म हरिहर गुरूङ, पेसा पेरामिल्ट्रीको जवान।
यो पेसामा बन्दुकको नाल समातेर खटेको पनि झन्डै सात वसन्त बितेर गयो।
म, आज बन्दुकको नाल समात्ने हातले कलम समातेर मेरै एउटा कथा लेख्न जाँदैछु।
घरदेखि टाढा भएपछि ड्युटी भएको ठाउँमा अलिकति फरक अनुभव आउँदा आफ्ना लागि सधैं नभुल्ने क्षण बनिदिन्छ।
आफ्नो पेसामा सबैलाई ‘जवान’को शब्दले सम्बोधन गरिन्छ। आफू हेर्दा झन् जवान, भर्खरै भर्ती भएकोे ठिटो-केटाजस्तो। यसै पनि पहाडीका चालिस वर्षसम्म ठिटा-केटा जस्ता देखिन्छन्।
मध्यप्रदेशको टुन्डला भन्ने ठाउँमा तीन वर्षसम्म चालिस डिग्री तापमानको गर्मी खाएपछि कम्पनीले राजस्थानको झुन्झुनुमा सरूवा गराइदियो।
होम पोस्टिङ आउँछ भनी मुख आँ पारेर बसेको थिएँ तर कम्पनीले घरबाट ठ्याक्कै तीन हजार किलोमिटरकोे दूरीमा रेगिस्तानको छेउमा हुइँक्याइदियो। नाइँ भन्न मिलेन, ड्युटी हो गर्नैपर्यो, पेट पाल्नै पर्यो।
झुन्झुनु, पावर प्लान्टमा ड्युटी गर्न पुगेँ। विरक्त लाग्ने ठाउँ छ होला भनी सोचेको थिएँ तर जति सोचेको थिएँ त्यति उराठलाग्दो ठाउँ रहेन।
पावर प्लान्टदेखि दुई किलोमिटर टाढा कम्पनीका कर्मचारी र पेरामिल्ट्रीका जवान बस्ने बस्ती र सपिङ मल रहेछन्। पुग्नेबितिक्कै पावर प्लान्टको अगाडि उभिएर सेल्फी हानेँ।
फेसबुक र इन्स्टाग्राममा ‘एट न्यु पोस्टिङ प्लेस’ भनेर स्टाटस अपलोड गरिदिएँ।
यसै पनि फौजीको पहिरनमा सामाजिक सञ्जालतिर फोटो या भिडिओ हाल्यो भने सहानुभूतिका लागि हो या फौजीको सम्मानमा हो लाइक र कमेन्ट दह्रो ओइरिन्छन्। नभन्दै दस मिनटमा सय लाइक र बीस कमेन्ट आइदिए।
मुटु खुसीले फुरूक्क भइदियो। फेरि सेल्फी-भिडिओ मोडमा 360 डिग्री घुम्दै दस सेकेन्डको रिल बनाएर अपलोड गरेँ। गाना राखिदिएँ- ‘घर से निकलते ही कुच दूर चलते ही...’।
यति गरेर झ्याप्प मोबाइल बन्द गरेँ अनि कमान्डेन्डको कार्यालयमा गएर रिपोर्ट गरेँ।
सरले रोजनाम्चामा हस्ताक्षर गराएर भन्यो- ‘हरिहर, भोलि पावर प्लान्टको मेडिकल सेन्टरमा गएर आफ्नो पर्सनल हेल्थ डिटेल्स दिनू।’
भुइँ हल्लिने गरी सेल्युट हानेर ‘यस् सर!।’ भनिदिएँ।
***
भोलिपल्ट बिहानीको खाजालाई यथास्थान थन्काइएपछि मेडिकल सेन्टर जान तातिएँ।
मसँग अरू तीन जना जवानको पनि सरूवा भएको थियो। सँगै लागियो मेडिकल सेन्टर।
तीन जवानका नाम थिए- आरभ, जितेन्द्र अनि ललित। तीनै जना उत्तर प्रदेशका थिए।
मेडिकल सेन्टरतिर त लाग्यो तर जाने बाटो पहिल्याउन सकिएन। मुख्य द्वारलाई खोज्दै गएका मेडिकल सेन्टरको पछाडिपट्टितिर लागिएछ। झ्यालबाट कसैले हामीलाई चिहाएर हेरेको भान भयो। हामी गलत बाटोबाट आएको हुनाले उसले चिहाएको हुनुपर्छ।
नर्स स्टेसनको दैलो बाहिर पुग्यौँ। एन-90 मास्कले आधी अनुहार छोपेकी नर्स बाहिर आई।
‘कसरी आउनु भयो?’ उसको पहिलो प्रश्न हामी तीन जवानलाई।
‘हेल्थ डिटेल्स दिन आएका हामी।’ आरभले उत्तर फर्कायो।
‘हेल्थ डिटेल्स दिनलाई भोलि आउनु होला। आज अर्कै व्यस्तता छ।’
वाक्य पूरा नभई उसले मास्क खोली। अरू तीन भाइले नर्सलाई निनिर्मेष हेरे या हेरेनन् थाहा पाइनँ तर मेरो नजर चुम्बकले तानेझैं ऊतिर तानियो। गहुँ रङकी, आँखामा काजल लगाएकी, भित्री आँखा मानौं सेतो आकाशमा कालो रङको सूर्य मध्य दिनमा टल्केको हो, कपाल पछाडिपट्टि गुजुल्टो पारेकी, गुजुल्टोको मोटाइको आधारमा केश कम्बरसम्म पुग्ने लम्बाईको अड्कल काटेँ, रातो लिपिस्टिकले ओठ आकर्षित लागेका।
म उसको आकर्षणको पासामा यसरी फसें जसरी वनमा जनावर पासामा फस्छन्।
आरभले ‘हुन्छ’ भनेपछि हामी घुर्न लाग्यौँ।
हिँड्नुअघि नर्सले कटाक्ष गर्दै भनी- ‘सेन्टर आउने बाटो पछाडिपट्टिबाट हैन, ऊः त्यतातिरबाट हो।’ उसले हातको इसाराले पनि बाटो देखाइदिई।
हामी केही नबोली मुसुमुसु हाँस्दै पाइला अघि सार्यौं।
नर्स ओझेल भएपछि हाम्रो गफ सुरू भयो।
‘कत्ति राम्री रहिछे यार नर्स!’ आरभले प्रशंसाको पुल बाँध्यो।
‘त्यही त यार! दामी रहिछे!’ लेग्रो तानेर जितेन्द्रले भन्यो।
मैले केही भन्ने मन्सा राखिनँ।
ललितले थप्यो- ‘हामीमध्ये कस्ले नर्सलाई पट्याउन सक्छ होला, केटा‘हो?’
