प्रिय समय,
थोरै रोकिएर बग न। निसास्सिएर बोलिरहेछु म, सुन्दै त छौ तिमी? हद हुन्छ यार कुद्ने पनि। एकछिन यात्रा, गन्तव्य बिर्सेर, पागलपन, चलायमान हाम्रा गति, सपनाहरूलाई थाँती राखेर केही निमेष त्यो चौतारीमा गुजारौँ न हुन्न?
प्रिय समय, कोही कति प्रगतिशील हुनसक्छ? सबैभन्दा छिटो बग्नु, सबैभन्दा बेस्सरी कुद्नु नै संसार जित्नु हो र? यो संसार गतिले मात्र जित्न सकिन्छ, साँच्ची जित्नु मात्रै सार्थक सत्य हो र?
मलाई थाहा छ, म तिमीसँग एक बच्चाले गर्ने बिलौनाहरूको सङ्ग्रह पल्टाइरहेछु बस् तर कहाँसम्म यसरी कुद्छौ हामी?
तिम्रो बुइँ चढेर जान्ने भएदेखि तिम्रो हात समाइ कुद्न थालेको दशकहरू बुढा भइसकेका छन्। छोडेको बालापन, साथीहरू, कैयौं परिवेश, गरेको अनेक यात्रा, छोएको केही सपना तिम्रै देन हो।
तर कहिलेकाहीँ पर्ख मलाई। म गुमाउन चाहन्नँ पूराना साथीहरू, वेगमा भुलेर म बिस्तारै बामे सर्दै हुर्केका सम्बन्धहरू, छाएका आफ्ना मान्छेका खुसीहरू, कोमल सपनाहरू, एकएक हेर्न, महसुस गर्न चाहन्छु।
जसरी पूरानो एल्बम पल्टाई पल्टाई एउटै तस्बिर हेर्दा पनि अदरलाई छोएर जान्छ, एक हलुका मुस्कान, म पनि त्यो महसुसलाई संगालेर सुरक्षित राख्न चाहन्छु कतै।
गुनासो त्यस्तो बढी पनि होइन, बेखुसी त पक्कै होइन अझै। तर कहिलेकाहीँ शून्य पलहरूमा आफ्ना हातका रेखाहरू नियाल्छु। जुन वेगले परिवर्तन भइरहेछन् हस्तरेखाहरू, त्यो गतिभन्दा माइल बढीले दौडिरहेछु म, दौडिरहेका छौँ हामी।
दौडिन पनि हामी यसरी दौडिरहेका छौँ मानौँ कुनै लामो यात्रा सवारीको चालक हुँ म अनि मेरो काम नै हिँड्नु हो, गुड्नु हो!
प्रिय समय, एक पल पनि मलाई साथ नछोड्ने तिमीलाई कसरी पूर्वाग्रह राखेर हाँस्न सक्छु र म? तर पनि यो हाम्रो दौडको मध्यान्तर कतिबेला हुन्छ? सवारी चालकहरूको पनि खाजा नास्ता गर्ने कमसेकम छहारी त हुन्छ। हाम्रो यात्रामा मध्यान्तर कहिले हुन्छ?
तिम्रो नजिक भएर धेरै खुसी पनि छु, धेरै पाएको पनि छु, सिकेको छु, देखेको छु, भोगेको छु, म बेजोड रङ्गिन छु, तिमीसँग भएर। तर यो अविरल यात्रामा केही प्रश्नहरू मलाई बेलाबेला अत्याउँछन्।
यो यात्राको कुनै गन्तव्य छ या दौडिनु शाश्वत सत्य हो?
यो वेग, गति थोरै घट्दै जान्छ कि अझै बढ्छ?
तिम्रो गतिमा गति मिलाउँदा छुट्दै जाने पल, मनोरम क्षण, उमेरलाई सँगसँगै लैजाने उपायहरू छन् या छैनन्?
यो दुई/तीन प्रश्नले मलाई साँच्चै केही रात चिथोरेका छन्। सबै हुँदाहुँदै मेरो स्थिर मनलाई स्फटिक तलाउको एउटा ढुङ्गाले महिमा बिगारेजस्तै बिगारेका छन् मेरो सन्तुलन। जति सन्तुलन बिगारे पनि म हरेक पटक फेरि हाँसेर बाँच्न छोडेको छैन।
तर प्रिय समय, दौडिनको लागि दौडिन एकछिन छोडौँ। फेर्न देऊ न घडी नहेरी सुवास मिसिएको दुई मुठ्ठी सास। सेड्ज्युलविहीन रहन देऊ केही दिन। टाइमलाइन नराइखेदेऊ बातहरूमा। टाइमजोन एकछिनलाई भुलिदेऊ तिमी।
प्रिय समय, म समय यात्रा गर्न त सक्दिनँ। बस् महसुस, स्मरण र सोचाइहरू समाउने न हो। फेरि यो बिलौना गरेपछि खासै परिवर्तन हुने पनि केही होइन। एक थकानपूर्ण दिनपछि डायरी लेख्दा हुर्केका पैतलामा शीतल कहाँ हुने हो र?
कसैलाई सम्झेर जुन हेर्दा, केही लेख्दा, सोच्दा, मुस्कुराउँदै टहलिँदा, संचार भई हाल्ने पनि त होइन। बस् अलिकति पोखिँदा थोरै हलुका न हो।
प्रिय समय, मजस्तै गुनासोपूर्ण डायरी अरुले पनि जाहेरी गर्छन् कि म मात्र बौलाइरहेको छु?
यो वेग सबैलाई मन परिरहेको छ कि म मात्र उदेग लाग्दो नोस्टालजियाको फरिया समाइरहेको छु?
प्रिय समय यति बुझ्नु, आज मनोरम भएर पनि कहिलेकाहीँ हिजोको याद मिठो लाग्छ। चिल्लो सडकले पनि धुल्लामे बालापनको झल्को पूरै मेटाउन सक्दैन। जुँगादाह्रीले परिपक्वताको आभास दिए पनि मनमनै अबोध अलङ्कारहरू उस्तै हुन्छन्।
यात्रासँग परिपूरक हुने 'घर' पनि हो। घरकै आधारमा त यात्रा तय हुन्छ नि है? घरतिर वा घरबाट टाढा!
प्रिय समय, हामी कता गइरहेका छौँ, घरतिर कि टाढा? कि घर बनाउँदै छौँ?
वेग मन नपर्ने होइन, गति नचाहिने होइन! तर कहिलेकाहीँ रक र पपभन्दा ब्लुजले मन भरिँदो रहेछ!
यति बुझ्नु यो रोदन होइन, बेखुसी होइन, बिलौना हो! यो सबै जिज्ञासाहरूको तिमीसँग पनि उत्तर छैनन् थाहा छ तर हजुरबुवालाई सबै थाहा नभए पनि सोधिन्थ्यो नि एकसेएक प्रश्न, बस् त्यही बुझ्नु।
उही तिम्रो सहयात्री!