प्रिय छोरा,
तिम्रो नाम सुन्ने बित्तिकै धेरै जनाले दोहोर्याएर सोध्नु हुन्छ। नाम सुनेर फेरि मुसुक्क हाँस्नुहुन्छ। तिम्रो नाम नै त्यस्तै छ।
जब तिमी प्रकृतिले दिएको नौ महिना गर्भमा बसेर निस्किनु पर्ने नियमलाई ठेलेर ८ महिना १० दिनमै जन्मियौ, मैले त्यतिखेर नै ठ्याक्कै तिम्रो नाम राखेकी थिएँ- अग्रिम। अग्रिम शब्दले अग्रसरता र नेतृत्वलाई जनाउँछ। तिमी आफ्नो नामको यी गुणहरूलाई जीवनको हरेक पाइलामा अपनाउनू। सधैँ अग्रसर भइरहनू। सफलतालाई कायम राख्नू।
तिम्रो आगमन यस संसारमा एउटा कठिन परिस्थितिको समयमा भएको थियो। त्यतिबेला सारा संसार कोभिड- १९ महामारीको चपेटामा थियो। त्यस्तो समयमा तिमीलाई जन्म दिनु हाम्रो लागि एकदमै चुनौतीपूर्ण थियो।
तिमी अनि आफू दुवैलाई कोभिड- १९ बाट टाढा राख्न गरेको हरेक पाइला, निर्णय र परिस्थिति ज्यादै नै कठिनपूर्ण थिए। एकअर्काको नजिक पनि बस्न नहुने त्यस्तो महामारीको समयमा तिमीलाई आफूभित्र हुर्काउने कठिन निर्णय लिनु परेको थियो।
हरेक हप्ता चेकअप गर्न जानको लागि मैले धेरै चोटि सोच्नु पर्थ्यो, धेरै नै साबधानी अपनाउनु पर्थ्यो जसले गर्दा कहिलेकाहीँ तनाव एकदम बढ्थ्यो जुन हामी दुवैको स्वास्थको लागि खतरनाक थियो।
हस्पिटलमा गएको बेला मलाई अरु मान्छेसँग बोल्न डर लाग्थ्यो किनकी म हामी दुवैलाई सबै जनाबाट टाढा राख्न चाहन्थेँ। अरु मान्छेको त कुरै छोड, म आफ्नो आमा, बुवा तथा अरु आफन्तसँग भेट गर्दिन थिएँ।
गर्भवतीको समयमा सकेसम्म सबैको अगाडि, सबैको हेरचाहमा बस्न मन लाग्छ तर कोभिड- १९ ले गर्दा हामी दुवैजना एउटा पर्खाल भित्रको दुई-तीन वटा कोठामा बस्न पर्यो। मलाई धेरै थरी खानेकुराको तलतल हुन्थ्यो, तिमीलाई हरेक खाने कुराको स्वाद दिलाउन मन थियो तर मैले ती सबै अनुभव गर्न सकिनँ।
मलाई एस्तो लाग्थ्यो कि तिम्रो मेरो जीवन यसरी नै आइसोलेसनमा बसेर नै बित्छ होला, मैले तिमीलाई यो सुन्दर संसार देखाउन सक्दिनँ होला भनेर तर कहीँ न कहीँ आशा थियो कि यो एउटा समय हो जुन बित्छ र हामी फेरि साधारण जीवनमा अवश्य फर्किने छौँ।
त्यो स्थितिले हामीलाई हाम्रो आफन्तजनबाट टाढा त राख्यो तर राम्रो कुरा के सिकायो भने तिम्रो मेरो सम्बन्ध एकदमै गाढा बनायो किनकी तिमीसँग बोल्ने, तिमीलाई हेर्ने र तिम्रो बारेमा सोच्ने बाहेक मेरो अरु केही काम नै भएन।