जितेन्द्र उत्तर दिन्छ- ‘खोई! हामीसँग त मान्छे जस्तो लागेन यार।’
आरभले मतिर हेर्दै भन्यो-‘गुरूङ! हामीबीच हेन्डसम भनेको तँ नै होस्। नर्सलाई सक्छस् पट्याउन?’
नर्सलाई देख्नसाथ मोहित भएको हुनाले यो जिम्मा साथीहरूले लगाएपछि असप्रसन्न हुने त विषय नै थिएन।
‘हुन्छ। म पट्याउँछु।’ भन्दै लामो ठहका मारेर हाँसेँ।
साथीले मलाई दिएको चुनौती, एउटा विषय थियो तर चुनौती नदिएको भए पनि म नर्सको सुन्दरतामा मोहित भइसकेको थिएँ।
साथीबाट नर्सलाई प्रेमिका बनाउने चुनौती पाएँ तर फौजी क्याम्पसभित्र रहेर केटी पट्याउनु अनुशासनको सीमा-रेखा लत्याउनुु थियो।
वरिष्ठ अधिकारीले थाहा पाउँदा कडा सजाय पाउने सम्भावना थियो। अरिङ्गालको चाकमा हात हाल्नु समान खतरा थियो नर्सलाई पट्याउन। जवान भएर चुनौती स्वीकार्नु धर्म पर्न गयो अनि प्रेम गर्न चुनौतीमै आनन्द लाग्छ। उसलाई पट्याउने मनमा योजना बुन्न लागेँ तर सम्भावनाका गोरेटा सिकुडिएका मात्रै थिए जहाँबाट लक्ष्यको टाकुरो देखिएको थिएन।
भोलिपल्ट नर्सले बोलाएअनुसार नौ बजे मेडिकल सेन्टरतिर चार जवान लाग्यौं।
मनमा चाहना पालिरहें- हिजोकै नर्स आज पनि फेला परोस्! साथीहरूले पनि त्यही नर्स होस् भनी आपसमा कुरा काट्न लागे। यी नै गन्थनमा मेडिकल सेन्टर पुग्यौँ। नर्स स्टेसनको दैलोलाई ललितले ढक्ढक्यायो। भित्रबाट नर्स दैलाको छेउ आई।
‘थुक्क गाँठे! अर्कै नर्स रहिछे।’ मेरो दिमागमा चलिरहेको चेतनाले यही वाक्य भन्यो। अर्कै नर्स रहिछे भनी हेल्थ डिटेल्स दिन्नँ भन्न नपाइने। नर्सले भने जति जानकारी दिएर आयौँ।
अब मेडिकल सेन्टर जाने निहुँ सकियो। ऊप्रति मनमा उम्रिएको आकर्षण एवम् सामिप्य जाने इच्छा भने जागृत स्थितिमा थिए। एक हप्ता बित्यो तर उसँग भेट्ने निहुँ भेटिनँ। ड्युटीबाट आउँदा-जाँदा मेडिकल सेन्टरतिर हेर्थें, कहिलेकाहीँ नर्स देखा पर्दा मन त्यसै खुसीले आनन्दित हुन्थ्यो। कत्तिचोटि मलाई आभास लाग्थ्यो उसले पनि मलाई खोजिरहेकी होली। तर यो मेरो भ्रम पनि हुन सक्थ्यो।
***
एक हप्तापछि मेरो काखीमा पिलो निस्कियो। पिलो सुन्निएर हात सिधा गर्नै मिलेन।
पिलाको रन्काले ज्वरो नै फुट्यो। दुखाइ खप्न नसकेर रातिको एघार बजे मेडिकल सेन्टर गएँ।
पिलो, त्यही नर्ससँग भेट गराउन आएको थियो या आफ्नो नियोजित समयमा आएको थियो, थाहा भएन तर मलाई मेडिकल सेन्टर लिएर जाने राम्रो निहुँ सिद्ध भयो।
म, एक हात तीस डिग्रीको कोणमा उचाल्दै सिधै सि.एम.ओ. को कोठामा पुगेँ। सि.एम.ओ. ले पिस्क्रिब्सन लेखेर नर्सको कोठामा जाने आदेश दियो। पिलाको दुखाइले मुटुको ढुकढुकी तेजिलो भएको थियो। त्यही नर्स भेटिने हो कि जस्तो आभास लागेर ढुकढुकी झन् रफ्तारमा दौडिन लाग्यो। नर्सको कोठामा भित्रिएँ। अर्कै नर्स रहिछे। त्यही नर्स हुन्थी भने दुखाइमा वसन्तको हावा लागेसमान सन्चो हुन्थ्यो होला तर विपरीत स्थिति सामु पाउँदा दुखाइ झन् बढ्यो।
मैले नचाहेकी नर्सले पिलो हेरेर भनी- ‘पिलो काँचै रहेछ। यो औषधी खानू। भोलिसम्म मज्जाले पिलो पाक्छ अनि फुटाउन यहाँ आउनू।’
‘हुन्छ, मैडम।’ रूखो स्वरमा उत्तर फर्काएँ।
