आज पनि हर बिहान सम्झिन्छु म तिमीलाई। कति सबेरै उठ्थ्यौ, घरको कामधन्दा सबै सर्लक्कै गर्थ्यौ, अहिले तिमी कहाँ छौ प्यारी?
आज हामी अलग भएको ५ वर्ष भयो। तिमीले त मलाई सजिलै बिर्सियौ तर मैले तिमीलाई कहिल्यै भुल्न सकिनँ प्यारी।
हो, म मान्छु कि मबाट ठूलो गल्ती भयो। जब तिमी मसँग थियौ, जब तिमी मेरी थियौ मैले तिम्रो माया र तिम्रो कोमल भावनालाई बुझ्न सकिनँ। घर अनि परिवारको स्याहारसुसार गर्दा थकित भएका तिम्रा ती कोमल हातलाई कहिल्यै मायाले सुम्सुम्याउन सकिनँ। तिम्रा ती निर्दोष आँखाबाट बग्ने ती आँसुलाई कहिल्यै पुछ्न सकिनँ।
तिमीले गर्ने प्रेमिल व्यवहारलाई सधैं सामान्य रुपमा लिएँ तर आज आएर महसुस भयो कि प्रिय तिमी मेरो कति खास मान्छे रहिछ्यौ। प्यारी, तिमीले मलाई छोडेर गएको २/४ दिन त बडो खुसीयाली र हर्षबढाइका साथ बित्यो। म सोच्थेँ कि खुट्टा भए जुत्ता कति कति। त्यसले छोडेर जाँदैमा मलाई केही फरक पर्दैन।
त्यसमाथि मर्दले दश वटी बिहे गरेर ल्याउँछ भनेर ढाडस दिने मेरा घरपरिवार थिए। जसकारण तिमी जाँदा पनि मलाई कुनै दुःख थिएन। तर प्यारी, तिमीले मलाई छोडेर गएको केही समयपछि नै मलाई तिम्रो यादले पछ्याउन र सताउन थाल्यो। तिमी र तिम्रो मायालाई चिन्न नसकेको मेरो दिमाग भए पनि मेरो आत्मा र मेरो शरीरले तिम्रो मायाको महसुस गरेको रहेछ भन्ने आभास हुँदै थियो मेरो मानसपटलमा।
प्यारी, आज पनि हरेक बिहान सम्झिन्छु म तिमीलाई जब म बिहानीको मस्त निद्राबाट ब्युँझिन्छु। तिमी छेउमै भएको आभास गर्दै तिमीलाई एकनासले हेरिरहन्छु। यस्तो लाग्छ कि तिमी उज्यालो भयो भन्दै उठ्छौ र सधैं झैँ 'गूड मर्निङ हबी' भन्दै मेरो गालामा मायालु भाव पोख्दै गहिरो चुम्बन गर्छौ। तर प्यारी तिमीलाई थाह छ? यसपालि म तिमीलाई पहिले झैँ 'छोड न मलाई छ्या! के गरेको बिहान-बिहान निन्द्रा खराब नगर, उता जाऊ' भनेर गाली गर्दिन थिएँ।
हो नि प्यारी, मलाई आज पनि याद छ सधैं बिहानीको नित्यकर्म सकेर जब तिमी चियाको कप लिएर मलाई 'ह्याभ अ गूड डे हबी' भन्थ्यौ, मलाई सानो बच्चालाई झैँ फकाएर तोते बोली बोल्दै 'छितो छितो उठ्नुस्' भन्थ्यौ, त्यो सबै कुरा धेरै याद आउँछ प्यारी।
