'साइन्स पढेर पनि यस्ता कुरा गर्नी?'
साह्रै चित्त नबुझ्दो कुरा प्रियाले उसलाई भनेकी थिई। दसैँकै दिन राति १२ बजे प्रियालाई उसैदिन परेको उसको जन्मदिनको शुभेच्छा प्रकट गरेपछि उसको मनमा यी कुरा खेलेको रहेछ।
लगातार पानीले दसैँमा मावल जान नपाएपछि छाता ओडेर साँझमा ऊ र पङ्तिकार गाउँका पाखापखेरा घुमिरहँदा पङ्तिकारलाई उसले आफ्नो काहानी सुनाउँदै छ।
ऊ आफ्नो वेगले आफ्ना भावना भनिरहेको छ। हामीले कसैलाई आफ्नो सम्मान गर्न बलजफ्ती गर्न मिल्दैन तर हामी आफै अपमानित हुन अस्वीकार गर्न भने सक्छौँ। ऊ अझै सम्झिन्छ प्रियालाई।
उसले यसैगरी पोहोर साल जन्मदिनको शुभेच्छा प्रकट गर्दा उनले उसलाई चिनिनन् वा नचिने जसरी अभिनय गरिन्। त्यस दिन ऊ छाँगाबाट बेस्सरी बलेनीको ढुङ्गामा खसे जसरी बजारिएको थियो।
लागेको पनि हो उसलाई अब प्रियालाई सम्झिन्नँ। अर्को एक वर्ष पनि बितेछ तर उसलाई ऊ प्रतिको सम्झनामा कत्ति पनि कमी भएन। हुनसक्छ बढी भयो।
लाग्दैन थियो फेसबुकको चिनजान पनि यति गाढा होला। यति झाङ्गिएला। यति बल्झिएला। यति बटारिएला। यति निचोरिएला। यति पिल्सिएला। यति थिचिएला। धेरैपछि बल्ल पो उसले चाल पायो ऊ मात्रै त रैनछ उसको जिन्दगीमा। तर विगतको कुरामा अल्झिन हुन्न भन्ने कुरामा सचेत थियो।
छाताको बिँड समात्दै ऊ भन्थ्यो- 'म सानो चित्त भएको मानिस आफूलाई सम्झिन्नँ।'
ऊ ठान्थ्यो जीवन बुझ्न पछाडि फर्किनुपर्छ तर जीवन बाँच्न वर्तमानमा जिउनुपर्छ। स्वभावले आफू पनि सहजै माफी माग्ने भएर होला कोही जोसुकैले सत्यमा टेकेर गरेको आत्मालोचनाले उसलाई सहजै पगाल्न सक्छ। तर क्षमाको मनसाय भने हुनुपर्छ।
खासमा मनसाय समेत नभएर कथाको सुरुआतमा लेखिएको वाक्य 'साइन्स पढेर पनि यस्ता कुरा गर्नी?' सुनेपछि उसको मन अमिलो भएको रहेछ। हरेक मानिसको आदर्श आफ्नै किसिमको हुन्छ। जीवन आफ्नै किसिमका अनुभवको पत्रपत्रले बनेको हुन्छ।
न प्रत्यक्ष देखेको, न साथीसंगत गरेको, न भेटेको, न किशोरावस्था, न हाँसीमजाक र यौवनको आकर्षण वा अन्य कुनै चिनजानको माध्यम र स्वार्थ तर पनि गडेर झाङ्गिएको सम्बन्ध रैछ। पटकपटक कैयौँपटक सपनामा देखेको आकृति नै उसले प्रियालाई देखेको मुहार हो, जुन वास्तव मै अमूर्त छ। अपरम्पार छ। दिगो छ। पूर्वीय साहित्यको कालीगण्डकीका बग्ने जल जस्तै निश्चल छ। पवित्र छ। बेमिसाल छ।
त्यसैले त राम्रो सपना देख्दा उत्साहित हुने ऊ खराब सपना देख्ने वित्तिकै उसकै खातिर प्रार्थना गर्छ। किनकी ऊ सम्झन्थ्यो प्रिया उसको सबैभन्दा प्रिय थिई। उनले दुःख व्यहोर्नु पर्यो भने? फेरि ताईमा गजा पकाउँदा तेलमा हात चोबियो भने? चलचित्रको सामान्य भावनात्मक दृश्यले रुवाउने उसलाई, उनलाई नै पीडा भयो भने त?