पिलाको दुखाई अनि मेरी नर्स नभएकाले रूखो स्वर स्वतः मुखबाट फुत्कियो। फर्किंदा यताउता आँखा घुमाएँ, मेरी नर्स देखा परिनँ। नैराश्य मन लिएर कोठा आएँ।
पहेँलो भएर पिलो पाक्यो। पिप चिपचिप निस्किन लाग्यो। भोलिपल्ट दस बजे बिहान पिलोलाई सर्वनाश गराउन मेडिकल सेन्टर हाकिएँ।
पिलाको दुखाइले रन्थनिएको मनले कामना गर्यो- ‘आज चाहिँ भगवान त्यही नर्स फेला पारिदेऊ, तिमीलाई दर्शन गर्न मन्दिर पक्का आउँछु।’
नर्सको कोठा पसेँ। हे दैव! त्यही नर्स रहिछे। खुसीले पिलाको दुखाइ नै बिर्सिराखेँ। उसको उपस्थितिले यस्तो लाग्यो मानौं घायल सैनिकलाई राजकुमारीले मल्हमपट्टि गर्न लाग्दैछे।
‘मैडम, पिलो निस्किएको छ। हिजो राति आएको थिएँ, अर्की नर्सले औषधी दिएर आज फुटाउन आउनु भनेकी थिइन्। दुखेर खपिसक्नु भएको छैन।’
उसले कुर्सीमा बस्ने आदेश दिई। म बसेँ। पिलो देखा भन्दै लुगा काड्न लगाई। म सर्मले भुतुक्कै भएँ। अरू नर्स हुन्थी भने केही अप्ठ्यारो लाग्ने थिएन होला तर ऊ मैले मन पराएकी नर्स परी। आदेश मान्नै पर्यो। फेरि आफ्नो एक हातले लुगा निकाल्न नमिल्ने। कोठामा अरू पुरूष सहकर्मी रहेनन्। उसले मेरो टिसर्ट खोल्न सघाई। म अनुगृहित भएँ। छेउमा आउँदा उसले लगाएको अत्तरको बासना, माई गड! म लट्ठ परेँ। लाग्यो नर्ससँग यसरी बाँधिऊ जसरी चन्दनको रूखमा सर्प बाँधिने गर्छ।
उसले पिलो हेरी। मैले उसलाई हेरेँ। मास्कले मेरो बाटो अवरूद्ध गरिरहेको थियो। एक क्षण त यस्तो लाग्यो त्यो एन-नाइन्टी मास्क टपक्क निकालिदिऊँ अनि उसलाई बेस्मारी निहारिररूँ।
यतिमै उसले भनी, ‘पिलो ठूलै छ। म कम्पाउन्डरलाई लिएर आउँछु।’
‘ओके मैडम।’
प्रेस्क्रिब्सन हेरेर उसले त मेरो नाम थाहा पाई तर मैले अहिलेसम्म उसको नामधरी जानेको थिइनँ। जान्ने चेष्टा पनि गर्न नचाहेको हैन। तर किन हो किन सोध्न डर लाग्यो।
कम्पाउन्डर आयो। कालो रङ, गाँठे कदको रहेछ। हात डोला अनि मोटा। आँखा पहेँला अनि कपालको गतिले लाग्दैथ्यो एक हप्तादेखि नुहाएको छैन।
हातमा रुई लिई मेरो छेउमा आएर पोजिसन लियो। म डरले थररर कामेँ। कम्पाउन्डर आउनुअघि नै नर्सले मलाई खाटमा सुताइदिएकी थिई।
मेरो टाउकोतिर नर्स उभिई। कम्पाउन्डरले पाकेको पिलोमा आक्रमण गर्न छाम्न थाल्यो। दुखाइले कराएँ। दुई थोपा आँसु तप्प झरे। नर्सले मेरो टाउको समातिदिई। नर्सले मानवीय दृष्टिकोणमा हात टाउकोमा राखिदिए पनि मलाई आफ्नै प्रेमिकाले राखेजस्तो लाग्यो।
आहा! आनन्दको सागरमा पौडिन लागेँ नर्सको छुवाइले।
यति के सोच्दै थिएँ प्यात्त हुँदै पिलो धराशायी भयो।
कम्पाउन्डर भन्छ, ‘पिलोको अझै एउटा मुख रहेको छ। भोलि फेरि आउनु फुटाउन।’
यति फत्फताएर ऊ निस्कियो। अब कोठामा, म र मेरी नर्स मात्र रह्यौँ।
नर्सले ड्रेसिङ गर्दै मलाई प्रश्न गर्न लागी।
‘लाग्दैछ तपाईंको यहाँ नयाँ-नयाँ पोस्टिङ होला।’
‘हो, म हालैमा यहाँ सरूवा भएर आएको हो।’
‘कहाँ थियो ड्युटी यहाँ आउनुभन्दा पहिले?’
‘म मध्यप्रदेशको टुन्डला भन्ने ठाउँमा थिएँ।’
‘ए! मलाई थाहा छ त्यो ठाउँ। मेरो पापाको पनि ड्युटी एकचोटि टुन्डला भन्ने ठाउँमा थियो। मेरो पापा पनि पेरामिल्ट्रीको जवान हुनुहुन्छ। यहीँ ड्युटी थियो। एक हप्ताअघि पापाको दिल्लीका लागि सरूवा आएको छ।’
‘ए! पापाको नाम के हो?’
