प्रिय बिमु, तिमीलाई पहिलेभन्दा नि धेरै माया गरेको छु। तिम्रो सम्झनामा तड्पिनु मेरो लागि दिनचर्या बनेको छ। आशा छ तिम्रो दिनहरू स्वर्गलोकमा बितिरहेको छ।
तिमीलाई पनि मलाई जस्तै माया लाग्दो हो नि! तिम्रो र मेरो दुनियाँ फरक भएको छ, हालत बद्लिएको छ। के भनौँ र? मेरो हालत त मुस्किल भएको छ। खै के नै सुनाउँ र तिम्रो लागि, दुःखहरू तिमी आफै दु:खमा अस्ताएकी छौ। खै कसको नजर लाग्यो हाम्रो मायामा, मबाट चुँडेर लग्यो।
आज फेरि तिनै दिनहरू सम्झेर निदाउन सकिनँ। बिरानो मुलुक, सबै बिराना छन् मेरो लागि। सिर्फ तिम्रो यादहरूको सहारामा बाँचेको छु सास फेरेको छु। तिमी र ममा त्यही फरक छ। तिमी लास बनेर गयौ, म जिउँदो लास बनेर बाँचिरहेको छु।
आजकल रातहरू यस्तै गरी बित्दै छन्। निद्रा बिल्कुलै छैन। ऐठन कति हो कति। आज यो दिनप्रति नि गुनासो छैन, माया साँचो थियो र त सम्झनाहरू आउँछन्। स्वार्थ भएको भए कहिले बिर्सेको हुँदो हुँ। मृत्यु भय हुँदो रहेछ, भयले प्रलय हुँदो रहेछ। अस्ताउँदै छन् खुसी निकै टाढा क्षितिज पारिबाट। खै के होलान् भर्खरै लोलाएका प्रेमका भाषाहरू!
अपरिपक्व मातहरू अनि तिम्रा अधुरा साथहरू। थकित छ मन। बस् रंगिन दुनियाँ देख्न पाएको मात्रै हो, मनले यो ससारलाई उहिलै बिदा गरेको थियो जति बेला तिमीले दुनियाँ छोडेर गएकी थियौ। छटपटी दुवैलाई भएको थियो। मुक्ति तिमीले पायौ, सर्वश्व मैले गुमाएँ। आज तिमी गएसँगै मेरो मन पनि बिरामी भएको छ, मुटु भकानिएको छ।
सम्हाल्नै सकिनँ आँसु, अनयासै बगे खै कति बेला। तिम्रो र मेरो साथ छुटाइदिए ती मलामीहरूले। मुर्छित थिएँ, थाहै पाइनँ। केही समयपछि होस आएछ। मलाई घर फर्कने कुरा सुनाइयो। अन्तिम पटक तिम्रो शरीर छोएर रेनि इच्छा भयो। रामघाट तिर गएँ। त्यहाँ तिम्रो शरीर निर्जीव भएको थियो। फेरि पटक पट्क भकानिएँ। जबर्जस्ती सम्हाले आफूलाई।
मलाई थाहा थियो अब हाम्रो भेट हुने छैन। तिम्रो अगाडि रुन नि पाउने छैन। फेरि अन्तिम पटक बिदाइका हातहरू हल्लाउँदै आँसु बगाएँ। नियती भनौँ कि चलन, श्रीमानले अन्तिम संस्कार हेर्नु हुँदैन रहेछ। मनलाई जलाउँदै बिदा गर्नु नै मेरो अन्तिम कर्म थियो। माफ गर है माया, तिम्रो सानु आफू बसेको मनलाई कसरी दागबत्ती दिन सक्थ्यो र!
तिमीलाई घाटमा छोडेर आएपछि कसरी घर गएँ, कोसँग के बोलेँ, के गरेँ केही सम्झना छैन। बस् बाँचिरहेको थिएँ, सास फेरिरहेको थिएँ। केको निद्रा? केको चयन? घर पुगेपछि मेरो बिरामी बुवाको हालको त कसरी वर्णन गरौँ र? मलाई आउनी काल किन तिमी लाई आयो बुहारी भन्दै भक्कानिनु भएको थियो।
आमा उस्तै। बहिनीहरू पनि क-कसलाई सम्हालुँ? आफै मुटु छियाछिया भएको थियो। म विवश थिएँ। आफूलाई नसम्हाले त्यो भाव वियोगान्त रोकिने थिएन। अरुलाई त बल्लबल्ल सम्हालेँ फेरि तिम्रो आमाले फोन गर्नुभयो- 'बाबु के भो नि यो सब?'