तिमीलाई जन्म दिन हस्पिटल जाने बेलासम्म पनि मलाई एकदमै डर लागेको थियो, हस्पिटलको वातावरण कस्तो होला? त्यहाँ त झन् संक्रमण फैलिने ठाउँ, डेलिभरी पछिको बस्ने ठाउँ कत्तिको सुरक्षित हुन्छ? तिमीलाई कसरी जोगाउन सकिन्छ भनेर धेरै सोच्थेँ। तर यी सबै कुरा मैले एक क्षणमै बिर्सिएँ जब तिमी मेरो काखमा आएको थियौ।
त्यसपछिको सम्पूर्ण जिम्मेवारी तिम्रो बुवाले लिनुभयो र मलाई कुनै पनि गुनासो हुन नदिई सम्हाल्नु भयो। मैले एक जिम्मेवार र निःस्वार्थ माया गर्ने तिम्रो बुवा र मेरो जीवन साथी पाएकोमा धेरै नै गर्व लाग्छ।
छोरा, मैले पहिलो पटक अल्ट्रासाउण्ड गरेको बेला तिमीलाई स्क्रीनमा हेर्दा तिमी केवल एउटा फर्सिको गेडा जत्रै थियौं तर तिम्रो धड्कन एकदम जोड-जोडका साथ सुनिएको थियो। तिमीलाई त्यसरी देखेको र सुनेको त्यो पहिलो पलले मेरो जिन्दगीलाई हेर्ने नजर नै बदलिएको छ।
त्यत्रो सानो गेडा कसरी एउटा जीवित प्राणीमा परिणत हुन्छ, मैले ती आठ महिना १० दिनमा महसुस गरेँ र अहिले झन् तिमीलाई दुई वर्षको बच्चा भएको देख्दा त मलाई त्यो तिम्रो मेरो पहिलो दिनको भेटघाटको अनि मैले गरेको प्रणको याद दिन्छ।
मैले त्यही दिनदेखि प्रण गरेकी थिएँ कि संसारको जस्तोसुकै महामारी आओस् कि जतिसुकै आधिँबेरी आओस्, मैले तिमीलाई सुरक्षित राख्नु पर्छ र म त्यो प्रण सधैँभरि कायम राख्नेछु।
आज तिमी दुई वर्षको भएको छौ र मलाई अहिलेसम्म विश्वास छैन कि तिमीसँग कति चाँडै जीवनको दुई वर्ष बितिसकेको छ। यी दुई वर्ष मेरो, हाम्रो जीवनको सबैभन्दा ठूलो उत्सव हो र त्यही उत्सव मनाउने क्रममा आज तिम्रो जन्मदिनमा म तिमीलाई केही कुरा भन्न चाहन्छु। साथै मैले जानी नजानी गरेको गरेको गल्तीहरूको माफी माग्न चाहन्छु।
आमा हुनुको आनन्द र खुसी कति आनन्दित हुन्छ भनेर मलाई तिमी आउनुपहिला थाहा नै थिएन। मातृत्वको अनुभव कस्तो हुन्छ भने मैले कहिल्यै पनि सोचिनँ वा सोच्ने सायद कोसिस गरिनँ होला। मैले सायद मेरै दुनियाँ रमाइलो छ भन्ने दर्शनमा आफूलाई भुलाइराखेँ। म आफू स्वतन्त्र हो भन्ने कुरामा विश्वस्त भएर हिँडें।
हुनसक्छ धेरैपटक स्वार्थी नै पनि भएँ। तर तिम्रो आगमनपछि जब पनि म पछाडि फर्किएर हेर्छु, मलाई धेरै नै पछुतो हुन्छ। मैले तिमीलाई किन ढिला जन्म दिएँ भनेर प्रश्न सोध्ने गर्छु? मैले तिमीलाई दिने माया र तिमीबाट पाउने निःस्वार्थ मायाको आभास किन यति ढिला महसुस गरेँ भन्ने कुराको धेरै नै पछुतो हुन्छ।
यी दुई वर्षमा मैले तिमी सँगै हुँदा र नहुँदा तिमीबाट हरेक क्षण धेरै कुराहरू सिकेको छु जसले मलाई आफैलाई नै अचम्मित र रोमान्चित बनाउँछ। तिमी जस्तो निमुखा प्राणी (मेरी आमाले तिमीलाई निमुखा प्राणी भन्नुहुन्छ) बाट मैले जीवनको सबैभन्दा ठूलो ज्ञान प्राप्त गर्ने यात्रामा छु।