‘एस.आई. धरमवीर।’
यति गफमै उसले ड्रेसिङ गरिसक्छे। अब त्यो कोठामा बसिरहन केही निहुँ रहेन। उसले पाक्ने औषधि खानू भनेर मलाई बिदा दिई। आजको भेटले उसको सामिप्य जाने बाटोमा सुगमताको आश छर्दिएको थियो।
भोलिपल्ट फेरि पिलो फुटाउन गएँ। त्यही नर्स फेला पर्न आज पनि भगवानसँग कामना गरिरहें तर आज भगवानले मनोकामना पूरा गर्दिएनन्।
***
हप्तादिन बित्यो उसलाई भेट्ने, देख्ने मौका जुरेन। पिलोले लक्ष्य छेउछाउ ल्याइदिएर बिदा भयो। अब मैले नै केही सटिक उपाय खोज्नु पर्ने थियो। टाढाबाट हेरेर लक्ष्य हात लाग्ने थिएन। समय बलवान हुन्छ भनेको यही हो। समयले आफ्नो चक्र घुमाएर मेडिकल सेन्टर जाने मेरो बाटो बनाइदियो। अफिसमा वार्षिक स्वास्थ्य जाँच गराउने सर्कुलर जारी भयो।
हामी चार भाइ मेडिकल सेन्टर लाग्यौं। सि.एम.ओ.-ले प्रेस्क्रिब्सनमा बि.पी., टेम्प्रेचर, वजन र रगतको जाँच गराउनलाई लेखिदियो। टेम्प्रेचर र बि.पी. नाप्न नर्सको कोठा जाने सबैलाई आदेश दियो।
आज मेरी नर्स ड्युटीमा भइदियोस् भनेर कामना राखिनँ कारण भगवानलाई बारम्बार किन दुःख दिनू!
भित्र पस्दा मेरी नर्स ड्युटीमा रहिछे। म खुसीले भुतुक्कै भएँ! मुटु झनझन भइदियो।
नर्सले पालैपालो बि.पी. नापी। टेम्प्रेचर नाप्दा सबैलाई प्रायः दुई या तीन मिनेट लगाई। अन्तमा मेरो पालो पर्यो। अन्तमा पर्ने मेरै योजना थियो। काखीमा थर्माेमिटर राख्न लगाई। अरू साथी रगत जाँच गर्न बाहिरिए। हातको घडीमा हेरेँ ठ्याक्कै सात मिनेट थर्माेमिटर राखी मेरो काखीमा। मसँग समय बिताउन गरेकी हो या सात मिनेट जरूरत नै थियो, सटिक कारण थाहा पाइनँ तर ऊप्रति म मोहित भएजसरी मप्रति ऊ मोहित भएकी ठानेर लट्ठ परेँ। कारण जे पनि होस् मेरो मन आनन्दित भइदियो। आनन्दको खोजीमा नै सारा संसार भौंतारिरहेको छ। म किन कारणको अनुसन्धान गर्नतिर लाग्नू!
यही सात मिनेटमा हामीबीच निकै गफ भए।
‘अस्ति पिलो निस्किने तपाईं नै हैन?’ मास्क निकालेर सोधी।
मेरा आँखाका लागि शत्रु भएको मास्क नर्सको सुन्दर अनुहारबाट निस्किँदा मेरो मन खुसीले गदगद् भयो।
उसको रूप निहाल्न अवसर जुर्यो। मैले पनि मेरो मास्क हटाइदिएँ। दुवैको यो कृत्यको मनसाय यस्तो लाग्दैथ्यो मानौं हामी जानीजानी एकअर्काको मन बुझिरहेका छौं।
‘अँ, म त्यही हुँ।’
‘सरी, अस्ति सामान्य पहिरनमा आउनु भएको थियो, अहिले फौजी ड्रेसअपमा भएर चिन्न सकिनँ।’
उसको उत्तरमा मैले गहिरो विवेचना गरेँ। दुईचोटि भेटेको मान्छेलाई यति सहजै चिन्न सकिनँ भन्नु अलिक अपाच्य कुरा हो। पिलो फुटाउँदा निकैबेर समय बिताइएको थियो। पक्कै पनि उसले बोल्ने निहुँले प्रश्न गरेकी हुनुपर्छ। उसको मनसायले मेरो लक्ष्यप्राप्तिमा सहयोग गरेको पाउँदा उसले चिन्न सकिनँ भनेको ढोङलाई सहजै माफ गरिदिएँ।
‘तिम्रो बसाइ कहाँ छ?’ उसको ठेगाना सोधेँ।
‘पेरामिल्ट्रीको क्वाटर भएको कोलोनीमा नै परिवारसँग बस्छु।’
‘अनि तपाईं चैँ ?’
‘म पनि त्यही कोलोनीमा मन्दिरको पछाडिपट्टिको क्वाटरमा बस्छु।’
‘मेरोबाट मन्दिर तीन सय मिटर जति टाढा छ।’
यति कुरा गर्दै सात मिनट बित्यो। रगत जाँच गराउने ठाउँ सोध्दा उसले उत्तर नभनेर साथमा जाँच केन्द्रसम्म गई। मेरो मनको आकार विस्तार हुँदै थियो। मैले खोस्ने ठाउँमा आफैं खोसिएको अनुभव गर्दै थिएँ। अझैसम्म मैले उसको नाम जानेको थिइनँ। सोध्न पनि आँट आएन।
मेडिकल सेन्टर जाने निहुँ रित्तियो। आफैं बिरामी हुँ भन्दा नमिल्ने। ड्युटीबाट घुर्दा मेडिकल सेन्टरतिर नहेरी चित्त बुझ्दैन थियो। यी नर्स हेर्न उताउलिने आँखालाई कहिले नर्स फेला पर्थी त कहिले मेडिकल सेन्टरमा आएका बिरामी फेला पर्थे। केही दिनहरू यसरी नै बिते।
***
सरूवा भएको महिना दिनमा म नयाँ ठाउँमा सबैसँग घुलमिल भइसकेको थिएँ। एकदिन ड्युटीमा पुरानो जवानलाई सोधेँ- ‘यहाँ कोही एस.आई. धरमवीर थिए?’
उसले जवाफ फर्कायो, ‘थिए नि! एक हप्ताअघि नै उसको सरूवा भयो। किन र? चिन्छस् उसलाई?’
उसको ‘किन’ प्रश्नमा जिल्ल पर्ने अवसर थियो तर मैले आफ्नो अनुहारलाई सामान्य बनाएर जवाफ दिएँ- ‘चिन्दिनँ। मेडिकल सेन्टरमा उसकी छोरी काम गर्दिरहिछे नि?’