मैले अफिसको काम नभ्याउँदा तिमीले मेरो काममा कति सहयोग गर्थ्यौ तर मैले चाहिँ तिमी केही नजान्ने जस्तो गरी तिमीसँग रिसाउथेँ। आजभोलि जब अफिसबाट थकित भएर आउँछु मेरा आँखाले तिम्रो हँसिलो मुहारको खोजी गर्छ। म के गरुँ प्यारी, हुन त मैले तिमीलाई प्यारी भन्ने अधिकार गुमाइसकेको छु तर पनि आज तिमी मसँग भइदिएको भए म हरेक शब्दहरूमा प्यारी सम्बोधन गर्थें होला।
तिमी मसँगै हुँदा कहिल्यै तिमीसँग मिठो बोली बोल्न सकिनँ। तिमी मेरो छेउमै हुँदा पनि तिम्रो वास्ता गरिनँ। मेरो अरु महिलाहरूसँगको बाहिरी सम्बन्ध थाहा पाउँदा तिमीले रुँदै-रुँदै पटक-पटक मलाई सम्झाउँदा तिम्रो कुरा कहिल्यै सुनिनँ।
तिमीले मेरो सामु घुँडा टेकेर, दुई हात जोडेर 'मलाई माया मात्रै दिनुहोस्, हजुर मेरो मात्रै हुनुहोस् म संसार जित्न सक्छु' भन्दा मैले कहिल्यै तिम्रा ती कारूणिक शब्दका मागहरूलाई आफ्नो हृदयमा बसाउन सकिनँ। मेरो खोक्रो र थोत्रो मानसपटलमा त्यो कुरा नै घुसेन। न तिमीलाई कहिल्यै मायालु शब्द प्रयोग गरेँ, न मायालु व्यवहार नै दर्शाएँ।
हे भगवान्! म किन यति निर्दयी र निष्ठुरी भएको? किन मैले आफ्नी श्रीमतीलाई भन्दा धेरै बाहिरी स्त्रीलाई विश्वास गरेँ। मेरो श्रीमतीको लागि म नै उनको सबैथोक खुसी थिँए तर मैले किन उनलाई आफ्नो खुसी मान्न सकिनँ? किन बढी खुसी हुनको लागि बाहिरी स्त्रीसँग भौतारिदै हिँडेँ? किन मबाट यति धेरै धोका भयो?
मलाई कहिल्यै पनि महसुस भएन कि मेरी श्रीमतीलाई पनि मेरो माया चाहिन्छ भनेर। बाहिरी दुनियाँबाट तृप्त भएर आएको मलाई उनले मायाले सुमसुम्याउन खोज्दा पनि तिखा काँडाले घोचे झैँ महसुस हुन्थ्यो। उनका हरेक कृयाकलापमा झर्किने र थर्काउने म जस्तो महिषासुरलाई उनले सधैँ सम्मान गर्ने गर्दथिन्।
प्यारी, मलाई आज पनि याद आउँछ तिमीले मसँग 'लोक सेवाको विज्ञापन खुलेको रैछ। मसँग मात्र ८०० छ, मलाई २०० जति दिनु न म फम भर्छु' भन्दा मैले तिमीलाई बिनाकारण गाली गर्दै तुच्छ वचन लगाएको थिएँ। जो मेरा थिएनन् तिनीहरूलाई हजारौंको नोट बर्साउन सक्ने म आफ्नी श्रीमतीले जाबो सय/दुई सय माग्दा झर्केको थिएँ।
'पैसा कमाउन कति गाह्रो छ! घरमा बसेर खानेलाई के थाहा? जा एकदिन बाहिरको अफिसको काम गर् कति तनाब हुन्छ अनि कति गाह्रो हुन्छ। खुब हाकिम नै हुने झैँ गरी फर्म भर्छु रे, छैन मसँग पैसा सैसा। तैँले केही गर्न सक्दिनस्। अब खुरु खुरु बच्चा जन्माएर हुर्काइ बढाइ गर्। अझै पनि के पढाइ अनि के फर्म भर्छु भन्छेस्' भन्दै तिमीलाई तुच्छ वचन नलगाएको भए आज तिमी मसँग हुने थियौ होला।
