टिभीको रिमोट
हातमा दिनुभयो
बुबाले
म खुसी भएँ
लाग्यो ठूलो पावर पाएछु
एकछिनमै
सानी बहिनीले भनिन्
८०१ को कार्टुन लगाउनू
लगाइदिएँ
भाइले भन्यो
बन्द गर्नोस् मोटुपत्लु
२४१ मा मुभी आइसक्यो
लगाइदिएँ
सानो बहिनी गइन् ठुस्केर
देखिन थालेपछि
फिल्मी सिन
बुबाले आँखा तरेर भन्नुभयो
१३१ को समाचार लगाऊ छिटो
आखिर रिमोट दिने मान्छेको
भनेको नमानुँ कसरी
लगाइदिएँ समाचार
भाइका टेलिभिजन तिर
मोडिएका आँखा तेर्सिए मतिर
उसले खोस्दै गर्दा रिमोर्ट
समाचार आइरहेको थियो
बुबाको च्वाइसको च्यानलमा
'-ए' भएको भन्दै नेतुलाल निवासअगाडि
'बी'को नाराबाजी
भएको भोलिपल्ट
निर्णय उल्ट्याउँदा
'ए' नभएको भन्दै नेतुलाललाई
'सी'को चेतावनी
विचरा, नेतुलाल मजस्तै रहेछ नि
फरक यत्ति हो कि
उसलाई
धेरै मिलेर रिमोट दिए
अलि ठूलो टिभीको लागि
जुन टिभी
देखाउन पर्छ धेरै दर्शकहरूलाई।