कथा
‘मोर ओपन’ शब्दले आज पनि मस्तिष्क चिथोरिरहन्छ। चित्त दुखाइको के कुरा भो र? अनपेक्षित टिप्पणीले हृदयमा प्रलय गराएको थियो। सीमान्त पीडामा मान्छे शून्य अनुभूतिबाट गुज्रिँदो रहेछ। लामो समय बिथोलिएँ म।
राजनीतिमा महिला सहभागिताको ‘क्लोजक्याम्प’ मा सरिक हुने अवसर प्राप्त भएको थियो। समाज बुझाइ र समस्याको पोया फुकाउने क्रममा एकजना नेतृले यस्तो सुनाइन्।
‘राजनीतिक भेटघाटका क्रममा अन्य पुरूष साथीहरू पनि सँगै बसेर डिनर गरेका थियौं। मैले त्यो फोटो इनबक्समा पठाएँ। ‘टिकट कनफर्म’ उसले रिप्लाई गर्यो। त्यसपछि कुरै भएन। म प्रशिक्षण छोट्याएर जिल्ला फर्कँदै थिएँ उसको म्यासेज आयो- तिमी ‘मोर ओपन’ छौ र चिजहरू सजिलै लिन सक्छौ तर म अनौठो छु र सक्दिनँ। सायद तिमीले बुझ्यौ होला। यस्ता कुराहरू न मलाई पाच्य हुन्छन्, न मेरो परिवारलाई।’
गहभरी आँसु बनाउँदै उनले प्रसंगलाई निरन्तरता दिइन् ‘...जसलाई म सबैभन्दा नजिक ठान्थें। आदर्श व्यक्ति मान्थें। भगवान् भन्ने अस्तित्व कतै छ भने त्यही अस्तित्व स्वीकारेको थियो मनले। विश्वासको त प्रश्नै भएन। ‘मोर ओपन’ शब्द बाटै म क्षतविक्षत भइसकेकी थिएँ तर पनि मैले परिवेश स्पष्ट पार्ने प्रयास गरें। बुझाउन खोजें। तुरून्तै रिप्लाई गरें- तिमीसँग ‘मोर ओपन’ नै छु। यो विशेष परिस्थिति, समय र अलौकिक अनुभूतिलाई तिमीले सामान्यीकरण गरेर बुझ्यौ। जुन बुझाइ गलत छ। हम्रो समाजले पुरूषले गलत गर्छ भन्ने कल्पना गरेको छैन त्यसैले तिमी सही छौ।’ उसले लेख्यो, ‘च्याप्टर क्लोज। प्रतिवाद नगर। बहस आवश्यक छैन। तिम्रो सार्वजनिक जीवनमा दख्खल दिन चाहन्न। सायद म पनि यही अपेक्षा राख्छु।’ ऊ नभएर अरू कोही भएको भए चप्पल उठाएर ...।’
हुटिङ भयो पछाडिबाट। सबै खासखुस गर्न थाले। सानो जत्थामा कसले के बोलेको प्रस्टै सुनिन्थ्यो।
‘त्यस्तै गर्नुपर्छ। बल्ल ठीक पार्यौ...’