‘अँ, अँ, हो नि उसकी छोरी नर्स छे। प्रणिता ठाकुर हो उसको नाम।’
उसको जवाफले मेरा मनभरी राखेका प्रश्नहरूको उत्तर पाएँ। सम्भवतः मैले नर्सको नाम सोध्न अप्ठ्यारो मान्ने‘थेँ तर उसले आफैं नाम भनेपछि धरमवीरको कुरा निकालेको तर्किब सफल भयो।
राति भोजन उपरान्त दस बजे ओछ्यानमा परेपछि सधैंको साथी मोबाइललाई हातमा च्यापेँ। नर्ससँग सामिप्य ल्याउने अब यसैको जिम्मेवारी थियो। फेसबुक खोलेर प्रणिता ठाकुर सर्च अप्सनमा टाइप गरेँ। पाँचवटा अप्सन आइपरे।
पहिलो खोलेको उसैको रहेछ। हे दैव! कति मजा। उसका सबै फोटा पल्टाइ-पल्टाइ हेरेँ। नर्सका पहिरनमा, परिवारसँग, साथीसँग अपलोड गरेका निकै फोटा फेला परे। उसको वाल स्टाटस हेरेको अन्तिम स्टाटस एक वर्षअघिको रहेछ। अड्कल काटेँ, पक्कै यो इन्स्टामा सक्रिय होली! यसै पनि केटी इन्स्टा चलाउन रुचाउँछन्। फेसबुकलाई बाई गरेर इन्स्टामा हाम्फालेँ। त्यही नाम खोजेँ। यहाँ पनि सजिलै भेटेँ। समय मैरे अनुरूप चलिरहेको थियो।
उसको अन्तिम पोस्ट हिजै रक्षाबन्धनमा लिएको दाजुबहिनीको चित्र राखेकी रहिछे। रिल बनाउन रुचाउँदिरहिछे। सयवटा जति रिल हेरें होला। उसका फोटा र रिल हेर्दाहेर्दै एक बज्यो। हाई काड्दा आँसु झर्न लागेपछि बत्ती झ्याप्प निभाएर तन्किए भोलिको उज्यालोको पर्खाइमा।
भोलिपल्ट दिनभरी मन कुत्कुताइरह्यो। उसका रिल मेरा आँखामा सलबलाइरहे। मेरी नर्स मेरा दुई आँखामा यसरी गाभिई जसरी सुनारले औंठीमा मोती गाब्छ। रातिको भोजनपछि समय खेर नफ्याँली ओछ्यानमा पल्टेँ। इन्स्टामा गएर उसलाई फेलो गरेँ। पाँच मिनेटपछि फेलो व्याकको नोटिफिकेसन आयो। बन्दुक हान्ने गेम खेल्दै थिएँ बीचैमा बन्दुक राखेर अत्तालिएर इन्स्टा खोलेँ अनि म्यासेज बक्समा टाइप गरेँ ‘इज द्याट यू? आई एम सरप्राइज्ड!’
मैले सय प्रतिशत चिनेर पनि संशय भएको प्रश्न राखेँ। कुरा गर्ने निहुँ थिएन। अर्को कुरा, मैले उसको पिछा गरेको पनि उसले नबुझोस् भन्ने थियो। तर पनि ऊ कहाँ बुद्धु थिई होली र? बुझी पनि होला। बुझे बुझोस् तर यही म्यासेज लेख्न मलाई उचित लाग्यो।
पन्ध्र मिनेटमा इन्स्टाको म्यासेज बस्ने ठाउँमा रातो रङमा १ लेखेको देखेँ। उसको रिप्लाई आएको बुझेर हतार हतार खोलेँ। उसकै रिप्लाई रहेछ।
‘हाउ डिड यू गेट मी?’ आश्चर्य भएको भावचिन्हको साथमा उसको म्यासेज आयो।
मैले झटनी बटारेझैँ मजाले कुरा बटारेर रिप्लाई गरेँ- ‘इन्स्टामा रिल हेर्दै थिएँ। स्लाइड फेर्दै गरेको बेला तिम्रो रिल देखेँ। चिनेको जस्तो लाग्यो अनि फेलो गरेर म्यासेज गरेको।’
‘ओके! थ्याङ्क्स।’ मुस्कानको भावचिन्ह थियो योचोटिको रिप्लाइमा।
यसरी सुरू भएको गफ हाम्रो रातिको बाह्र बजेपछि नचाहेर पनि मैले टुङ्ग्याउनका निम्ति भनेँ-‘भोलि १५ अगस्टको झन्डात्तोलन कार्यक्रम छ। मेरो झन्डात्तोलनमा ड्युटी लागेको छ। म चैँ सुत्नु पर्यो। बिहान छिटो उठ्नु छ।’
मैले कुराको बिट मारेपछि आपसमा गुड नाइट गरेर च्याटिङ बन्द भयो। फोनलाई सिरानीमुनि घुसारेर सुत्ने प्रयास गरेँ। निकै बेर निद्रा लागेन। ऊसँग भएका कुरा मनमा उफ्री रहे। मैले उसको मनको पेच जान्न जानीजानी रूपको प्रशंसा गरेको थिएँ। ऊ फुरुक्क भएर मलाई पनि ह्याण्डसम भएको अनि मेरो गालामा डिम्पल बनेको प्रशंसा गरिदिई। म पनि मख्ख परेँ।
हामीले कुरा हुने चौतारी भेटियो। अब केही समस्या देखिनँ। सामिप्य हुने राम्रो अवसर निर्माण भइसकेको थियो। अब मन जित्नमात्र बाँकी रहेको थियो।
***
भोलिपल्ट चौतारीमा बसेर उसलाई ‘हैलो, के गर्दै छेउ?’ म्यासेजमा लेखी पठाएँ। उसको केही जवाफ आएन। म गेमतिर व्यस्त भइदिएँ। आधी घण्टापछि उसको जवाफ आयो।
‘हेलो! म फुपूको घर आएकी छु। आजको दिन तपाईंको कस्तो बित्यो?’