गाउँका कुनै कुनाकाप्चा होस् वा सहरका गगनचुम्बी छतबाट तल हेर्दा, ऊ उनीलाई नै सम्झन्छ। माले गोरुले मेलो मिच्दा होस्, कुनै नयाँ ठाँउमा घुमिरहँदा होस् वा कुनै सुविधा सम्पन्न सेमिनार हलमा गम्भीर राजनीतिक विमर्श चल्दा ऊ उनलाई समीपमा राखेर सिकाएको सिकेको दिवा सपना देख्छ।
विश्वेश्वर प्रसादको 'बुबा, आमा र छोरा' पढ्दा होस् वा सुबिन भट्टराईको ‘इजारिया’ पढ्दा, ऊ उनीलाई नै हरेक पटक चाख मानेर सम्झिन्छ। धेरै पटक कल्पनामै उनीसँग धेरै ठाँउ पुगिसकेको छ। धेरै पटक उसकै निम्ति स्ट्याटस र क्याप्सन कोरेको छ।
अहिलेको पुस्ताको प्रेममा धेरै कुरा सिक्नुपर्छ। जो किशोरावस्थामा प्रेमलाई पाप सम्झ्यो। उसले पछि २५ पुग्न आँटेपछि बुझ्दैन। सानातिना तर जसकै प्रभावमा एकअर्का प्रतिको लगाव देखाउँछ, ती कुराहरू प्रेममा अनुभवीको तुलानामा नवप्रवेशीहरूले छुटाउँछ।
सानैदेखि दायाँबायाँ गर्नुहुन्न, नितान्त पढ्नुपर्छ, कूल परम्पराअनुसार चल्नुपर्छ, बाबुआमाको अगाडि ढाँट्नु हुन्न वा बुबाआमाको अगाडि लुकाउनु पर्ने कार्य गर्नुहुन्न भन्ने पाठ्यक्रमले प्रशिक्षित व्यक्तिले यी कुरा सिकेको हुन्। फलस्वरुप एकपटक अनुभवीले प्राप्त तहको माया र सद्भावको अपेक्षा पूरा गर्न सकिँदैन।
पानीको बाछिटालाई छाताले रोक्न धौँधौँ हुँदा ऊ बहकिँदै आफ्ना शब्दहरू थप्छ। सबै ठिकठाक चलिरहेको सम्बन्ध यति सजिलै भताभुङ्ग भयो कि पूर्णतः चलचित्र जसरी। अङ्ग्रेजी पढ्न नरुचाउने उसलाई उसकै खातिर ४५ पन्नाको दस्तावेज पढेको याद छ।
उसकै लागि मध्यरातसम्म उसकै रिपोर्ट बनाउन आफ्नो अफिसको सारा काम लथालिङ्ग छोडेको याद छ। सारा काम छोडेर नितान्त उसको काम गर्नुमा उसलाई आनन्द लाग्यो।
प्रेम सम्बन्ध पनि एउटा लत रैछ। ऊ भन्छ जो सम्बन्ध परिवर्तन गरिरहन्छ, उसलाई भावनाको प्रवाह हुँदैन। तर जो विपरीत लिङ्गीसँग नजिकिन खोज्दैन, नखोज्नुलाई आफ्नो आदर्श मान्छ, त्यसलाई सम्बन्ध गाँसिसकेपछि छुट्दा पोल्दो रैछ। किनकी उसको त्यो पहिलो अनुभव हो।
उनको लागि पो ऊ बटुवा रैछ। केही दिन आएको पाहुना रैछ। उनको लागि पो ऊ सँगको सम्बन्ध थुप्रै सम्बन्ध मध्यको एउटा अणु हो। उसले त उनलाई जिन्दगी सम्झ्यो। पारिवारिकदेखि सामाजिक बन्धन सम्झ्यो। सारा गुण र अवगुण खुलायो। तर उनको निम्ती त ऊ फगत् बटुवा पो रैछ।
उसले पो मनले नखटाएर फेसबुक र टिकटक आइडीमा विचरण गरिरहन्छ। जाडोले कठ्याङ्ग्रेको खुट्टामा ठेस लागेजस्तो हुँदा पनि घण्टौँ रिप्लाई कुरिरहन्छ। हुन त ती आइडीहरू हटाउन वा ब्लक नगरेको वा गर्न नअह्राएको हैन तर पनि खुट्टामा ठेस लगाइरहन ऊ आनन्द मानिरहन्छ।
