अचेल मलाई निदाउन डर लाग्छ! परदेशमा छु। घरदेशको यादले थिचिरहन्छ। आगोको भुङ्रो जस्तो तातो हावा र हावाभन्दा छिटो कुदेर आइपुग्ने यादहरूले म पलपल निसासिरहेको हुन्छु।
साउदी मेरो सपना थिएन। तर मेरी सपना र बाआमाको अनुहारमा खुसी ल्याउने सपनाले यहाँसम्म डोर्यायो मलाई। कतै सपना पूरा गर्ने मृगतृष्णामा म यतै हराएँ भनेँ? बाकसमा भरिएँ भने?
व्यवहारको भारीले थिचेपछि मान्छेले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न बाध्य हुँदोरहेछ। घरमा बसेको भए यसरी महिनैपिच्छे कहाँ आउँथ्यो र पैसा? मनको मझेरीमा अनेक कुराहरू खसिरहन्छन्। आफ्नै मन त हो, कुरा खेलाउन पैसा पर्ने होइन। अनि यी कुराहरू मनमा आउँछन् र त मेरा समय सजिलै कटाइदिन्छन्। भत्किन खोज्ने मनलाई आफै टेको दिन खोज्छु। आफैलाई सम्झाउँछु।
कस्तो गर्मी उफ्! यो फ्यानबाट पनि तातो हावा मात्र आउँछ। यस्तो तातो हावामा यो कसरी आनन्दले निदाउने सकेको होला। दिनभरिको थकाइले पछारेपछि ननिदाएर पनि के गर्नु।
'ओई राज! ओई!'
म पनि कस्तो छु, सुतिरहेको मान्छेलाई के बोलाएको होला! भोलि बिहानै गाडी लोड गर्न जानुछ यसलाई। थकाइ त मलाई पनि छ तर आज किन निद्रै परेको छैन। राज सुतिहाल्यो नत्र गफ गर्न हुन्थ्यो।
के गर्दै होली अहिले मेरी सपना? एक कल फोन गर्न पर्यो। मोबाइल थिच्छु। उताबाट आवाज आउँछ, 'यतिखेरसम्म किन नसुतेको? यता दश बजिसक्यो।'
नरम स्वर र मायालु बोलीको अपेक्षा विपरीत तिखो आवाज मुटुमा रोपिन्छ। तैपनि कुरा गर्न खोज्छु।
'आज निद्रै परेको छैन। तिमी किन नसुतेकी त?'
'म निदाउन आँटेको थिएँ। हजुरको फोनले बिउँझिएँ।'
हेलो! हेलो! केही सुनिएन सपना…'
फोन काटियो। फेरि फोन गरेँ मोबाइल अफ भन्यो। सपनासँग गफ गर्न मन थियो। उसले मेरो मनको छटपटी बुझ्नुपर्ने होइन? उसले फोन किन अफ गरी? कतै… मेरो मनमा सोचका ढुङ्गाहरू पर्खाल बनेर उभिएका थिए। चार्ज सकिएको पनि त हुनसक्छ नि। फेरि आफैलाई सान्त्वना दिएँ।
किन यस्तो छटपटी भइरहेको छ आज मलाई? दुई वर्ष हुन लाग्यो म यहाँ आएको। साउदीमा यस्तो ज्यास्ती तातो अनुभव कहिल्यै भएको थिएन। राज आनन्दले सुतिरहेछ। खाना खान पनि उठेन। सधैँ गफ गरेर सुत्थ्यो आज धेरै थाकेछ क्यारे।
म पनि त भोलि बिहानै गाडी हाँक्न जानुछ नि। निद्रा नपुग्दा गाह्रो हुन्छ। अब त निदाउनुपर्छ। तर आँखाले घोप्टे लाग्ने सुरसार थिएन। राजको खाटमा फेरि आँखा पुग्छ। बोल्दाबोल्दै निदाउँथ्यो अनि घुर्न सुरु गरिहाल्थ्यो राज। पहिला म नै निदाएँ भने मात्र हो नत्र उसको घुराइले मेरो निद्रा बिथोल्थ्यो।
आज कोठा शून्य छ। किनकि ऊ घुरेको छैन। मेरो निद्रा केले बिथोल्यो मैले पत्ता लगाउन सकिरहेको छैन। तीन महिना अघि मात्र पल्लो कोठामा बस्ने सागर बाकसमा गयो नेपाल। कामबाट आएर सुतेको उठ्दै उठेन। कतै राज! लौन सास फेरेकै छैन कि क्या हो यसले?