‘दिन कस्तो बित्यो भन्नू! भिजेर निथ्रुक्क भइयो। झन्डात्तोलनको समय पानी ओइरो पर्यो। अरू सबै टेन्टमा, आफू आकाशमुनि फहरिँदै गरेको तिरङ्गाको साथमा उभिएको थिएँ। हल्लिन पनि नमिल्ने।’
‘ओ हो! टेक केयर है।’
यस्तै मिठा-मिठा कुरा हुन लागे हामीबीच। आज पनि एक बजाइयो च्याटिङमा। फोन नम्बर साटियो। हाम्रो बन्डिङ यसरी स्थापित भयो मानौं हामी एक दशकदेखि चिन्दै आएका हौं। यो प्रविधिलाई सलाम गर्नुपर्छ जसको सहायताले यति चाँडै दुई दिनमा सामिप्य ल्याइदियो।
हप्ता दिनसम्म हाम्रो च्याटिङको चौतारीमा रातिको बाह्र-एक दिनै बज्न लाग्यो। शुभरात्रि भन्दाभन्दै आधा घण्टा लगाउ थियौं।
***
कृष्ण-जन्माष्टमीको समय। कोलोनीमा भक्तिको माहौल दौडियो। मन्दिर सजिएर सुन्दर रूपमा परिणत भयो। मन्दिरमा भजन-कीर्तनले दिव्यताको परिवेश निर्माण गर्यो। म नास्तिक त होइन तर पनि मन्दिर जान त्यति रुचाउँदिनँ। अघिल्लो दिन मेरी नर्सले जन्माष्टमीमा आउने कुरा राखी। भेट्ने अवसर थियो। मैले नाइँ भन्ने विकल्प नै थिएन। ‘आउछु’ भनिदिएँ।
जन्माष्टमीको दिन ड्युटी भ्याएर तीन जना साथीसँग मन्दिर गएँ। यी साथी यहाँ ड्युटी गर्ने पुराना जवान थिए। मन्दिरमा घुइँचो थियो। सिँढीको अगाडि हामी उभियौँ। आउने जाने प्रक्रिया चलिरहेको थियो। पछाडिपट्टि फर्केर हेरेको मेरी नर्स उसकी आमासँग आउँदै गरेकी देखेँ। मन ढुकढुक भयो। उसले मलाई देखिन। मेरो छेउ हुँदै मन्दिर पसी। भीडमा मैले उसलाई मात्र देखेँ तर उसले मलाई देखिन। आधा घण्टाजति मन्दिरमा रहेर हामी कोठा जान बाहिर निस्कियौँ। मन्दिरको ठिक बाहिर उभिएर गफ गर्दै थियौँ। मेरी नर्स निस्किएकी देखेँ। मैले नदेखेजस्तो गरेँ। उसले हात हल्लाई। मैले प्रतिक्रिया दिइनँ। लाग्यो उसले मेरा साथीलाई गरेकी होली, आखिर मेरा साथी यहाँ पुराना भइसकेका थिए। ऊ आफ्नो घरतिर लागि अनि हामी हाम्रो कोठातिर।
बाटोमा हाम्रो गफ सुरू हुन्छ।
एउटाले भन्छ- ‘हरिहर! तैंले किन प्रणिताले हात हल्लाउँदा जवाफ नदिएको?’
मेरो जवाफ- ‘मलाई के थाहा र? मलाई त लाग्यो तिमीहरू यहाँका पुराना जवान, नर्ससँग चिनजान थियो होला अनि उसले चिनेर हात हल्लाएकी होली।’
अर्काले भन्यो -‘हामीले कत्ति लाइन हान्दा पनि इग्नोर गर्छे। हामीलाई के हात हल्लाउ थिई होली!’
तेस्रोले भन्यो- ‘त्यही त, आएको महिना दिन मात्रै हुँदैछ यो गुरूङले लाइनमा ल्याएछ नर्सलाई।’
सबै गलल हाँसे। म मुसुमुसु हाँसे। मुटु हर्षले फुुरूक्क भइदियो। मेरी नर्स मेरी हुन लागेको सङ्केतले म सपनाको उडान भर्न लागेँ जसरी पंक्षी आकाशमा उन्मुक्त भएर उडान भर्छ।
त्यही दिन रातिको भान्सापछि सधैंको भेटिने चौतारीमा गफ आरम्भ भयो।
‘मैले दिनमा हात हल्लाउँदा किन रिप्लाई नगुर्न भएको?’ मैले अड्कल काटेको प्रश्न आयो।
‘हात हल्लाएको मलाई नभएर मेरो साथीलाई हल्लाएको जस्तो लाग्यो नि!’ मैले केही नलुकाई जवाफ दिएँ।
‘धत् लाटा! अरूलाई चिने पो हात हल्लाउनु। म चिनेका र मन मिल्ने साथीलाई मात्र हात हल्लाउँछु।’
‘सरी प्रणिता! दिनमा हात नहल्लाएको साटो अहिले हल्लाउँछु ल!’ म्यासेजको साथमा हात हल्लाएको भावचिन्ह पठाएँ।
चित्त बुझ्ने उत्तर आयो- ‘यहाँ हात हल्लाएर हुन्छ? हिम्मत छ भने भोलि आएर हात हल्लाउनु।’
ऊ मप्रति आकर्षित भएको लक्षण पाएर औधी खुसी भएँ। फिस्स हाँसेँ एक्लै।
‘ओके मैडम।’ मुटु भएको भावचिन्ह लगाएर जवाफ फर्काएँ।
***
भोलिपल्ट ड्युटी जाँदा उसको घर छेउ आउँदा बसको झ्यालबाट उसको घरतिर हेरेँ। साथीले बुझ्छन् भनेर पछाडिपट्टिको सिटमा सधैँ बस्थेँ। उसलाई थाहा थियो ड्युटी गर्ने जवानलाई लिएर आउने-जाने बसको टाइमिङ। बार्दलीमा उभिरहेकी रहिछे। अब चाहिँ म आश्वस्त भएँ मेरी नर्स मेरी भइसकी।
मैले सम्य मुस्कानमा हात हल्लाएँ। उसले पनि मुसुक्क हाँसेर हात हल्लाउँदै प्रतिक्रिया दिई। आँखै-आँखामा, हातै-हातमा हाम्रो अनेकौँ कुरा भए।
