मृत्युको भय कस्तो हुन्छ भनेर कसैले सोध्दा म स्पष्ट जवाफ अझै दिन सक्दिनँ। यसको जवाफ सुशान्त बाहेक अरु कसैसँग हुन सक्दैन। कात्तिक १९ गते तिहार थियो। कात्तिक १७ गते उसको मलेसियाबाट नेपालका लागि फ्लाइट थियो।
नोभेम्बर १५ तारिखमा हुने फ्लाइट अन्य कामदारहरूको व्यस्थापन गर्न छिट्टै लागेको रहेछ। सुशान्त बोहरा, उसको परिचय म कसरी दिउँ? ऊ चार दिदीहरूको एक्लो भाइ। साइँला काकाको कान्छो सन्तान।
मलेसिया गएको चार वर्षसम्म पनि उसको अत्तोपत्तो थिएन। एकथरी मान्छे ऊ मरिसकेको कुरा गर्थे। अर्का थरी मान्छेहरू दारु धेरै खायो होला, जेलमा होला भनेर साइँला काकाको घाउमा चुक लगाइदिन्थे।
वास्तविक कुरा के थियो, कस्तो थियो स्वयं उसैलाई थाहा हुँदो हो। न उसको फोनआउँथ्यो, न कहिल्यै म्यासेन्जरमा पठाएको म्यासेजको जवाफ नै।
एक दिन साँझ क्याफेमा साथीहरूसँग चिया पिउँदै थिएँ। साइँला काकाले फोन गर्नुभयो- 'सुशान्तको अवस्था बारे बुझ्दे न, जिउँदो छ कि मर्यो।'
काकाको रुवाइ मिश्रित स्वरले म आफै भावुक भएँ। दोस्रो दिन सोमबार म सिधैँ दूतावासमा गएर वैदेशिक रोजगारमा गएको मान्छे सम्पर्क विहीन भएको निवेदन चढाएर फर्किएँ। त्यो दिन मनमनै सुशान्तसँग कुरा भलाकुसारी गर्न मन भयो।
ऊ विदेश जाँदा चार दिदीबहिनीहरूले उसलाई अङ्गालोमा बेरेर सयपत्रीका भन्दा ठूला आँसु खसाएका थिए। म फेरि भक्कानिन पुगेछु।
गोगनपानीका भिरबाट बाबियो चोरेर लट्टे पिङ हाली चार गाउँका केटाकेटीहरू खुबै रमाइलो गर्थ्यौं। साइँला काकाको फोनपश्चात मेरो एकै लक्ष्य थियो- सुशान्तको खोजी गर्नु।
५ दिनपछि दूतावासबाट फोन आयो- 'सुशान्त बोहरा हाम्रो सम्पर्कमा आएका छन्, उनी विगत ६ महिनादेखि अस्पतालमा रहेछन्।'
यो खबर सुनेबाट म आँतुर भइसकेको थिएँ जसरी पनि सुशान्तलाई स्वदेश फर्काउनुपर्छ भन्ने कुरामा। हाम्रै गाउँका दाइ प्रधानमन्त्रीका सचिवालयमा थिए। उहाँलाई भेटेर सबै कुरा बेलिविस्तारमा सुनाएँ। दाइले अबको १० दिनमा स्वदेश फर्काउने वचन दिए।
सुशान्त मेरो गाउँले काकाको छोरो मात्र थिएन, ऊ मेरो बाल्यकालको सहयात्री थियो। ऊ र म एक हुनु भनेको गाउँ भरिका बारीका काक्रा, सुन्तला फलफुल चोरी हुनु मानिन्थ्यो। दुई घण्टाको बाटो हिँडेर स्कुल जानु पर्ने। कति दिन हामी खोलामा माछा मारेर स्कुल छुट्टी हुने बेलासम्म खोलामा लुकेर साँझ घर फर्किन्थ्यौँ। हाम्रो मन एक, हाम्रो भावना एक। हाम्रो दोस्ती त्यस्तै थियो।
मनमा तडपाइका ज्वारभाटा उठ्दै थिए। कोठामा पुगेँ, बाल्यकालको फोटो समातेर एकछिन टोलाएँ।
सुशान्त स्वदेश फर्कदै छ। करिब चार वर्षपछि उसलाई म खै कस्तो रुपमा देख्नेछु तर जुन रुपमा देखे पनि त्यो बाल्यकालको उटपट्याङ सुशान्त म देख्ने छैन।
त्रिभुवन विमानस्थलमा प्लेन ल्यान्ड भएपश्चात साइँला काका र म उसको व्यग्र प्रतीक्षा गर्दै थियौँ। उसलाई एक जवान पुरुषले ह्विल चियरबाट धकेल्दै हामी भएको ठाउँ ल्याएर आए। विमानस्थलबाट ट्याक्सी रिजर्भ गरेर हामी कीर्तिपुर पुग्यौँ।
ऊ बोल्न त सक्थ्यो तर कम्मरभन्दा तलको शरीर शून्य चालमा पुगिसकेको रहेछ। केही दिनको अस्पताल उपचारपछि सुशान्तलाई अलि सहज महसुस भयो। गाउँमा तिहारको माहोल बनिरहेको थियो, यता हाम्रो हालत कुवाँको भ्यागुता जस्तै बनेको थियो।
एक रात हामी अबेरसम्म सुतेनौँ। उसको घाउलाई बल्झाउने अवस्थामा त थिइनँ तर सोधिहालेँ, 'सुशान्त, के भयो यार? कसरी यस्तो अवस्थामा पुगिस्?'