मेरा दुवै हात उसको नाडी समाउन पुग्छन्। हो त नाडी चलेकै छैन। हे भगवान्! मलाई के आपत आइलाग्यो यो? भर्खर दुई बजेको छ। सबै सुतिरहेका छन्। हिजो मात्र 'दाइ दसैँसम्म त ऋण तिरिसक्छु। यो दसैँमा घर गएँ भने त मरे फर्किन्नँ। जाबो बाह्र रियलमा यस्तो तातो हावा खान को आउँछ?' भनेको मान्छे आज के भएको होला यसलाई?
राजलाई ओल्टाइपल्टाइ गरेँ। कयौँ पटक बोलाएँ। ऊ उठेन। कता जाउँ र के गरूँ भयो। मेरो मन यसरी पहिलो पटक आत्तिएको थियो। राजको मोबाइल बज्यो। मोबाइलको स्क्रीनमा माई वाइफ कलिङ देखेँ। मेरो श्वासको गति झनै तीव्र भयो। हात लुला भए। उठ्दै बस्दै गर्न थालेँ।
घडी हेरेँ तीन बज्न अठार मिनेट बाँकी रहेछ। तेस्रो पटक पनि फोन बजिरहेपछि मोबाइल समाएँ। एक मन स्वीच अफ गरिदिउँ जस्तो लाग्यो। अर्को मन मानेन। हरियो चिह्नमा औँला धसियो।
'हेलो! आज दिनभरि घरमाथि आएर काग कराइरहेको थियो। सपना पनि कस्तो नराम्रो देखेँ। बिउँझिएपछि निद्रै लागेन। हजुर सन्चै त हुनुहुन्छ?' फोनमा राजकी श्रीमती एकोहोरो बोलिरहिन्।
मेरो बोली सुनेपछि चर्को स्वरमा भनिन्, 'राज खै त?'
पीडा मिश्रित स्वरले मेरो कानको जाली च्यातिए झैँ भयो। टाउको एक कुइन्टलको भारीले थिचेझैँ भयो।
'राज निदायो।'
'उठेपछि फोन गर्न लगाइदिनुस् है दाइ?'
सधैँका लागि निदायो भन्न खोजेको थिएँ, फोन काटियो। सत्य समाचार त कागले लगिसकेको थियो। यो कोठामा अब एक्लै कसरी बस्नु म? कुन दिन म पनि राज झैँ निदाएको निदायै भएँ भने?
मेरो मन मैदान भएको थियो। थरीथरीका कुरा आउँथे र खेलेर जान्थे। केही कुराले मलाई ढाडस दिन्थे र भन्थे, 'मृत्यु अवश्यम्भावी छ हेर्, राजले बाँच्ने दिन बाँचिसक्यो। अब उसले अर्को बाटो प्रस्थान गर्छ। तँ जाने बाटो पनि यही हो।'
घडी हेर्दाहेर्दा आँखा पनि टट्याइसकेका थिएँ। सुइँले पाँच बजेको सङ्केत गरेपछि पल्लो कोठाको साथीलाई बोलाएँ। ऊ पनि आत्तियो।
'पुलिसलाई बोलाउन पर्दैन?'
हो त! पुलिस त मेरो दिमागमा आएकै थिएन।
उसले पुलिसलाई फोन गर्यो। एकैछिनमा पुलिस आयो। एक घण्टा जति मलाई केर्यो। राज र म सँगै बस्न थालेको छ महिना मात्र भएको थियो। घर गुल्मी भन्थ्यो। हाम्रो गाउँ फरक थियो। जात फरक थियो। तर हामी एउटै वर्गका थियौँ। हाम्रो आर्थिक अवस्था उस्तै थियो। हाम्रो शरीरको पसिना उस्तै थियो। त्यसैले होला उसको र मेरो मित्रता ज्यादै गहिरो थियो।
हामी घण्टौँ सुखदु:खका कुरा गरेर बिताउँथ्यौँ। यो खाडीमा हामी एकअर्काका कामको थकाइ मेटाउने औषधि नै थियौँ।
मेरी श्रीमतीले बेलाबेलामा सुन र पैसा चाहिएको कुरा गर्दा ऊ भन्थ्यो, 'दाइ, मेरी श्रीमती त ज्ञानी छे। कहिल्यै यो चाहियो त्यो चाहियो भन्दिन। तर उसले पढ्छु भनेर अडान कसी। पढ्न खोज्नु राम्रै हो। आफ्नो इच्छा पूरा गरोस् न त भनेर छाडिदिँए। आमालाई सम्झाउन अलि गाह्रो भयो। छोरो हुर्किँदै छ। अहिले ऊ बाह्रमा पढ्छे। पढ्नु त राम्रो कुरा हो नि हैन त दाइ? नेपाल गएपछि मलाई तपाईंको गाउँ घुमाउन लैजानुस् है? नुवाकोट दरबार नजिकै भन्या हैन तपाईंको घर?'
