बिहानीपख उसले मलाई फोन गर्यो
र सोध्यो
तिमी किन बदलियौ?
मलाई त्यतिखेरै साँझ परे झैँ लाग्यो
मसँग उत्तर थिएन
सायद मेरो उत्तर उसको लागि नै थिएन
उसले मलाई भेट्ने इच्छा गर्यो
मैले पनि नभेटौँ भनेर भनिनँ
ऊ साँझपख त्यही आइपुग्यो टुप्लुक्क
जुन ठाउँ हाम्रो सपनाहरूको
साक्षी थियो र
तुहिएका सपनाहरूको मलामी पनि थियो।
मैले उसलाई ठाडो शिर पारेर हेर्नै सकिनँ
मलाई थाहा थियो उसको
आँखाको रोशनीले म भित्रको मलाई नै मार्नेछ
ऊ मेरो नजिक आयो
मेरो हात सुमसुम्यायो र भन्यो
'तिमी टाढा नजाऊ न है'
लाग्यो उसको अँगालोले मलाई नै पर्खिरहेका छन्
तर...
पहिले जसरी म अँगालिन नै सकिनँ।
उसको मलिन स्वरले मेरो मन भित्रका
कठोर संरचनाहरू भत्काउन थालिसकेका थिए
म अब पग्लिने भएँ भन्ने डरले मैले
उसलाई मबाट केही टाढा पन्छाउनु पर्यो
त्यो साँझपछि मेरो जीवनमा कहिल्यै बिहानी आएन
नयाँ घाम पनि झुल्किएन
म कठोर भइसकेकी थिएँ,
ऊसँगको त्यो भेटले मलाई फेरि पगालिदियो।
आज म मैन झैँ पग्लिरहेछु
तर ऊ फलाम झैँ कठोर बनेको छ
म आजभोलि सोच्छु
कास.. त्यो साँझ नआइदिएको भए!