मेरो मुटु ढक्क फूल्यो। धड्कन नै रोकिएजस्तो भयो। वरपर दृष्टि घुमाएँ अनि सहज बन्ने कोशिस गरें।
‘...तर म उसलाई प्रेम गर्थें। मैले त्यसो गर्दा आफ्नै प्रेमको अपमान हुन्थ्यो। मलाई आज पनि त्यो शब्दले पोलिरहेको छ। तर म केही गर्न सक्क्तिनँ किनकी ऊसँग जोडिएका कैयौं मीठा अविष्मरणीय अनुभूति छन्। ती साह्रै कोमल छन्। तिनै प्रेमिल अनुभूति नै मेरा सम्पत्ति हुन् र प्रेरणाको स्रोत पनि। तिनै अनुभूतिले मलाई उर्जा दिइरहेका छन्। म आफ्नै प्रेम मार्न चाहन्नँ। विगतका ती स्मरणलाई उर्जावान् छन्। मान्छेले साँचो प्रेम जीवनमा एकै पटक मात्रै गर्छ भन्थे। त्यो सही हो भन्ने लाग्छ मलाई। ५ वर्षको दौरानमा कैयौं यस्ता मोडहरू आए तर मेरो प्रेम विचलित भएन। मैले आफ्ना सुनौला अनुभूतिसँग एकपक्षीय सम्झौता गरें। मौन सम्झौता।’
मौनता आफैंमा ठूलो संकटको द्योतक हो। कुनै दिन उसको मौन सम्झौता बिथोलियो भने? मौन अवधि यसै पनि धेरै समय लम्बिन सक्तैन। म जल्न थालें। मौनता बिस्फोट भएको दिन? कत्रो ठूलो संकट? जताबाट सोच्दा पनि दुर्घटना र संकटमै गएर मेरो चिन्तन किन रोकिन्छ? मेरो मन मस्तिष्कसँगै सिंगै शरिर थरथराउन थाल्यो।
***
बजारमा बयान लिने र दिनेको चर्चा चलिरहँदा स्निग्ध त्यो कठघराको सम्झना दिलायो समयले जहाँ अक्षरहरू इमान्दार अभिव्यक्तिमा सामेल भएका थिए। शहरका कठघरामा अस्तित्व नै देख्न छाडेको धेरै भएको थियो। यन्त्रवत् र योजनावद्ध ती कठघराका बयान धेरै देखियो अनि सुनियो। कृत्रिम अनि भारी बोकाइएको बयानको त के कुरा गर्नु खै?
भ्रष्टाचारीको बयान, फटाहाको बयान, लुटाहाको बयान, ठगको बयान, सुपारी व्यापारीको बयान, बाटै नभएको ठाउँमा पुल बनाउने ठेकेदारको बयान, बलात्कारीको बयान, दुराचारीको बयान, नियम पालना नगर्नेको बयान, नियम नै नबनाउनेको बयान।
प्रेमको नाममा विदेश यात्राको भर्याङ बनेको बिहे दर्ताको चिर्कटो माथि बयान दिनेहरूको ताँती। उफ !
प्रेमका साक्षीहरू प्रेम नटुटोस् भन्ने चाहन्छन्। विनिमय र व्यवसायमा रमाउनेहरू प्रेमलाई अपमानित गर्न उद्धत हुन्छन्। कसैले पक्षमा, कसैले विपक्षमा। प्रेममाथिको रमिता र मजाक शहरमा धेरै छ भन्ने लाग्थ्यो। तर त्यो स्निग्ध कठघरामा सुनेको बयानले धेरै रात एैँठन गरायो।
अक्षरहरू बेलगाम थिए तर अनुशासन र कर्तव्यबोधले थिचिएका। भावना स्फटिक थियो। आत्मसमीक्षा अनि आत्मानुभूतिमा प्रेमानूभूति मुर्झाएको समय। सीमान्त कष्टदायक अनुभूति।
‘धोकामा पनि प्रेम? ... मुद्दा हाल्नु पर्दैन?... अंश मुद्दा नगरेको?...त्यत्तिकै छोडिदिएको? हामी आइमाइले नै हो पुरूषलाई खराब बनाउन प्रेरित गर्ने। सबक सिकाउनुपर्थ्यो। ...केका प्रेम?...आदर्शका कुरा सुन्दा मात्रै मीठो लाग्ने हो। ...आफैंलाई जलाएर मौन सम्झौता?’ हलबाट प्रश्नको ओइरो लाग्यो।