तिम्रो मनमा त्यो मेरो वचनको तीर यसरी गढ्यो कि आज ५ वर्ष हुँदासम्म पनि तिमीले म अनि मेरो घरतिर फर्केर पनि हेरिनौ। तिमी स्वाभिमानी र मेहनती थियौ तर पनि मैले तिमीलाई कहिल्यै कुनै कुराको अवसर दिएको थिइनँ। म त पागल थिएँ जो आफ्नी श्रीमतीको सुन्दरता र शालीनतालाई नबुझेर दुनियाँका मुहारका मेकअपले भरिएका अनुहार छान्दै हिँडेँ।
अब तिमीलाई पूर्ण रूपमा गुमाइसकेपछि आज तिम्रो सुन्दरता छर्लङ्ग देखेँ। सम्बन्ध विच्छेदका क्रममा विभिन्न जालझेल गरी मैले तिमीलाई केही पनि दिएको थिइनँ। तिमीले मबाट पाउनुपर्ने अधिकार केही पनि पाएकी थिइनौ। न त तिमीले श्रीमानको माया, साथ सहयोग पायौ न सासू ससुराबाट हौसला र प्रेरणा पायौ। हामीले तिमीमाथि निकै ठूलो अत्याचार गरेका थियौँ। मैले किन बुझिनँ प्यारी?
मैले किन बुझिनँ कि मेरी आमाले भनेको कुरा मेरो बुबाले सधैँ सुन्नुहुन्थ्यो र अझै पनि सुन्नु र मान्नुहुन्छ। बालककालदेखि यो दृश्य देखिरहेको मैले आफ्नी श्रीमतीको कुरा कहिल्यै सुनिनँ, किन? किन मेरा बुबा आमाले श्रीमतीको कुरा पनि सुन्नुपर्छ, उसको पनि मनोभावना बुझ्नुपर्छ भनेर सिकाउनु भएन मलाई? किन?
किन मलाई श्रीमतीको कुरा सुन्दा जोइटिङ्ग्रे भइन्छ भनेर सिकाउनु भयो? जब मैले कोही परस्त्रीलाई रातमा होस् या दिनमा आफ्नै घर कोठामा ल्याएर राख्थेँ तब किन तपाईंहरूले मलाई गाली गर्नुभएन? मेरो आचरण र मेरो चरित्र खराब हुँदै जाँदा किन मलाई यस्तो कार्य नगर, यो सब गलत हो भनेर सिकाउनु भएन? आखिर किन? किन बुबा? आमा मलाई यस्तो कुसंस्कार किन दिनुभयो?
भन्छन् नि जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ भनेर। त्यस्तै भने झैँ भयो। म अनि मेरो परिवारमा तिमीले रुँदै मेरो घर छोडेर गएको केही महिनापछि मेरो बहिनीलाई ज्वाइँले घरबाट निकालिदिएछन्। बहिनी रुँदै आइन् र अदालत जाने कुरा गरिन्। बहिनीले रुँदै ज्वाइँले शारीरिक तथा मानसिक तनाब दिने र खानलाउन समेत नदिई रातदिन घरबाट निस्केर जान दबाब दिएपछि उनी अदालत जाने कुरा गरिन्।
त्यो कारूणिक हाल देखेर मेरी आमाले बहिनीलाई अंगालो हालेर रुनुभयो। त्यतिबेला मैले तिमीलाई सम्झिएँ। प्यारी, तिमी पनि त आफ्नो बुबा आमाको मुटुको टुक्रा जस्तै छौ। तिमी पनि त तिम्रो बुबा आमाकी प्यारी परी हौ। तिमी पनि त्यसरी रुदै जाँदा तिम्रो बुबा आमालाई कति दुःख भयो होला! कति पीडा भयो होला उहाँहरूलाई!
