आस्था तिमीप्रतिको विश्वास हो
तिमी जे छौ, हो त्यसैप्रतिको माया हो
यसको कुनै मूल्य हुँदैन र पनि अमूल्य छ
जोड्छ तिमी र मलाई कसिलो गरी
तिम्रो विचार, हृदय र व्यवहारको एकतामा
यो कलिलो तामाजस्तै निष्फिक्री बढ्छ!
यो टुट्छ पनि बढी तन्किएको रबरजस्तै
यो फुट्छ पनि उचाइबाट खसेको काँचजस्तै
यो छुट्टिन्छ पनि पानीमा मिसिएको तेलजस्तै।
त्यसैले त तिमी सम्बन्धलाई बलियो बनाउन
इमानको पहाड चढ्नै पर्छ
तिमी तिमी नै बन्नुपर्छ
मायालाई स्वार्थबाट छुट्ट्याउनै पर्छ
सहयोगपछि बिर्सनुपर्छ
के सुख, के दुःख एउटै चक्रका यी पाटाहरू
यो शाश्वत सत्य बुझेर
जहिले हृदयबाट मुस्कुराउनुपर्छ।
के पाएँ, आशा त गर्नुहुन्न फेरि
र पनि विधाताले तिमीलाई
कहिले नखल्बलिने सम्बन्धहरू दिन्छन्
ती सम्बन्धहरूले तिमीलाई
मुस्कुराउने र खुसी नै खुसीको लागि
हजारौं कारणहरू दिन्छन्।