उतिबेला गाउँभरि लाहुरेको बाक्लो चल्ती–फिर्ती। कोही लाहुरे ब्रिटिश त कोही भारतीय। पल्टनबाट रजा आउने र हाजिर जानेको लर्को। गाउँमा लाहुरे आउँदाको अर्कै रौनक।
घरका बा-आमा, बाजै, बज्यै, दाइ, भाइ, दिदी, बहिनी त भैहाले, टोल समाजका आफन्त, साठेभाइ र दमाली मिल्दो तरुनीहरूलाई पनि आफ्नै खाले मजा।
हातमा घडी, स्त्रि लगाको पत्लुङ र कमिजमाथि आस्कोट, आस्कोटमा सिमलको भुवाबाट बनेको फूल, च्याट्ट परेको जुल्फी, टिलिक्क टल्कने जुत्ता मोजा, जीउमा मगमग बसाउने अत्तरको गन्ध। यो भयो लाहुरेको पहिचान।
यसपाला गाउँमा बिपत्तै रमाइलो छ। टोल टोलमा हुड्डा खानेको लर्को। झण्डै ५०/ ७५ भन्दा बढि नै च्वाँचेहरू गाउँ भित्रियो होला। च्वाँचे काट्दा कराउने कर्कश स्वरले टोल टोलमा हुड्डा खाएको छनक मिल्ने। झराली लाग्दा गाउँको बाटोघाटो, पाटी पौवा, स्कुल, मठमन्दिर छ्याङ्ङ उज्यालो।
घटस्थापनाको दिन टपरामा राखेको चोखो माटोमा छरेको जमराको बीउ। अष्टमी आयो, बलेत्रो पूजियो। नवमीको दिन भाक्कल र पन्चौली काटमारको राम–रमिता। दशमीमा निधारभरि दसैंको टीका जमरा। अब दसैं पूर्णे जात्राको पर्खाइ रह्यो। गाउँ–गाउँमा दसैं पूर्णे जात्राको सटनपटन।
ठाँउ–ठाँउका तरुनी तन्नेरीहरूको जात्रामा भेट्ने इस्क छ। दसैंको मेसो पारेर पैला र दोश्रा रजा छुट्टी आएका लाहुरेहरूको फूर्तिफार्ती। धनीराम भर्ति जानुभन्दा अघि लाएको पिरती साट्न आँतुर। खैमटीको छनक पनि उस्तै।
भर्खरको उर्लदो बैँसमा वनपाखा, मेलापात गर्दा लाएको माया पिरिम बिछट्टकै। वनपाखा, घाँस–दाउरा गर्दा पल्लो डाँडाको थुम्काबाट हात हल्लाउँदै सुसेल्ने धनीरामको हुल र ओल्लो डाँडाबाट खास्टो हल्लाउँदै चम्किने खैमटीको बथान। कलकलाउँदो उमेर। उर्लदो बैँस र भरभराउँदो जोवन। दुवैतिर इसाराले माया साटासाट।
घाँस दाउरेहरू गीतको भाका हाल्दै वनपाखा घन्काउनी। गाई बाख्रा चराउने गोठाला गोठाल्नीको आफ्नै चुरीफुरी। मेसो पारेर छेका काट्दै तन्नेरीहरू तरुनी छेउ दाउ लगाउँदै पुगी त हाल्छन्। मन मिल्नेका जोडी भेट्छन्। इत्तरिन्छन्। माया साटासाट गर्छन्।
यस्तैमा धनीरामले मायाको चिनो भन्दै खैमटीको खास्टो खोस्छ। केटाहरू कुर्लिन थाले- ल है अब घट्टिर लागम्। दसैं पूर्णेमा भेट्ने बाचा कबुल गर्दै धनीराम खास्टो बोकेर फुङ्ङाल्दै आफ्नो घाँसभारी भएतिर दौडिन्छ। घाँस दाउरे, गोठाला गोठाल्नी सबै चिरविर, स्याँ-स्याँ र सुइँ-सुइँ गर्दै पाखापखेराबाट मुलबाटो निस्कन्छन्।