म स्थिर हुने प्रयास गर्दै थिएँ। परिस्थिति नबिग्रियोस् भन्ने कामना गरिरहें मनमनै।
‘प्रेममा धोका हुँदैन। त्यो त बाहिरी परिवेशले सिर्जना गरेको मान्छेको सोचद्वारा निर्देशित मनोवृत्ति हो। प्रेम टुटेको छैन। मात्रै प्रेम पीडा छ। दु:ख र पीडाबाट मान्छे बौरिन सक्छ तर प्रेम टुट्यो भने त्यो पीडा असह्य हुन्छ र उसको जीवनको गोरेटो धमिलो हुन्छ। प्रतिलाभको गुञ्जायस छैन। प्रतिकार्यको अपेक्षा पनि छैन। कोशीको पानी बगेजस्तै मेरो प्रेम पनि बगिरहेको छ। प्रेम अझै गाढा हुँदैछ।’
ती नेतृले यसो भन्दै गर्दा रोकिएको श्वासले निरन्तरता पाएको अनूभूति गरें मैले।
‘प्रेम जिवितै छ,’ मेरो अनुमान सही थियो।
‘…पाँच वर्षसम्म उसले मलाई बुझेको बुझाइ नै प्रतिबिम्बित भएको थियो। परिवार र समाजको प्रशिक्षण, एउटी कुलीन विवाहित महिलाका लागि समाजले निर्धारण गरेका सीमालगायत परिवेशमा केन्द्रीकृत हुन नसकेका मेरा वैयक्तिक स्वतन्त्रता र जीवन बुझाइ माथिको असहमतिलाई उसले एकमुष्ट रूपमा प्रकट गरेको थियो। तिमीले मलाई गलत बुझ्यौ भन्नुको अर्थ थिएन। उसले जे बुझ्यो। सही नै बुझ्यो होला। सायद म त्यस्तै थिएँ उसको बुझाइमा। स्वाभिमान, अभिमान भन्ने चीज नितान्त वैयक्तिक हुन्। मैले स्वाभिमान गिराउने काम गरिनँ। आत्मनिर्भर र स्वाभिमानी जिन्दगीका केही बाछिटाले उसलाई पनि आंशिक बिझायो होला। मेरो उदार हृदय अनि खुलस्त व्यवहारलाई साँघुरो घेरामा बुझेको थियो। म उसलाई सबै कुरा भन्न रूचाउँथें। पोखिन्थें। दु:ख र खुसीलाई आफूमा मात्रै सिमित अनि साझेदार गर्न सकिनँ मैले। म यहीँ चुकेकी थिएँ। पश्चताप अनि अपमानित महशुस गराउने मेरा यी कमजोरीलाई दोहोर्याउने छैन। मेरो प्रेममा खोट थिएन। समस्या बुझाइ अनि सोचमा थियो।’
‘हो, हो, सोच नै हो के।’ सोच परिर्वतन नभएसम्म यस्तै हो। हलले फेरि ती नेतृको भनाइमा लय मिलायो।
‘...मलाई पश्चताप मेरा आफ्नै अनुभूतिमा छन्। तिनै अनुभूति जसले मलाई निकटतम अपनत्वको आभाष गराए। महाभ्रमलाई सत्य ठान्न बाध्य गराए। साथ नटुटोस् भन्ने चाहन्थें। स्वार्थ थिएन। धनसम्पत्तिको प्रलोभन थिएन। सामाजिक सुरक्षा कवजका लागि पनि होइन। थियो त केवल मीठो अनुभूति। उसँगको सहकार्यको चाहना किन भयो? यो प्रश्नको उत्तर मसँग छैन। एउटा पुरूष मेरो बा, बा भएकै कारण विश्वास गर्थें अनि अर्को ऊ। यी दुई मेरा लागि सबथोक थिए। उसले एकदिन भनेको थियो,‘जब सम्बन्ध टुट्छ रातभर निन्द्रा पर्दैन।’
मेरो चेतन मन उसका विरोधाभाष अभिव्यक्तिमाथि विश्लेषण गराउन खोजिरहन्छ मस्तिष्कमा। फेरि चुनाव आयो। टिकटको भागदौड छ। पुरानो घाउ बल्झिएको छ।’
