हरेक मानिसको सपना एउटै हुन्छ भन्ने हुँदैन। मानिसपिच्छे उनीहरूको विचार, सिद्धान्त अनि व्यवहार फरक-फरक हुन्छ।
कसैलाई अरुभन्दा अलग र फरक तरिकाले अगाडि बढ्न मन लाग्छ भने कसैलाई सामान्य तरिकाले। कोही सरकारी जागिर, कोही वैदेशिक रोजगारी त कोही नेपालमै आफ्नो व्यवसाय सञ्चालन गरेर आफ्नो जीवनलाई व्यवस्थित बनाउनतिर लाग्छन्।
म पनि एक फरक स्वभावको मान्छे। मलाई पनि अरुले भन्दा फरक तरिकाले अगाडि बढ्न मन लाग्ने। मलाई अरुसँग झुकेर काम गर्न बच्चै बेलादेखि मन नपर्ने। त्यसैले गर्दा मलाई जागिर खान मन लागेन।
म अरुको मातहतमा बस्नै नरुचाउने मान्छे, सानो नै किन नहोस् व्यवसाय गरेर आफै मालिक बन्ने इच्छा। यस्तै सोचाइले म १२ सक्किनासाथ व्यापार गर्नतिर लागेँ। सबैसँग नम्र बोली अनि आदर गर्ने मेरो बानी। कसैसँग पनि नमिठो बोल्न र रिसाउन मन लाग्दैन। त्यसैमाथि पनि एउटा व्यापारी भएपछि रिसाउनु हुँदैन, मिठो बोल्नुपर्छ। पसलमा आउने अपरिचित ग्राहकहरू पनि साथी बनेर जान्थे।
बच्चाबच्ची, साथीभाइ, इष्टमित्र, छरछिमेकी, अग्रज व्यक्तिहरू सबैसँग मेरो नजिक हुन सक्ने खुबी थियो। कहिलेकाहीँ त पसलमा आउने आन्टीहरूले 'यो बाबुलाई ज्वाइँ बनाउनु पर्छ कि' भन्दै जिस्काउनुहुन्थ्यो।
मुसुक्क हाँसेर 'छोरी मान्छिन् त?' भन्दै हाँसिमजाक गरिन्थ्यो। म कसैलाई पनि वचन लगाउन चाहन्न थिएँ। आफ्नो दैनिक कार्यलाई निरन्तरता दिएर आफू खुसी हुन चाहन्थें।
आफूसँग दिनरात सँगै हिँड्ने २/३ जना साथीको बिहे भइसक्यो। आफू भने एक्लै। आफ्नो त लभ पनि नपर्ने, लभ पार्न नजानेको कि भाग्यले नजुराएको? एक दिन साथीले जिस्काउँदै भन्छ, 'अब त तेरो बिहे गर्नुपर्यो यार, हामी पनि जन्त जान परेन?'
'कोही छन् र तैंले चिनेका केटी?,' मैले सोधें।
'छ यार, एउटी एकदम बुझकी केटी। दुःखसुख सबै बुझेकी, कुरो चलाम् त?,' उसले प्रश्नमाथि प्रश्न थप्यो।
मैले पनि 'हुन्छ नि त कुरा गरौं न' भनेँ।
सोही कुरापश्चात् साथीले त्यो अञ्जान केटीको फेसबुक आइडी मलाई सेयर गर्यो। उसको नाम थियो- प्रकृति।
मैले त्यही बेला नै फ्रेन्ड रिक्वेस्ट पठाएँ। उसको प्रोफाइल खोतल्न थालेँ। फोटाका एल्बम, पुराना स्टाटस, कमेन्ट, लाईक, रियाक्टहरू, सबैजसो हेरिभ्याएको थिएँ। कति बेला एसेप्ट होला भन्ने कौतूहल थियो मेरो मनमा। रिक्वेस्ट पठाएको आठौं दिनमा बल्ल एसेप्ट भयो।
मैले 'हेल्लो, नमस्ते' भन्दै मेसेज पठाएको केही सेकन्डमै उताबाट 'हजुर नमस्ते' उत्तर आयो।
उसले कसरी रिक्वेस्ट पठाउनुभयो भन्दा मैले उसको गाउँमा आउँदा देखेको भनेर झुट बोलें। यहीँबाट हाम्रो कुराकानी हुन थाल्यो। त्यो दिनदेखि हामी चिनजान भएको साथी जसरी नै कुरा गर्न थाल्यौं। बिहान सबेरै उठेर शुभ प्रभातदेखि दिनभर कुरा भएर राति शुभरात्रीसम्म कुरा हुन थाल्यो।
