ती कलिला हातले सकि-नसकी
औंलाभन्दा ठूला कलम उचाली
त्यो मेरो कलिलो मस्तिष्कमा
सीमित नै नहुने शब्दहरू कण्ठ गरी
संसारको रीति नै बिर्सिएर
मेरो बाल्यकाल नै त्यागेर
न रात न दिन भनि फोकटको तनाव सहने मैले
अनि मेरो मेहनतको जाँच गर्ने तिमी?
बरु भरिया भएर भारी बोक्छु तर ज्ञानको भारी बोक्न सक्दिनँ मैले!
आफ्नो उज्ज्वल भविष्यको निम्ति
शरीरको अंगभन्दा गह्रुंगो झोला बोकी
यो सानो रित्तो दिमाग भर्नको लागि
अनेकौं व्यक्तिसगँ ज्ञानको भिक मागी
भ्यागुता शीतनिद्रामा हराए झैँ पुस्तकका पानाहरूमा हराएर
शिक्षा मन्त्रालयको सही नसक्नु अत्याचार सहेर
हातको औंला गलेर नकामेसम्म
आँखाहरू रसाएर आँसु नझरेसम्म
आधा जोवन डुबाएर ज्ञान आर्जन गर्ने मैले
अनि मेरो ज्ञानमा प्रश्न उठाउने तिमी?
बरु बाटोमा धनको भिक माग्छु अब ज्ञानको भिक माग्न सक्दिनँ मैले!
देशको मुहार फेर्छु भनेर राष्ट्रको गीत गाएर
अनगिन्ती रातहरू बलिदान गरेर
आधा जीवनको लगानी लगाएर
उत्कृष्टता अंक ल्याएर स्नातक गरी
शैक्षिक प्रमाण पत्र कमाउने मैले
अनि मेरो क्षमता, कला र ज्ञानअनुसार रोजगार माग्दा
अनेकौँ षडयन्त्र रचेर मलाई विदेश पठाउन खोज्ने तिमी?
अब राष्ट्रको नारा लाउन सक्दिनँ मैले!