ऊ मेरो हृदय भित्रै पसेर कुरा गर्थ्यो। म उसको कुरा सुनेर रमाउँथें|। उसको सुन्दर परिवारको बयान गरेर ऊ कहिल्यै थाक्दैनथ्यो। म पनि सुनेर अघाउन्नथेँ। अब मसँग कुरा गर्ने साथी कोही थिएन। राज ढल्यो, उसको घरको पैसाको बोट पनि ढल्यो। मेरो गाउँ घुम्न जाने राजको इच्छा अधुरै रह्यो।
उसको डकुमेन्ट, मोबाइल र कोठामा भएका अन्य केही सामानसहित उसलाई लिएर पुलिसहरू गए। नेपालको भन्दा साउदीको नियम फरक छ। नेपालमा सडक दुर्घटना हुँदा मान्छेको भिड हुन्छ। फोटो र भिडिओ खिच्नेको ताँती हुन्छ तर यहाँ वास्तै हुन्न। सँगै सुतेको साथीसँग पनि म जान पाइनँ। त्यस दिन गाडी चलाउन जान पनि सकिनँ।
झन्डै एक हप्ता मलाई राजको यादले चिमोटिरह्यो। अनि विस्तारै मन बुझाएँ। नबुझाउनुको विकल्प पनि त थिएन। उता सपना सुनको हार चाहियो भनेर रिसाइरहेकी थिई।
दसैँमा घर जान मन लागेन। टीकाको दिन आमाको अनुहार हेर्न सकिनँ। साह्रै दुब्लाउनु भएछ। बा बरु टाठै हुनुहुन्थ्यो। आमाले केही भन्न खोजेझैँ गर्नुभएको थियो सपनाले 'डाटा सकियो' भनेर फोन तानिहाली।
पेटभित्र छोडेर आएको छोरी बाबा भन्ने भइसकेकी थिई। उसलाई काखमा राखेर खेलाउन मनलाग्यो। 'जेसुकै होस् ऋण तिरिहालेँ, अलिअलि पैसा पनि सपनालाई पठाएको छु। त्यही पैसाले पसल खोलेर बस्छु।' यो सोच नआएको पनि होइन।
नेपाल आउँछु भन्दा सपनाले, 'अझ केही समय बस्नुस् न, घर हेर्ने म छँदैछु' भनेपछि दुई वर्षपछि फेरि दुई वर्षको भिसा थपेँ। भिसा थपेपछि तलब पनि बढ्यो। हरेक महिना नेपालको ६० हजार तलब थाप्थेँ। कमाएको आधा तलब सपनालाई पठाउँथेँ। ऊ पनि मक्ख थिई।
आमाको अवस्था भने दिनप्रतिदिन बिग्रँदै गएको थियो। सपनालाई 'त्रिशुली हस्पिटल लैजाऊ' भनेँ।
'पेसर भन्या क्या हो, त्यो धेरै नै बढेको रहेछ। टाउको दुखेको कारण त्यही पेसर रहेछ बाबु औषधि देको छ डाक्टरले आज अलि कम भाको छ,' हस्पिटल गएको दिन आमाको अनुहारमा थोरै घाम लागेको थियो। आमाको अनुहारको घामले मेरो मनको चिसो हरायो। न्यानो बनायो। केही समय सहज तरिकाले बिते।
