बिरानो मुलुक
बिरानो भाषा
बिराना मान्छे
भेट्दै जाँदा
एकान्तमा म आफैसँग
खुल्न नसक्ने भएछु
आमा,
म त पत्थर भएछु
न जलाउन सक्छु
यादका टुक्राहरू
न हावामा उडाउन सक्छु
मायाका कोसेलीहरू
न मेटाउन सक्छु
परिचित तस्वीरहरू
आमा,
म त पत्थर भएछु
यो नाथे मनलाई सम्झाउन
एक कोसिस हैन, लाख कोसिस गरेँ
तिम्रो यादलाई मनमा लिएर आमा
धेरैचोटि अघि बढ्ने अठोट गरेँ
खै किन हो आमा
म त जति झकझकाए पनि
डेग नचल्ने अस्थीर पहाड भएछु
म अहंकारले पत्थर भएँ कि
म ऋणको बोझले पत्थर भएँ कि
म अनेकन अल्झनले पत्थर भएँ कि
खै आमा म त खोल्न नसकिने गाँठो भएछु
मेरो साटो तिम्रो जेठो छोरालाई
मभन्दा कोमल बनाउनु आमा
म त आखिर पत्थर भएछु
म त केवल पत्थर भएछु।