अभावले मझेरीबाट जिस्काउँछ
पीडाले हृदयबाट उक्साउँछ
मुर्कटाहरूको यो साम्राज्यमा
निमुखाको मुन्टो निमोठिन्छ
असहायको मुटु चिथोरिन्छ
यहाँ यमराजको राक्षसी हाँसो गुन्जिन्छ
जा छोरा विदेश जा!
अठ्याउँदै हृदयको स्पन्दनलाई
कुल्चँदै प्रियजनका भावनाहरूलाई
मन दरिलो पारेर
सात समुद्र तरेर
विवशताको चिलगाडीमा
अमिलो मनलाई सुम्सुम्याउँदै
जा छोरा विदेश जा!
यहाँ त सित्तैमा आश्वासन बाढिन्छ
आश्वासनले पेट कहाँ भरिन्छ?
यहाँ त गुलिया गफ मारिन्छ
गफले जीउ कहाँ ढाकिन्छ?
यहाँ त कल्पनामा धान झुल्दछ
बारी बाँझो र बन्जर पारिन्छ
जा छोरा विदेश जा!
दशकौंको नियति उस्ताउस्तै छ
अवतार नयाँ तर नियत उस्तै छ
आउँछन् भेष बदली-बदली
रुप फरक तर सार उस्तै छ
बदलिन्न अवस्था यहाँको
सके उतै घरजम गर्
देशभक्तिको गाना गाएर
मजस्तै तन्नम नबन् छोरा
जा छोरा विदेश जा!