तिमी जन्मेदेखि तिम्रो सानो-सानो क्रियाकलापले मलाई धेरै नै प्रभावित पारेको छ। मलाई अझै पनि सम्झना छ, तिमी जन्मेको दिन तिमीले कसरी अरुको सहारा बिना नै स्तनपान गरेको, तिमीलाई भोक लागेको बेला र केही कुरामा गाह्रो भएको बेला रोएर इसारा गर्ने। तिम्रो त्यही निमुखापनको पात्र, तिम्रो त्यो हुर्किंदा गर्दा आएको तिमीमा आएको जिज्ञासा, तिम्रो सिक्ने कोसिस, तिमीले पार गर्दै आएका हरेक कोसेढुंगा र हरेक कुरा गर्न सक्छु भन्ने तिम्रो त्यो कलिलो दृढ आत्मबल र विश्वासले मलाई धेरै आनन्दित बनाउँछ।
तिमीलाई अहिले दुई वर्ष भएको देख्दा तिमी किन यति चाँडै हुर्किएको जस्तो पनि लाग्छ। तर यो पनि त एउटा प्रकृतिको नियम नै हो र यसलाई कसैले रोक्न सक्दैन। तिमी त्यो सानो फर्सीको गेडाबाट सुरु भएर नवजात शिशु हुँदै अहिले दुई वर्षको सुन्दर बच्चा भएको छौ।
तिमीले खाएको त्यो पहिलो गिलो खिर, तिमीले विस्तारै बामे सरेको क्षण, तिमीले बोलेको त्यो ताता–ताता तोते बोली हुँदै अहिले तिमी मेरो हात समातेर आमा भन्नेसम्म भएको देख्दा प्रकृतिको यो नियमलाई नमन गर्न मन लाग्छ। तिम्रो यी सबै यात्रा नजिकैबाट हेर्ने र महसुस गर्ने भाग्य पाएँ भन्ने कुरामा मलाई घरीघरी त विश्वास पनि लाग्दैन।
तिमी दिनदिनै ठूलो हुँदैछौ, तिमी दिनदिनै साहसी हुँदैछौ, तिमी दिनदिनै सबैको प्यारो हुँदैछौ र अचम्मको कुरा यो छ कि म यी सबै कुरामा रमाउने पर्ने, मलाई कता-कता डाहा पनि पो लाग्दैछ। कति चाँडै हुर्किएको? मलाई त यसमै पुगेको थिएन जस्तो लागेर रिस पो उठ्दैछ।
तिमी हुर्किदै गर्दा आज म तिमीसँग धेरै कुरामा माफी माग्न चाहन्छु। मैले तिमीलाई तिमी चार महिनाको उमेर हुँदा एक्कासी छोडेर कर्मथलो अर्थात् काममा जानु परेको थियो। बच्चा भएपछि महिलाको काममा मन हुँदैन र त्यही अनुसारको नतिजा दिन सक्दैनन् भन्ने एक किसिमको हाम्रो समाजको नजरलाई तोड्नु थियो र यो यात्रामा तिमीले मलाई साथ दिन्छौ भन्ने कुरामा म धेरै विश्वस्त थिएँ।
तिमीलाई त्यति सानै बेला, एक्कासी छोड्न मलाई रत्तिभर पनि मन थिएन। तर म हामी दुवै जनालाई भाग्यमानी पनि भन्न चाहन्छु किनभने मैले काम गर्ने कार्यालयले सुत्केरी बिदा भनेर ९८ दिन र अरु घर बिदा दिन्छ तर अरु महिला जो मेरो जस्तो सबैबाट कुराबाट लाभान्वित भएका हुँदैनन्, उनीहरूले कसरी आफ्नो दूधे बच्चालाई छोडेर आफ्नो काममा जान बाध्य हुन्छन्?
