चाँदनीले यसैपालि स्नातक पास गरी। हुनेखानेका छोरीहरू एसएलसी दिने बित्तिकै सहर छिर्छन्। चाँदनी गाउँकै पहिलो केटी जसले गाउँमै स्नातकसम्म पढी। थोरै पाखो बारी, अलिकति टारी खेत अनि एक माउ भैंसी र दुई वटा बाख्रा, चाँदनीका बा-आमाको दुनियाँ यही नै हो।
छोरो पाउने चाहनाले पाँच वटी छोरी पाइन् चाँदनीकी आमाले। छैटौं छोरा भयो। भाइ भर्खरै ५ कक्षा पढ्छ। दिदीहरू कसैले स्कुलको मुखै देखेनन् त कसैले ५/७ पढ्दा पढ्दै बिहे गर्नुपर्यो।
अचेल चाँदनीलाई सबैले चाँदनी मिस भन्छन्। कारण चाँदनीले स्नातक पास गरेपछि आफै पढेको स्कुलमा पढाउने जागिर पाएकी छिन्।
आमालाई बाथको रोग छ, बालाई धम्की। त्यति धेरै काम गर्न सक्दैनन्। त्यसैले भ्याएसम्म घरको सबै काम चाँदनी आफै गर्छे। अचेल स्कुलबाट फर्किदा होस् या बारीबाट, चाँदनीको घरको पिँडीमा कोही न कोही नौला मान्छे बसेकै हुन्छन्।
उनीहरू चाँदनीलाई बिहेको कुरो लिएर आउँदा रहेछन्। अनि सबैलाई चाँदनीका बाले 'छोरीले अहिले कुरो पर्नै दिएकी छैन' भन्दै पठाउने रैछन्।
एक दिन एक ठाउँबाट आएको कुरो चाँदनीका बालाई नि चित्त बुझेछ। फेरि कुरो ल्याउनी मान्छे पनि नजिकैका रैछन्, कुरो काट्न पनि सकेनन्। बेलुकाको खानापछि चाँदनी चुलो लोटाउँदै थिई। बाले कुरो कोट्याए। 'स्वाँ-स्वाँ पनि कति बढेको, कान्छीको बिहे नखाई मर्छु क्यारे।
चाँदनीले पुलुक्क बा तिर हेरी अनि केही बोलिन।
बाले भने, 'हेर छोरी, राम्रो ठाउँबाट कुरो आएको छ बिहे गर।'
चाँदनीले ठाडो इन्कार गरी, 'बा! मलाई बिहे गर नभन्नुस्। भाइ सानै छ। कम्तीमा भाइले १० कक्षा त पढोस्। तपाईं दुवै जना बिरामी, कसले गर्छ यो घरको काम म बिहे गरेर गएँ भने?'
'त्यसो भनेर कहाँ हुन्छ छोरी? तेरो बिहे गर्ने उमेर घर्किसक्यो। उमेर भएकी छोरीलाई घरमै राखेर छोरीको कमाइ खाए भनेर गाउँले कुरा काट्छ्न। अर्काको घर जानी जात बा, हेर सधैँ माइतीमा बसेर चल्नी होइन, एकदिन जानैपर्छ। जान्न नभन्' भनी लामो सास फेरिन् चाँदनीकी आमाले।
'नराम्रो ठाउँ छैन। केटो अधिकृत छ रे गाउँपालिकामा। बाबु चाहिँ हेडमास्टर छन् रे गाउँकै स्कुलमा। तँलाई नि त्यही स्कुलमा जागिर मिलाइदिन्छौ भनेका छन् रे, हेर छोरी नाई नभन,' बाले थपे।
चाँदनी केही नबोली सुत्न आफ्नो कोठामा गई। ऊ निदाउन सकिन। मनमा अनेक तर्कनाहरू खेल्न थाले। बा आमाले दिदीहरू सबैलाई भन्न लगाएछन्। चाँदनीको मोबाइलको घण्टी बज्न थाल्यो। दिदीहरूले पालैपालो त्यही केटासँग बिहे गर भनी सम्झाउन खोजे।
धेरै कुरा खेल्यो उसका मनमा। अन्ततः ऊ बिहे गर्ने निर्णयमा पुगी। बिहानै बाले 'के सोचिस् छोरी?' भनेर सोध्दा घोसेमुन्टो लगाएर 'म एकचोटी त्यो केटासँग कुरा गर्छु' भनी।
'लौ भलो सोचिछस्' भने बाले।
लमीमार्फत केटाको घरमा कुरो पुग्यो। बेलुका स्कुलबाट फर्किदै गर्दा चाँदनीलाई फोन आयो। त्यही केटो रहेछ, निकै बेर कुरा भयो। कुरा सुन्दा केटो भद्र, सोझो छ जस्तो लाग्यो चाँदनीलाई। कुरो केटाकेटी भेट्नेसम्म पुग्यो।