उहाँ भक्कानिनु भयो, म केही बोल्न सकिनँ। आवाज बन्द भयो। फोन काटियो। अझ तिम्रो जन्म दिने बुवा अनि तिमीले सँगै तातेताते गर्दै हुर्काएकी बहिनीको त के कुरा गरुँ? चिन्ताले ज्यान आधा बनाएको पत्तै पाउनु भएको छैन। भाइको कलिलो मानसपटलमा के बित्यो होला, कुनै शब्द नै छैन दुनियाँमा वर्णन गर्नलाई।
तिमीले बारबार सोध्ने गर्थ्यौ नि 'तिम्रो काम कहिले हुन्छ? चाँडै भैइदिए हुन्थ्यो नि।' हो, त्यही काम भएर म बिरानो मुलुक आएको छु। तिम्रो चाहना थियो नि हाम्रो नि सहरमा सानो घर होस्, तिम्रो आफन्तहरूले नि राम्रो भनून्। तिमी नरहे पनि तिम्रो सपनाहरू पूरा गर्ने कोसिस गर्नेछु।
चाहना एउटा सानो घरमा बिमला निवास लेख्ने छ। यो मेरो सानो महत्त्वकांक्षा। आशा छ तिमीले छाडेर गरेको मायाले पूरा हुनेछ। एक दिन तिमीले जोडले हिर्काएको थियौ। तिम्रो हातको चुराले मेरो निदारमा सानो घाउ लागेको थियो। त्यति बेला पीडा बिल्कुल भएको थिएन। तिम्रो त्यो मायामा मन निकै रमाएको थियो।
आजभोलि यस्तै यस्तै सपनाहरू आएर खुब बेचैनी दिएर गएका छन्। केही शत्रुहरू खुलेर हाँस्दै होलान् तिम्रो र मेरो साथ छुटेको र सर्वश्व उठेकोमा। हाँस्न दिउँ, कम्तीमा तिम्रो र मेरो कुरामा कसैको त दिनहरू सजिलै बित्दै छ।
सधैँ झैँ आज पनि तिम्रो सम्झनामा दुई थोपा आँसु बगाएर दिनहरू काट्दै छु। सम्झ्ना खुबै आएको छ। तिम्रो तस्बिर छुन्छु, बोलाउन खोज्छु। बोल्दै बोल्दैनौ। कस्तो निष्ठुरी भएको। फेरि सम्हाल्छु त्यो निर्जीव हो भनी।
जिन्दगीले मिठो अप्रील फुल मनाइरहेको छ। अपसोच! महिना फरक छ। तिमी आएर रङ्गिएको जिन्दगी थाहै भएन कति चाँडै उजाड भयो, भताभुंग भयो। रुनु मेरो लागि दिनचर्या भयो, छटपटी र बेचैनीको त कुरै छोडौँ। म तिम्रो राजा भएर बाँच्न चाहन्थेँ। परिआएमा सेवक बनेर सेवा गर्न नि तयार थिएँ।
जिन्दगीका फूलहरू नफुल्दै सुकेर मोरेका छन्। सकिनँ तिम्रो कमिहरू झेल्न। मेरा खुसीहरू दुर्घटना परेका छन्। खै किन हो जिन्दगी मदिराको मातमा बिताइदिन मन लाग्छ तर सक्दिनँ तिम्रो यादहरूलाई लठ्याउन, मत्ताउन। तिमी मेरो आँसुमा बगेकी हुन्छौ, नङ अनि मासुमा बसेकी हुन्छौ। यता कतै दायाँबायाँ छौ कि भनी तडपिन्छु, चिच्याउँछु।
दुनियाँले कति सजिलै पागल भनिदिन्छ। दुःख पनि लाग्छ। सवाल पो गरिदिउँ कि यो दुनियाँसँग? फुटेको कर्म सम्झिन्छु अनि फेरि सम्हालिन्छु आफै। आजकल मेरो घडी उल्टो चलेको हुन्छ। निभ्नु पर्ने बेला दियो बलेको हुन्छ। आजभोलि सपनाहरूले निकै सताएकोले होला सुकेको रुख नि फलेको हुन्छ।
तिमीले छाडेर गएपछि धेरै गुमाएँ पनि केही पाएको छु। हिजोआज कहिलै नबोल्ने आफन्तको सहानुभूति पाएको छु। जिन्दगी जिउने तरिकाहरू सिक्न पाएको छु। आफू आफैमा रमाउन सिक्ने मौका पाएको छु। एकान्त र दुःखहरू बुझेँ, पीडाहरू बुझेँ, जलनहरू बुझेँ, शत्रु बुझेँ, केही मित्रहरू पनि।
छटपटी बुझेँ, बेचौनी बुझेँ अनि सबैभन्दा धेरै तिम्रो मायाको महत्त्व बुझेँ। तिमी थियौ नै त्यस्तै मायालु, दयालु अनि सबै समस्याको हल गर्न सिपालु। हाम्रो बिहे पछिका २९ दिनहरू कति रङ्गिन थिए तर थाहै भएन ३० दिनमै हाम्रो जिन्दगी आधा हुन्छ भनेर। रङ्गहरू सादा भए, खुसीहरू आधा भए र प्रलयहरू राजा भए।
के भनौँ अब, जिन्दगी तिम्रो सम्झनामा बिताउने वाचा गर्दै बिदा हुन्छु।
उहीँ तिम्रो अभागी श्रीमान्।