उसको निम्ति सम्बन्ध गाँस्न खोज्नेहरू यत्रतत्र भेटिन्छन्। तर ऊ भन्छ पहिलो प्रेमको सम्झना नै गज्जब हुँदो रहेछ। गज्जब यो अर्थमा कि नौलोपनमा, रिसमा, बच्चापनमा, कच्चापनमा वा सोझोपनमा। संसारका हरेक कुरा जानेको जसरी आडम्बर पाल्ने उसले ऊसँग कत्ति पनि नजान्ने जसरी केटाकेटीपनमा जिस्किन। केवल निःस्वार्थ प्रेम थियो।
न कुनै चिजमा बढाइचढाइ गर्यो। बरु कत्ति पनि नजाने जसरी प्रत्येक कुरामा सानो, अबुझ र अज्ञानी बनेको अभिनय गर्थ्यो। ऊ अहिले सम्झन्छ उसले जाने जति, पाठ्यक्रम बुझ्नेभन्दा केवल न्यूनतम मात्र अन्वेषण गर्यो।
उसलाई थाहा छ, संसारमा विकल्पहीन कोही हुन्न। सबैको विकल्प हुन्छ। आत्मीय लागेर हो ढिपी गर्ने, अरुभन्दा उत्कृष्ट सम्झेर हैन। सबै चिज चाहेजस्तो हुन्न, धेरै कुरामा सम्झौता गर्नुपर्छ। कसैको मुहार राम्रो होला, कसैको पढाइ, कसैको घरपरिवार। तर कसैलाई पाउन खोज्दा आफू खिइनु दुःखद् हो। कसैको जीवनको आफू बटुवा हुनु दुःखद् हो।
सम्बन्ध निभाउन नजान्नुले पीडा दिने रहेछ। एकआपसको आदर नै सम्बन्धको कडी हुनुपर्ने हो। तर एकतर्फी सम्मानले आफूलाई पोल्दोरहेछ। कास मन पनि यन्त्र हुँदो हो त नपोल्दो हो। मान, अपमान, सम्मान, आत्मसम्मानको कुरा नआउँदो हो। बारबार सम्बन्ध गाँस्नेलाई यी चिजले छुन्न, छुँदो रहेनछ। तर अर्कोलाई काम पर्दा मात्र बोल्नुपर्ने तर आफूलाई नपर्दा समेत बोल्नुपर्ने हुँदा साक्षात्कारमा कमी हुँदो रहेछ। असमझदारी जायज हो तर अपमान हैन।
कुरा गर्दै जाँदा साँझ पर्न थालेपछि मैले उसलाई झकझकाएँ। तब ऊ अन्तिममा जोड्यो कि मुटु साह्रै दुखेको छ। भित्रपट्टि कहाँ हो कहाँ! अजीवको दुखाइ। कतिन्जेल दुख्ने हो ठेगान छैन। कास हट्यो भने ऊ पनि खुसी हुन्थ्यो।
पोहोर साल पूरा बोर्डको जाँच नै बिग्रेको थियो, उसकै यादले। पढेको सम्झिनै नसकेर। निसास्सिएर। एक्लिएर। कसैलाई भन्न नसकेर। शरीर सिथिल भएर। अनयासै आँखा रसाएर। हरेक पल पलमा उसकै आकृतिले सताएर।
अनि उसले मतलब नगरेपछि त्यतिबेला बल्ल पो थाहा भयो प्रेम त यस्तो कठोर पो हुँदो रहेछ। यति अजीव। यति कठिन। यति पीडादायी। यति निष्ठुर।
तर अब उसको चाहना भनेको यहीँ काहानी अरुलाई सुनाउन नपरोस् भन्ने हो। मूर्त/अमूर्त, भौतिक/अभौतिक, दृश्य/अदृश्य, चल/अचल वा जस्तोसुकै वौद्धिक पुँजी किन नहोस्? सबैभन्दा बलवान् नैतिक पुँजी नै हो। जुन चिजमा सम्झौता गर्न नपरोस्।
आफू आफ्नै किसिमको आदर्शमा बाँच्न पाइयोस्। उनको भलो होस्। सहयोग गरिरहन पाउँ। जिस्किरहन पाउँ। निःस्वार्थ प्रार्थना गरिरहन पाउँ। म मुस्कुराउँदै आफ्नो घरतिर लागेँ, ऊ आफ्नै घर।