मैले यसभन्दा अघि नै चिनेको पनि होइन। हरेक मान्छेका अन्तर कुन्तरमा पस्न सक्ने मेरो क्षमता नि छैन। तर आज अनायास उनको हाउभाउले मेरो ध्यान खिच्यो। मैले आफैंलाई प्रश्न गर्न पुगेँ। आखिर किन यस्तो भैरहेछ आज मलाई?
नेपाल प्रहरी दिवस। जिल्लाका सबै सुरक्षा प्रमुखहरूको उपस्थिति। निजामती, जङ्गी, व्यवसायी, सञ्चार क्षेत्र र नागरिक समाजको उपस्थिति। पूर्वप्रहरीसँगै अमर प्रहरी परिवारको पनि सहभागिता।
नेपाल प्रहरीले पालन गरिरहेको आदर्शको उजागर। सुरक्षा क्षेत्र नागरिकको जिउधनको सुरक्षा र राष्ट्र हितमा समर्पित शक्ति। तत्कालै गरेका कार्य र सफलता असफलताहरूको प्रस्तुति। छलफल र अन्तर्क्रियाको व्यवस्थित संयोजन। कार्यक्रमको महत्व र रौनक सान्दर्भिक।
गीतादेवी। अमर प्रहरी परिवार। उमेर करिब ३५ वर्ष। सन्तान भए/नभएको यकिन नभएको। पारिवारिक अवस्था र घरको वातावरण कस्तो छ मैले जान्ने कुरै भएन। केवल यति थाहा छ, अमर प्रहरी परिवारहरूको उपस्थितिभित्र यस्तै परिवेशकी गीतादेवी भौतिक रूपमा नै समारोहमा सरिक छन्।
नागरिक सुरक्षाको व्यवस्थापन गर्दा प्रहरी सुरक्षाकर्मीको आफ्नै जीवनको पनि जोखिम रहने गर्छ। कामकै सिलसिलामा यस्ता जोखिम कति पटक हुने गरेका छन्। अरूले हेर्दा बर्दीको धाक् लगाएको जस्तो टिप्पणी नसुनिने होइन। तर वास्तवमा तालिम प्राप्त छरितो र चिटिक्क शरीर। उज्यालो अनुहार। उच्च शिर र स्वाभिमानी छातीसँगै कर्तव्यले थिचिएको व्यक्तित्व।
मैले उनको श्रीमान यस्तै छरितो, फूर्तिलो प्रहरी बर्दीमा सँगै उभिएको कल्पना गरेँ।
कर्म क्षेत्रमा डटिरहेका सडक ट्राफिकदेखि हतियार बोकेर परेड खेलिरहेका सुरक्षाकर्मी सम्झिएँ।
व्यक्तिगत जीवनका चाहना भुलेर स्वाभाविक आकर्षणसहित उभिएका कर्तव्यनिष्ठ उनीहरूको पङ्ति मष्तिस्कमा आउन थाले। मैले आखा खोलेँ। वरिपरि मैले कल्पना गरेजस्तै नै उपस्थिति छ।
मेरा आँखा फेरि उनैतिर सोझिएछन्। उनी टोलाएकी थिइन्। सायद उनी सोचिरहेको थिइन् आफ्नो खसम। यही भिडमा खोजिरहेकी थिइन् आफ्नो प्राणनाथ। पतिपत्नी बीचको जीवन सम्बन्धका अन्तरङ्ग कल्पना गरेँ।
घर परिवार र समाज बीचका सम्बन्धका आयामहरू। जागिरे जीवनका बाध्यता र कर्तव्यका श्रृङ्खलाहरू। संयोग, वियोग र सम्भावनाका अनन्त तरेलीहरू। सँगै रहँदा बस्दाका खस्रा, मसिना वा प्रेमिल मिलनहरू।
गीतादेवी सायद गिनै गोधूली स्मृतिमा आफूलाई डुलाउँदै थिइन्। सायद कुनै वर्ष उनी छुट्टीमा घर आएका थिए। मधेशको चर्को घाम। रूखका छहारीले मात्र के पत्तो लाग्छ र ? पहाडमा पो अग्लो डाँडामा रहेको वरपिपल चौतारीमा थकाइ मार्दा सिरसिरे हावाको मन्द स्पर्शमा झुल्न सकिन्छ। तल खोल्सीकै गहिरोबाट पनि हावाको झोंका उकालो लागेर डाँडाको वरपिपल चौतारीमा आइपुग्दा प्रकृतिले नै थकाइ मेटिने ऊर्जा थपेर ल्याउँछ।
तातो हावाले असिनपसिन भएको शरीर। पसिनाले निथ्रुक्क भिजेको वदन। तालिम प्राप्त फौजी शरीर। प्रकृतिका यस्ता सामान्य स्वभावको के वास्ता र ? सायद नजिकै आएर गरेको वार्ता सम्झिन पुगिन्।
‘ए गीता कति पसिना आएको हो तिमीलाई ?’