न विश्वास बाँकी रह्यो न त सत्य नै। आँसु चिउडो हुँदै घाँटीसम्म बगिरहेका थिए। आँसुमा प्रेम देखें मैले।
‘पीडामा पनि प्रेमानुभूति अझै बाँकी रहेछ। नत्र आँशु किन झर्थ्यो?’ ऊ अझै प्रेमको कमजोर अनुभूतिमा छ त्यसैले त आँशु बाँकी छन्। कठोर बन्न सकेको भए आँशुको ठाउँमा आक्रोश, प्रतिशोध वा धैर्यता र सहनशीलता देखिन्थ्यो होला।
मेरो दिमागले शहरका मान्छे र तीनले बुझेको प्रेमलाई स्क्यान गरिरहेको थियो। यो पो त प्रेम। एकपक्षीय भन्ने टिप्पणी होला। प्रेम सधैँ एकोहोरो र पक्षीय नै हुन्छ। जाडोमा स्विटर फेरे जस्तोलाई पनि के प्रेम भन्नु? प्रेमका नाममा कलकंहरू? दिमाग रिसाएको पहिलो पटक अनूभूत गर्दै थिएँ म।
कुनै शब्दहरू किन यति खुल्ला, निर्मम र भारी हुन्छन्? मस्तिष्क नै खलबल्याउने गरी प्रहार गर्छन्। ‘मोर ओपन’ शब्द र त्यसभित्रको शंकाको चोटले मलाई पनि दु:खी बनायो।
पीडा र दुखका अवशेषभित्र प्रेमिल भावना। कस्तो विरोधाभाष भन्नुहोला। प्रेमलाई म सधैं यस्तै प्रकृतिको देख्छु। सबै कठघराका साक्षीले यस्तै पीडा खेप्छन् कि प्रेमिल कठघराकाले मात्रै?
***
‘जति नै समानताका कुरा गरे पनि मधेसमा राजनीतिमा महिला आउन गाह्रै छ। सोच पुरानै छ। समय मात्रै परिर्वतन भयो। सोच परिर्वतन हुन सकेन। काठमाडौंको खाल्डोमा बसेर समानताको परिभाषा गर्न छाड्नुहोस्। मधेसका महिलाको अवस्थामा तात्विक भिन्नता आउन सकेको छैन। म विशिष्ट पदमा छु वा राष्ट्रपति महिला छन् भन्दैमा सिंगो समाज समविकासको बाटोमा हिँडेको मान्न सकिँदैन। तपाईंहरू केही विशिष्ट पदका महिला र राष्ट्रपतिलाई देखाएर महिलाको स्तर माथि पुगेको विश्लेषण गर्नुहुन्छ। यो गलत हो।’
उनले धारा प्रवाह दिइन् मैथिली भाषामा। एक जना साथीले नेपालीमा उल्था गर्न मलाई सघाइरहेका थिए। उनी मैथिली, भोजपुरी, हिन्दी भाषामा राम्रो दख्खल राख्ने रहेछन्।
ती साथी मेरो साथमा देखेकाले पनि पनि हुनसक्छ ती महिला खुलेर बोलिन्। म एक्लै भेट्न गएको भए सायद यति खुल्ने थिइनन्।
‘आजसम्म यसरी बोलेकी थिइनँ किनकी म कसैलाई विश्वासै गर्न सक्तिनँ। केही कुरा भन्यो भने त्यसैलाई हतियार बनाउँछन्। केटाहरूसँग त हाँसेर बोल्न पनि हुँदैन। कुनै छलफलमा सहभागी जनाउन भन्यो भने पनि ‘कस्तो ओपेन’ भन्छन्। तपाईंको अंग्रेजी भाषाको ‘ओपेन’को भन्दा भिन्न अर्थ छ यहाँ ‘ओपन’ शब्दको। त्यसैले म चाहेर पनि टोलटोलमा भइरहने दिनरातका राजनीतिक बहस, छलफल अनि विषयगत निर्णयमा सहभागी हुन सक्तिनँ।’
लामो कुराकानीको संक्षेपीकरण निष्कर्ष उही थियो, ‘सोचमा परिर्वतन हुन सकेन। हामी परिर्वतन भयौं, हाम्रा व्यवहार परिर्वतन भए तर सोच पुरानै।
***
‘लेमन सोडा, साल्टी,’ उसले स्पष्ट पारी।
‘बियर पनि मगाउनुहोस्,’ अधबैंसेले भन्यो।
‘हजुर पिउनुहुन्छ?’