दिनहरू जति बढ्दै गए हामी त्यतिनै नजिक हुँदै गयौं। तर पनि म उसलाई मन पराउँछु भनेर भन्न सकेको थिइनँ। म उसलाई मन पराउथेँ तर ऊ मलाई मन पराउँछे कि नाई यो कुरा मनमा खुलदुली हुन्थ्यो। न आफूले मन पराएको कुरा भन्न सक्थें न सोध्न नै। साथीकै सम्बन्ध जस्तो गरी ३/४ महिनासम्म कुरा हुन थाल्यो।
आफू नै अगाडि नबढेसम्म नहुने बुझेर हामी बोल्न थालेको ४ महिनापश्चात् उनको नम्बर माग्ने प्रयास गरें। उसले तुरुन्तै जवाफ दिइन्- 'नम्बर किन चाहियो र? मेसेन्जरमै मिल्छ त फोन गर्न।'
उसको यो कुराले अलिकति निराश बनायो। हुन त माग्दा बित्तिकै पाउने कुराको खासै महत्व हुँदैन। त्यसैले धैर्य गरेर बस्ने निर्णय गरें।
मेसेन्जरमा कल गर्न मिले पनि म उसलाई कल गरिनँ। मनको कुरा सबै मेसेजमै भन्थेँ। उसलाई पनि म विस्तारै मनपर्न थालेछु क्यारे। नम्बर मागेको अलि दिनपछि 'आज मामाघर जान लागेकी, त्यहाँ डाटा राम्रोसँग चल्दैन फोनमै कुरा गरौंला है' भन्दै मेसेज छोडिन्।
मलाई ढुङ्गा खोज्दा देउता भेटिए जस्तै भयो। मैले पनि बोल्ने मौका पाएपछि बाँकी किन छोड्थें र- 'फोनमा बोल्नलाई त नम्बर पनि हुनुपर्यो नि हजुर।'
उसले तुरुन्तै आफ्नो नम्बर पठाई।
मैले पनि जिस्किएर आफ्नो नम्बर टाइप गर्दै 'यो नम्बरमा फोन आउनलाई हजुरसित यो नम्बर छैन क्यारे है' भन्दै हाहा इमोजीसहित मेसेज सेन्ड गरेँ। त्यो मेसेजलाई हाहा रियाक्ट गर्दै 'गफ पनि कति आको फटाहा मान्छेलाई' भन्द रिप्लाई गरी।
साँझ पर्यो, उतैबाट फोन आओस् भन्ने मेरो इच्छा थियो। नभन्दै ९ बजेर ३७ मिनेट जाँदा फोन आयो। मलाई उसको मन विचार्नु थियो। 'खै के भाको आज रिचार्ज नै भाको छैन, मोबाइलमा ब्यालेन्स पनि थिएन कति मन आत्तियो,' मैले भनें।
'जसले गरे पनि एउटै होइन र?,' उसले भनी।
म खुसीले नाच्न थालेँ।
'मामाघर आएको आमाबुवासँग पनि एकछिन गफ गर्नैपर्यो, छिटोछिटो गफ सकाएर हजुरलाई फोन गरेकी,' यस्तैयस्तै गफ भए। म एक्लै मुस्कुराइरहेँ।
रुपमा इजोरिया जस्ती, स्वर कोइलीको जस्तो अनि व्यवहार पनि त्यस्तै राम्रो थियो। पढाइमा भने ऊ सामान्य थिई। परिवारको मायाले पुलपुलिएकी ऊ कहिलेकाहीँ फूर्तिका कुरा गर्थी। उसलाई जे भन्यो त्यही पुगेकै थियो।
भावनामा डुबेर उसलाई सम्झेर सिरानीलाई अंकमाल गर्दै बस्थेँ म। कहिलेकाहीँ त बोल्दा बोल्दै रातिको १/२ बजेको पनि थाहा नहुने। एनसेलले १२० मिनेट पुगेपछि आफैं फोन काटिदिने रहेछ, यो पनि म उसैसँग कुरा गर्दा थाहा पाएको थिएँ। उसले पनि अब मलाई भित्रभित्रै निकै माया गर्न थालेकी थिई। समय मिल्यो कि फोन गर्थी। मुखले 'आई लभ यू' नभने पनि हाम्रो लभ परेको थियो।