‘मेरो त सधैँ यस्तै हो।’
‘ह्या यति त खप्नु पर्छ नि हो ।’ भन्दै नजिकै आएर उनको रूमालले अनुहारका पसिना पुछि दिएका थिए। रूमाललाई पङ्खाजस्तै बनाएर अनुहारमा हावा चलाइदिएका थिए।
‘भयो पर्दैन’ भन्दै उनले हात हटाउन खोजेकी थिइन्। उनका श्रीमानले ‘यसरी कहाँ हुन्छ र पख म एक छिन हम्की दिन्छु। अलिक शितल हुन्छ।’ भन्दै च्याप्प हात समाएर हटाएका थिए। त्यसपछि रूमाल हल्लाउँदै हावाको मीठो ममता पोखेका थिए। लामो समयपछि घर आउँदा उनले देखाएको माया र नजिकपनमा दुवै द्रवित भएका थिए। सधैँ यसैगरी सँगसँगै बस्न पाए कति रमाइलो हुन्थ्यो होला।
मिठो मिलनको उनको यो स्मरणसँगै मैले फेरि पुलुक्क उनलाई नियाल्न पुगेछु। यसपटक आँखा चार भए। मैले अप्ठ्यारो महसुस गरेँ। उनले पनि तुरून्तै अनुहार अन्त फर्काउँदै आँखा हटाइन्। लाग्छ, पक्कै उनका आँखाले मञ्चमा आफ्नो प्राण खोजिरहेका थिए। त्यहाँ आफ्नो कर्तव्य निर्वाह गरिरहेका अन्य सहकर्मीसँगै लामबद्ध ऊ पनि काममा व्यस्त छ भन्ने कल्पनामा डुबेजस्तो। आफ्नो काम गर्दागर्दै बेला बेलामा पुलुक्क छड्के नजर आफैँतिर सोझिएजस्तो। त्यो लजालु भाव म देखिरहेछु।
आँखामा चमक छ। मनमा जिज्ञासा छ। स्मरण अझ ताजा भएको छ। आँखामा खोजी छ। हृदयमा कामना छ। तनमा चाहना छ।
अतृप्त मनका अनन्त श्रृङ्खलाहरू कायमै राखेर वरपर के के खोजिरहेजस्तो। आफ्नै संसारमा रमाउन चाहेजस्तो। कार्यक्रम सञ्चालकलाई दिवसको सान्दर्भिकता प्रमाणित गर्नुछ। कार्यक्रमका विज्ञलाई विषयको औचित्य बुझाउनु छ।
सम्मान पाउनेलाई सगर्व सम्मान ग्रहण गर्नुछ। जग्गादातालाई सम्मानपत्र र दोसल्ला लिनु छ। पूर्व सेवकलाई खादा लगाउनु छ। बहाल रहेका उत्कृष्टलाई पुरस्कार पाउनु छ।
अमर प्रहरी परिवारलाई आफ्ना दिवंगतका सम्झनामा आयोजकबाट निर्धारित सम्झनाको अमूल्य कोसेली लिनु छ।
यस्तै अवस्था भएका अरू अगाडि लम्किए। गीतादेवी पनि त्यही लाममा अगाडि आइन्। केही न केही कोसेली सबैले पाए। त्यो क्षण रमाइलो थियो। आदानप्रदानको आत्मीयता, भावुकता र सम्झनाको त्रिवेणीमा त्यो परिवेश मिश्रित लाग्दथ्यो। मुस्कान र ढाडसपूर्ण शब्दहरू स्वाभाविक थिए। करूणा र वेदनाको अनुभूति अनिवार्य थिए।
मेरो अन्तस्करणले अरूलाई नियाल्यो। अमर प्रहरीका परिवारलाई नियाल्यो। प्रहरी संगठनले आफ्ना अग्रज र सेवामा ज्यान गुमाएका सहकर्मीप्रति देखाएको सम्मान र आत्मीयता अनुकरणीय लाग्यो। म यो परिवेशबाट प्रभावित थिएँ।
मेरा आँखाले फेरि गीतादेवीलाई खोज्छन्। गीतादेवीजस्तै अरूलाई नियाल्छन्। भक्कानिएका अनुहारहरू थिए। करूणाका आकांक्षा थिए। स्वाभिमानका प्रतिमूर्ति थिए सबै।
‘कहाँ गइन् हाम्री गीतादेवी?’ मैले निकै खोजेँ उनलाई। अलिक पर एकान्तमा मधुरो महिला आकृति देखियो। मैले भीडबाट तन्किएर हेरेँ। उनै गीतादेवी। आँशु पुछ्दै आकाशतिर हेरिरहेकी थिइन्। अमर पतिसँग सायद एकान्तमा आफ्ना भावना साटिरहेकी थिइन्। अनायासै मेरा पनि आँखा रसाइ सकेछन्।