आज यसै लेखमार्फत उहाँहरू सबैलाई धेरै धेरै बधाई तथा नमन गर्न चाहन्छु। एक न एक दिन तिमीलाई छोडेर काममा फर्किनु छ र त्यो समय आउनेछ, हामी दुवै जनाले त्यो दिनको सामना गर्नुपर्छ भनेर म तयारीको अवस्थामा थिएँ। तिमी थियौ कि थिएनौ, त्यो त मैले जान्न सकिनँ।
मलाई त्यो क्षण गाह्रो भएको थियो र म त आफूलाई गाह्रो भयो भनेर साथीभाइहरूलाई र शुभचिन्तकहरूलाई भन्न सक्थेँ। उनीहरूबाट सहानुभूति पाउन सक्थेँ। उनीहरू मलाई यो एक समय हो कटिजान्छ भन्दै सम्झाउँथे। कसैले बानी पर्छ पनि भन्थे। तर तिमीलाई कसले सम्झायो होला र!
मलाई त बानी पर्यो, तिमीलाई पो बानी पर्यो कि परेन? मलाई कहिल्यै थाहा भएन र सायद हुँदैन पनि। त्यो क्षण सम्झिँदा अहिले पनि मलाई रुन आउँछ। मसँग त के छ भनेर सोध्ने थुप्रै मान्छेहरू थिए। तर तिमीलाई कसैले पनि सोधेन, मैले पनि सोधिनँ सायद। एक्कासी तिमीलाई अरु कसैको जिम्मा लगाएर दिनभरि गायब भएँ म तिमीबाट।
मलाई अझै पनि याद छ, भोलिपल्ट काममा जानु छ भनेपछि मलाई त्यो रातभरि निन्द्रा लागेको थिएन। तिमीलाई घरीघरी हेरेर रुन मात्र आउँथ्यो र तिमीलाई अंगालो हालेर सुस्केरामा कति रोएँ। जब बिहानी भयो, म एकदमै आत्तिएको थिएँ र जब म आफ्नो कार्यालयको पोशाक लगाएर तिमीलाई अरुकोमा जिम्मा लगाउनु पर्यो तिम्रो त्यस बेलाको प्रश्नवाला हेराइले सायद मलाई के भयो भनेर सोधेको थियो होला।
मैले त्यो क्षण सम्हाल्न सकिनँ र तिमीलाई नहेरिकन खुरुखुर आफ्नो बाटो लागेँ। म त आफ्नो बाटो गइहालेँ, आफूलाई सम्हाल्दै थिएँ तर त्यो बेला, त्यो क्षण तिमी कत्ति आत्तियौ होला, तिमीले मलाई कत्ति खोज्यौ होला, तिम्रो त्यो निमुखा मनले खै मेरो आमा भनेर कत्ति सोध्यो होला। तर तिमीलाई सम्झाउने कोही हुन्न थियो र तिमी त्यही सोच्दासोच्दै निदायौ होला।
आमा कहिले आउँछे भनेर कत्ति पर्खिन्थ्यौ होला। मलाई ती सबै समयको लागि माफ गरिदेऊ छोरा। तर ती सबै क्षण हामी दुवै जना मिलेर पार गरिसकेका छौं र भविष्यमा पनि पार गर्छौं भन्ने कुरामा म विश्वस्त छु।
तर भनिन्छ नि, हरेक रातपछि बिहानी आउँछ। त्यसरी नै जब म दिनभरिको अफिसपछि घरमा पुग्थेँ तिमीले मलाई गर्ने स्वागतले त्यो दिनभरिको थकानलाई एक सेकेन्डमै हराइदिन्थ्यौ। तिमीलाई खै कसरी थाहा हुन्थ्यो मेरो घर फर्किने समय, म आउने बेला तिमी हाम्रो घरको ढोकामा खुट्टा हल्लाएर मलाई कुरिराखेको हुन्छौ।
