पुस्तक चर्चा
सगरमाथा आरोहण गर्न नसक्नु सगरमाथाको दोष होइन। जसरी पौडिन नजान्नु नदीको दोष होइन, मानिसको कमजोरी हो। आरोहण एउटा कला हो। यही सगरमाथा आरोहणको कला एउटै जीवनमा दुई पटक सम्पन्न गरेका केही व्यक्ति मध्ये एक हुन्-खिमलाल गौतम। गौतम फगत आरोहीमात्र होइनन्, सगरमाथाको उचाइ नाप्ने सर्भेयर पनि हुन्। जुन काम आजसम्म कसैले गरेको छैन। उनी आफू चढेको, उचाइ मापनको अभियान सफल गरेको कामलाई कलापूर्ण ढङ्गले व्याख्या गरी पुस्तक लेख्ने लेखक पनि हुन्।
सगरमाथालाई एक सय ७३ वर्षअघि नै अर्थात् सन् १८४९ मै संसारको सबैभन्दा अग्लो चुचुरो मानिएको हो। तथापि सन् १८५६ मा ब्रिटिस सर्भे अफ इण्डियाले यसको उचाइ २९ हजार दुई सय फिट रहेको आधिकारिक घोषणा गर्यो। त्यसपछि यसको चर्चा चुलिँदै गयो। हामीले पनि यही उचाइलाई आधिकारिक मानेर स्वीकार गरिरह्यौं। तर खिमलाल गौतमले विदेशीको त्यो दाबीलाई आफैंले नापे, र नयाँ उचाइ पत्ता लगाए। संसारलाई सगरमाथाबारे पुनः तरंगित बनाए। र, उनीसहितको समूहले तयार गरेको नयाँ मापनलाई विश्वव्यापी आधिकारिक उचाइ मान्न सहमत गराए। यिनै खिमलालले यो अभियानको सम्पूर्ण घटनालाई मिहीन व्याख्या गर्दै आफ्ना भावना समेटेर पुस्तक तयार गरेका छन् ‘पन्ध्रौं चुली’।
पेशाले नेपाल सरकारको नापी विभागका उपसचिव र प्राविधिक शिक्षाका विद्यार्थीले लेखेको यो पुस्तक पहिलो भनेर मान्न कठिन हुन्छ। तर संस्कृत अध्ययन पारिवारिक विरासतमा पाएका अनि मीठो कविता र गजलका स्रष्टाका रूपमा चिनिएका उनले यति मीठो लयमा लेखेको पुस्तक पढ्दा सन्तुष्टि प्राप्त हुन्छ।
‘पन्ध्रौं चुली’ एक पुस्तक मात्र होइन, यो रोचक अध्ययनको नतिजा पनि हो। इतिहास र तथ्यांङ्कको जानकारीमूलक संग्रह पनि। र, काव्यिक रचनाको मीठो नमूना पनि। अदम्य साहस, पटकपटकको मृत्युसँगको जम्काभेट र त्यसबाट पाएको पुनः जीवनको रोचक कथा अनि श्रृङ्खला पनि हो।
‘पन्ध्रौं चुली’मा गौतमले हिमालबारे, हिमाल यात्रा बारेका रोचक नालीबेली मिहीन ढंगले उतारेका छन्। यो पुस्तक साहस, जोखिम र संघर्षको कथा हो। हिमालबारे नेपालीमा लेख्ने चलन नै नभएका बेला नेपाली पाठकलाई गतिलो सन्दर्भ सामग्री पनि हो। हिमाल चढ्न खोज्नेका लागि गाइड बुक पनि हो।
प्रस्तुत पुस्तकलाई लेखकले तीन खण्डमा विभाजित गरेका छन्। पहिलो खण्डलाई आरोहण खण्ड नामाकरण गरेका छन् जसमा आठ शीर्षक छन्। ती आठ शीर्षकमा उनले नेपाली निजामती कर्मचारीको पहिलो सगरमाथा आरोहण गर्दा ताकाको अवसर, सफलता, प्रेम, विवाह आदिलाई सटिक ढंङ्गमा तर पाठकलाई आवश्यक हुनेसम्म प्रस्तुत गरेका छन्।
पहिलो खण्डमा उनले आरोहणका क्रममा प्राप्त गरेका अनुभव, हिमालको दृष्य र कर्मचारीमा बढेकोे उच्च मनोबलका कुरा समेटेका छन्।
