'सायद' कति मिठो शब्द छ नि है! सायद 'सायद' नभएको भए सायदै मजा आउँथ्यो शब्दकोशमा। तिमीसँग भेट नै नभइदिएको भए हुन्थ्यो जस्तो लाग्छ।
हामी बितिसकेको कुरा परिवर्तन गर्न सक्ने भएको भए सबैभन्दा पहिले त्यो दिनलाई नै परिवर्तन गरिदिन्थेँ जुन दिन मैले तिमीलाई भेटेको थिएँ। सायद नभेटेको भए अहिले यस्तो नै हुने थिएन नि है!
पहिलो पटक देख्दा मुस्कुराउँदै चिया पिइरहेको तिम्रो अनुहारले थाहा छैन के गरेको थियो। त्यही दिन के जुन दिन म दिदीको बिहेको निम्तो दिन तिम्रो घरमा आएको थिएँ। तिमीलाई याद छ? त्यो दिन तिमी मसँग बोल्दै बोलिनौँ नि। त्यो दिनभन्दा बढी तिमीले मसँग कहिल्यै कुरै गरिनौँ।
तिमीले बिर्सियौ होला तर मैले एक-एक साना-साना कुराहरू पनि सम्झिरहेको छु। किन थाहा छ? किनकी त्यो केबल आकर्षण थिएन, त्यो त केही अरु नै थियो।
सँगै पढ्दै जादा तिम्रो जन्मदिनमा तिमी र तिम्रा आमाबुबाको तारिफ लेख्दै मैले कापी र कलम तिमीलाई उपहार दिएको थिएँ नि। अँ साँच्ची, तिमीले पनि त मेरो जन्मदिनमा एउटा गिफ्ट दिएकी थियौँ नि।
कक्षा सकिएपछि घर जाँदा दिदीले भन्नुभएको थियो- 'यो यति राम्रो गिफ्ट कसले दियो तिमीलाई?'
मैले मेरो एकजना साथीले दिएको भनेको थिएँ। त्यसपछि उहाँले भन्नु भएको थियो- 'कतै त्यो साथीले तिमीलाई मन त पराउँदिन?'
दिदीले जिस्किँदै भन्नुभएको थियो तर किन-किन मेरो मनमा भने अचम्मको खुसीको सञ्चार भएको थियो। यो सोच्दै कि दिदीले भने झैँ भइदिए त!
सँगै ९ वर्ष जति अध्ययन गर्दा पनि कहिले भन्नै सकिनँ नि मैले तिमीलाई आफ्नो कुरा। एकदिन स्नातक तहको प्रथम वर्षमा जाँदै त्यो हुन गयो जो सायद हुनु थिएन। मैले आफ्ना भावना, तिमी प्रतिका मेरा सपना कागजमा कलमको मद्धतले उतारेको थिएँ र राखेको थिएँ सरस्वतीसँगै नोट कापीको बीचमा।
तिमीले एकदिन नोट कापी माग्यौ, मैले दिएँ। मैले नि याद गरिनँ कि कापीमा त्यो कागज पनि राखिएको छ जसमा मेरा भावना समेटिएका छन् भनेर। नत्र अर्को दिन त्यही कापी अरु साथीहरूले पनि क्लासमा हेर्दा 'नहेर, त्यसमा केही स्पेशल छ' भन्थेँ होला नि या कुनै अरु नै बहाना बनाउँथें होला नि।
तर जे हुनु छ, त्यो भएरै छाड्छ। अर्को दिन तिमीले अरु नभएको मौकामा क्लासमा कापी फिर्ता दिँदा भनेका शब्दहरू एक-एक याद छ मलाई। मैले 'लेख्यौ?' भन्दा 'लेखेँ पनि, पढेँ पनि' भनेकी थियौँ।
मैले त्यो बेला नै बुझेँ कि कागज त्यही कापीमा थियो भनेर। अनि तिमीले किन यति सोच्ने गर्छौ मेरो बारे भन्नेदेखि लिएर अनेक कुराहरू भन्न सुरु गर्यौ।
सायद तिमीले बिर्सिएकी हौली, मैले प्रत्येक शुक्रबार बजार (कोठा) देखि घर जाँदा प्रत्येक चोटि म घर जाँदैछु है भनेर फोन गर्थें जबकी म घरमा समेत फोन गर्दिनँ थिएँ कि म आउँदै छु भनेर। किन-किन तिमीलाई त्यति नजिकको सोचेको हुँदो हुँ?
मलाई अझैसम्म नि राम्ररी थाहा छैन कि कोही कसैका लागि किन आफू हार्न समेत तयार हुन्छ? कोही किन एकतर्फी रुपमा कसैको माया पाउने आशमा लागिरहन्छ? कोही किन पाउदिनँ भनेर नि त्यसैको आशामा जिन्दगीभर पर्खिन तयार हुन्छ?
सायद यो पागलपनको निशानी हो र यो पागलपनको लक्षण। यसको मतलब म पनि पागल नै थिएँ। हुन पनि तिमीले सामाजिक संजालमा राखेका एक-एक फोटोहरू सम्हालेर मोबाइलमा राखी त्यसमा नि देख्छन् अरुले भनेर आफैलाई मेल गर्नु पनि त पागलपन नै हो।
खैर! जे होस् 'मलाई बिर्सिदेऊ, मेरो बारे नसोच, मेरो तिमीप्रति त्यस्तो भावना नै छैन' भन्ने मात्रै होइन, 'तिमी आफ्नो र आफ्नो परिवारबारे सोच' भनेपछि सायद समय बढी पाएर पो तिम्रो याद आइरहेको होला भन्ने ठानेर (यद्यपि त्यसो थिएन र होइन) काम गर्दै पढ्ने योजना बनाएर दैनिक ८ घण्टा जति त्यस्तै दैनिकी बिताएँ।
तर के फुर्सदमा मात्रै तिमीलाई सम्झन्छु जस्तो लागेको कुरा सही थियो त? होइन रहेछ। तिमीलाई झनै सम्झिन थालेँ।
यो सबै कुरा भनेर तिमीले नि मलाई माया गर्नु पर्थ्यो, त्यो नगरेर तिमीले गल्ती गर्यौ भनेर मैले भन्न खोजेको होइन। मैले यो पनि भन्न खोजेको होइन कि तिमीलाई माया एकतर्फी रुपमा गर्नुको बदला मैले केही पाइनँ। मैले सुनेको थिएँ एकतर्फी माया गर्नेहरू अझ धेरै प्रेम गर्छन् रे।
अन्तिममा एउटै कुरा भन्छु है जुन मैले तिमीलाई पटक-पटक भन्ने गरेको छु। एकदिन तिमी कसै अर्कैकी बनेर जानेछौ तर तिमीलाई मायाको बदलामा माया नै मिलोस्। सायद हामीले एकअर्कालाई नभेटेको भए अनि ११ वर्ष सँगै अध्ययन नगरेको भए र त्योभन्दा नि ठूलो कुरा तिमीलाई माया नै नगरेको भए सायद ठिक हुने थियो होला नि है!
मेरो के छ र? एकजना भारतीय गायकले भनेका छन्- 'जाने बाले दिलको पत्थर कर गए, फिर किसिके लिए धड्का हि नही।'
म नि एक्लो त कहाँ छु र? मसँग तिम्रा याद त छन् नि। कोसिस गरे पनि कहाँ भुल्न सकिँदो रहेछ र? तर यति भने भन्छु, मिल्छ भने अर्को जुनीमा तिमी र म हामीसँगै हौँला नि है! यो जुनीमा जोसँग भए नि खुसी हुनू ल!