लस्कर लागेको छ मगन्तेको
कोही होचा, कोही अग्ला
कोही चिल्ला, कोही ध्वाँसे
दिनरात मागिरहेका छन्
जीवन बनाउनका लागि
विकास पुर्याउनका लागि
दुखीको घाउमा मलम लगाउन
सुखीको भागमा समृद्धि थप्न
कोही हात जोडेका
कोही मस्तक झुकाएका
कोही लम्साल
कोही धनुष्टंकार
दिनेहरूले माग्नेलाई
पशुपतिका भिकारीको दर्जा दिएका छन्
माग्नेले दिनेलाई कालिदासको संज्ञा
दिनेहरू
कसैले टाउको फर्काउँछन्
कसैले आँखा तन्काउन्छन्
माग्नेहरू
कोही प्रफुल्ल
कोही रुन्चे स्वरमा
थापिरहेछन् हात
माग्नलाई नै जन्मेका जस्ता
यहाँ
दशकौंदेखि
माग्नेले माग्न छोडेका छैनन्
दिनेले दिन छोडेका छैनन्
न त दिनेको हात रित्तिएको छ
न त माग्नेको पोल्टो भरिएको
रित्तिएको छ त विकास
खोक्रो भएको छ समृद्धिको नारा
निराश भएको छ सुशासन
स्तब्ध छ त समाजवाद
कारुणिक बनेको छ समानता
माग्नेहरूको पनि माग्ने कला फरक-फरक छ
एक माग्ने कराउँछ
म सडक बनाउँछु
अर्को माग्ने कराउँछ पुल हाल्छौँ
तेस्रो उफरिन्छ अस्पतालका लागि
अर्को भन्छ दीनदुखीका लागि
कोही भन्छन् सशक्तीकरणका लागि
कोही भन्छ समानता
कोही कल्याण
कोही समाजवाद
मगन्ते शैलीको यो मगाइ
कर्मकाण्ड जस्तो स्थायी छ
न त माग्नेले वाचा पुर्याउँछ
न त दिनेले होस
परम्परागत रुपमा चलेको
यो माग्ने र दिनेको खेल कर्मकाण्डी भएको छ
यहाँ
दिनेहरूको विश्वासको धज्जी उडाइन्छ
सपनाहरू चकनाचुर
स्वतन्त्रताको खिल्ली उडाइन्छ
प्रजातन्त्रको उपहास
कल्याणको परिभाषा बदलिन्छ
सुशासनको स्वरुप
माग्नेहरूले निम्छरो बनाएका छन् राजनीति
गुमाएका छन् स्वाभिमान
बर्बाद बनाएका छन् समय
अनि ध्वस्त पारेका छन् भविष्य
तर पनि
दिने र माग्नेको क्रमभंगता भएको छैन
माग्ने केका लागि मागिरहेका छन् थाहा छैन
दिने केका लागि दिँदैछन् हिसाब छैन
यहाँ न त माग्ने जितेको छ
न त दिने
विलखबन्दमा परेको यो घडीमा
सभ्य समाज खोज्दैछ
यो मगन्ते प्रवृतिको अन्त्य
इज्जतदार राजनीति
अनि युग सुहाउँदो शासन व्यवस्था।