हामी निजिकियौँ। साथीभन्दा बढी घनिष्ठता भयो। प्रेम-प्रेमिकाको औपचारिक घोषणा नगरे पनि लक्षण त्यही थिए। मलाई पनि उसलाई पनि एकअर्कामा कुरा गरी रहौँ हुने। व्यस्तता सकेर फोन हेर्दा उसका म्यासेज ओइरो हुन्थे। उसले हेर्दा मेलै पठाएका उतिकै म्यासेज हुन्थे। म्यासेज छोडेर फोनकल, भिडियोकल सबैमा कुरा भइरहन थाल्यो।
ड्युटी जाँदा हात हल्लाएर माया जताउने कृया जहिले हुन लाग्यो। ऊ दिन नबिराई बार्दलीमा उभिरहेकी हुन्थी। म उसैलाई हेर्न बसको झ्यालबाट हेरिरहेको हुन्थेँ। म र मेरी नर्सको यस्तै मिठो सम्बन्ध स्थापित भयो जसमा माया थियो, सरलता थियो, स्नेह थियो, आफ्नोपन थियो तर अश्लीलता थिएन, वासना थिएन।
***
गणेश चतुर्थी पर्व आइपुग्यो। उसले बेलुका आरतीमा दिनै आउने कुरा राखी। मलाई के आपत्ति हुनु र? हामीलाई भेट्ने निहुँ चाहिएको थियो। यो चोटि दुवैलाई एक साता भेट गर्न गणेश भगवानले चाँजो मिलाइदिए। नर्सले मलाई मन्दिर-प्रेमी बनाइदिई।
म ड्युटी सकेर दिनै मन्दिर धाउन थालेँ। ऊ पनि आउँथी। कहिले आमासँग, कहिले एक्लै आउँथी। एक्लै आएको दिन एकै ठाउँ बसेर कीर्तनको आनन्द लिन्थ्यौं। उसकी आमासँग पनि परिचय गराइदिई। भेट हुने बित्तिक्कै मलाई प्रसाद लिन आग्रह गर्नुहुन्थ्यो आमाले।
गणेश चतुर्थीको पाँचौ दिनको कुरा हो।
मन्दिरबाट आएर खाना खाएँ। ओछ्यानमा आएपछि चौतारीमा भेट भयो।
कुराको बीचमा उसले भनी, ‘मलाई बाबाले बोलाएको बोलायै गर्नु हुँदै छ। दशचोटि भयो चुन्नु आइज कि आइज भन्नुभा’को।’
‘ठिक छ चुन्नु, जाउँ न त।’ मैले सहज रूपमा उत्तर दिएँ।
मैले असहज माने होला भनी उसले आश्चर्यको बोध गराउन प्रश्न गरी- ‘मेरो चुन्नु नाम सुनेर छक्क पुर्नु भयो होला है?’
मैले अहिले पनि सहजै भएर उत्तर दिएँ- ‘किन आश्चर्य हुनु र? मलाई तिम्रो चुन्नु नाम थाहा थियो अस्तिबाट।’
‘तर मैले त कहिले पनि मेरो यो निक-नेम भनेको थिइनँ त! कसरी थाहा पाउनु भयो?’
‘मैले तिम्रो फेसबुक आइडीमा देखेको थिएँ।’
‘ओके! गएकी ल, पापाले फेरि बोलाउनु हुँदैछ।’
भोलिपल्ट बेलुकाको गणेश आरतीमा भेट भयो। उसकी आमा पनि हुनुहुन्थ्यो। प्रसाद दिनुभयो। आएर खाना खाएँ। चौतारीमा भेट हुँदा मेरी नर्सको उत्तरमा रुखोपना एवम् रिस भेटेँ। मैले अड्कल काटेँ। नर्स रिसाएको कारण त्यही होला भनी इन्स्टामा गएर कुनै-कुनै प्रोफाइल-डिटेल हाइड गरेँ। यतिमै उसको प्रश्न आयो जसले मेरो होश र चेत उडाइदियो।
‘नैना कस्ती छिन्?’ उसको प्रश्नको आशय मैले बुझेँ। कसरी यो नाम थाहा पाई त्यो पनि बुझेँ। मैले प्रश्नमा प्रश्न गर्ने समय थिएन। न नै कसरी थाहा पाइस् भनेर झम्टिन सक्थेँ। मेरो मनको अवस्था अत्तालिएको भए पनि यसरी जवाफ दिए मानौं यो नाम उसले थाहा पाउँदा पनि मलाई केही फरक परेको छैन।
‘नैना एकदम ठिक छिन्।’
‘अनि प्रिन्सलाई कस्तो छ?’ उसको अर्को घातक प्रश्न। म पहिलो प्रश्न-वाणले नै घाइते भइसकेको थिएँ। अनुमान चाहिँ काटिसकेँ आज मेरी नर्सले मेरो झ्याँको झार्ने रहिछे।
पुनः सामान्य भएर जवाफ फर्काए- ‘प्रिन्स पनि ठिक छ।’
थुक्क! हिजो मैले फेसबुकबाट तिम्रो निक-नेम थाहा पाएको हुँ भन्नु मेरो ठूलो भुल भयो। मेरो सबै फेसबुकका पोस्ट खोतली छे। अब उसलाई अस्तिबाट तर्काएका कुराहरू फेरि सोध्छे होली। एकैचोटि अहिले बररर सबै कुरा सम्झेँ अनि अहिले उसले गर्दै गरेका प्रश्नहरूको उत्तर दिन दिमाखलाई जोड दिएँ।
केही बेरमा उसले मलाई कठोर प्रश्न गरी, ‘किन मलाई तपाईंको वैवाहिक जीवनबारे भन्नुभएन?’ प्रश्न कडा थियो। मनसाय नीच नभए पनि वैवाहिक जीवनको कुरामा बुझ पचाएको थिएँ। उत्तर त दिनै थियो।
‘वैवाहिक जीवनको कुरा आएको थिएन। त्यही कारण भनिनँ। प्रसङ्ग आएको थियो भने भन्थेँ होला।’
‘इट्स हर्ट मी अ लट।’ रिसाएको भावचिन्ह लगाएर रिप्लाई गरी।
‘मैले जानीजानी हर्ट गरेको हैन। कुरामा कुरा आएन। त्यही मात्र हो। प्लिज नरिसाऊ न।’
‘मलाई आफैंमा घृणा लाग्दै छ, मैले किन म्यारिड मान्छेसँग दिल खोलेर बोलेँ। आजबाट हाम्रो जे पनि गहिरो सम्बन्ध थियो, सबै सकियो। अब मलाई कहिले म्यासेज, कल नगर्नू होला। तपाईंलाई ब्लक गर्दिऊँ?’
