भगवान साक्षी राखेर कहिल्यै कसम खाइनँ मैले। असम्भव वाचा कहिल्यै गरिनँ। कसैलाई दिग्भ्रमित पारिनँ। कोरा कल्पनालाई कहिल्यै प्रश्रय दिइनँ। प्रतिज्ञा गरेँ त केवल व्यवहारिक। प्रतिवद्धता गरेँ त केवल वस्तुपरक। जीवन काव्य हैन, पुराण होइन। भोगाइ हो भन्ने सोच राखेँ। राख्न प्रेरित गरेँ।
उनी सानै थिइन् उत्तिखेर। तथापि माया प्रेममा पर्ने कुर्कुरे बैँस भने चढेको थियो। यौवन नभएको भए उतिबेला मसँग प्रेममा पर्ने थिइनन् सायद। यद्यपि व्यवहारिक पक्षबारे बुझ्न सक्ने उमेर चाहिँ भएको थिएन।
उनमा मायाको भाव थियो तर कहानी थाहा थिएन। प्रेम गर्नुपर्छ भन्ने थाहा थियो तर प्रेमको अथाहा आकाश थाहा थिएन। विवाह भन्ने थाहा थियो तर वैवाहिक जीवनबारे धेरै ज्ञान थिएन। सारमा उनका लागि यौवन, प्रेम, विवाह र वैवाहिक जीवन फिल्मका कहानी जस्ता थिए।
यसैबीच मेरो विदेश उड्ने दिन नजिकिँदै थियो। त्यसबारे मैले उनलाई बताएको थिएँ। जति जति टाढिने दिन नजिकिँदै जान्छ, उति उति मेरो मनमा खिन्नता बढ्दै जान्छ। एकातिर एक्ली आमालाई छाड्नु पर्नेछ भने अर्कातिर केही महिनादेखि मात्रै मायाजालमा परेकी परीबाट टाढिनु पर्नेछ। मभित्र बिछोडको प्रताडन थियो नै, अझ बढी उनको भावमा झल्कन्थ्यो। व्यवहारमा देखिन्थ्यो।
टाढिने दिन आखिर आएरै छाड्यो। दूरता बढ्ने निश्चित भयो। छोटो र मिठो प्रेमालाप क्षणिक रुपमा स्थगन हुने भयो। म गाउँबाट बिदाइ हुनुपर्ने नै भयो।
मैले गाउँ छाड्ने बेलामा उनले मलिन स्वरमा प्रश्न गरेकी थिइन्, 'अब फर्केर कहिले आउछौँ? मलाई बिर्सने त हैनौ नि? विदेशको संस्कृति खुला छ। लिभिङ टुगेदर सामान्य छ रे! मायाप्रेम गर्नु, विवाह गर्नु र सम्बन्धविच्छेदका लागि आइतबार कुर्नै पर्दैन रे! त्यहाँ धेरै जना होलान् मभन्दा राम्रा। कतै उनीहरूको मायाजालमा फस्ने त हैनौ? उनीहरूलाई माया गर्ने त हैनौ?'
मैले स्वाभाविक जवाफ दिन्थेँ, 'लाटी त्यस्तो पनि सोच्ने हो! म विदेशमा पैसा कमाउन जाने हो। घरमा बुढी आमा छन्। बुबाको निधन भएको धेरै साल भयो। घरमा म मात्र श्रम गर्न सक्ने उमेरको व्यक्ति हुँ। वास्तवमा एक छाकको जोहो गर्न पनि मलाई गाह्रो छ। विदेश गएरै भए पनि त्यसको बन्दोबस्त गर्नु मेरो मूल धर्म हो।
त्यसपछि साहुकोबाट महंगो ब्याजदरमा लिएको ऋण तिर्ने अर्को दायित्व छ। जीवनका आशाहरू धेरै बाँकी छन्। थप कमाउन सके सहरमा घर, घडेरी जोडौँला भन्ने समेत सोच छ। अनि तिमी त छँदैछौ। तिम्रो भविष्य समेत गाँसिएर आएको छ अहिले। तिम्रो लागि समेत सम्झेर म विदेशमा थप काममा खट्ने छु। किसानको रगत हुँ। घास, दाउरा र खेतबारीमा मेलापात गरेर हुर्किएँ। परिश्रम मेरो जीवनको पर्याय हो। कसो नसकुँला र आर्जन गर्न?'
