फोनको घण्टी बज्छ। हतार हतार ऊ फोन उठाउँछ। उताबाट श्रीमतीको चर्को आवाज आउँछ।
'हैन के गर्नु भाको तपाईंले? ६/६ महिना भैसक्यो पैसा पनि पठाउनु हुन्न, मैले घर व्यवहार कसरी चलाउने? छोराको फी पनि बुझाएको छैन, चाडपर्व आइसक्यो अहिलेसम्म एक जोर गतिलो कपडा किनेको छैन। यस्तै हो भने म त बस्दिनँ तपाईंको घरमा। माइत जान्छु, उतै बस्छु मैले भन्देको छु। खुरुक्क पैसा पठाउनू।'
ऊ अवाक हुन्छ। जवाफ दिन सक्दैन। मात्र यति भन्छ, नआत्तिऊ न तलब पाएको छैन के। कम्पनीले तलब दियो भने पठाइहाल्छु नि। बरु अहिलेलाई कतैबाट ब्याजमै भए नि पैसा निकालेर काम चलाउँदै गर न, पछि तिरौँला नि।'
'अँ खुब निकाल्छु ब्याजमा पैसा! पहिलाकै त्यत्रो ऋण छ। ब्याज तिर्या छैन। म अरु कुरा जान्दिनँ, जसरी भए नि पैसा पठाइदिनू नत्र म बस्दिनँ। ल अहिले फोन राखेँ, छोरो आयो स्कुलबाट,' भन्दै फोन काटिन्छ।
निन्याउरो मुहार बनाउँदै ऊ कोठाभित्र छिर्छ। भित्र साथीहरू तास खेलिरहेका थिए।
'ए कान्छा, आइज बस्। एकजना पुग्या छैन म्यारिज खेलौँ,' पाल्पाको स्याम दाइले बोलाउँछन्।
'हैन म त खेल्दिनँ, तपाईंहरू नै खेल्नुस् है म त सुत्छु।'
यति भन्न नभ्याउँदै अशोक बोलिहाल्यो, 'के सुत्न नपा जस्तो गर्छस्! तीन महिनादेखि सुति त राछस्। आइज खुरुक्क खेल्न, साथी नपुगेर पो तँलाई बोलाको त।'
मन नलागी नलागी ऊ पनि बस्यो म्यारिज खेल्न।
कुवेतको सोइबास्थित कम्पनीको क्याम्पमा करिब तीन सय जना कामदारहरू तीन महिनादेखि कोठामै छन्। उनीहरूलाई न त काम दिइएको थियो न तलब नै। समयमै तलबको माग गरेर धेरै पटक आन्दोलन भयो। हरेक महिना काम बन्द गरेर आन्दोलन नगरेसम्म तलब आउँदैन थियो। तर ३ महिनायता कम्पनीले काममा नि पठाएन, तलब नि दिएको छैन।
यी नै कामदार मध्येको ऊ पनि एक हो। कोठामा दश जना बस्छन्, पाच जना भारतीय र पाँच जना नेपाली। काम नभएपछि तास खेलेर समय बिताउँछन् उनीहरू।
साँझ बिस्तरामा निदाउने प्रयास गर्छ। अहँ! निदाउन सक्दैन ऊ। कानमा श्रीमतीको आवाज गुन्जिन्छ- 'जसरी नि पैसा पठाउनु नत्र बस्दिनँ तिम्रो घरमा।'
लामो सुस्केरा हाल्छ। मन भक्कानिएर आउँछ। आफ्नो भाग्य र जिन्दगी देखेर विरक्त लाग्छ उसलाई। पैसा कमाउँला, ऋण तिरौँला अनि सानो पाखोबारी किनौँला। परिवारका सबैलाई सुखसँग राख्ने, मिठो खुवाउने, राम्रो कपडा किनिदिने धेरै कुरा सोचेर आएको ऊ, आज उसको जिन्दगी नै अँध्यारो भएको छ।
खल्तीमा बिरामी हुँदा उपचार गर्ने पैसा समेत छैन। नुहाउने साबुन किन्ने पैसा नभएर ऊ त्यत्तिकै नुहाउँछ।
'विदेशमा के-के न हुन्छ भनेर आइयो, आज घरको न घाटको जस्तै भयो,' उ मनमनै धिक्कार्छ आफ्नो जिन्दगीलाई।
विदेश आएपछि सुरूको छ महिना त उसले पैसा पठाएकै हो। अब कम्पनीले नै पैसा नदिएपछि के गरोस्? आफै त अभावमा थिचिएर रुन मात्र सकेको छैन, कहाँबाट घरमा पैसा पठाउनु?