'छोरी पनि तीन वर्ष पुग्न लागी, अब त पढाउनुपर्छ। गाउँमा राम्रो स्कुल पनि छैन। सानिमाको छोरीले काठमाडौँमा कोठा लिएकी छ। उसले बोलाएकी छे। जागिर पनि खोजिदिन्छु भनेकी छे,' सपनाको कुराले मलाई भाउन्न भयो।
'गाउँमा स्कुल राम्रै छन्। फेरि हामीले ठूला-ठूला पैसा खर्च गरेर पढाउन सक्ने पनि होइन। गाउँकै स्कुलमा पढेकी उमा नर्स भएकी छे। महेश्वर शिक्षक भएको तिमीलाई थाहै छ। बाआमा बुढाबुढी हुनुहुन्छ। आमा गल्नुभएको छ। गाउँमा स्कुलमा पढाउन बोलाएको थियो त त्यतिबेला थोरै तलब भनेर गइनौ। म अर्को वर्ष आउँछु। जे गरे पनि गरौँला। छोरीलाई स्कुल हाल्ने बेला भएको छैन सपना।'
मैले लाख सम्झाउँदा पनि उसले मानिन। ऊ काठमाडौँ हिँडी। बाआमासँग बोल्न मैले छिमेकीको सहारा लिनुपर्ने भयो। दिदी कहिलेकाहीँ जानुहुन्थ्यो। उहाँको पनि आफ्नै घरव्यवहार थियो। सपना काठमाडौँ गएपछि फरक भएकी थिई। हुन त गाउँमा छँदै फोन पातलिएको थियो। छिमेकी रमेशलाई पैसा पठाएँ र एउटा मोबाइल किनेर आमालाई दिन लगाएँ।
सपनाले फोन उठाउन छोडेको एक महिना भएको थियो। दु:ख, पीर पर्दा आमाको काखको सम्झना आउँदो रहेछ। एक दिन आमालाई फोन गरेँ। सपना काठमाडौँ गएपछि फर्केर घर गइनछ। नातिनीको धेरै याद आएको छ भन्नुभयो।
आमालाई फोन गरेको दिन पनि सपनालाई दश पटक फोन गरेँ उठेन। ससुरालीमा फोन गर्दा सपना उता पनि नगएको भनेर सासूले भन्नुभयो। चिनेजानेका सबै आफन्त र उसका साथीहरूलाई म्यासेन्जरमा सोधेँ, ऊ सबैबाट सम्पर्कविहीन भएकी रहिछे।
फेसबुकमा घुम्न गएको फोटो हालेको देखेँ। फोटो उसको र छोरीको मात्र थियो। 'सपना मेरो फोन किन उठाउँदिनौ? छोरीसँग बोल्न मन लागेको छ। प्लिज फोन उठाऊ न,' फोटोमा कमेन्ट गरेको केही बेरमै उसले मलाई ब्लक गरी।
भोलिपल्ट फोन गर्दा मोबाइल अफ थियो। त्यसपछि त्यो नम्बरमा फोन लागेन। सानिमाको छोरीको मोबाइल पनि अफ थियो। उसले पनि मलाई फेसबुकबाट ब्लक गरिछ। आमा हरेक दिन फोन गर्दा रुनु हुन्थ्यो।
यस्तो लाग्यो, बनिसकेको घरको छत उडायो। दुई/चार वर्ष दु:ख गरेर भविष्य सुखसँग बिताउन म साउदी आएको थिएँ। आमाबुबा, श्रीमती र छोरी हाम्रो परिवार खासै ठूलो थिएन। घरमा खान लाउन दु:ख थिएन। तर किन सपनाको मन परिवर्तन भयो? मलाई फोन, फेसबुक सबैतिरबाट किन बन्द गरी?