गाउँमा गल्ला आयो। लायकका लोर्के केटाहरू लुगा फुकाली छाती फुल्लाउँदै नाप्पिन पुगे। धनीराम पनि गल्लाको छनौटमा आयो। नहोस् पनि किन? लोर्के थियो। आखिर गोरखपुर कुनराघाटमा भर्ति भयो। रङ्रुट तालिम सकेर पल्टन गयो र यसपालि पहिलौ रजा छुट्टी आएको छ धनीराम। ऊ मात्रै हैन, उसका दौंतरीहरू पनि थुप्रै छुट्टीमा आएका छन्।
सबैको सल्लाह छ, यसपालि दसैं पूर्णेको राम हेर्न सँगै जाने। तरुनीहरूको बेग्लै चुरीफुरी। तिनका पनि आफ्नै खाले सल्लाह छ। यही मेसोमा धनीराम र खैमटीको भेट हुने मेसोमेलो भनम् कि इसारा भैसकेको छ। उस्तै परे जे त पर्ला भन्दै धनीराम कस्सिएको छ।
दसैं पूर्णेको दिन। तरुनीहरू सरसल्लाह गर्दैछन्। राम हेर्न जाँदा कुरुसले बुनेको झोलामा रक्सी, घिउ र बेसार राखी पकाएको चामलको खाजा, उसिनेर भुटेको अण्डा, आलुको भुजुरी। पहिरनमा मलिनाको चेड्डर, सिफनको साडी, एडीवाले जुत्ता, मखमलको चोली, घरबुनाको कन्दानी, खुट्टामा पाउजु, नाडीमा काँडे बालो र रैंया, कालो डोरीले कोरीबाटी चिरिच्याट्ट कपालमा शिरबन्दी र क्लिप, कानमा ढुङ्ग्री, नाकमा काँडे फुली र बुलाँकी, घाँटीमा जन्तर र मुगाको माला, छापे औँठी र आँखामा गाजल लाइकन चिरिच्याँट्ट। मेरा बा! उनीहरूलाई देख्दा अल्लारे उमेरका लाहुरेको दिल नपग्लने को नै पो होला र?
टाढाटाढादेखि हुलका हुल तरुन तन्नेरीहरू मादल र डम्फु बजाउँदै र गीतको भाका हाल्दै जात्रा भर्न आउँदै छन्। कोही पल्लो भन्ज्याङबाट, कोही ओल्लो कुइनेटाबाट। कोही तल्लो छेराबाट, कोही माथिल्लो थुम्काबाट। यसरी राम हेर्न आउनेको ठेलमठेल जात्रा। कोटघरमा तरबार र लौरो नाच, ओख्खई र सराँय नाँच हेर्नेको ठेलम्ठेल हुल छ।
यही हुलमा धनीरामका आँखा खैमटी खोज्दै छ भने खैमटीका गाजलु नयन धनीराम नियाल्दै छ। धनीराम आफ्नो साठेभाइसँग सल्लाह गर्दैछ। डेड वर्षअघि खोसेको खैमटीको खास्टो बुझाउने। रातभरि गीत गाउने। सँगै बस्ने र उतिबेला लाएको चोखो माया पिरिमको उकेरा लगाउँदै उस्तै परे बिहे गर्ने।
मिरमिरे बिहान भएछ। धनीराम पल्टनघरको घ्याङ्घरमा चारपाई लाएर सुतेको थियो। धनीराम निन्द्राबाट झल्यास्स बिउँझियो। यसो घडी हेर्यो, बिहानको पाँच बजेको थियो। उसले त सपना पो देखेछ।
खैमटी सम्झियो। दसैं पूर्णे सम्झियो। गाउँघरको देउदेउता सम्झिँदै आँखा चिम्लेर बर्बरायो- खैमटी, इज्जत धानेर बस। तिम्रो नासो (खास्टो) बाले ल्याएको टिनको बाकसमा लुकाएर राखेको छु। छुट्टीमा आँउदै छु। पहिलो रजामै तिमीसित नाता जोड्ने कसम खाएको छु।