सदा झैँ आँखा मोबाइलको अलार्मबिना नै खुल्छ। बिहानको सात बजे शरीरले आवश्यकताभन्दा बढी नै आराम पाएको छ तर दिमाग थाकेको छ। कामबिना नै थाकेको दिमागलाई आराम दिन बहुत कठिन हुने रहेछ।
रातको निद्राले आराम दिन सक्दैन, दिमागले बुझिसकेको छ। उता मनको हालत पनि उस्तै-उस्तै छ। छटपटी र जलनले भरिएको मन रातको शीतलताले सेलाएको छैन। रापिलो मन र भारी दिमाग लिएर फेरि अर्को निरस दिनको सुरुआतका लागि ओछ्यानबाट उठ्छ 'बेरोजगार छोरो'।
उमेरहदका कारण जागिर सकेर घरमै रहनुभएका बाले नित्यपूजा अघि नै सकिसक्नु भयो। आफू र आफ्नो परिवारका लागि भगवानलाई धुप हाल्न र सूर्यलाई जल चढाउन कहिल्यै बिर्सनु भएन बाले।
आमा भान्छामा तरकारी केलाउँदै हुनुहुन्छ। घरका सबै जहान घरमै हुन्छौँ‚ कसैलाई केही हतारो छैन। हतारो नभएको घरमा भएका मानिसको मन भने हतास छ‚ भविष्यप्रति।
३० वर्षे पिउनको जागिर पछिको पेन्सनले घर कहिलेसम्म चल्छ बालाई थाहा छैन‚ २० वर्षे स्तातकोत्तरको पढाइले जागिर कहिले दिन्छ छोरालाई थाहा छैन। साहुले उधारोमा सामान कहिलेसम्म दिन्छ आमालाई थाहा छैन। सानो परिवारको भविष्य अन्योलमा छ‚ मुहार मलिन।
सदा झैँ कुनाको झ्याल नजिकको कुर्सीमा कालो चियाको कपसँगै छोरा टोलाउँछ। हिजो भएको अन्तरवार्ताको नतिजा भोलि आउँछ। भोलि आउने नतिजा पनि विगतका दर्जनौं अन्तरवार्ताको जस्तो हुने मनले पक्कापक्की गरिसक्यो।
हार र असफलतामा अभ्यस्त भएको मनले जितको कल्पना पनि नगर्ने रहेछ। निरस मनले आफू विद्यालयको चहकिलो छात्र र कलेजको टाठो विद्यार्थी भएकोमा लज्जित महसुस गर्छ।
कालो चिया चिसो भैसकेको छ। दिमागी सोचले रापिलो भएको मन सेलाउन सकेको छैन। लोक सेवा नदिएको पनि होइन‚ सकेजति र चिने जतिलाई हात नफिजारेको पनि होइन तर कहीँकतै केही सीप लागेन।
आफन्त र नातेदारले पनि फिँजारिएका बलिया हातलाई मात्र सहयोग गर्न रहेछन्। कमजोर र निरीह हातले कहिल्यै सहयोग र साथ पाएनन्। सबैको समय आउँछ भन्थे‚ आफ्नो समयले त बाटो बिराएजस्तो छ।
'यति चिया खान पनि कति बेर लाको‚ चिया खान त अल्छी गर्नेले काम गरेर कसरी खान्छस्?' आमाको तिखो आवाज कानमा बजारियो।
आमाको तिखो आवाज र बाबाको भारी काँध परिचित छन् मेरा लागि। तिखो बोली इखको बिज बनोस्, आमाको चाहना हो। भारी काँधको भारी बोक्ने दरिलो टेको बनोस्, बाबाको अभिलाषा।