लामो सास फेर्यो र भन्न सुरु गर्यो-
'गाउँबाट विदेशका लागि हिँडेपछि केही गर्छु भन्ने लागेको थियो। जम्मा हामी २० जनाको टोली मलेसिया पुग्यौँ। ट्याक्सी आएर हामीलाई एक घरको अपार्टमेन्टमा छोडेर गयो। सानो ठाउँ, हामी २० जना थियौँ। सबैको पासपोर्ट एजेन्टले कम्पनीलाई दिइसकेको रहेछ हामीले पछि मात्र थाहा पायौँ।
काम धेरै अप्ठ्यारो। सर्लाहीको एक साथी काममा गएको दुई दिनमा करेन्ट सर्किटमा परेर निधन भयो। खाना समयमा नमिल्ने। फलाम कम्पनी, फलामलाई काट्ने मिलाउने उठाउने हाम्रा काम थियो। हामीहरू एक सिफ्टमा ५ जनाको ड्युटी हुन्थ्यो। समयको चक्र घुमिरहँदा हामी सँगै गएका तीन जनाको मृत्यु भयो।
सम्पर्क गर्न मोबाइल थिएन। कम्पनीले एक वर्ष हुँदा समेत तलब नदिएर दुःख दिइरहेको थियो। न खानलाई समय हुने न बोल्नलाई फुर्सद नै। कहिलेकाहीँ त श्वास बन्द भइदिए हुन्थ्यो जस्तै लाग्थ्यो। मृत्युलाई पुकार्थें। फेरि बुढा बाआमाका अनुहार आँखामा नाच्थे। दिदीहरूले उनेका सयपत्रीको माला आँखा वरिपरि घुमिरहन्थे।
करिब एक वर्ष सात महिनापश्चात त्यो अन्धकार गुफाबाट हामी माथि उठ्दै थियौँ। नेपालीहरू बस्ने अपार्टमेन्टको भुइँतलामा बलात्कार गरी मारिएको एक महिला फेला परिन्। ती अरबी महिला थिइन्। शंका हामीलाई गर्यो र मसहित पाँच जनालाई जेल चलान भयो।
त्यहाँको सजाय पनि धेरै कठोर। जब हामी सुत्न खोज्थ्यौँ, तातो पानी खन्याइन्थ्यो। जब भोक लाग्थ्यो, खानलाई चनाका दानाहरू चरालाई दिए जसरी दिइन्थ्यो। हामीहरू क्रुर अपराधी भएजस्तै गरी हेरिन्थ्यो।
हामी निर्दोष साबित भयौँ। त्यो फैसला हुन करिब दुई वर्ष लाग्यो। कम्पनी र जेलको कष्टकर जीवनपछि नेपाल फर्केर केही गरौँ भन्ने हामीले सोच बनायौँ।
जुन दिन हामी जेलबाट नेपाली दूतावास जाँदै थियौँ, ठूलो सवारी दुर्घटनामा पर्यौं। दुई जनाको घटनास्थलमै मृत्यु भएछ। कालिकोट, झापा र म हामी गरी तीन जना मात्र बाँचेका रहेछौँ। १८ दिनपछि मेरो होस खुल्यो। तब थाहा पाएँ, हाम्रो जिम्मा दूतावाले नै लिएछ।'
ऊ आफ्नो जीवनका कहाली लाग्दा घटनाहरू भन्दै थियो। उसको स्वर अवरुद्ध भयो। म सोच्दै थिएँ, मृत्युसँग साक्षात्कार गरेर आएको मान्छे रहेछ सुशान्त।
फेरि उही बोल्यो र भन्यो, 'बरु कम खर्च गर्नू तर आफ्नै पाखुरा बजार्नू। वैदेशिक रोजगारीमा जानु त कालको मुखमा पर्नु रहेछ यार!'