन त छोरा भए नि छोरी भए नि आखिर सन्तान त दुवै एउटै त हुन्। प्रकृतिले दिएको जिम्मेवारी बाहेक दुवैले जे पनि गर्न सक्छन्।
मलाई छोरी यसकारण पनि मन पर्थ्यो कि म पनि कसैको छोरीको काखबाटै जन्मिएको हुँ। उहाँकै अमृतधारा पिएर आज यहाँ छु। संसारमा सबैभन्दा बढी मलाई माया गर्ने मान्छे पनि त कसैकी छोरी हुन्। मेरो हात समातेर जिन्दगीको पानामा सपना कोर्न सिकाउने मान्छे पनि त कसैकी छोरी हुन्।
छोरीको पिता भनेर चिनिन पाउनु पनि त मेरो सौभाग्य हुनेछ। यही सोचेर नै म चाहन्थेँ कि छोरी जन्मिऊन्। छोरी रहर मात्र थिइनन्, मेरा लागि आजसम्मको मेरो जीवनको सार्थकता हुन्।
मनमा अर्को सवाल पनि थियो। किनकी हाम्रो मिलनमा नै अचम्मको संयोग थियो। मेरो जन्मबार आइतबार भने उनको सोमबार। हिन्दु धर्म शास्त्रअनुसार आइतबार सूर्यको हो भने सोमबार चन्द्रको।
अर्को संयोग के थियो भने मेरो नाम दिनेश जसको अर्थ सूर्य हुन्छ र उनको नाम निशा अर्थात् चन्द्रमा। मेरो नाम जस्तो थियो व्यवहार पनि उस्तै। उनी मेरो ठिक विपरीत थिइन्। हुन त हाम्रो जन्मबार, नाम, व्यवहार पनि त ठिक विपरीत थिए। निशा नाम झैँ निकै शान्त। चन्द्रमा जस्तै शीतल, वरिपरि हजारौं तारा भए पनि एक्लै चम्किने। कसैसँग रिसराग दुश्मनी नराख्ने, केबल आफ्नो काममा ध्यान दिने। जति दुःख भए पनि कसैको सामु गुनासो नराख्ने। निकै कम बोल्ने।
यही अदाले गर्दा म पहिलो भेटमै उनीमाथि फिदा भएको थिएँ। पूर्णेको पूर्णचन्द्र झैँ धपक्क बलेको मुहार, मृगनयनी आँखा, गुलाफी ओठ, मिलेको सलल बगेको लामो केस। हुन त उनीलाई मैले रोजेको थिइनँ। विवाहको अघिल्लो दिनसम्म हामी अपरिचित थियौँ। आमालाई खुब मन परेकी थिइन्।
आजसम्म आमाले मेरा कुनै इच्छा मार्नु भएको थिएन। त्यसैले यो पटक मैले उहाँको इच्छा मारिनँ। आमाले हाम्रो मागी विवाह गरिदिनु भएको थियो। विवाहको एक वर्ष त एकअर्कालाई चिन्नमै बितेको थियो।
कसैले कति मिठो लाइन भनेको छ- 'यो जरुरी छैन कि जोसँग प्रेम हुन्छ त्योसँग विवाह होस् तर यो शक्त जरुरी छ कि जोसँग विवाह हुन्छ त्योसँग प्रेम होस्।'
यो भनाइप्रति मेरो र उनको विचार समान थियो। मेरो पनि कुनै दिन कसैसँग प्रेम बसेको थियो तर बाटोमा भेटियो बाटोमै छुटियो। उनले भने आफ्नो विगत खोल्न चाहिनन्। दिलमाया मैले मायाले राखिदिएको नाम थियो उनको।
यो कुरामा झन् अलमल भएको थिएँ। अब बच्चा कुन बार जन्मन्छ? किनकी आज आइतबार थियो तर रातिको बाह्र बज्न अब केही मिनेटमात्र बाँकी थियो। हुन त यो एउटा अफवाह थियो जन्मबारले मान्छेको जीवनमा प्रभाव पार्छ। तर हाम्रो व्यवहार जन्मबारसँग मिलेको थियो।
हामी एकअर्काको विपरीत त थियौँ तर हामी एकअर्काको बानी खुब मन पराउथ्यौँ। उनी मेरो बानीको नक्कल गर्थिन् त म उनको। त्यसैले उनी बच्चा आइतबार जन्मियोस् भन्दै थिइन् र म सोमबार।
घडीले ११:५० बजाइसकेको थियो। उनलाई देख्न मन लाग्यो। उनी भएको कोठामा गएँ। उनी निदाएकी थिइन्। मैले विस्तारै उनको निधारमा स्पर्श गरिदिएँ। उनको आँखा खुले। मलाई देखेपछि उनका गुलाफी ओठ मिठो मुस्कान छोड्न थाले। आँखाकै इसारामा दिल बोलिरहेको थिए।
'कस्तो छ?' लामो समयको मौनतालाई तोडेँ।
'ठिक छु' उनले टाउकोले इसारा गरिन्।
मेरो आँखा रसाए। तपतप आँसु चुहिन थाले।
'लौ! किन रोएको?' उनले आँसु पुछिदिँदै भनिन्।
मेरो मुखभन्दा आँखा बोलिरहेका थिए। मेरो हातले आफ्नो पेट सुमसुमाउँदै भनिन्, 'हेर त भित्रबाट तिम्रो छोरीले हेरिरहेकी छिन्। उनले के सोच्लिन् रुन्चे पापा।'
हाँस्न मन लाग्यो। उनले मेरो आँसु पुछिदिइन।
'भोक लागेको छ?,' भनेँ, 'केही खान्छौ त?'