'दिन दुई गुणा रात चार गुणा' भने जस्तै गरी हाम्रो माया पनि झन्-झन् गाढा हुँदै गयो। उसलाई डर थियो हेराउँदा नमिल्ने पो होकि भनेर। किनकी उसको ग्रह ज्यादै अप्ठ्यारो थियो। त्यसैले अब हेराउने अनि बल्ल कुरा गर्ने भन्ने कुरा हुन्छ। यदि हेराउँदा मिलेन भने ऊ मसँग बोल्न छोड्छे भन्ने डर मन मनमा थियो।
हेराउँदा हाम्रो चिना मिल्यो। चिना मिलेपछि ऊ अझै खुलेर बोल्न थाली। विस्तारै हाम्रो भेट्ने कुरा हुन थाल्यो। हामी उसको कलेजको छुट्टिको दिन पारेर बजारदेखि केही टाढा गयौं। शान्त वातावरण, उसको बोली, रुप अनि ऊ साथमा हुँदा संसारै आफ्नो जस्तो लाग्थ्यो मलाई।
उमेरले ऊ २१ कटेकी, म २३। मैले उसको बारेमा मेरो परिवारलाई पनि भनेको थिएँ। एकपटक ऊसँग भेट्ने इच्छा मेरा बुवाआमाको भयो। म मात्र खुसी भएर कहाँ भयो र, बुवाआमालाई पनि खुसी बनाउनु थियो। विश्वास पनि थियो, मेरा बुवाआमाले मेरो खुसीलाई नकार्नु हुँदैन भनेर। ऊ पनि बुवाआमासँग भेट्न राजी भई।
उसको घरमा चाहिँ जहाँ जाँदा पनि अनुमति लिएरै जानुपर्ने। हामीले जुक्ति निकाल्यौं, कलेजको प्राक्टिकलका लागि बाहिर जानुपर्ने कुरा। ऊ झुटो विश्वास दिलाएर घरबाट बिदा लिई। हामी भैरहवाको नाइट बस चढ्यौं, बिहान ६ बजेतिर घर पुग्यौं।
घरमा जाँदा आमाबुवा भर्खर उठ्नभएको रहेछ। ऊ पनि आमासँगै घरको नित्य काममा सघाई। उसले बुवाआमाको मन जितिसकेकी थिई। बुवाआमालाई ऊ देख्नासाथ मन परेको रे। फागुन लगनको महिना छ, साइत जुराएर यतै राखौं भो भनेर आमाले जिस्काउँदा ऊ मुसुक्क हाँसेर लजाउँथी।
दुई दिनको बसाइँमा ऊ बुवाआमासँग निकै नजिक भएकी थिई। उसको परिवारले अस्वीकार गरे पनि अब चाहिँ भगाएर भए पनि ल्याउने आँट ममा पलाएको थियो। मन झन् खुसी भयो, हरेक क्षण प्रकृति नै आफ्नो भएको महसुस हुन थाल्यो। घरको बसाइ सकिएपछि हामी पोखरा फर्कियौं। हाम्रो माया झन् प्रगाढ बन्दै गयो। उसको बोली नसुनी निद्रा नै नलाग्ने भएको थिएँ म, र ऊ पनि।
उसको वैशाखमा परीक्षा थियो, परीक्षा सकिएपछि उसको घरमा बिहेको कुरा गर्ने हाम्रो सल्लाह थियो। उसको मसँगै बिहे गर्न चाहना थियो। घरमा बुवाआमासँग पनि कुरा गर्थी, ऊ साँच्चीकै नै बुहारी जस्ती बनेकी थिई। बोल्दाबोल्दै फागुन बित्यो चैत सुरु भयो।
यो महिना मेरा लागि दुर्भाग्य भइदियो। प्रकृति र म घर जाँदा खाना खाने ठाउँमा हामीलाई उसको आफन्तीले देखेछन् तर हामीलाई यो कुरा थाहै भएन। उसले यो कुरा प्रकृतिको बुवालाई सुनाएछन्। उक्त कुरा प्रकृतिको बुवाले सुनेपछि प्रकृतिलाई निकै गालीसहित घरबाट अब कतै जान नदिने कुरा गर्नुभएछ। जन्मदिने बाउ न हुन्, छोरी एउटा कामले भनेर केटासँग घुम्न जाँदा कसका बुवा खुसी होलान् र? साँझ फोनमा रुँदै प्रकृतिले सबै कुरा मलाई सुनाई।