दोस्रो खण्डमा ३२ शीर्षक छन्। पुस्तकको महत्वपूर्ण खण्ड पनि यही हो। पुस्तकको मुटु पनि हो। यसमा उनले सगरमाथा मापनको तयारी, आफूलाई विभागका केही व्यक्तिले गरेको उपेक्षा, तर आफूभन्दा अग्रज केही कर्मचारीको आफूप्रतिको विश्वास, यात्रा, जोखिम, सगरमाथा मापन, मृत्युसँगको साक्षात्कार, सफलता, सम्मान, पीडालगायत अधिकांश कुरा समेटिएका छन्।
तेस्रो ‘इतिहास खण्ड’ भनेर राखेका छन्। यसमा ३३ शीर्षक समेटिएका छन्। अन्तिममा उनले आभार शीर्षकमा यो अभियान अनि पुस्तक प्रकाशनका क्रममा साथ र सहयोग गर्ने सबैलाई आभार प्रकट गरेका छन्।
दोस्रो पटकको आरोहणका क्रमबारे पुस्तकमा उनले लेखेका कथा (तर वास्तविक) पढेर म पुस्तक पढेको त्यो रात निदाउन सकिनँ।
‘हिलारी स्टेप’ शीर्षकमा उनले गरेको संस्मरण पढेर उनी किन यति धेरै जोखिम स्वीकार गरेर त्यहाँ गएका होलान् भन्ने लाग्यो। हावाबिना मानिस बाँच्न सक्दैन तर सगरमाथा यस्तो ठाउँ हो जहाँको हावाले मानिसको जीवन बचाउने हैन, हत्याउने गर्छ। उनी लेख्छन्, ‘हावाको महत्व बुझ्न सगरमाथा चढ्नै पर्छ।’
उनले त्यहाँ उल्लेख गरेका छन्, ‘१ सय ५० मिटरको दूरी पार गर्न डेढ घन्टा लाग्यो। अरू ठाउँ भएको भए पाँच मिनट पनि लाग्ने थिएन।’
साँच्चै संसारमा मानिसले सबैभन्दा सुस्त गतिमा हिँड्ने यात्रा यही होला। उनले यतिसम्म लेखेका छन् ‘कतिपय ठाउँमा थचक्क बस्न मन लाग्छ तर बसियो भने फेरी कहिल्यै उठ्नै सकिँदैन।’
हिँड्दै गरेको साथी ढलेको, डोरीमा तुर्लुंङ लास झुण्डिएको, हिम दरारहरूमा पाइलैपिच्छे मृत्युले पर्खिएको जस्ता कुराको वर्णन उनले सटिक ढंङ्गमा लेखेका छन्। जुन पाठकका लागि रोमाञ्चक र आङ् सिरिङ्ग हुने खालका लाग्छन्।
नढाँटी भन्नु पर्दा उनको पुस्तक पढेर सगरमाथा जान खोज्ने सामान्य मानिसले धारणा नै परिवर्तन गर्ने हो कि भन्ने लाग्छ। उनकी पत्नी गर्भवती छिन्। गर्भमा समस्या छ। उपचारका लागि पत्नीलाई भारतको दिल्लीमा छाडेर आएका छन्। उनी भने राष्ट्रको अभियानलाई आत्मसात गर्दै मृत्युसँग पौठेजोरी खेल्दै जिम्मेवारी पुरा गर्ने ध्याउन्नमा छन्। यो उनमा भएको अजिव चरित्र हो। जुन सामान्य कर्मचारीमा हुन्छ भन्न सकिन्न। त्यो बेला उनलाई पत्नीको, गर्भको बच्चाको मायाले र राष्ट्रसहित आफ्नो नाम उँचो राख्ने भोकले एक्कै पटक आक्रमण गर्छ। झण्डै अभियान त्याग्नु परेको अवस्थामा जोखिम मोलेर जिम्मेवारी पुरा गर्ने अठोट गर्छन्।
आरोहण गराउने कम्पनीको थुप्रै लापरवाहीले अभियान असम्भव प्रायः भएको अवस्थामा पनि उनी हरेस खाँदैनन्। अभियान बीचमै छाड्दा हुने बदनामी भन्दा मृत्यु अर्थपुर्ण रहेको भन्दै उनी लेख्छन्, ‘बरू बरफ हुन्छु तर बदनाम हुन्न।’ बरफ हुने सन्दर्भ उनले त्यहीँ मर्न तयार भएको तर अभियान बीचमा छाड्न नसक्ने अर्थमा लेखेका हुन्।