‘होइन। तपाईंलाई। म पिउँदिनँ। कोभिड भएपछि अलि समस्या देखिएको छ।’
‘एँ। म पिउँदिनँ नि हजुर।’
‘अक्सर लेमन सोडा मगाउनेहरूले त्यसपछि बियर मगाउने गर्छन्। सोडा भनिसकेपछि बियरसँगै जोडिन्छ क्या। पिउनू पिउनू। थकित देखिनुभएको छ। फ्रेस भइन्छ,’ हेपाइ र अपमानको अन्तर्यलाई ठ्ट्यौली शैलीको लेपन लगायो अधबैंसेले।
‘धन्यवाद हजुर अहिलेसम्म टेस्ट लिएकी छैन,’ सहनशीलता कायमै राखी उसले।
‘तपाईंले! यो आठौं आश्चर्य भयो,’ मूल्यांकन फेल खाएकोमा आँखीभौं उचाल्यो उसले।
‘अनुहार हेर्दै पियक्कड लाग्यो? ’ उसले जवाफमा प्रश्न गरी।
‘त्यसो त होइन। तर तपाईं जति ‘ओपन’ देखिनुहुन्छ त्यसले पिउने शैलीको पनि सँगै वकालत गरिरहेको हुन्छ। फेरि राजनीतिमा लाग्नेहरूलाई छुट पनि छ नि होइन?’
‘मूल्यांकन तपाईंको। दृष्टिकोण तपाईंको। विचार तपाईंको। मेरो सहमति किन खोज्नुहुन्छ?,’ शालिन ढंगमा विद्रोह गरी उसले।
वार्तालाप सँगै स्न्याक्स लिइ पनि सकेका थिए। केही राजनीतिक वार्तालाप पनि भए। टिकट सुनिश्चितताका लागि अधबैंसेले केही सर्तहरू अघि सार्यो। केहीमा स्वीकृति जनाई। केहीमा छलफल गरी अनि केही मौन बसी।
वेटरले बिल ल्यायो। युवतीले बिल तिरी। त्यो अधबैंसेको युवतीमाथिको आग्रहपूर्ण नजर हटेको थिएन।
अपमानित र असुक्षित अनुभूतिका लप्काहरूलाई दबाउँदै उसले सामान्य ढंगमा छुट्ने अनुमति मागी।
‘रात छिप्पिँदै छ। म पुर्याइदिउँ घरसम्म,’ सीमान्त अममानित गरेर पनि त्यो अधबैंसेलाई शान्ति मिलेको थिएन।
‘नो थ्यांक्स,’ टेबलको हेलमेट लिएर युवती बाहिर निस्की।
***
वल्लो टेबलमा बसेर उनीहरूको वार्तालापको साक्षी भइरहँदा मभित्र आगो सल्किएको थियो। यस्तो सहनशील किन बनायौ महिलालाई? मान्छेहरू कति सजिलै अरूको बारेमा धारणा बनाउँछन्। लाग्छ सबैभन्दा सजिलो काम यही हो।
आफूले आफैंलाई बुझेको बुझाइ सही हुँदैन कहिलेकाहीँ, अर्काले गलत बुझेकोमा चित्त दुखाउनुको कुनै अर्थ छैन।
आज पनि प्रेम सद्भाव अनि अपनत्वको परिभाषा उही रहेछ। नि:स्वार्थ अपनत्वको अनुभूति गर्नेसम्म छुट रहेनछ छोरी मान्छेलाई। मन अमिलो भयो। केही बौद्धिक वर्ग जसलाई समाजले उच्च र फराकिलो नजरले हेरिरहेको हुन्छ। समविकास र समभाव व्यवहारको अपेक्षा गरिरहेको हुन्छ। ती विश्वास र अपेक्षामाथि कत्रो धोका?
यी सब परिवेशबाट म दु:खी थिएँ। भ्रमको पर्दा समयमै च्यातिएकोमा दु:खी भएँ कि ढिलाइ भएकोमा। ठम्याउन सकिनँ। तर मलाई लागिरह्यो मेरा लागि मधेस भ्रमण कुनै पनि दृष्टिबाट सुखद र प्रियकर अवश्य थिएन।