अब त झन् हामी भेट हुन पनि निकै समस्या हुने भयो। उसको दिनदिनैको रुवाई र मप्रतिको मायाले ऊ घरै छोडेर मसँग आउने कुरा गर्थी। म पनि सबै मिलाएर उसलाई मेरो घर लैजाने कुरा गर्थें। एकदिन, प्रकृतिको ममीले उसको बाबासँग केटो राम्रै भए दोहोरो कुरा गरेर बिहे गरिदिउँ भनेपछि बाबा पनि राजी हुनुभएछ।
उक्त कुरा प्रकृतिले सुन्नासाथ बाथरुम जाने निहुँ पारेर मलाई फोन गरेर बताई। उसको बाबाले मलाई बोलाएर मसँग कुरा गर्ने कुरा गर्नुभयो। उहाँको प्रस्ताव स्वीकार्दै म प्रकृतिको घर एकजना साथी लिएर पुग्छु (जुन साथी उसैले प्रकृतिको आइडी सेयर दिएको थियो)।
म साधारण मान्छे, बिना कुनै हाइफाई त्यहाँ पुगें। आफ्नो भएको बाइक पनि नलिई गाउँको लोकल बस चढेर त्यहाँ गएँ। मैले लगाएको कपडाले नै उसको बाबाले हेर्ने नजर फरक परिसकेको थियो। बाबाले पढाइको कुरा गर्नुभयो। मैले ब्याचलर सकेको र साथसाथै पसल पनि गरेको कुरा गरें।
उहाँलाई मेरो पेशा ठिक लागेन रे, 'यत्रो पढेको मान्छे पसल नगरी लोकसेवा लडेर सरकारी जागिर खानुपर्थ्यो नि बाबु, के पसल गरेको दुःख मात्र!'
उहाँको यही भनाई काफी थियो कुरा बुझ्नलाई। तैपनि म नम्र हुँदै भनेँ, 'बुवा, म मेरो पढाइ जागिर खानभन्दा नि व्यवसायलाई कसरी सफल बनाउन सक्छु भनेर पढेको हुँ। म व्यवसायप्रति सन्तुष्ट छु।'
मेरो यो उत्तर सुनेपछि 'कति कमाउँछौ महिनामा र कति बचाउँछौ? कुनै ग्यारेन्टी छ? सरकारी जागिर खाने खरिदार लेबलका कर्मचारीको पनि जिन्दगी सेटल हुन्छ, समाजमा कति इज्जत हुन्छ, तिम्रो त्यो पसलले के हुन्छ? आजसम्म के प्रगति गरेऊ? एउटा साधन त नभएर लोकल बस चढेर आयौ। कुन आधारमा छोरी पाल्न सक्छौ भनेर छोरी दिउँ तिम्लाई? के-के छ पुर्ख्यौली सम्पत्ति?' यस्तै अनेकअनेक प्रश्न।
त्यही भएको बाइक पनि नलिई आएको पछुतो भो मलाई।
उहाँको यो जवाफले म निराश भएँ। उहाँ व्यवसाय र व्यावसायीको गाउँ समाजमा हुने इज्जत र सम्मानबारे अबुझ हुनुहुँदो रहेछ। ३० हजार कमाउने खरदारभन्दा महिनामै ५०/५५ हजार कमाउने मलाई गरिब सम्झिनु भएछ।
उहाँको मनसाय नै छोरी सरकारी जागिरेलाई दिने थियो। उहाँलाई छोरीको खुसीभन्दा बढी सरकारी जागिरे ज्वाइँ महत्वपूर्ण थियो। उहाँलाई कति बुझाउने कोसिस गरेँ तर सकिनँ। भारी मन लिएर त्यहाँबाट फर्किएँ।
प्रकृतिलाई त्यो केटा छोड् भनेर बारम्बार टर्चर दिने काम हुने रहेछ। तर ऊ मबाहेक अरुसँग बिहे गर्न चाहन्नथी। उसले परीक्षा पनि दिइसकेकी थिई। भागेर बिहे गर्ने कुरा गरी। उसको कुरामा म पनि सहमत भएँ। हामीले भाग्ने मिति तय गर्यौं। उसका बाबाममीलाई दुःखी बनाउन मन थिएन तर परिस्थिति त्यस्तै भयो।
