प्यारी आमा,
धेरै धेरै माया।
धेरै दिनदेखि मनमा कुराहरू सलबलाउँदै छन्। भन्ने हिम्मत नै आएन। भोलि मेरो पहिलो जन्मदिन हो। हजुर र बाबाले मेरो जन्मदिन मनाइदिन लागेको थाहा पाएँ। तसर्थ यो चिठी लेख्दैछु। कृपया अन्यथा नलिनुहोला।
आमा, जसको जन्ममा सबै खुसी हुन्छन् त्यसको पो जन्मदिन मनाइन्छ हैन र? म जन्मँदा को नै खुसी थियो र? हजुर र बाबाबाहेक कोही खुसी थिएनन्। विस्तारै हजुरहरू पनि दुखी हुन थाल्नुभयो।
मलाई थाहा छ यसमा हजुरको गल्ती छैन। पेटमा म छोरी हुँ भन्ने थाहा पाउँदा पनि मलाई जन्माउनु अनि मेरो पहिलो रुवाईमा खुसीले रुनु नै मेरो लागि सबैभन्दा ठूलो उपहार हो।
मेरो मानसपटलमा अझै पनि ती दिनहरू घुमिरहेका छन् जब हजुर अपरेसन गरेर गाह्रो हुँदा समेत मलाई रातभर बोकेर दूध खुवाउनु हुन्थ्यो। हामीलाई भेट्न दिनहुँ हाम्रा आफन्त र छिमेकी आउँथे। हजुरलाई मिठो खाना अनि मलाई राम्रो नाना लेराउँथे। तर तिनीहरू धेरैले दिएको मायाभन्दा नि तीतो बोली मलाई बढी याद आउँछ।
म छोरी भएर वा भनुँ दोश्रो छोरी भएर होला कोही खुसी थिएनन्। यहाँ खुसीभन्दा बढी शोक देखिन्थ्यो। सबैजना कुनै न कुनै तवरले मलाई दुखी नै बनाउँथे। तिनीहरूको बचनको बाँड मेरो मनमा कहिले नपुरिने घाउ बनेर बिझेका छन्। सायद हजुरलाई पनि त्यस्तै भाएको होला।
हरेक दिन उस्तै माहोल हुन्थ्यो। छोरा नजन्मिनाले सधैं मातम मनाइन्थ्यो। कोही भन्छन् अर्को पटक पक्कै छोरा हुन्छ, फलानो ज्योतिषलाई देखाउनू। कोही चाइनिज क्यालेन्डर हेर्नु भन्थे भने कोही तेस्रो पटकसम्म अपरेसन गर्न मिल्छ।
कोही नाइटो माथि फर्किएको छ, अर्को पालि पक्कै छोरा हुन्छ भन्थे त कोही भन्छन् अनुहार ठ्याक्कै छोराको छ, त्यै मात्र फेर्न बिर्सेछ। कोही भिडिओ गरेनौ भन्छन् त कोही छोरी भएर पीर नगर, अहिलेको जमानामा छोराछोरी बराबर हुन् भने। यदि छोराछोरी बराबर भए यो सान्त्वना केको लागि दिनुभएको? हजुर आफै भन्नुहोस् त?
अझ सबैभन्दा मन दुखेको त 'अब हजुरको वंश नाश भयो' रे। हैन म हजुरको शरीरको अंश भएपछि वंश चाहिँ कसरी भइनँ? मलाई थाहा छ हजुरलाई नि यो कुराहरूले साह्रै पीडा दिएको थियो तर व्यक्त गर्नुभएन। त्यसैले डिप्रेसनको शिकार हुनुभयो।
हजुरको भोक, निद्रा, आराम सब गडबड भएर अस्पताल भर्ना हुनुभयो। न त मैले हजुरको दूध खान पाएँ न काखमा बस्न। हजुर जिउँदै हुँदा पनि टुहुरो झैँ बट्टाको दूध खाएर हजुरआमासँग सुत्नपर्यो।
आमा जुन हिम्मतले गर्भ नतुहाई जन्माउनु भयो, त्यही हिम्मतले मलाई उचित शिक्षा र संस्कार दिनू। म एक असल सन्तान बनेर देखाउने छु। अनि मात्र मेरो जन्मदिन मनाउँला हुन्न र!
यो समाजसँग पनि मेरा धेरै जिज्ञासा छन्। यही समाजमा दुर्गा, लक्ष्मी र सरस्वतीको धुमधामले पूजा आराधना गरिन्छ तर आफ्नै घरमा जन्मेकी चेलीलाई किन अपहेलना? यहाँ सबैलाई आमा चाहिन्छ, श्रीमती, दिदीबहिनी, गर्लफ्रेन्ड चाहिन्छ तर छोरी चाहिँ किन चाहिँदैन?
के छोरीबिना सृष्टि सम्भव होला? महिला बिनाको घर कस्तो होला? यति सानो कुरा पनि किन नबुझेका हामीले? छोरा पाए बुढेसकालमा हेर्छ भन्छन। तर छोरा पाउने बाबुआमाहरू पनि त वृद्धाश्रममा भेटिन्छन् नि।
पल्लो घरकी काकीले बुढेसकालमा ४ वटा छोरी पेटमा फालेर अहिले बल्ल छोरो पाइन्। झण्डै ज्यान नै गएको थियो। उहाँलाई सबैले बधाई दिंदै साहसी र बुद्धिमानीको तक्मा दिए अनि मेरी आमालाई मूर्खको संज्ञा। आखिर किन हत्यारालाई यहाँ पुरस्कृत गरिन्छ अनि सत्य अपनाउनेलाई सजाय?
मेरी आमा डिप्रेसनको शिकार हुनाले औषधि सेवन गर्नुहुन्छ अनि मैले आमा हुँदाहुँदै टुहुरी हुनुपर्यो। काठमाडौंको अधिकांश शिक्षित र सम्पन्न घरहरूमा त यस्तो हालत छ भने गाउँ ठाउँमा कति धेरै समस्या होला! म त कल्पनासम्म पनि गर्न सक्दिनँ।
तसर्थ अरूको निजी जीवनमा हस्तक्षेप नगरौं। भ्रूण हत्यालाई प्रोत्साहन नगरौं, नवजात शिशु र सुत्केरीलाई सही पोषण र रमणीय वातावरण दिलाउँ, समयमै मानसिक रोगको पहिचान गरी यसको उपचार गराऔँ।
एक पटक सबैलाई दुई हात जोडेर बिन्ती गर्न चाहान्छु कि 'फेरि छोरी' नभन्दिनू होला।
उही हजुरको कान्छी छोरी,
प्रकृति (परी)।