ऊसँग बिताएका पछिल्लो दुई महिनाको मधुर सम्बन्धले म उसको बानी भइसकेको थिएँ। झट्टै यसरी सम्बन्ध टुट्न लाग्दा मन दुख्यो। भरसक मनाउन प्रयास गरेँ।
‘प्लिज प्रणिता, यस्तो नभन न। मलाई एक्स्प्लेन गर्ने मौका देऊ। मेरो गल्ती सुधार्ने अवसर देऊ।’
उसको अर्को सटिक प्रश्न- ‘अब म कुन आधारमा, कुन सम्बन्धको आशामा तपाईंसँग कुरा गर्नू? भन्नु त?’
‘प्लिज यस्तो निर्दय कुरा नगर। हामी जस्तो मिठो सम्बन्ध राख्दै आएका थियौं, त्यसरी नै सम्बन्ध बढाउन सक्छौँ।’
जति मनाउन गर्दा पनि मानिन। दुई घण्टा कचकच गरेपछि बल्ल गएर अलिक नरम भई मेरी नर्स। त्यसपछि उसले मेरो परिवारबारे सबै सोधी। मैले केही नलुकाई सबै जानकारी दिएँ।
निद्रा देवीको काखमा पुग्दा रातिको दुई बजेको थियो। शुभरात्रि हुनुअघि उसले भनेकी थिई, ‘भोलि पावर प्लान्टमा फस्ट एड सेन्टरको उद्घाटन कार्यक्रम छ। तपाईं आउने हो?’
उसको यो सोधाइले मन अलिक ढुक्क भयो।
मेरो गेटमा भेकल स्क्रिनिङमा ड्युटी थियो। कार्यक्रममा गइनँ। कार्यक्रम उपरान्त ऊ उसको पापाका पुराना साथीलाई भेट्ने निहुँ गर्दै गेटतिर आई। मेरो एकछिन सासै अड्कियो। सामान्य भएको जनाउँदै मुसुक्क हाँसी। मैले पनि सम्य मुस्कानमा प्रतिक्रिया दिएँ। भित्र बोलाएर बस्नलाई कुर्सी दिएँ। वाटर कुलरबाट बोतलमा पानी भरेर दिएँ। हिजोको कुराले म व्यथित थिएँ। ऊ पनि व्यथित भएको भान लागेर भने- ‘हिजोको कुराका लागि सरी।’
‘प्लिज त्यो कुरा नगर्नू। अब हामीबीच केही पनि सम्बन्ध राख्ने ठाउँ छैन। यो कुरा निकाल्नु भयो भने म हिँडी हाल्छु। सायद यो हाम्रो अन्तिम भेट होला।’
मैले फेरि कुरा निकालिनँ। उसले सम्झनाका लागि फोटो खिच्ने इच्छा राखी। हामीले सेल्फी लियौं। केही पल बसेर ऊ गई। म ड्यूटीमा पुनः व्यस्त भएँ।
राति फेरि चौतारीमा भेट भयो। उसलाई मेरो यथाशक्ति फकाएँ। मानिन। फेरि फकाएँ। मानिन। फेरि फकाएँ। अन्तमा साथीको रूपमा पहिले सरह रहने हामीले फैसला गर्यौं। एकचोटि लाग्यो केटी जातलाई केटाले फकाएको औधी मन पर्दोरहेछ।
***
यही हप्ता उसको जन्मदिन थियो। उसले जन्मदिनमा सपिङ मल जाने योजना सुनाई। मैले राति नै उसलाई शुभकामना दिएँ। जन्मदिनमा बिहानै उसको कल आयो।
कलमा भनी- ‘भरे सात बजे आउनू ल सपिङ मलमा। त्यही जन्मदिनको ट्रिट दिँदैछु।’
मैले प्रश्न गरेँ- ‘को को आउँदैछन्?’
‘फ्यामिली मेम्बर हुनुहुन्छ’
‘को को?’
‘पापा, मम्मी, दादा अनि....?’ चौथो नाम भन्न केही क्षण अड्की?
मैले सोधिहालेँ- ‘चौथो को हुन्?’
‘मेरो मङ्गेतर, प्रकाश।’
म झसङ्ग भएँ। आश्चर्यतापूर्वक प्रश्न गरेँ- ‘कहिलेबाट?’
‘एक वर्ष भइसक्यो।’
रिस पनि उठेन। पछुतो पनि लागेन। कराउन पनि मन लागेन। यसै एकछिन माथि पङ्खा नाच्दै गरेको हेर्दै टोल्लिरहेँ।