आफूले गरेको दुःख र आफूले भोगेको जीवन छोराले भोग्न नपरोस् भनेर बाले आफ्नो हाड घोटेर पढाउनु भयो। अरुको काममा जीवन सुम्पेका बाले‚ छोरो अरुलाई काम लगाउने बनोस् भन्नका लागि भरमज्दुर प्रयास गर्नु भयो।
बाबालाई पनि रहर हुँदो हो साथीभाइको अगाडि छाती फुलाएर भन्ने- 'छोरा फलाना ठाउँको हाकिम छ।'
आमालाई पनि रहर हुँदो हो छोराको मोटरमा बसेर अस्पताल जाने‚ छोराले किन्देको सारी लगाएर चाडपर्व मनाउने र सानका साथ भन्ने- 'छोरोले किन्देको।'
यता सयौँ जब एप्लिकेसन भरेर थालिएका मेरा हातहरू छन। दर्जनौं असफल अन्तरवार्ताले टुटेको मेरो मन र प्रत्येक दिन ई-मेल‚ फोन र म्यासेज कुरेर थाकेको मेरो दिमाग। विद्यार्थी कालमा दिइएको परीक्षाभन्दा निकै कठोर रहेछ जीवनको परीक्षा। परिवार समाज र आफन्तले लिने परीक्षा कहिले व्यवहारको रुपमा आए र कहिले बोलीको रुपमा।
होटलको दश रुपैयाँ कपको चियामा रमाउने साथी आज कफी खान बोलाउँछ। सस्तो र साँघुरो ठाउँमा अटिन्न आजकाल। पढाइ सकेर राम्रो ठाउँमा काम गर्न थालेका साथीहरूको कमाइ पनि राम्रो छ।
पचास रुपैयाँको पेट्रोल हालेर घुम्न जाने साथीहरू आज पचासौँ लाखको कारोबार गर्ने भएका छन। पाँच सयको बिल तिर्न छ जना धेरै चोटि जुटेका थियौँ‚ आज एकै जनाले हजारै खर्च गर्न सक्छन्।
चिकेन ममः महङ्गो भएर बफ खान सुरु गरेको मेरो हालतमा भने खासै भिन्नता छैन। मामाघरको दक्षिणा र घरको किनमेल गर्दा बचेको छ्याकन नै मेरो मुख्य आम्दानीको श्रोत हो। बस चढ्न र मोबाइलमा ब्यालेन्स हाल्न ठिक्क।
दश रुपैयाँ ब्यालेन्स सरसापट गर्न खुब चलन थियो कलेज कालमा। दश रुपैयाँ सापट दिएका र लिएका सबै फोनहरू आई-फोन भइसके तर मेरो बाले १२ पछि किन्देको सामसुङ चलेकै छ मस्त।
हातको आइफोन र नाडीको घडी हल्लाउँदै घुम्न जाने सल्लाह हुन्छ‚ कहिले ट्रेकिङ त कहिले नाइट-आउट। घुम्न जाने रहर नभएको कहाँ होर? बाले तरकारी किन्न देको पैसा जोगाएर बचेको पैसाले घुम्न नपुग्ने रैछ। मलिन स्वर र अमिलो अनुहारले भन्छु- 'मेरो त घरमा पूजा छ।' धेरै चाहना र रहरहरू कठ्याङ्ग्रिएरै मर्छन्।
पारिवारिक भेटघाट र आफन्तको आगमनले मन हतासिन्छ र अतालिन्छ। बाहिरबाट हँसिलो‚ रसिलो र मिजासिलो देखिएको छोरा भित्रबाट टुटेको छ।
'बाबु के गर्दैछौ? कहीँ काम गछौँ? कति कमाउँछौ? मेरो छोराले त फलानो ठाउँमा नाम निकाल्यो‚ फलानोले त यति कमाउँछ' प्रश्न र समाचारको ककटेलले टुटेको मुटुमा लामो चिरा पार्छ। राम बाँड झैँ लागेका तिरहरूलाई छिचोल्दै पूर्ण कृतिम मुस्कानले भन्छु‚ 'लोक सेवाको तयारी गर्दैछु।'