उसका मनभरि अनेक थरी कुराहरू खेलिरहन्छन्। पैसा भन्ने कुरा ठूलै रहेछ गाँठे, यो भएन भने त आफ्नाहरूको पनि बोली र व्यवहार नै फरक हुँदो रहेछ!
श्रीमतीका कुरा मुटुमा खिल बिझे झैँ बिझाइरहे रातभर उसलाई। बिहानपख कतिबेला निदायो पत्तो भएन।
बिहान बिउँझिँदा कोठामा कोही थिएनन्। 'कहाँ गएछन् सबै? यस्तो त कहिलै हुँदैन थियो। प्रायः सबै कोठामै हुन्थे, के भएछ आज?' उसको मनमा अचम्मको भाव पोखियो। ऊ पनि बाहिरियो तौलिया बोकेर।
गाउँजस्तै लाग्ने टिनका घरहरू। क्याम्प बाहिर बालुवा मात्रै देखिए पनि भित्र पक्की बाटो घेरिएको पर्खाल थियो। बाथरुम नजिकै पुगेको थियो धेरै हल्लाखल्ला सुनेर ऊ रोकियो। के भएछ भनेर यताउति हेर्यो।
दाहिने तिर रुम नम्बर २२७ मा धेरै मान्छेहरू जम्मा भयका थिए। उतै लाग्यो ऊ। त्यहाँ पुगेर बुझ्दा त रुकुमका दलबहादुर दाइले आत्महत्याको प्रयास गरेका रहेछन्। धन्न साथीले देखेर रोकेछन्।
ऊसँगै आएका हुन् दल बहादुर। रुकुमको विकट गाउँका उनी पनि रंगिन सपना बोकेर आएका थिए। छ महिनादेखि घरमा पैसा पठाउन सकेका थिएनन्। त्यसमाथि श्रीमती अर्कैसँग गएदेखि सधैँ उदास, निरास देखिन्थे। हिजो भर्खर त साथमा बसेर खुब दुखेसो पोखेका थिए उनले।
'हेर कान्छा, मजस्तो अभागी कोही छैन यो संसारमा। सानैमा बुबाले छोडेर जानुभयो, धेरै दु:खमा हुर्किएँ। अब त केही सुख होला भनेर कुवेत आएँ। झन् मेरो त सर्वश्व लुटियो। कमाएको जे जति थियो सबै साथमा लिएर गैछ। आमा दिनहुँ रुँदै फोन गर्नुहुन्छ। आमाले बोली सुन्दा मन थाम्नै सक्दिनँ। म के गरौँ? आफूसँग अलिकति पनि पैसा छैन, कम्पनीले वास्तै गर्दैन। घर जानलाई कति बिन्ती गरेँ तर कसैले सुन्दैनन् अनि म के गरुँ कान्छा?'
उनका आँखा पूरै रसाएका थिए। उसले सम्झाउँदै भनेको थियो- 'हरेस नखानुस् दाइ, सबै ठिक हुन्छ। भगवानमाथि भरोसा राख्नुस्, नआत्तिनुस्। हामी सबैको पीडा उस्तै छ।'
भाग्य, नियती र समयको बाघपन्जामा थिचिएको उसको जिन्दगीको उज्यालो कहिले देखापर्ने हो थाहा छैन। कम्पनीले कहिले घर पठाउने हो निश्चित देखिँदैन। ऊ त चुपचाप जिन्दगीको कहर झेलिरहेछ।
भोलिपल्ट एकाबिहानै फोनको घण्टी बज्छ। फोन उठाउने आँट आउँदैन उसमा। घरबाट आएको फोन। फेरि श्रीमतीको मुटु बिझाउने कुरा ऊ सुन्न सक्ने अवस्थामा थिएन। मन कठोर बनाएर मोबाइल स्विच अफ गर्यो।
त्यतिले पनि चित्त बुझेन उसलाई, सिम निकालेर टुक्रा-टुक्रा बनाएर भाँचिदियो अनि मुस्कुरायो। मानौँ पीरको सागरलाई रोकिदियो उसले। सम्पर्कविहीन भैदियो घरबाट, श्रीमतीबाट, आफन्त, साथी सबै सबैबाट।
मन हल्का भएको अनुभूति गर्यो। अब कुनै दबाब थिएन, थियो त केबल अभाव। यही अभावको चुलेसीले छाती रेटिरहे पनि आज ऊ मस्त निदाएको छ। भोलि त के हुने हो कसलाई के थाहा?