सायद तिमी र तिम्रो आमाबुबाको मन दुखाएर होला हामीलाई र मेरी बहिनीलाई यस्तो चोट परेको। बहिनीले अदालत जाने कुरा गरेपछि हामीले पनि ठिकै छ भनी समर्थन जनायौँ र अदालत गयौँ। सबैभन्दा पहिले न्यायिक र कानुन बुझेको मान्छेसँग सल्लाह लिने विचार गरी जिल्ला न्यायधीवत्तालाई भेटेर कानुनी परामर्श लिउँ भन्दै जिल्ला वकिल कार्यालय गयौँ।
त्यहाँ बाहिर सुरक्षा गार्डले 'एकछिन पर्खनुस्, हाकिम साप अहिले बिजी हुनुहुन्छ' भन्नुभयो। हामीभन्दा अगाडि २/४ जना बस्नुभएको थियो।
'हजुर के कामले आउनु भएको हो?'
एकजनालाई मैले सोधेँ। उहाँले भन्नुभयो- 'अधिवक्ता ज्यूसँग केही कानुनी परामर्श लिनुछ। उहाँ भित्र पीडितसँग कुराकानी गर्दै हुनुहुन्छ। त्यही भएर हामी प्रतीक्षामा बसेका छौँ।'
एकछिनको प्रतीक्षापछि हामीलाई पनि भित्र बोलाइयो। त्यसपछि म मेरी बहिनी र मेरो नाता पर्ने काकासहित वरिष्ठ न्यायधीवक्ताको कार्यकक्षमा प्रवेश गर्यौं। कोठामा बाक्लो मखमलको कार्पेट, रङ्गिचङ्गी पर्दाहरू, एसीको चिसोले गर्मीयामको मौसमलाई नै चुनौती दिइरहेको, अगाडि टेबलमा सिसिटिभी फुटेज देखिने कम्प्युटर।
कार्यकक्षमा सिसिटिभी र बाहिर सुरक्षा गार्डको सुरक्षामा बडो आन, बान र शानसँग भद्रता र सुशीलताले भरिएकी हाम्रो जिल्लाको वरिष्ठ न्यायधीवक्ता अरु कोही नभएर मेरी श्रीमती थिइन्। जसलाई मैले दुई सय रुपैयाँ माग्दा आफू बडो जागिरे भई ठूलै उपलब्धि हासिल गरेको महसुस गरेर उनलाई बिना कामकी भनेर उपहास गरेको थिएँ।
उनलाई यो सानदार र सम्मानित ओहोदामा देख्दा उनको अगाडि मेरो शिर एकाएक झुक्न पुग्यो। उनीसँग मेरो नजरहरू जुध्न डराउन थाले। मेरा हातहरू थर्थर् काँप्न थाले। उनको सामु मेरो बोली फुट्न सकेन। मेरो बहिनीले मतिर पुलुक्क हेरिन्। मेरो काका पनि दङ्ग परेर हेरिरहनु भयो।
आज हामी उनको सामु न बस्न सक्यौँ, न उनीसँग बोल्न सक्यौँ। हामी यसरी लाचार भएर उभिएको देखेर उनले 'नमस्कार, बस्नुस्' भन्दै अनुमति दिइन्।
'हजुरहरू यहाँ आउनुको कारण के होला?'