तिम्रो त्यो हँसिलो, उज्यालो मुहार र तिम्रो त्यो मेरी आमा आई भन्ने हाउभाउले मलाई संसारकै सबैभन्दा ठूलो खुसी मिल्थ्यो। तिमीसँग त्यस्तो जादु र शक्ति थियो जसले मेरो सबै दुःख, पीडा बिर्साइदिन्थ्यो। तिमीमा त्यो शक्ति हिजो पनि थियो र आज पनि छ जसले हाम्रो घरलाई एउटा सुखी घर बनाएको छ। हाम्रो घर तिम्रो आगमनले साँच्ची नै घर भएको छ।
तिमी अहिले हुर्किदै गर्दा पनि मैले कत्ति कुराहरूमा तिमीलाई थुनछेक गरिरहेको हुन्छु। यो गर, त्यो नगर भनेर भनिरहेको हुन्छु। मैले अरू मान्छेहरूको कुरा सुनेर तिमीमा कत्ति कुरा लागु गराएँ होला। तिमीमाथि थोपरेँ होला। तिमीलाई खान मन लागे पनि नलागे पनि खुवाएँ होला। तिमीलाई लगाउन मन लागे नि नलागे नि जबर्जस्ती गरेँ होला।
कति गाली गरेँ होला, कति रिसाएँ होला र कहिलेकाहीँ पिटेँ होला। तिम्रो कुरा सुनिनँ होला, तिमीलाई बुझ्न कोसिस गरिनँ होला। ती सबै स्थितिहरूको लागि मलाई माफ गरिदेऊ। सायद पहिलो चोटि आमा बन्नुको कमजोरी यही नै हो कि? मैले तिमीलाई यस्तो व्यवहार गरिरहँदा र गरिसकेपछि सधै एक किसिमको पछुतो हुन्छ।
म त्यतिखेर मैले तिमीलाई आफ्नो स्वार्थको लागि ठगेको पो छु कि भनेर निरन्तर सोचिरहन्थेँ र अहिले पनि सोचिरहन्छु। के म तिमीलाई हुर्काउने कुरामा सबै कुरा ठिक गर्दैछु या छैन? के म तिमीप्रति इमान्दार छु या छैन? यी प्रश्नहरू सधैँ मलाई आइरहन्छ। सायद यी प्रश्नहरू र यी सोचाइहरूले पछिसम्म पनि मलाई छोड्ने छैनन्।
प्यारो छोरा, अब तिमी दुई वर्षमा प्रवेश गर्दैछौ। तिमी सधैँ चिरञ्जीवी हुनू, सधैँ स्वस्थ रहनू, सधैँ राम्रो बाटोमा हिँड्नू, ठूलालाई आदर गर्नू, सानालाई माया गर्नू। सधैँ सादा जीवन उच्च विचारको भावना राख्नू। कहिले कुनै पनि मोडमा हरेस नखानू र सधैँ सकारात्मक भावना राखी अघि बढ्नू।
तिमी मेरो जिन्दगीमा आएकोमा म भगवान् र तिमीप्रति धेरै नै कृतज्ञ छु। तिमीले मलाई धैर्यता भनेको के हो भन्ने ठूलो पाठ सिकाएको छौ। तिम्रो त्यो हरेक दिनको न्यानो अंगालो र तिमीले दिने त्यो निःस्वार्थ मुस्कान म मेरो अन्तिम साससम्म महसुस गर्नेछु। तिमीबिना मेरो जीवन कस्तो हुन्छ कल्पना गर्न पनि सक्दिनँ।
तिम्रो जन्मदिन मेरो लागि सधैँ मेरो जीवनको सबैभन्दा राम्रो दिन रहनेछ। छोरा, तिमीलाई फेरि पनि जन्मदिनको धेरै-धेरै आशीर्वाद र शुभकामना छ।
तिम्री आमा।