देश खाएर शेष भएका जस्ता देखिने चक्रपाणि गौतमको हातमा मोबाइल आएदेखि गाउँलेहरू भन्छन्- चक्रेको भुइँमा खुट्टा छैन।
लौ भुइँमा खुट्टा छैन रे! हैन मोबाइल हातमा आउँदैमा भुइँमा खुट्टा छैन भन्नुको के अर्थ रह्यो र? बरु धेरै खुसी छन् भन्दिए भैहाल्यो।
हुन त नेपाली समाजले उहिलेदेखि नै उमार्दै आएका यस्ता अनेक वाक्यहरूद्वारा छक्क नपर्ने हो भने यो आधुनिक भनाउँदो मान्छेलाई लेख लेख्न विषयवस्तु पनि त नहोला।
यस्ता कति वाक्यांशका मतलब त खै, चक्रपाणि गौतमले पनि कहाँ बुझेका होलान् र? खैर! यस्ता आउरेबाउरे लवजले नेपाली भाषालाई अमर बनाएकै छन्।
नामी काजी साबका'बाट गोडा ६० दिनमा फिर्ता गरिदिने वचन बाँधेपछि चक्रपाणि गौतमले १० हजार सापटी ल्याए र छोराको मोबाइल नम्बर काजी साबकहाँ छोडेर आए। छोराको औधी माया लागेर 'विदेशा भाको छोरोसा बोल्न पाउँछु कि' भन्ने हेतुले सेतो कपालका गिर्खामा ल्याएको चेतुले गर्दा नै हो उनलाई 'मोबाइलले तु' भन्ने मेसो आएको।
मोबाइल ल्याएकै दिनमा १२ पास गरेको, ठाउँमा पढेको तर बिदाले गर्दा गाउँमा आई बसेको सुधिरको छोरालाई 'आफ्नो छोरोलाई फोन लागाइदेऊ, बोल्छु' भन्दै गएका थिए।
उसले मिलाइदिएछ क्यार। बुढाको मुखबिन्दुमा खुसी आएको कुरा २/३ दिनदेखि गाउँलेहरूले विचार पुर्याएका छन्।
चक्रपाणि वर्षले ७९ लाग्न लागेका छन्। बुढीको भत्ता आउने बेला हुनै लाग्दा देहान्त भएपछि हँसमुख स्वभावका चक्रपाणि शान्त देखिन थालेका थिए। सायद बुढ्यौलीले पनि हुनसक्छ।
यति पढिसक्दा 'म' को हो त? भन्ने प्रश्न उठ्नु जायज हो। म त्यही समाज भित्रको आधुनिक मान्छे जसले चक्रपाणि गौतम वा भनौँ साथीजस्तै बा चक्रपाणिलाई नजिकबाट चिनेको छ। चक्रे बासँग राम्रो मित्रता छ मेरो। यस्तो मित्रता गाउँमा अरु कमैसँग छ।
हुन त म तराईको मान्छे, कामको खोजि गर्दागर्दै पहाड पसेको हुँ र भेटेको हुँ चक्रपाणि बालाई। धेरथोर कथा पनि लेख्ने कोसिस गर्छु। आज कथाका पात्र खोज्दाखोज्दा हैरान भैसकेपछि मलाई चक्रे बाको याद आएको हो।
जवानीमा पानी लिन जाँदा पिरिम परेको रहेछ फुली आमै र चक्रे बाको। बुढा हक्की स्वभावका, पिरिम परेको १० दिनमै घर ल्याएका रहेछन्। चक्रे बाका बाले बास नदिएपछि बाँसले बारीको बीचमा बारेर फुली आमैलाई राख्ने बन्दोबस्त गरेछन्।
छोरो जन्मियो, हुर्कियो अनि विदेशियो। बाका सुखदुःखका त छुट्टै कहानी बन्छन् तर आज भने मोबाइल हातमा परेदेखि र छोरोसँग बोलेदेखि बलेका चेहेरा लिएका चक्रपाणि बाका सन्दर्भलाई अगाडि बढाउँ।
हुर्केको छोरो विदेश गएको आजका दिनसम्म दशक भयो भन्छन् बा। बासँगका त्यो मित्रताले गर्दा पनि होला बा कहिलेकाहीँ अन्तरकुन्तरका कुरा पनि मसँग फुकाउँछन्। म उनको कथा उनकै छोरा जसरी सुनिदिन्छु।
उनले एकदिन कुरा गर्दागर्दै भनेका थिए 'हेर बाबै, जिन्दगी पनि एक्लै भाछ। छोरो पनि फर्क्या होइन। आयो भने यो बूढोलाई सहारा हुन्थ्यो कि भनेको खै आउँला जस्तो छैन।'
उनको यो कुराले कता-कता मलाई पनि राम्रोसँग झापड लागेजस्तो भयो। सम्झिएँ मेरा आफ्नै बालाई। मेरा बा पनि त मलाई कुर्दै होलान्।
चक्रे बा हिजोभन्दा आज जीवनको उत्तरार्ध बाँच्दै छन्। छोरोसँग सम्पर्क हुन थालेदेखि केही खुसी देखिएका छन् तर आफै-आफै गर्तमा विलीन हुँदै गएको आभास हुन्छ। छोराले उतै बोलाउन खोजे पनि बा जानु भएको छैन, जान पनि सक्नुहुन्छ भर छैन।
बा जानु या नजानुको खासै सरोकार छैन कसैलाई। तर म यही प्रार्थना गर्छु कि, चक्रपाणि बाले गर्नु भएको फोन उहाँको छोराले सधैं उठाओस् जसले बा अझै दुई दिन धेरै बाँच्न सक्नुहुनेछ।