केही समयसम्म हामी नबोल्दा उनी आफैले प्रश्न गरिन्। कसरी भनौँ? कसरी भनौँ कि जुन पीडा मैले तिमीलाई दिएँ त्यस्तै पीडा मेरी बहिनीलाई परेको छ भनेर। छि: म कति निर्लज रहेछु! जुन पीडा तिमीलाई दिएँ, जसलाई धेरै अन्याय गरेँ आज उसकै सामु आफ्नी बहिनीलाई न्याय दिलाइदिनु भन्न आएको छु।
म केही बोल्न सकिनँ। बहिनीले आफ्नो समस्या सुनाउँदै गइन्। म भने लाचार भएर शिर झुकाएर विगतमा आफूले उनीप्रति गरेका तुच्छ व्यवहार सम्झिँदै गएँ। मनमा अनेक तर्क वितर्कका छालहरू उर्लिरह्यो, तिमीलाई प्रयोग गरेका तिखा वचनहरूको ज्वालामुखीले मेरो मुटु कलेजो छियाछिया पारिरहेको थियो।
म कति मूर्ख र घमण्डी रहेछु! मैले उनलाई केही नजान्ने भन्दै होच्याइरहेँ। सधैँ उनको अपमान गरेँ। उनको मन दुखाएर, तिखा र रुखा वचनका वाणहरूले उनलाई प्रहार गरिरहेँ।
भगवान् जस्ती मेरी श्रीमतीलाई मैले चिन्न सकिनँ। उनी साक्षात् भगवती सत्यवती जस्ती थिइन्। साँच्चै भन्नु पर्दा उनी त्यो कफी जस्तै छिन्, जो पिएपछि सबै तनावहरू हराएर जान्छन्।
उनी त्यो बलिरहेको मैनबत्ती जस्तै छिन्, जसमा कोमलता भए पनि आगोको ज्वाला सहन सक्ने क्षमता छ। उनी त्यो किताब र किताब भित्रका हरेक पाना, हरेक वाक्य, हरेक शब्द र अक्षर जस्तै छिन् जुन पढ्दा र सुन्दा मानिसमा भरपूर ज्ञान भरिदिन्छ।
उनी त्यो चस्मा जस्तै उदार छिन्, जुन लगाएपछि आँखा नदेख्ने र दूर दृष्टिलाई पनि सहज बनाइदिन्छ। उनी त्यो वरिपरिको हरियाली वातावरण जस्तै छिन् जसले सधैँ अरुलाई शीतलता प्रदान गर्दछ।
उनी त्यो मसिना पानीका थोपा र उडिरहेका सुन्दर पुतली जस्तै छिन् जसले जीवनलाई अत्यन्त सुन्दर तरिकाले परिभाषित गर्दछ। उनी त्यो टेवल जस्तै अटल छिन् जसमा हरेक कार्य, भारी अनि जटिलताको बोझ भए पनि कत्ति पनि विचलित हुँदिनन्।
उनी त्यो मिठो सुमधुर गीत जस्तै छिन् जो सुनेर हरेकले आफ्नो पीडा बिर्सने र मनमा माया पलाउने गर्दछ। यस्ती छिन् मेरी प्यारी, मेरी श्रीमती, मेरी धर्मपत्नी।
उनको स्वाभाब आज पनि उस्तै र उत्तिकै उदार अनि मायालु छ। छैन त केवल उनको र मेरो बीचको नाता सम्बन्ध।
मैले आफ्नै हातको हिरालाई ढुङ्गा सम्झेर मिल्काएको रहेछु। तिमीलाई कमजोर सोच्नु मेरो ठूलो भूल थियो प्यारी। मैले तिमीलाई कहिल्यै राम्रो व्यवहार गर्न सकिनँ। मलाई माफ गरिदेऊ है। यो निर्दयी मन र फुस्रो पुरुषत्वको अहंकारले आज मेरो जिन्दगी तहसनहस भएको छ।
तिमी कोमल फूल थियौ। तिम्रो मन कोमल थियो। तिम्रो कोमल दिल दुखाएँ। तिमीले गर्ने चोखो मायाको बदलामा सधैँ आँसु र पीडा दिएँ। तिमी मेरो जिन्दगीको सुनौलो पाना थियौ। मेरो निर्दयी मनले तिम्रो कोमलता र प्रेम बुझ्न सकिनँ। अब त पछुतो र पश्चाताप बाहेक मसँग अरु केही छैन। सम्झिनु, आफैले आफैलाई धिक्कार्नु यही चलिरहेछ जिन्दगीमा अचेल।