उनी सुन्दै थिइन्। म अझ भावनात्मक बन्दै थप्दै थिएँ।
'विदेशमा रुखमा पैसा फल्ने रहेनछ। कठोर परिश्रमबिना बाँच्न र कमाउन साह्रै गाह्रो रहेछ। त्यहाँ रहँदाका कैँयन पीडा छन् प्रिय। जन्मदाताको स्नेह त्याग्नु पर्ने एकातर्फ छँदैछ, अर्कोतर्फ तिमीबाट समेत टाढिनु परेको छ। तिमीसँग हुर्कदै गरेको प्रेमको मनोविज्ञान मर्मस्पर्शी पाटो हो। यसलाई म शब्दमा व्याख्या गर्न सक्दिनँ।
त्यसैगरी मेरा सहपाठीहरूसँगको दौँतरी पनि कम महत्वको विषय हैन। त्यो पनि त्याग्नु पर्ने हुन्छ। तिमीले मेरो ठाउँमा आफूलाई उभ्यायर एक पटक सोच त। आफ्ना सयौँ चाहनालाई तिलाञ्जली दिएर पराइ संसार पुग्नु परेको छ। यो सब सम्झँदा त बरु एक छाक खाएर यही बसौँ कि भन्ने लाग्छ। तर भावनाले जीवन चल्ने रहेनछ। भौतिकवादी संसारमा पैसा आवश्यक रहेछ।'
उनले मलाई हौसला दिँदै भनिन्, 'मैले मन चोरेको मात्र। तिमी त पूरै भावनामा पो डुब्यौ त। तिम्रा बारे मेरो मनमा केही शंका थिएन, छैन र रहने छैन। अनि म तिम्रो बारे नजान्ने पनि त छैन। तिमी को हौ? कस्तो बानी व्यहोरा छ? यसबारे तिमीलाई भन्दा बढी मलाई थाहा भइसक्यो विगत केही महिनामा। त्यसैगरी तिमी स्वेच्छाले परदेश जान लागेका पनि त हैनौ। जो तिमीले समेत भनिसक्यौ।
आफ्ना चाहनाहरूलाई दबाएर, आफ्नो युवा जोशलाई विदेशमा खर्चनु नितान्त म र हामी सबैको लागि न हो। मलाई विदेशीएकाहरूका पीडा थाहा छ। नेपालमा सिन्कोसम्म नभाँचेका कतिपय युवाहरू समेत विदेशमा १८/२० घण्टासम्म श्रम गर्दा रहेछन्। बेरोजगारीको पराकाष्ठा नै भएको देशमा जन्म लिएपछि यस्तो नियती भोग्नु पर्यो नै। तिनलाई कस्तो पीडा महसुस भए होला? तिमी त बरु केही न केही व्यवहारिक छौ। काममा पनि निपूर्ण छौँ। खट्न सक्ने बानी छ।'
'तिमीले सोह्रै आना सही भन्यौ र...' म बोल्ने कोसिस गर्दै थिएँ उनले थप भन्न थालिन्, 'वास्तवमा विदेशीनु वाद्यताको उपज हो, चाहना होइन। त्यसैले निर्धक्क भएर पसिना बगाउनू। सत्कर्म गर्नेलाई भगवान, पितृ, बाआमा र सबैको आशीर्वाद लाग्छ। असफलता भन्ने कुरा कदापि देखा पर्दैन। तिमी धेरै आयआर्जन गर्न सक्षम हुनेछौ। म सदा तिम्रो बाटो हेरेर दिन काट्ने छु।'
उनका अभिव्यक्तिले मलाई साह्रै उर्जा दियो। उमेरभन्दा पनि उनको सोच पाको रहेछ भन्ने मलाई लाग्यो। उनको प्रेरणादायी सन्देश र अगाध मायाप्रेमले अझ बढी सक्रिय रहेर सकारात्मक भावका साथ काम गर्न सक्ने भावना मभित्र विकास भयो।
'सुन्दर भविष्यको अपेक्षासहित प्रतीक्षा गर प्रिय। म आज आकाशमा जसरी हुइँकिएर जाँदैछु, त्यसरी नै फर्कने छु। पर्खाइ पट्यारलाग्दो हुनसक्छ। आँखाहरू लोलाउन सक्छन्। तथापि त्यो पर्खाइले तिमी हामीमा असाध्यै खुसी ल्याउने छ। त्यसपछिका दिनहरू अझ खुसीका साथ माया प्रेममा बित्नेछन्,' म छुट्टिने कोसिस गरेँ।