मेरो मनमा अनेक कुराहरू खेल्न थाले। न रातको निद्रा न दिनको भोकले मलाई एक हप्ता पिरोल्यो। भिसा बाँकी नै थियो। तर म विदेश बस्न नसक्ने भइसकेको थिएँ।
'बाबु, म धेरै बाँच्दिनँ जस्तो छ। खाना पकाउनसमेत नसक्ने भैसकेँ। नेपाल आऊ बाबु। सपनाले गर्न खोजेकी के हो? त्यसको छिनोफानो गर्नुपर्यो।'
आमाले फोनमा त्यसो भनेपछि मलाई विदेश बस्न मन लागेन। सपनासँग कुरा नभएको पनि पाँच महिना भएको थियो। जे सोचेर मुग्लान पसेको थिएँ त्यो पूरा भएन। न मैले आमाको सिरानी ओभानो बनाउन सकेँ न छोरीलाई हुर्काउन। मेरो जीवनको रथको एउटा पाङ्ग्राले काम नगरेपछि सोचे जसरी जीवन चल्न सकेन। नेपाल फर्किने सोच बनाएँ मैले।
मेरो खुसी सपनाले लिएर गएकी थिई। पीरको पछ्यौरा ओढेर म नेपाल फर्किएँ। एयरपोर्ट झरेँ, मलाई लिन आउने कोही थिएनन्। भएका दुई/चारजना साथीहरू पैसा नपठाएपछि टाढिएका थिए। आफन्तहरू काठमाडौँमा खासै थिएनन्।
एयरपोर्टमा मान्छेहरूको भिड थियो। कोही छुटिनुपर्दा रोइरहेका थिए। कोही भेट हुँदा रमाइरहेका थिए। एकैछिन ती दृश्य हेरेर म ट्याक्सी भएको ठाउँमा गएँ।
'कता जाने हो दाइ?' ट्याक्सी चालकको प्रश्नले म अलमलमा परेँ।
साँझ परिसकेको थियो। घर जान सम्भव थिएन।
'कतै होटलमा लगिदिनुस् न।'
सुटकेस पछाडिको सिटमा राखेर म अगाडि सिटमा बसेँ।
'कुन देशबाट फर्किनुभएको दाइ?'
'साउदीबाट।'
'साउदी त म पनि दुई वर्ष बसेर आएको हुँ। साह्रै दु:खसँग दुई वर्ष बिताएँ। नेपाल आएर ट्याक्सी किनेँ। आम्दानी पनि राम्रै छ। अब कहिल्यै विदेश जान नपरोस् भनेको छु, हेरौँ के हुन्छ। तपाईं के कामका लागि जानुभएको?'
पाँच महिना अघिसम्मको पैसा सपनालाई आधा पठाएको थिएँ। पैसा धेरै बचत भएको थिएन। गाउँ गएर के काम गर्ने भन्ने कुनै सोच पनि थिएन। खेती गर्नका लागि आफ्नो जग्गा धेरै थिएन। ट्याक्सी चालकलाई ड्राइभिङमा गएको बताएँ। गाडी पाए चलाउन हुन्थ्यो भनेर उसलाई भनेँ।
साथीको गाडी छ चलाउने भए भनिदिन्छु भनेपछि उसको नम्बर लिएँ। मलाई उसले नयाँ बसपार्कको एउटा होटलमा बस्नुस् भनेर छोडिदियो। भोलिपल्ट बिहानै म काठमाडौँ टू त्रिशूली लेखिएको बसमा चढेँ। सुटकेसभित्र मेरो लुगा मात्र थियो।
गाउँमा जीवन आयो भनेर कोही घरमा आए भने दिनका लागि मसँग चकलेट पनि थिएन। बाआमाले छोरा आयो भनेर खुसीले स्वागत गर्ने वातावरण थिएन। श्रीमतीको कुनै अत्तोपत्तो थिएन। झण्डै चार वर्षपछि म घर जाँदै थिएँ, रित्तो मन र रित्तो सुटकेस बोकेर।
बाआमाको अनुहार छोरो आएकोमा खुसी थियो। चार वर्ष अगाडि छोडेर गएकोभन्दा आमा ज्यादै दुब्लाउनु भएको रहेछ। बुबा पनि जाँदाजस्तो हुनुहुन्थेन। घर पुगेको रात आमाको हातले बनाएको सिमीको झोलमा भात मुछेर खाएँ। दाल, अचार केही नहुँदा पनि भात थपेर खाएँ। लाग्यो आमाको हातै मिठो। जति नै पीर परे पनि पेटमा खाल्टो परेपछि नखाइ सुख नपाइने।