भेटघाट भयो, मन परापर पनि भयो। छोरी राम्रो घरमा पर्ने भई भनेर बाआमा खुसी भएको देख्दा चाँदनी अचम्ममा परी। उसले केही सोच्नै सकिन, केबल म गएपछि बाआमा र भाइलाई निकै दुःख हुन्छ भन्ने बाहेक।
'घरपट्टि एउटा छोरो मात्र अरे, त्यहीमाथि त्यत्रो पढेका इज्जतदार मान्छे। हामीसँग सम्बन्ध जोड्न आइरहेको छन्। सानो सुट्टुक बिहे गरुँ कसरी भन्नू? अरुका अगाडि अलिअलि सामान पनि त दिनै पर्यो।'
यस्ता कुरा बाआमाले गरेको सुनेर चाँदनी भन्छे, 'त्यस्तो होइन बा, हामी दाइजो नि दिन सक्दैनौँ, धुमधामले बिहे गर्न नि सक्दैनौं। मैले केटालाई भनिसक्या छु। उसले घरमा कुरा मिलाउँछु भनेको छ।'
'त्यस्तो भनेर किन हुन्थ्यो? उनीहरूको इज्जतको पनि त ख्याल गर्नु पर्यो नि। फेरि तँलाई नै नराम्रो हुन्छ। हेप्छ्न् भोलि माग्नेका सन्तान भनेर। ऋण नै लागेर तिर्न सकिनँ भने अलिकति खेत बेचिदिन्छु बरु तर बिहे धुमधामले गर्नी हो,' बाले अड्डी कसे।
बाले भनेजस्तै बिहे अगावै दाइजो पनि पुर्याइयो। बिहे पनि धुमधामले भयो। उता घरमा बुहारी आएर घर उज्यालो भयो भने माइतीको दियो निभेको जस्तो भयो। चाँदनीलाई घर नजिकैको स्कुलमा जागिर पनि खुवाइयो। सासू ससुराले पनि चौपट्टै माया गर्छन्, श्रीमानको त झन् कुरै नगरुँ धेरै ख्याल राख्छन् चाँदनीको।
घरमा सबै कुरा भएर पनि चाँदनीको मन खुसी छैन। चाँदनीको अनुहार अँध्यारो हुँदै जान थालेपछि उनका श्रीमानले सोधे, 'तिमीलाई केही समस्या छ भने मसँग भन।'
केही दिन त चाँदनीले लुकाउने कोसिस गरी। तर केही नलागेपछि श्रीमानसँग रुँदै भन्न लागी, 'मेरा बाआमालाई धेरै दुःख छ। मैले बिहेमा धेरै ऋण लगाएर आएँ। भाइ पढाउने खर्च पनि छैन बाआमासँग। छोरी भएर जन्मिनु निकै कठिन रैछ।'
उसका कुरा सुनेर श्रीमान दंग परे।
'मनमा यतिका कुरा लुकाएर बस्छन् त लाटी? तिमिले मलाई पहिले नै भन्नुपर्थ्यो नि यो कुरा। बुबालाई कुरा गर कति छ ऋण, हामी मिलेर तिरौँ। घरखर्च, भाइ पढाउने खर्चको लागि तिमी आफ्नो तलब पठाउने गर।'
श्रीमानको यस्तो कुरा सुनेर चाँदनीलाई सात सूर्य एकैचोटि उदय भए जस्तो भयो। अन्ततः घरमा सबैको सहमती भयो कि बुहारीको तलब उसको भाइले नकमाउन्जेल माइत नै पठाउने।
सुरुमा त चाँदनीका बाले मानेनन्, छोरीको खानु हुँदैन पाप लाग्छ भनेर। पछि छोरी ज्वाइँ मिलेर सम्झाएपछि बुढा ठेगानमा आए।
भनिन्छ भर्खरै विवाह गरेर आएकी केटीलाई आफ्नो श्रीमानसँग मात्रै सरोकार हुन्छ। घर परिवरसँग खासै लागाव हुँदैन। तर चाँदनीको अनुभव बिल्कुल फरक छ। ऊ सासुलाई हेर्छे, जन्म दिने आमाको रुप देख्छे। ससुरालाई हेर्छे अनि बाको रुप देख्छे।
सबैको भाग्य चाँदनीको जस्तो त पक्कै हुन सक्दैन। तर सबैको सोच चाँदनीको श्रीमानको परिवार जस्तै भए कति सुन्दर जीवन हुन्थ्यो। यसले छोराछोरी बीचको विभेद नि अन्त्य गर्दो हो अनि छोरी मात्रै हुने आमाबाबुलाई शान्तिको आभाष दिलाउँदो हो।