कसैले भन्दै थिए क्यारे
'जो सम्बन्धभन्दा माथि छ
मेरो एउटा साथी छ'
अहिले अन्तर्मनको अनुभूतिले भनिरहेको छ
सायद त्यो साथी तिमी नै हौ
तर मेरो मनले मनन गर्यो
प्रिय छौ तर अति कठोर किन छौ?
पाइला पाइलामा साथ छौ
तर धेरै टाढा छौ।
साथ दिनु नदिनु त्यो तिम्रो स्वतन्त्रता
तर हात दिएर पक्षपात नगर
भन, निसंकोच भन
भुल कहाँ भयो?
बथानले अर्कैतर्फको बाटो फेर्दा
किन बहुमतको साथ दिएनौ?
यदि तिम्रो लागि म प्रिय भैदिए
तिम्रो मेरो चारुवाक चल्नुपर्थ्यो
तर विडम्बना
मौनताले रोइला नचाइरह्यो।
मलाई सकुनिको चाल ठान्ने तिमी
आखिर आफै घटोद्कज बन्यौ
न घनिष्ट न घातक
तर सधैं पछ्याउनुको कारण त हुनुपर्छ!
भन,
कुन अस्तित्वको अभिलाषाले अल्झाएर आयौ?
घमण्ड कुन कुराको छ?
तिम्रो त अन्त्यको कारण नि अरु नै छ
आखिर प्रकृतिको खुल्ला 'क्यानभास'मा
तिम्रो चित्र कोर्ने चित्रकार त मै हुँ
त्यसैके आऊ आज हातमा हात मिलाउँ
म नरहे तिम्रो अस्तित्वको 'अ' रहने छैन
कि त तिम्रो आज
नबोल्ने आइतबार चल्दै छ?
तिमीमा दौडधुपको थकाइ
देखावटी मन
कुनै वस्तुप्रतिको आकर्षण छ छैन
त्यो तिम्रो सरोकारको कुरा
तर यति प्रष्ट भयो
तिम्रो पनि अन्त्य निश्चित रहेछ
तिमीसंगको अनुत्तरित संवाद सकिनै आँटेछ
आखिर प्रकृतिले नै विश्वासघात गर्यो
तिम्रो अस्तित्वको 'अ' मेटिँदै छ
प्रिय छाया
अलबिदा।