उनी–
सपनाको राजमार्ग हुँदै
सम्झनाको मूलबाटो भएर बटुवा झैँ
यादहरूका पदचाप पच्छ्याउँदै हिंडिन् / हिंडिरहिन्
कहिले बलेँसीमा तप्केका
पानीका थोपा झैँ आँसु झारेर
कहिले खडेरीले सुकाएको झार झैँ
मन मारेर
साइत भनौं कि बेसाइतमा
एउटा समयले
बा–आमाको काखबाट छुटाएर लगेथ्यो
परम्परा र संस्कारको अग्नीमण्डपबाट पराई घर
लुकामारी खेल्ने समयमा
पुतली खेल खेल्ने बयमा खेले जस्तो
काल्पनिक बिबाहको परालको लगन गाँठो
वास्तविक जिवनको लगनगाँठो बन्न पुगेर
उनी बनेकी थिइन् राम्री दुलही ।
समयकै मेलापात गर्दागर्दै
दिन/महिना/वर्ष बित्दै गए
सानोमा बा–आमा खेले जस्तो,
उनी आमा बनिन्
मामा–माइजू खेले जस्तो,
माइजू बनिन्/ भाउजू बनिन्
भाग्यले–
पहिरो झैँ भत्काउँदै लग्यो उनलाई
कहिले भेलले बगाउँदै लग्यो
हिँडायो उनलाई जिन्दगीका सिउँडीबारहरूमा ।
जिन्दगीको यात्रामा
उनी सामाजका कथित घेराहरूमा
बिस्तारै बिस्तारै-
स्वतन्त्र हुनबाट वञ्चचित हुन पुगिन्
अस्तित्वबाट विस्थापित हुन पुगिन्
जसरी कुनै खोला नदीमा मिसिएपछि
आफ्नो निजत्व हराउँछ
त्यसरी नै बिलाउँदै गइन आफू आफैंबाट
उनी -
संस्कारको साँचोमा ढाँलिदै गइन्
उनी बहुरूप धारण गर्दै
छोरी बनिन् /दुलही बनिन् /बुहारी बनिन् /
भाउजू बनिन् / माइजू बनिन् / सबै बनिन्
तर आफ्नो कर्तव्य निभाउंँदा निभाउँदै पनि
दुलाहकी दुलही भने बन्नै सकिनन् ।
उनको दुलाह देवदूतहरूको कथा सुनाउँथे
र, तिमी यस्तै बन्नु पर्छ भन्थे,
घरबाहिर स्वतन्त्रताको बिगुल फुक्थे
समानताको गीत गाउँथे
तिमी पनि फलाना जस्तै
स्वतन्त्र छ्यौ भन्थे
घर भित्र छिरेपछि भने
काँढा र सिस्नु मिश्रित शब्द बर्षाउँथे
स्वतन्त्र हुनुअघि उनका गोडाहरू
शब्दका नेलले बाँधिएका हुन्थे
ती नेल फुकाउने खेल खेल्न नजान्नु
र, दुलाहाकी दुलही हुने रित बुझ्न नसक्नु
दुर्भाग्य बन्यो उनका लागि।
जिन्दगीको आँगनमा
पुतली खेलका खेलौना जन्माएर
संस्कारी दुलहीबाट
आदर्श आमा बन्न पुगिन्
र बनिन्
सन्तानका लागि सुरक्षा कवच
भ्रमित मन लिएर
समयलाई आफ्नो वशमा राखेँ भन्दै
त्रासदी फैलाउँदै
उनका दुलाहा अंहकार फुक्दैछन् रे फेरि
'कुनै दिन अप्रिय घटना घट्ला'
वर्षौंदेखि प्रताडित दुलही
आफैंभित्रको आगोसँग जलेकी छन्
पानीसँग आँसु बनेर बगेकि छन्
भित्तोसँग रित्तो बनेर अडेकी छन्
समाजको अघिल्तिर
आत्मबलको उज्यालो साँचेर
मान्छेको आकृतिमा अनुदित भएकी छन्
उनलाई
पौराणिक कथाकी निरीह पात्र सम्झिन्छन्
उनका दुलाहा।
यदि जीवनको केही क्षण
आयुको वायुयान हुन्छ भने
पर्वत जस्तो मन लिएर उभिएकी
तिब्र वेगको आँधीसँग जुध्दै रहेकी उनी
शक्तिस्वरूपा आदर्श नारी हुन्
उनी...
समयको कोशे ढुंगामा
झुक्न चाहदिनन्
उनलाई हराउन खोज्नेहरू आफैं हार्नेछन्
उनी दुलही हुन्
दुलहीको छाति अभेद्य हुन्छ ।।