'मलाई त पर्दैन, तिम्रो छोरीलाई के खुवाउँछौ?'
थोरै जिस्कन मन लाग्यो। कुर्सिबाट उठेर उनी सुतेको बेडमा बसेँ। उनको कुर्ता विस्तारै माथि सारेर उनको नाभी वरिपरि चुम्बन गरिदिएँ।
'दिनेशऽऽ'
उनी चिच्याउन थालिन्, म तर्सिएँ।
डाक्टर दौडेर आउनु भयो। मलाई बाहिर जान अनुरोध गरे। मैले बुझ्नै सकिनँ आखिर भयो के? आफैसँग सवाल गर्दै मलिन अनुहार लिएर म बाहिर गएँ।
मनमा छटपटी बढ्यो। मुटुको धड्कन बढ्यो। यताउती गर्न थालेँ। अचानक भित्रबाट बच्चा रोएको आवाज आयो।
टाउकोमा हात राखेर थचक्क घुँडा टेकेँ। झटपट्ट घडी हेरेको ११:५९ मिनेट बजेको रहेछ। अर्थात् अझै सोमबार हुन एक मिनेट बाँकी थियो। अपसोच! मैले एउटा सर्त त हारिसकेको थिएँ अब अर्को सर्त बाँकी थियो, छोरा कि छोरी।
ढोका खुल्यो, डाक्टर बाहिर आउनु भयो। 'बधाई छ दिनेशजी, भित्र जान सक्नु हुन्छ' भन्दै भित्र जान अनुमती दिनुभयो।
म दौडेर भित्र पसेँ। टाढैबाट बच्चा देखिहालेँ। मेरो गति रोकियो। बच्चा दुरुस्त दिलमायाको प्रतिलिपी जस्तो थियो। म पक्का भइसकेको थिएँ कि छोरी हुनुपर्छ। मेरो अनुमान सही थियो। मेरो खुसी आशमान पुगेको थियो। बच्चालाई काखमा लिएर उफ्रिन थालेँ। जिन्दगीकै स्वर्णिम पलसँग रमाउँदै थिएँ।
एउटा पुरुषको लागि पिता बन्नुको क्षणभन्दा अरु खुसी के होला र? मेरो खुसीको सीमा थिएन। बिना संगीतको नाच्न थालेँ। बेडमा पल्टेकी दिलमाया पनि खित्का छाडेर हाँस्न थालिन्। म त खुसीले पागल भएको थिएँ। छोरीको साथमा केही फोटो खिच्दै थियौँ, अचानक फेरि उनी छटपटाउन थालिन्।
म आत्तिएँ। सोच्नै सकिन अचानक के भयो? डाक्टर आउनु भयो। फेरि बाहिर जान अनुरोध गर्नुभयो। म छोरी च्यापेर बाहिर गएँ। आखिर संसारमा सबैभन्दा बढी प्रेम कसलाई गरिन्छ? आफैलाई? आमालाई? सन्तानलाई? होइन रहेछ। एक श्रीमान भएको नाताले श्रीमतीको लाग्दो रहेछ। त्यसैले त अघि छोरी देख्नासाथ पागल बनेको म अहिले काखमै छोरी हुँदा नि खुसी हुन सकेको थिएन।
आँखाभरि दिलमायाको अनुहार घुमिरहेको थियो। के भएको होला? बाहिर मौनताले सन्नाटा छाएको थियो र मनभित्र आँधिबेरी चलेको थियो। छोरीले आफ्नो कोमल हातले मेरो अनुहार स्पर्श गर्दै ओठ हल्लाउँदै थिइन्। मानौँ केही भन्न खोजिरहेकी थिइन्। जन्मेको पाँच मिनेट भएको छैन, रुन छाडेर छोरीले देखाएको यस्तो व्यवहारले मलाई झन आश्चर्य चकित बनाएको थियो।
पुनः भित्रबाट फेरि बच्चा रोएझैँ आवाज सुनियो। म झन अचम्मित भएँ। आखिर के हुँदैछ भित्र? कौतूहलता बढ्यो। ओठमुख सुक्न थाल्यो। हातखुट्टा काम्न थाले। झट्ट अघि छोरीले गरेको व्यवहार याद आयो। छोरीले केही भन्न खोजेकी थिइन्। कतै आमाको पेटभित्र हामी दिदिभाइ थियौँ। भाइ आउदै छ भन्न खोजेकी त थिइनन्!