मलाई सहर जान ढिला हुँदै थियो। हिँडौंकि भन्ने सोचेँ। उनी अझैँ केही वास्तविकतातर्फ मलाई लग्ने चेष्टा गर्दै थिइन्।
'समयले कतिपयको प्रतीक्षालाई धोका दिएको छ। आकाशमा उडेका सबैजना सकुशल देश सयर हुन सकेका छैनन्। मायाका डोरीहरू अनायस चुँडाइएका छन्।'
'किन?' मैले प्रतिप्रश्न गरेँ।
'उफ्! रातो बाकस। भविष्यको सपना सजायर विदेश गएका कतिपय रातो बाकसमा फिर्ता आएका छन्। सारा सपना तासको घर झैँ क्षणभरमा चकनाचुर भएका छन्। बज्रपात परेको छ। यस्तो नपरोस कसैलाई। तथापि सत्य कहाँ छिप्छ र? रातो बाकस हाम्रो जस्तो विकासशील देशका प्रायः युवाहरूको कटु यथार्थ हो।'
'हो, तिमीले सही भन्यौ। रातो बाकसले पार्ने वास्तविक मानसिक पीडाको अनुभूति गर्न या त आफू विदेशीनु पर्छ या आफ्नो प्रियपात्र विदेशीएको हुनुपर्छ। परिवार त्यागेर विदेशीनेलाई मात्र वास्तविक पीडा महसुस हुन्छ न कि रातो बाकसको गणना गर्ने दूतावास र हाम्रा सरकारहरूका लागि,' मैले बिट मार्ने कोसिस गरेँ।
तर उनी रोकिइनन्।
'दैनीक औषत दुई वटा राता बाकसहरू नेपाल भित्रन्छन्। अन्य कैँयन् गैरकानुनी रुपमा बसेकाहरूको यसमा रेकर्ड हुँदैन। रोजगारी अभावकै कारण दिनहुँ लगभग दुई हजार नेपालीहरू विदेश हानिनु परेको छ। हरे भगवान्! कहिले होला यी आकाशबाट विदेश लाग्ने र बाकसमा फर्कने क्रमको अन्त्य?,' उनी भावुक बनिन्।
मलाई सहर जान ढिला हुँदै थियो। गाउँबाट तल राजमार्गसम्म कच्ची बाटो छ। सामान्य अवस्थामा पनि यातायातका साधन गुड्न कठिन हुन्छ। यात्रा जोखिमपूर्ण हुन्छ। त्यसमाथि यो वर्षायाम। राजमार्गसम्म पुग्ने सडक धेरैजसो समय सडक भत्कने गर्छ। पहाडि बाटो त्यसै त कठीन, झन् पानी परेपछि त थप कठिन बन्दछ। ज्यान कै बाजी राखेर यात्रा तय गर्न बाध्य छौँ हामीहरू। वर्षायामका धेरैजसो पैदलै हिँड्न पर्ने हुन्छ। यो हाम्रो मात्र नभएर आम नेपालीको नियति हो।
मलाई समय अभाव थियो। बाटो छिचोल्नका लागि तुरुन्त हिँडिहाल्नु पर्ने भयो। म भने उनीसँग गफिन खुब तम्सेको थिएँ।
'हेर प्रिय, मेरो भौतिक शरीर विदेशमा भए पनि मन सधैँ मेरो देश, मेरी आमा, तिमी, परिवार, र सबै नेपालीसँगै रहनेछ। गाउँघर, भिरपाखा, खेतबारी, भन्ज्याङ, डाँडाकाँडा, चोकचौतारी, हरियो वन, नदीनाला आदिको सम्झना मेरो मानसपटलमा सदा रहिरहने छ।
कसैको तागतले पनि तिम्रा यादहरू विस्मृतिमा धकेल्न सक्ने छैनन्। हाम्रो प्रेम जुगादी रहने छ। बस्, मेरो बाटो रुङ्नु। तिमी मेरो प्रतीक्षामा रहनु।'
मैले झोला काँधमा भिर्दै बिदाइका हात हल्लाएँ। उनले पनि बिदाइ गरिन्।