'बाबु, रात छिप्पिसक्यो जाऊ सुत।'
बा र म कुरा गर्दै थियौँ, आमाले भनेपछि म सुत्न गएँ। ओछ्यानमा पुगेपछि सपनाको यादले आँखाको निद्रा भगायो। भोलिपल्ट म ससुराली हिँडेँ। ससुरालीमा सबै सपनासँग रिसाएका रहेछन्।
सासूआमाको आँखामा रिससँगै पीर पनि छचल्किएको थियो। भन्दै हुनुहुन्थ्यो, 'सुन गरगहना धेरै बनाएकी थिई। कसैले सुन लगेर मारेर पो फालिदियो कि।'
सानिमाको छोरीको पनि कुनै अत्तोपत्तो थिएन। कता खोज्न जाउँ? काठमाडौँ जस्तो ठूलो सहरमा कता खोज्ने? काठमाडौँ गएपछि केही समय राम्रै कुरा भएको थियो। डल्लुमा सानिमाको छोरीसँग बसेको भन्थी। सानिमाको छोरी पनि बोल्थी सुरुसुरुमा। उनीहरू वसन्तपुर घुम्न गएको फोटो मैले फेसबुकबाट तानेको थिएँ।
डल्लुको माउन्टग्लोरी स्कुलमा छोरीलाई हालेको छु भनेकी थिई। सपनालाई कसरी भेट्ने भनेर सोच्दै थिएँ उसलाई खोज्ने एउटा उपाय मस्तिष्कमा आयो। मोबालमा भएको फोटो हेरेँ। ससुरालीमा दुई दिन बसेर म काठमाडौँ हिँडेँ। काठमाडौँ पुग्दा रात परिसकेको थियो। त्यो रात म होटलमा बसेँ।
भोलिपल्ट स्कुल लाग्ने समय भएपछि स्वयम्भू घुमेर म डल्लु गएँ। सोध्दै सोध्दै माउन्टग्लोरी स्कुल एघार बजे पुगेँ।
'सन्ध्यालाई बोलाइदिनुस् न,' गेटमा उभिएको व्यक्तिलाई भनेँ।
'कति कक्षामा पढ्ने सन्ध्या?' त्यो व्यक्तिको प्रश्नको उत्तर मसँग थिएन।
छोरी कति कक्षामा पढ्छे, म बाउलाई थाहा थिएन। आफैसँग लाज लाग्यो। फोटो देखाएँ। उसले चिनेन।
'नितु म्याम, यता आउनुस् त,' उसले एउटी मिसलाई बोलायो।
म गेटमै थिएँ। नितु मिस आइन्। म झसंग भएँ। नितु मिस भनेर बोलाइएकी महिला सपना थिई। ऊ मेरो नजिक आई।
'सपना, तिमीले यस्तो के गरेकी?'
ऊ मलाई इसाराले चुप भन्दै थिई। मेरो मन किन मान्थ्यो र।
'मेरी छोरी खै सपना?' मेरो आवाज ठूलो भएछ।
अरू शिक्षकहरू पनि गेटमै आए। म गेटभित्र पसेँ। गेटमा उभिएका व्यक्तिले गेट लगाए। सपनासँग एकछिन चर्काचर्की भयो। स्कुलको मैदानमा उभिएका हामीलाई विद्यार्थीहरू झ्यालबाट हेर्दै थिए।
गेट ढङढङ गरेको आवाज आयो। पहरेदारले गेट खोले। सपना कुदेर गई। म पनि गएँ। गेट अगाडि सेन्ट्रो कार रोकिएको थियो। ऊ त्यही कारमा चढी। कार हुँइकियो। म हेरेको हेर्यै भएँ।
बिहे भएको भोलिपल्ट गाउँलेहरू बेहुली हेर्न आएका थिए। सपनालाई देखेर सबैले भनेका थिए 'लक्ष्मी जस्तै उज्याली बुहारी आइछिन् घरमा। बेहुलोभन्दा त बेहुली निकै राम्री।'
त्यतिखेर सपनाको अनुहारमा हजार वाटको बत्ती बलेको थियो। म सपनाको अनुहारको उज्यालोमा हराइरहेको थिएँ। आमाको भुँइमा खुट्टा थिएन। बा गजक्क पर्नुभएको थियो। एउटा छोरो ऋण काढेर भए पनि बिहे राम्रैगरी गरेका थिए।
सपना सपना जसरी मेरो दिलमा आई र ठूला-ठूला सपना देखाई। उसले देखाएका सपना पूरा गर्नु मेरो कर्तव्य ठानेर म परदेश भासिएको थिएँ। यस्तो लाग्यो, सायद उसको सपना पूरा गर्न मैले ढिलो गरेँ।