जुडुवा? के यो सम्भव छ। मनभरि प्रश्नका छाल एकपछि अर्को गर्दै तरङ्गित हुन थाले। डाक्टर बाहिर आउनु भयो।
'दिनेशजी, फेरि पनि बधाई छ। तपाईंलाई अर्को अंश प्राप्त भएको छ तर आमाको धेरै रगत बगेकाले छिटो रगत मिलाउनुस्।'
मेरो आँखाबाट हर्षाश्रु परेला हुँदै उर्लिन थाले। म दिलमायाको नजिक गएँ। उनी निदाइरहेकी थिइन्। छेउमा बच्चा रोइरहेको थियो। विस्तारै उठाएर काखमा लिए छोरा रहेछ।
अब त दिलमाया र मेरा दुवै सर्त पूरा भएका थिए। केबल बाँकी थियो त उनीलाई बचाउनु। के गर्ने होला? विद्यालयको परीक्षा 'ए+' ल्याउने दिमाग आज जिन्दगीको परीक्षा खिया लागेको थियो। संयोगवश हाम्रो ब्लड ग्रुप पनि एकै थियो। मैले उनीलाई आफ्नै रगत दिने निर्णय गरेँ।
दुवै बच्चालाई काखमा च्यापेर एकछिन रोएँ। दुवैलाई झुलुङ्गोमा राखेँ। दिलमायाको नजिक गएर उनको कपाल सुमसुमाएँ। उनका आँखा बन्द थिए। निधारमा आफ्नो मुख गाडेर केही समय भक्कानिएर रोएँ। मेरो आँसु उनको अनुहारभरि पोखिए। उनी अझै बेहोस नै थिइन्।
म उनी छेउको बेडमा पल्टिएँ। मलाई सुईदेखि डर लाग्थ्यो तर त्यो दिन डाक्टरले शरीरमा कति सुई रोपे थाहा भएन, न त डर नै लाग्यो। केबल पूर्णेको पूर्ण चन्द्र झैँ झल्किरहेको उनको अनुहार हेर्न मन लागिरहेको थियो।
मेरो शरीरको थोपाथोपा रगत उनको शरीरमा चडिरहेको थियो। मलाई निद्राले छोयो। उता उनलाई होस आएछ। उनी मलाई बेडमा पल्टेको देखेर आत्तिछन्। रुन कराउन थालिछन्। डाक्टरले सबै कुरा भनेपछि बल्ल उनी शान्त भइछन्।
मलाई डाक्टरले उठाउनु भयो। टाउको घुमिरहेको थियो। शरीर भारी भएको थियो। डाक्टरले सुई निकालिदिनु भयो। म उठेर उनको बेडमा गएँ। उनले मलाई अङ्गालो हालेर रुन थालिन्। उनको रुवाइले मेरो आँखा पनि रसायो। दुवैजना रुन थाल्यौँ।
झुलुङ्गोमा सुताएको दुवै बच्चालाई ल्याएर उनको काखमा राखिदिएँ। मैले त्यो खुसीको पललाई मोबाइलको सानो क्यामरामा कैद गरिदिएँ। दिलमायाको खुसीको ठेगान थिएन। हाम्रो खुसी देखेर झ्यालका पर्दा नाचिरहेका थिए। रंगिन भित्ताहरू मुग्ध भएका थिए। सिलिङले बधाई दिन खोजिरहेको थियो। करिब दुई दिनको अस्पताल बसाइ सकाएर हामी घर गयौँ।