घरमा पनि यो दिन म प्रकृतिलाई लिएर आउँदै छु भनेर जानकारी गराएँ। हामी भाग्ने सबै तयारी भइसकेको थियो। उसका बाबाले मसँग बिहे गरे आफूँ आत्महत्या गर्ने धम्की दिँदा पनि त्यसको बाबजुद प्रकृति मसँगै जाने निर्णय गरी।
वैशाख २९, हाम्रो प्रेमको कालो दिन हुन पुग्यो। प्रकृति मसँग भाग्ने कुरा उसको ममीले थाहा पाउनुभएछ र रुँदै बाबाले भनेका हरेक कुराहरू उसलाई सुनाउनु भएछ।
'नानी, तँ त्यो केटासँग गइस् भने तेरो बाबाले आत्महत्या गर्नुहुन्छ, प्रेसरको औषधि खाइराख्नु भाछ। तेरो निर्णयले बाबाले तलमाथि केही गर्नुभयो भने भाइ सानै छ, हाम्रो बिजोग हुन्छ। नानी, तँ नजा। यदि गइस् र बाबालाई केही भयो भने भाइ र म विष खाएर मर्दिन्छौं अनि माइती तेरो लागि सधैँलाई बिदा हुन्छौं। मुख पनि देख्न पाउँदिनस्।'
ममीको यो कुराले प्रकृति छाँगाबाट खसे जस्ती हुन्छे। आफूमाथि सिङ्गै आकाश खसेर संसार नै ऊमाथि आइलागे जस्तो हुन्छ। ऊ कोठामा गएर चिच्याउँछे, रुन्छे। न मलाई छोड्न सक्थी न आमाको कुरालाई नर्कान। ऊ पागल जस्तै हुन्छे।
मलाई फोन गरेर सबैकुरा सुनाई। म झन् झसङ्ग भएँ। भगवान् पनि हाम्रो मायामा दुश्मन बनेर आए झैं लाग्यो। म उसलाई लिन जान तयार भइसकेको थिएँ तर सबै सपना छिनभरमै सिसा जस्तै चक्नाचुर भए, जो कहिल्यै जोडिन सक्दैनन्।
यो खबरले यता म पागल जस्तै हुन्छु, उता प्रकृति डिप्रेशनमा पुग्छे। ऊ हस्पिटलमा भर्ना भएको थाहा पाएपछि उसलाई भेट्न हस्पिटल जाने आँट गर्न सकिनँ, चाहेर नि मैले भेट्न पाउँदिनथेँ किनकी म सरकारी जागिरे थिइनँ।
त्यसपछि प्रकृतिसँग मेरो कुराकानी नै भएन। मन वैचैन भयो, मलाई त्यो ठाउँ त के नेपाल नै बस्न मन लागेन। त्यसपछि पसल बेचेर म परदेशीएँ। एक वर्षपछि उसको बिहे गर्दिने भएछन् रे, बिहे पनि धुमधामले गराइदिएछन्। त्यो बिहेले प्रकृतिको बा निकै खुसी देखिन्थे रे, ज्वाँइ सरकारी जागिरे भेटेँ भनेर।
बिहेको फोटो प्रकृतिकी साथी एलिशाले फेसबुकमा पोष्ट गरेको देखेँ। आफूले माया गरेको मान्छेको सिउँदो अर्कैको हातले रङ्गिएका कसले सहन सक्छ र? प्रदेशी भूमिमै प्राण त्याग गर्न मन लागेको थियो तर ती निर्दोश मेरा बुवाआमालाई रुवाउन र एक्लो बनाउन सकिनँ। जसोतसो सम्हालें आफूलाई।
विवाह गरेको केही महिनापछि उसको बुढाले उसलाई यातना दिन थालेछ। सरकारी जागिरे भनेको करारवाला रहेछ। दिनहुँको यातना र कुटपिटले पुनः डिप्रेशनको शिकार भइछ प्रकृति।
हेला र श्रीमानले दिएको पीडा सहन नसकेर घर छाडेर हिँडेकी ऊ कसैको सम्पर्कमा आइन। अहिलेसम्म उसको अत्तोपत्तो छैन। सरकारी जागिरे ज्वाँइको भूतले न छोरी खुसी भई न बा खुसी हुन सके। छोरीको न श्वास भेटियो न लास। कहाँ होली मेरी प्यारी प्रकृति?