पुस्तकमा प्राकृतिक सुन्दरताको वर्णन गहन गरेका छन्। पूर्वीय शास्त्रबाट ओतप्रोत उनी पात्रो हेरेर मात्र यात्रा समय तय गर्छन्। पुराण र शास्त्रमा हिमाललाई पुरूषका रूपमा परिचित गराइने भए पनि उनले सगरमाथालाई स्त्रीका रूपमा वर्णन गरेका छन्।
पूर्वीय वाङ्मयमा हिमाललाई पुरूष र नदीलाई स्त्रीका रूपमा वर्णन गरिएको छ। ब्रह्मपुर र सिन्धु नदी यसका अपवाद हुन्। पुस्तकमा गौतमले हिमाली जनजीवन, त्यस क्षेत्रका महिलाको साहस, भूकम्पबाट ध्वस्त लाङटाङमा भूकम्पको पीडा भुलेर फिर्दै गरेको सहजता पनि उल्लेख गरेका छन्।
धेरै मानिस सगरमाथा चढिरहेका समाचार आइरहँदा लाग्थ्यो- सगरमाथा आरोहण फेसन होला। कठिन नहोला। तर उनले पुस्तकमा हिम दरारहरूको यस्तो क्रुर रूप देखाएका छन्। र, यात्रालाई यति कष्टकर बताएका छन् कि मानिस यस्तोमा कसरी यात्रा गरिरहेका होलान्, सम्झँदा पनि आश्चर्य लाग्छ।
उनी नै पनि एक पटक बेहोस भएर ढलेका छन्। ढलेका उनलाई साथीले छाडेर हिँडेका तर अर्कै आरोहीले लास हो कि मान्छे हो भन्ने जान्न क्र्याम्पनले हान्दा मात्र उनी हलचल गरेको उल्लेख गरेका छन्। आरोहणमा खुट्टाको औंला र आरोहण पछि पूरा समय नपुगी जन्मिएको छोरा गुमाएको घटनालाई गौतमले कारूणिक र मार्मिक ढंङ्गमा व्याख्या गरेका छन्। उनको त्यो करूणमय लेख पढ्दा पाठकले कहिले आँसु झार्छन्, कहिले सिरिङ-सिरिङ हुन्छन्।
हिमालबारे पौराणिक ग्रन्थका कुरा, कुमार सम्भवका कुरादेखि आधुनिक इतिहाससमेत समेटेका गौतमले ‘पन्धौं चुली’मा ‘यती’को कुरा भने लेख्न छुटाएका छन्। नेपालको हिमाली कथामा मिथक बनेको ‘यती’लाई कुनै प्रसंगमा जोडेको भए हुन्थ्यो भन्ने पाठकलाई लाग्नु स्वाभाविक नै हो।
उनले पुस्तकलाई सगरमाथाबारे समष्टि बनाउने प्रयत्न गरेका छन्। पाठकले सगरमाथाबारे खोजको अधिकांश सामग्री पाउने गरी गौतमले पुस्तक तयार गरेका छन् ।
पर्यटन व्यवसायीका दृष्टिकोणबाट पुस्तक पढ्दा आरोहण गराउने कम्पनीको लापरवाही दुःख लाग्दो छ। वर्तमान संसारमा मानिसको जीवन सबैभन्दा महत्वपूर्ण छ। ज्यानसंगै खेलवाडसम्म हुने गरि लापरवाहीले चाहिँ पर्यटन व्यवसायीकै बदनाम हुने डर देखिन्छ।
चुस्त लेखन शैली, भाषा र विम्वको प्रयोगले पुस्तकलाई पढिरहुँ जस्तो बनाएको छ। वास्तवमा भन्नुपर्दा यो पुस्तक हातले हैन, खुट्टाले लेखेको भन्दा अत्यक्ति हँुदैन।
पढ्दा सललल बग्नेछ। ५ सय ८८ रुपैयाँ खर्चिएर पढिसक्दा कुनै गुनासो हुनेछैन। फाइन प्रिन्टबाट प्रकाशित पन्ध्रौं चुली संग्रहयोग्य छ।